१२५ वर्षको लामो यात्रामा अनेकन प्रयोग भएका छन्, सिनेमाजगतमा । सिनेमा ताते सर्दै गर्दादेखि अहिले दौडिरहेको अवास्थासम्ममा पनि अनेकन् प्रयोगहरू भइ नै रहेका छन् । त्यस्तै एउटा प्रयोगले सिनेमाजगत फेरियो । त्यो प्रयोग थियो, सिनेमामा संवादको प्रयोग । अझै खुलाएर भन्ने हो भने सिनेमामा आवाजको प्रयोग । सुरुवाती दिनहरूमा सिनेमामा आवाज हुँदैन थियो । त्यति बेलाका प्रविधिबाट आवाजलाई कैद गरेर सिनेमासँगै मिसाउनु गाह्रो काम थियो । प्रयास भने भैरहेकै थियो तर फिचर फिल्ममा, व्यापारिक रुपले, भने प्रयोग गरिएको थिएन । पहिलो पटक “The Jazz Singer”मा आवाजको प्रयोग भयो । त्यस पश्चात अन्य सिनेमाहरूले पनि सो पथ पछ्याए र अन्तय भयो ‘अर्लि साइलेन्ट एरा’को ।
संवाद, दुई पात्रबिच कुराकानी गरेको देखाउन मात्रै प्रयोग गर्ने होइन, यो प्रयोग गर्ने हो जानकारि दिन । पात्रहरू बोलिरहँदा उनीहरूले जानकारी पनि दिइरहेको हुनुपर्छ । तर के सबै कुराहरू संवादमा अटाउन सकिन्छ ? के सबै भावना बोलेर बयान गर्न सकिन्छ ? उत्तर सजिलो छ, सकिँदैन । यस्तो बेला पनि ति भावनाहरूलाई देखाउनु पर्ने हुन्छ, दृश्यमा । त्यस्ता भावनाहरू नै मात्र किन सानो भन्दा सानो कुराहरूलाई नभनी देखाउँदा सिनेमाको स्वाद नै फेरिन्छ, त्यो उत्कृष्ट हुन्छ ।
जबसम्म संवादको आवश्यकता पर्दैन र जबसम्म नबोली देखाउन सकिन्छ, नबोलेरै देखाएको बेस, यस्तो मलाई लाग्छ । एउटा उदाहरण दिऊँ । मान्नुस् एउटा बच्चा पात्र छ । उसलाई चकलेटका खोलहरू जम्मा गर्ने सौख छ । यो जानकारीलाई दर्शकमाझ दुई तरिकाले पेश गर्न सकिन्छ । एक- बच्चालाई ‘मेरो सौख चकलेटका खोलहरू जम्मा गर्ने हो ।’, भन्न लगाएर । दुई- बच्चाले, खाएको वा भेट्टाएको चकलेटको खोललाई अन्य थुप्रै खोलहरूसंगै मिसाएर त्यसलाई जतनका साथ राखेको देखाएर । यो त सानो उदाहरण मात्र भयो यसरी धेरै जानकारीहरू देखाएकै भरमा दिन सकिन्छ । भनाइ नै छ नि, ‘शो, डन्ट टेल ।’
दृश्यहरूको मार्फत कथा भनिने, कथाको जानकारी दिइने शैलीलाई नै ‘भिजुअल स्टोरीटेलिङ’ भनिन्छ । ‘भिजुअल स्टोरीटेलिङ’ अझै एक तह माथि उठिदिन्छ जब त्यसमा थप सहयोग मिल्छ सुहाउने रंग, मिलेको प्रकाश, राम्रो ‘इडिट’, ‘ब्याकग्राउण्ड स्कोर’, वा ‘ब्याक्ग्राउण्ड गित’को । यसको मतलब संवाद प्रयोग गर्न नपाइने भन्ने होइन । कुनै पनि दृश्यामा संवाद राख्दा त्यसलाई ‘भिजुअल स्टोरीटेलिङ’ नभनिने भने होइन । साँच्चै भन्नु पर्दा कहाँ के प्रयोग गर्ने त्यो कथाले नै भनिरहेको हुन्छ र कतिपय कुराहरू निर्देशकको हातमा हुन्छ, कति छाँटकाँटमा पनि भर पर्छ । ‘Subtext’ र ‘Props’को प्रयोगले पनि ‘भिजुअल स्टोरीटेलिङ’लाई सहयोग पुर्याउँछ । ‘भिजुअल स्टोरीटेलिङ’ कुनै सिमित कुरामा निर्धारित हुँदैन, यसलाई कथा, पात्र, परिवेश अनुसार मोड्न सकिन्छ र सकिन्छ नयाँ नयाँ परिक्षणहरू गर्न ।
सिनेमामा दृश्य प्रयोग गरेर कथा प्रस्तुत कसरी गरिन्छ ? यो जान्न, ज्ञान लिन, अब्बल भन्दा अब्बल ‘फिल्ममेकर’हरूले ‘साइलेन्ट एरा’मा बनेका सिनेमाहरू पढ्छन्, जुनबेला केबल ‘भिजुअल स्टोरीटेलिङ’ चल्तिमा थियो त्यो पनि बिनाआवाज । सोच्नुस् त, कति मिहेनेत लाग्थ्यो होला बिनासंवाद तमाम कुराहरू सहि तरिकाले देखाउन ।
