ऊ भोको छ । भोक लाग्नु स्वभाविक प्रक्रिया हो । निश्चित समयावधिमा भोक अनुभव हुन्छ । तर अत्याधिक भोक लाग्नु, भोक मात्रै लागिरहनु अस्भाविक स्थिति हो । असजिलो अवस्था हो ।
लखतरान ऊ, हैरान ऊ, एक सुन्दर बगैंचामा आफूलाई डुलाइरहेको छ । बगैंचाको सुन्दरताले उसलाई लोभ्याइरहेको छैन । उसको पेटको भोकले शारीरिक रुपमा, मानसिक रुपमा, भावानात्मक रुपमा, उर्जाको रुपमा उसलाई पिर, दु:ख, कष्ट, हैरानी, विचलन, अस्थिरता.. दिइरहेका छन् ।
उसलाई भोक लागेको हुन्न थियो भने ऊ शारीरिक रुपमा चञ्चल हुने थियो । पुतलीहरूलाई आफ्नो आङमा बस्न दिने थियो । चिप्लेकिराहरूलाई आफ्नो पाउ सुम्सुमाउन दिने थियो । हरिया गन्धे र नानीझारका पोथ्राहरूलाई कुर्कुच्चा मिच्न र घुँडा दबाइरहन दिने थियो ।
यो पक्का थियो, ऊ भोको थिएन भने मानिसक रुपमा ऊ स्थिर हुने थियो । फूलको सुवास उसले नाकसम्म पुर्याउने थियो, फोक्सोसम्म ओराल्ने थियो । प्रकाशका ओजस्वी किरणहरूलाई आफ्नो तालु, काख र जाङ आसपास लगातार खस्न दिइरहने थियो । प्रकाशको सोही आद्रतामा दङ्ग परेर बसिरहने थियो ।
पारिपारिका बामपुड्के डाँडाहरूको फेदीमा गजधुम्म परेर चक्कर खाइरहेका हुस्सु, कुहिरो र तुवाँलोलाई आँखा मार्न ऊ त्यतै दगुर्ने थियो । हत्केलाभरि कुहिरो बोकेर ऊ उफ्रने थियो – आकाश भेट्न । घाँटीभरि कुहिरोको गलबन्दी भिर्दै नाच्ने थियो, जुल्फी मिलाइदिने थियो डाँडाको । तुवाँलोकै बर्को ओढ्ने थियो । हुस्सुकै पटुका कम्मरमा बाँधेर पुरानो नेपाली गीत गुनगुनाउने थियो,..
‘बाह्रहाते पटुकीले कम्मर कसेर,
लगाऊँ न चोखो माया सँगै बसेर,
हे..कम्मर कसेर…कम्मर कसेर ..।’
यो पक्का थियो, ऊ भोको थिएन भने भावनात्मक रुपमा ऊ हृष्टपुष्ट हुने थियो, तन्दुरुस्त हुने थियो । स्वस्थ हुने थियो । वरपर भुन्भुनाइरहेका मौरीहरूसँग बात मार्ने थियो, “सोल्टी, तिमी धेरै नै मेहनती छौं ।”
मौरीहरू पनि मुस्कुराउँदै भन्ने थिए, “आफू खुसी हुनुलाई तिमी मिहेनत भन्छौ भने त्यही सहि । तर म फूलफूल डुल्नु र भवँराहरूसँग इत्रिनुलाई नै जीवनको उच्चतम उच्छाइलो क्षितिज सम्झन्छु । जहाँ हरप्रहर खुसी छ, सुख छ, सन्तोष छ । “
ऊ जुका एवं किरा फट्याङ्ग्राहरूसँग गफ लडाउने थियो, “दोस्त, तिमीहरूको जिन्दगीको जङ्गी पहराहरू, जिन्दगीका बिगुलहरू कस्ता छन् ? मानिस लगायतका जीवका पैतालाबाट हरप्रहर बच्नु, छेलो पर्नु गाह्रो पनि होला है ?’