‘भिजुअल स्टोरीटेलिङ’ले भरिपुर्ण ‘Parasite’ले पछिल्लो ओस्कर हात पार्यो । तर म यहाँ ‘Parasite’को कुरा गर्न चहान्नँ । म चाहन्छु, बङ्गाली चलचित्र ‘निर्वाक’को कुरा गर्न । कसरी ‘भिजुअल स्टोरीटेलिङ’को प्रयोग गरेर निर्देशकले आफ्ना कुरा प्रस्तुत गरे ? यो जान्नु अघि, जानौँ कस्तो चलचित्र हो त ‘निर्वाक’ ? तपाईंले ‘निर्वाक’ हेर्नु भएको छैन भने कृपया पहिला हेरेर मात्रै यहाँ भन्दा मुनिका कुरा पढ्नु होला ।
लेखक/निर्देशक श्रिजित मुखर्जिले ‘बेवाक’ भएर बनाएको चलचित्र हो, ‘निर्वाक’ । यसलाई प्रयोगात्मक चलचित्र भन्दा गलत नहोला । प्रख्यात चित्रकार ‘साल्वाडोर डाली’को चित्र अवलोकन गर्दै गर्दा उनको दिमागमा यो चलचित्रको कथाको बिजारोपण भयो । र चलचित्रको केही भाग ‘सर्रिअल’ पनि त छ । धन्यवाद, ‘साल्वाडोर डाली’ !
निर्वाकमा जम्माजम्मी चार कथाहरू छन् । तर, यो Anthology भने होइन । यी हरेक कथालाई जोड्ने काम सुष्मिता सेनले निभाएको पात्रको हो, जसको नाम हामीलाई चलचित्रको अन्तिमसम्म पनि थाहा हुँदैन । ( त्यसैले उसलाई सुस्मिता नै भनौँ । ) चलचित्रमार्फत प्रेम, वासना, ईर्ष्या र विछोड जस्ता मानवीय भावना ( के यस्ता भावना मानवमा मात्र हुन्छन् ? ‘आर यू सियोर ?’) लाई एउटा स्वप्रेमी बुढो, रुख, कुकुर र लासको कथा मार्फत देखाउन खोजिएको छ । ‘निर्वाक’ जति ‘सर्रिअल’ छ उति नै ‘डार्क’ पनि छ । निर्देशकले रचेको यस दुनियाँमा आफैलाई सम्झिएर हस्तमैथुन गर्ने पात्र छ, तरुनी युवतीको छातीमा चिहाउँदै स्खलन गर्ने रुख छ, आफ्नो मालिकलाई अर्को युवतीसँग देखेर डाहा गर्ने कुकुर छ, लाससँग प्रेम गर्ने ‘प्रेमी’ छ र लासलई भोग्न चाहने ‘भिलेन’ छ ।
मैले यहाँ दोस्रो कथाको कुरा गर्न चाहेँ । दोस्रो कथा एउटा रुखको कथा हो । त्यस्तो रुख जसले सुस्मिताको पात्रलाई वासनाले हेर्छ । हो, हो ! यहि हो दोस्रो काहानी । छैन त सर्रियल ? तर रुखको कामवासना देखाउने कसरी ?
पहिलो कथाको अन्तिम-अन्तिम तिर सुस्मितालाई हामी पहिलो पटक देख्छौँ । हामीलाई थाहा हुन्छ उसलाई उसको प्रेमीसँग केही समस्या छ । एउटा रुखको मुनि रहेको बेन्चमा बसेर, उसले स्वप्रेमी बुढोलाई आफ्ना सारा काहानी सुनाउँछे र त्यसै बेला एक हुल प्रदर्शनकारीहरू फ्रेममा प्रवेश गर्छन् र सुस्मिताले सुनाएको समस्या हामीले सुन्नु पाउँदैनौँ । यसले हामीलाई सुस्मिताको पाटोको कथाको लागि तयार पार्छ ।
सुस्मिताको प्रेमी कोलकात्ताभन्दा बाहिर बस्ने हुन्छ । उसले सुस्मितालाई कोलकात्ता छोडेर आफूसँग बस्न बोलाइरहेको हुन्छ तर सुस्मिता, जो सानैदेखि कोलकात्ताको माहोलमा हुर्किएकी हुन्छे, यहि कारणले कोलकात्ता छोड्न चाहँदिन । त्यहि रुखमुनिको बेन्च, जसमा उसले त्यो स्वप्रेमी बुढोलाई आफ्नो समस्या सुनाएकी हुन्छे, त्यहीँ बसेर ऊ रुन्छे । अनि अचानक हामी रुखको दृष्टिकोणबाट उसलाई हेर्छौँ । ( यसरी अचानक दृष्टिकोण परिर्तन हुँदा म अचम्ममा परेँ । किन, किन रुखको यो दृष्टिकोण ? ) रोइरहेकी सुस्मितालाई आफ्नो पात झारेर रुख सान्तवना दिन खोज्छ । जब सुस्मिताले टाउको उठाएर रुखलाई हेर्छे । हावा चल्छ । पातहरू हल्लिन्छन् । रुख खुशी हुन्छ र नाच्छ ।

Nirvaak1
त्यसपछि कम्प्युटर अगाडि बसेर, ऊ आफ्नो बाबाले कोलकात्ताको बारेमा भन्ने गरेको कविताको बारेमा भन्छे । कोलकात्ताको बारेमा भन्छे । त्यो भन्दै गर्दा ऊ कोलकात्ताको सडकमा पुग्छे र हामी पनि सयर गर्छौँ उसले मनपराएको कोलकात्ता शहरको । त्यहि बखत उसले रुखको पनि कुरा गर्छे । रुखले उसलाई सान्तवना दिएको जस्तो महसुस गरेको कुरा ऊ बताउँछे । त्यसबाट हामीले अघि देखाइएको रुखको दृष्टिकोणको कारण थाहा पाउँछौँ ।

Nirvaak2
अर्को दृश्यमा सुस्मिता उसैगरी रुखमुनिको बेन्चमा बसिरहेकी हुन्छे र हामी उसलाई हेरिहेका हुन्छौँ रुखको दृष्टिकोणबाट । रुखले उसलाई नियालिरहेको हुन्छ । केही समयपश्चात उसले किताब निकालेर पढ्न थाल्छे । कर्के नजरले रुखले उसलाई हेरिरहेकै हुन्छ । किताब पढ्दा पढ्दै ऊ निदाउँछे । हावा चल्छ र उसले ओढेको सल उड्छ । उसको छातीमा क्यामराले रुखको दृष्टिकोणबाट चिहाउँछ । हाँगाबिँगाहरू हल्लिन थाल्छ । अनि लिँगजस्तो हाँगाबाट तप्प जुस जस्तो केही चुहिन्छ । स्खलित हुन्छ रुख । सुस्मिता उठेर जान्छे । अनि रुखबाट फल झर्छ । अब रुख पूर्ण भयो ।