किरा फट्याङ्ग्राहरू उच्छवास ओकाल्दै भन्ने थिए, ‘हेर मित्र, आकाशमा उडेको चराले सरसर्ती जमिन हेर्दा देखेको दृश्य मात्रै हो त्यो । विहङ्गावलोकन मोटामोटी निरिक्षण मात्रै हो । यसरी तिमीले आफ्नो नजरले हाम्रो जीवन र हामीप्रति दृष्टि बनाउन सुहाउन्न । तिमी उभिएर हिँड्ने जाति, हामी घसृएर, उफ्रिएर हिँड्ने जाति । हामी एकै आकाशमुनि रहे पनि, हामी एकै धर्तीमाथि रहे पनि तिम्रो आकाश र हाम्रो आकाशको उचाई फरक छ । तिम्रो धर्ती र हाम्रो धर्तीमा उठ्ने ज्वालामुखी, भूकम्प र पहिराको वितण्डाका कथाव्यथा फरक-फरक छन्, अलग-अलग छन् ।”
रगत चुस्न नपाएर फत्रक्क गलेको जुकाले लसकलसक घिसृदै आएर भन्ने थियो, “हामीलाई स्वाँगिलो नभन तर हामीले कहिल्यै पनि जीवनलाई गिल्गिलाएका छैनौँ । हामीले कहिल्यै पनि समयका गिँडुल्कागिँडुल्कीहरूलाई तिमीलेझैं समयका निन्दनीय हर्कत, कन्जुस्याइँ सम्झिएका छैनौँ । हामीसँग गल्ने स्वभाव पनि छ, पग्लने समझपनि छ, र लचक हुने आत्म-स्वीकारोक्ति पनि । यसैकारण तिमीझैं गङ्गा दशहरा स्नान हामी गर्देनौँ । पापमोचन एकादशी हाम्रो पञ्चांगमा छैन । बागमती, पाँचपोखरी, त्रिवेणी, देवघाट हामी जादेनौँ ।”
जुकाहरूमध्ये बाटै अर्को मोटो जुकाले मुख खोल्ने थियो, “हो, हामी रगत खाएर बाच्छेँ । र, उनीहरू सिनो खाएर बाच्छन् । तर हामी दुवै हृदय खाँदैनौँ । बेमतलबको प्रलाप गर्दैनौँ । विनाकारण दुराग्रह राख्देनौँ । अरूलाई हानि पुर्याउने इच्छासम्म व्यक्त गर्देनौँ । असत्य बोल्देनौँ । द्वेष राख्देनौँ । दया, करुणा, प्रेम हामीसँग पनि छ । शरीर, मन र वचनले गरिने कुनै पनि प्रकारका पाप गर्देनौँ । हामी तिम्रो बुद्धिमताले ठानेकोझैं नीच, क्षुद्र, चुत्थो छैनौँ ।”
ऊ भोको थिएन भने ऊ बेनीचम्पाको निला-सेता फूलछेउ घण्टौं रुघ्ने थियो, भुनभुन गर्ने थियो । नजिकैको खोल्सीमा पानी पिउन आएका बाहुनीचराका जोडीलाई हेरेर रमाउने थियो, प्रफुल्ल हुने थियो । पानीमा गोता खाइरहेकी पानीचरीलाई चालचुल केही नगरी चुपचाप हेरिरहने थियो ।
भोको थिएन भने ऊ यतिविघ्न मर्मर्याउने थिएन । समयले दिएको घाउ खटिराहरूमामा पिप देखिरहने थिएन । ठेस, टुटुल्को, डन्डीफोर र मुसा सुम्सुमाइरहने थिएन । उसको यो चापाचाप, उसको यो बेफुर्सदी, उसको यो व्यस्तता, उसको यो धरपकड । उसको यो जोरजुलुम्, उसको यो सिकिस्तीपन, उसको यो लटनपटन..। यसको कहाँ अन्त्य छ ?
उसको यो पिचपिचाई, उसको यो पचपचाई, उसको यो गोलमोला..।, उसको यो खल्लोपन, उसको यो बाँझोपन, उसको यो एकछत्राइ अस्थिरता, उसको यो एक अचमत्कारिक चञ्चलता..। उसको यो तौलविनाको लथरोपन, उसको यो निकासबिनाको हिलोपन, दलदलपन, गजगजी..। यसको कहाँ गन्तव्य छ ?
उसको यो लट्ठकपन, उसको यो लठ्यौरोपन, उसको चटपटाइ, उसको यो छटपट । उसको यो थिलथिल्याइ, उसको यो लथालिङ्ग्याइ, उसको यो अलपत्र्याइ, ..थङ्थिल्याइ..। यसको कहाँ किनारा छ ?