Nirvaak3
राती रुखले कलपन्छ – सुस्मितालाई आफ्नी प्रेमिकाको रुपमा । ऊ नाचिरहेकी छे रुखका लागि । दर्शाइरहेकी छे प्रेम, सेतो कपडामा मधुर धुनको तालमा । अनि रुखले कल्पन्छ- सुस्मितालाई ‘डोमिनेटेड’ रुपमा । कालो लुगा लगाएर, ‘हाई पिच्ड’ धुनमा ऊ नाचिरहेकी छे । हातमा छडि लिएर पिटिरहेकी छे, सजाय दिइरहेकी छे रुखलाई । यसरी दर्शाउँछ रुखले आफ्नो यौन भावनाहरूलाई ।

Nirvaak4

Nirvaak5
रुखको त्यहि बेन्च मुनि आउँछन् सुस्मिता र उसको प्रेमी । उसको प्रेमीले फकाउन खोजिरहेको छ उसलाई, कलकात्ता छोड्नलाई । बिच-बिचमा चराले त्यो प्रेमीको सर्ट, टाउकोमा बिस्ट्याउँछन् । कमिलाले उसको खुट्टामा टोक्छन् । रुखलाई डाहा भइरहेको छ । सजाय दिऐरहेको छ रुखले सुस्मिताको प्रेमीलाई । मानौँ ऊ जान्दछ सुस्मिताको प्रेमीले सुस्मितालाई ऊबाट टाढा लैजान खोजिरहेको कुरा र ऊ रोक्न चाहन्छ सुस्मितालाई । तर रुख सुस्मिताको प्रेमीलाई रोक्न असफल हुन्छ । तब ऊ फकाउँछ सुस्मितालाई । रुखको दृष्टिकोणबाट हामी दुई प्रेमीलाई नजिकिरहेको देख्छौँ ।

Nirvaak6

Nirvaak7
उनीहरू एकअर्कालाई चुम्छन् । पानी पर्छ । परिरहेको पानीले दुई प्रेमीका लागि ‘रोमा्नटिक’ माहोल खडा गर्छ । त्यो वर्षाले रोइरहेको रुखको मनलाई पनि दर्शाउँछ । त्यहि रात धुनधान आँधी चल्छ र रुख ध्वस्त हुन्छ । मानौँ, प्रेममा उसले प्राण त्यागिदियो । यसरी अन्तय हुन्छ रुखको कहानी । अनि हामी सिनेमाको तेस्रो कहानीतर्फ बढ्छौँ ।
***
लेखक/निर्देशक श्रिजित मुखर्जिले दृश्य, संगीत, नृत्य र बिम्बको प्रयोगबाट हामीलाई रुखको भावना देखाउँछन् । आजकल संवादको प्रयोगले निम्त्याएको सजिलोपनले हो वा अन्य कुनै कारणले हो, निर्देशकहरूले कतिपय कुराहरू ‘ल बाबु, यो..यो हो, ल खाऊ र पचाऊ’ भनेर मुखैमा कोचिदिने प्रयास गरेको म महसुस गर्छु । ‘भिजुअल स्टोरीटेलिङ’मा तगडा भएको सिनेमा हेर्दा दृश्यहरूलाई हेरर दर्शकले छुट्टै अनुमान लगाउन सक्छन् । सिनेमा हेर्नुको वास्तविक रमाइलो पनि त्यसमै छ । ‘भिजुअल स्टोरीटेलिङ’ एउटा सशक्त माध्यम हो जसको कारणले सिनेमा बनाउन र हेर्न, दुवै चुनौतीपूर्ण काम हुन सक्छ । यसको सहायताले सिनेमाको बनावट र हेराइ, दुवै कलात्मक हुन जान्छ ।
पछिल्लो समय, तपाईंले हेर्नुभएको, ‘भिजुअल स्टोरीटेलिङ’ले भरिपूर्ण भएको, त्यो कुन सिनेमा हो जसले तपाईंलाई अवाक् बनायो ?