ऊ भोको थिएन भने, सिँगानको लत्को, थुकको पित्को,..पिलो, पिप्सो, पिउसो, पुत्को, ठक्कर, चोट, उसको भागमा आइपरेको कोसेली सम्झने थियो । वर्षौंपछि प्रिय व्यक्तिको खबर बोकेर आएको डाँकथैली सम्झने थियो । तिर्खाले चुरचुर हुँदा सानो घैलीको पिँधमा भेटिएको एक घुट्को पानी सम्झने थियो । असल शील-स्वभावसहितको जिन्दगीकै एक ढाँचा, परिपाटी या छाँटछन्द सम्झने थियो । उसको काँध हलुको हुने थियो । उसको आँत भिज्ने थियो । उसको अन्त:करण प्रसन्न हुने थियो । उसको आन्द्रोमा एकप्रकारको बिझाइरहने खाक्सी रहने थिएन । उसको जीउबाट यो गह्रौं भारी, यो उचाल्न नै नसकिने खुर्ची ओर्लिने थियो । तर यसको कहाँ समाप्ति छ ?
खुसीराजी ऊ इन्द्रेणीसँग मितेरी ल्याउन सक्थ्यो । आँधीबेहरीसँग कानेखुसी गर्न सक्थ्यो । मेघमालासँगसँगै गर्जन सक्थ्यो । खोल्सामा मुख जोतेर पानी पिउने थियो । र, बग्दै आएका भुरा माछालाई जुँगाले ठेल्ने थियो । वरपरका रुखहरूलाई ऊ उफ्रीउफ्री छुने थियो । हाँगो लर्काउने थियो, शीतका जलगुच्छाहरू आफ्ना अनुहारभरि खसाउने थियो । दुबोमा नाङ्गो खुट्टा दगुर्ने थियो, शीतकणलाई पैतालाले कुल्चँदै शीतोष्ण वातावरणमा आफूलाई भूषित गर्ने थियो, पोषित गर्ने थियो ।
सुसज्जित हुने थियो ऊ । मनमाफिक हुने थियो । मस्तराम हुने थियो । दिल्लगीबाज हुने थियो । आफूखुसी हुने थियो । स्वार्थसिद्धिका लागि कसैको प्रशंसा गर्दै हिँड्ने थिएन । कसैको चाकडी गर्ने थिएन । कसैलाई मस्कारा लगाउने थिएन । कसैको चाप्लुसी गर्ने थिएन । ऊ मगमगाउने थियो, ऊ सुगन्धित हुने थियो । स्निग्ध हुने थियो । मुलायम हुने थियो । श्रीखण्ड हुने थियो । कस्तूरी हुने थियो ।
कुमकुम हुने थियो ऊ । केशरी हुने थियो ऊ । मगमगाउँदो धूप हुने थियो ऊ । सुगन्धबाल फूलझैं डाँठ डाँठ वासनादायी हुने थिए उसका । सुगन्धराज फूलझैं पत्र-पत्र सुगन्धित हुने थिए उसका । गन्धका नाममा दुर्गन्ध उसमा हुने नै थिएन । रजनीगन्धाझैं, रक्तचन्दनझैं, सालधूपझैं, कपूरझैं । हानिकारक वायूलाई समेत शुद्द बनाउन सक्ने थियो ऊ । कञ्नच बनाउन सक्ने थियो ऊ । दोषरहित हुन सक्थ्यो ऊ ।
उसले वास्तासम्म गर्न सकेको छैन, ऊ उभिएको बगैंचाको माथिमाथि बादलहरू लह-लह झुमिरहेका छन् । ढिकीच्याउँ खेलिरहेका छन् । उडकुसी मुड्कुसी खेलिरहेका छन् । ढ्याक खेलिरहेका छन् । छोइडूम खेलिरहेका छन् । छ्याईमाने हुतुतु खेलिरहेका छन् । राता बादलहरू, हरिया बादलहरू, पहेंला बादलहरू.. । काला बादलहरू । सेता बादलहरू । बैजनी बादलहरू । खैरा, फुस्रा, कलेजी रङ्गका बादलहहरू ।
बादलहरू उसलाई सुमसुमाउन चाहन्छन् । मेघागमको समय छ, बादलहरू उसलाई रुझाउन चाहन्छन् । बादलहरू न्यानो बाफिलो हावासहित उसको छातीभित्र पस्न खोजिरहेका छन् । उसको नाक तान्न मन गरिरहेका छन् । उसको गाला चिमोट्न मन गरिहेका छन् । बादलहरू उसलाई लात मार्न चाहन्छन् । ऊ लड्यो भने उसलाई उठाउन इन्द्रेणी पठाउनेछन् । बादलहरू उसलाई डूम बनाउन तयार छन् । उसको नजरबाट बचेर लुकीलुकी पहाड/खोंचको काखबाट मुन्टो उठाउन तम्तयार छन् । बादलका केस्रा-केस्रा उसको पाउ तल ओच्छिन तयार छन् । उसका पैतालामा काउकुती लगाएर उसको ओठभरि हाँसो भर्न चाहन्छन् ।
तर, अहँ । ऊ सिल्ली छ । यस प्रकारको हर्षातिरेक समयमा समेत ऊ चिच्याहट सुनिरहेको छ । श्वास मास्तिर तान्ने, तल्ल्तिर ओराल्ने मात्रै गरिरहेको छ । यसै आत्तिन्छ, स्वाँ स्वाँ गर्छ । यसै थाक्छ, फ्वाँ फ्वाँ गर्छ । उसको यो सीत्कृति, उसको यो चीत्कार, उसको यो चिच्चाहट..। उफ्…यो निकै भयानक छ ।
क्रन्दन मसुसुस गरिरहेको छ ऊ । कष्ट भेटिरहेको छ । उसका आँखामा एक थोपो हर्षाश्रु छैन, एक बूँद प्रेमाश्रु छैन । उसको हृदयमा एक छिटो आनन्द वृष्टि भइरहको छैन । उसको जीउमा आलोकको घनघोर मुसलधारे झरी ओइरिरहेको छैन । हृदयहारी यस झरीमा उसले आफूलाई बलेसीसम्म ओराल्न दिइरहेको छैन । ऊ खुला आकाशमुनि झ्यालखाना निर्माण गरिरहेको छ । र, कालकोठरीको झ्याल उघार्ने दुस्साहससम्म गरिरहेको छैन ।
उसको मस्तिष्कको कुनाकाप्चामा कनकचम्पाको मत्ताइलो गन्धझैं बेहोसी गुम्सिरहेको छ । उसको हृदयको मझेरीमा हाइड्रोना अफ्रिकानाको गन्धिलो गन्ध बाफिएको छ । होसहवास गुमाएको एक नम्बरको होस्ल्याङ भएको छ । उसको चेतना साँघुरिएको छ । बुद्धिमता कोप्चिएको छ । थेप्चिएको छ । निचोरिएको छ । दोक्चिएको छ । थच्चिएको छ । यसैकारण उसको कन्चटभर पसिनाका डल्लाहरू बुर्कुसी मारिरहेका छन् । मन, मस्तिष्क र शारीरभर बाफ मडारिएको छ । तातो बाफ…, रगत उम्लिएको ।
ऊ पिन्चे हुनुमा उसकै दोष छ । ऊ पिलनधारे हुनुमा ऊ नै जिम्मेवार छ । ऊ लोसो हुनुमा ऊ नै कारण हो । ऊ नै प्रक्रिया हो, ऊ नै नतिजा हो- ऊ बर्बाद हुनुमा । उसले आफैलाई विश्वास दिलाउन पर्ने, उसले आफूलाई नै सान्त्वना दिनु पर्ने, उसले आफ्नो नै भलो मनसुबा सोच्नुपर्ने, उसले आफूलाई नै आफ्नो ठान्नु पर्ने । तर ऊ भोक..भोक..भोक..गरेर अत्तालिरहेको छ । उसको पेट मात्र होइन, मस्तिष्क मात्रै होइन, हृदय मात्र होइन, आन्द्रा मात्र होइन,..उसको आत्मसुरक्षा, चेतना, ज्ञान, जीवननिर्वाह सबथोक, हरेक कुरा भोको छन् । लालसी छन् । लालची छन् । लोभी छन् ।
उसले आफ्नो सेखी झारेकै छैन । उसले अभिमान खसाएकै छैन । उसले आफ्नो बुद्धि, बल र समार्थ्यसँग घम्साघम्सी गरेकै छैन । ऊ आफूसँग झगडा गर्दैन । ऊ आफूसँग लडाइ लड्दैन । ऊ आफूलाई टोक्दैन । ऊ आफूलाई चिमोट्दैन । ऊ आफूलाई कुट्दैन । ऊ आफूलाई आमाचकारी गाली दिँदैन । ऊ आफ्नो नाक पनि छाम्दैन । ऊ आफ्नो मुख पनि च्यात्दैन । ऊ आफ्नो खुट्टा पनि बजार्दैन । आफूलाई चिन्नको लागि । आफूलाई बुझ्नको लागि । आफ़ूलाई आफ्नै नजिक बनाउनको लागि ।
ऊ ल्यासल्यास पिँधिरहको छ- आफ्नै अहंकारको मैमत्ता जाँतो ।
ऊ ल्वासल्वास हिँडिरहको छ- आफ्नै मूर्खताको निर्जन गोरेटोमा ।
ऊ क्वारक्वार गरिरहेको छ- आफ्नै लुब्ध मस्तिष्कको ओथारोमा ।
ऊ स्वाँ स्वाँ गरिरहेको छ- एकलासे देउरालीमा, खोंच र भञ्ज्याङहरूमा । यसै क्रममा अत्तालिँदै ऊ यो बगैंचामा आइपुगेको हो । बगैंचा उसले सोचेभन्दा सुन्दर छ । तर उसले त्यता ध्यान नै दिएको छैन । बगैंचामा फूलिरहेका गलैंची फूलको एक थुंगो चुडालेर उसले आफ्नो कानमा सिउरिए पनि हुने नि, तर ऊ त्यसो गर्दैन । निलीकाँडाका रुख देखर ऊ रिसाउँछ । बगैंचेलाई साफसाफ गाली बोल्छ । काँडापाते निगालो देखेर उसको भाउन्न छुट्छ । भोकले आकुलव्याकुल हुँदै काँसघारी-घारी दौडिन्छ ऊ, तर त्यही काँसको सेतो झुप्पे फूलहरू उसको नजर पर्दैनन् । काली ऐंसेलु देख्छ, तर त्यसमा लह-लह भई फलिरहेका राता राता टोप्राहरू उसको ध्यानमा पर्दैन ।
उसले निकै लामो समयपछि एउटा शीतल छहारी भेट्टायो । थकाइले चुरचुर भएको उसले त्यही छहारीमुनि थकाई मार्ने सोच्यो । लामो यात्रा पार गरेर आएको ऊ लामो समयसम्म गहिरो निद्रामा पर्यो । जब बिउँझियो उसले चाल पायो- उसको पेटलाई भोक निकै लागेको छ । भोकमरीको अवस्था उसले आफ्नै आँखा अगाडि भेट्यो । ऊ खन्चरो स्वभावको थियो । र, यति लामो समयसम्म उसले केही खान पाएको थिएन । भोकले अत्तालिँदै ऊ ढल्कियो । निदायो पनि ।
निद्रा त पुग्यो, आराम त मिल्यो तर भोक ? भोकले ऊ मरणासन्न भइसकेको थियो । उसले आफूले सुनेको, देखेको मिष्ठान्न भोजनहरूको कल्पना गर्यो ।
उसले सोचेमुताबिक नै विभिन्न खाना, अचार, मिठाई, तरकारी आदिका विभिन्न प्रकार र किसिमहरू उसको सामुन्ने आइपुगे । उसले भात सोच्यो । भात पायो । कपाकप खान थाल्यो । ठिक हो, भोकले प्रश्न गर्दैन, ‘भात कहाँबाट आयो ?’, उसले पनि प्रश्न गरेन । उसलाई अलिकता तरकारी पाए हुन्थ्यो भन्ने लाग्यो । उसले सोचेबमोजिमकै तरकारीका प्रकारहरू उसको सम्मुख आइपुगे । तकारीभन्दा पनि मासु चाहियो उसलाई । मासु पायो । मासु खाएपछि उसलाई प्यास लाग्यो । उसले पानी माग्यो । पानी पनि पायो । पानीले उसको प्यास बुझेन, जुस माग्यो । जुस पायो । जुसले पनि उसको तिर्खा मेटिएन । रक्सी माग्यो । रक्सी पायो । रक्सीले पनि पुगेन ।
रक्सीले अब एकछिन मेरो मिठो निद्रा माग्यो । मिठो निद्राले सजिलो ओच्छ्यान माग्यो । फूलको बिछ्यौना तयार भए । सजिलो ओछ्यानले चिसो हावा माग्यो । चिसो हावाले गहिरो निद्रा दिलाए । गहिरो निद्राले मिठो सपना माग्यो । मिठो सपना पनि पायो उसले ।
उसलाई आफूले सोचे बमोजिम सबथोक पाइरहँदा निकै मजा आयो, निकै आनन्द लाग्यो । उसले घर जोड्यो । उसले सम्पत्ति जोड्यो । उसले सुन, चाँदी, हिराजहावरतको थुप्रो बनायो । मानौँ, उसले आफूलाई चक्रवर्ती सम्राट बनायो । सयौं श्याम कर्ण घोडा छोड्यो, कसैले समात्न सकेनन् । सयौं अश्वमेध यज्ञ लगायो । इन्द्रको पनि कुनै जोरजुलुम चलेन । तीन लोक उसको मुठ्ठीमा आए । वैवस्वत मनु, मान्धाता, ययाति, प्रियव्रत, भरत, हरिशचन्द्र, सुदास, रावण, श्रीराम, राजा नहुष, युधिष्ठिर, महापद्म, विक्रमादित्य, सम्राट अशोक सब उही बन्यो । एकछत्र उसको राज चल्यो । एक्कासि ऊ बिउँझियो । बिउँझिएपछि हेर्छ, सपनामा चिताएको मुताबिक नै भइरहेको छ । उसले ती सब नष्ट होस् भन्ने चाह्यो । त्यहि भयो, सबथोक खरानीमा परिणत भए ।
उसको फेरि पनि होसहवास उड्यो । उसको बुद्धिमता यतिखेर उसकै जाङको जुम्रा मारिरहेको छ । होस्ल्याङ ऊ, फेरि पनि होस्ल्याङ देखियो ।
निकै असरल्ल मनस्थितिसहित उसले सोही छहारीमा सुस्ताउँदै प्रश्न गर्यो, यो सब कहाँबाट आए ? यो सबथोक कसरी सुसम्पन्न भयो ? तर उसले उत्तर पाएन । केहीबेर अझ प्रतीक्षा गर्ने थियो भने उसले आफ्ना प्रश्नहरूको उत्तर भेट्ने थियो । तर उसलाई प्रश्न गर्नु बेकार लाग्यो । उत्तर पाउने आशा गर्नु निर्रथक लाग्यो ।
अघाएको मानिसले, सम्पन्न मानिसले बौद्धिक विलास खोज्छ । उसले पनि त्यही गर्यो । वास्तविकता धेरे मिठो भएझैं लाग्यो उसलाई, सोहीकारण अलिकता तितो माग्यो । वर्तमानमै बिच्छीहरू देखिए । अझ अलिकता टर्रोपनको खाँचो औंल्यायो, सर्पहरू फँडा फुलाउँदै आइपुगे । अझ अलिकता अमिलो चाहियो उसलाई, बारुलो, अरिंगाल उसको वरपर जम्मा भए ।
अझ चाहियो,..अझ चाहियो..,ब्वाँसा आए, चितुवा आए । उसलाई लुछ्न थाले ।
अझ चाहियो,..अझ चाहियो..,बाघ आए, भालु आए । उसका हाडखोर चपाउन थाले ।
अझ चाहियो,..अझ चाहियो..,चील आए, गिद्ध आए । उसका बचेकुचेका मांस पिण्ड र हाडखोर लिएर उडे ।
उसले भूत सोच्यो । भूतहरू आए । उसले पिचास सोच्यो, पिचासहरू आए । उसले अझ डराउने जीवजन्तुको कल्पना गर्यो, उसले कल्पना गरे मुताबिक नै सब जीव आए, सब आकृति निम्तिए ।…र, अन्त्यसम्म पनि अझ ऊ भोको रहयो । ऊ आफ्नो भोकले यस प्रकार छटपटाइरह्यो कि बाध्य भएर उसले अन्त्यमा आफ्नो मृत्यु माग्यो..।
र, उसको शरीरबाट ईश्वर निस्कियो । ऊ आत्माविहीन लडिरह्यो । उसको नश्वर शरीर कुहिरह्यो, सडिरह्यो ।
र, त्यसैको मलबाट एउटा बोट उम्रियो । त्यही बोटमा फलेको फल अर्को कोहीले खायो । र, अनन्त : अर्को व्यक्ति पनि भोको रह्यो । रहिरह्यो ।..
र, अर्को व्यक्ति ?.. ऊ पनि भोको छ ।
अब ऊ पनि सड्नेछ । उसको शरीरबाट अर्को बोट उम्रने छ । र, त्यसमा पनि फल लाग्नेछ ।…
[ नोटः सनातन हिन्दु धर्ममा ‘कल्पवृक्ष’ एवं मुस्लाम धर्ममा ‘तूबा’ नामक वनस्पतिको वर्णन मिल्दछ । सोही कथानकबाट प्रेरित भएर यो कथा लेखिएको हो । ]