जनकपुरधाममा तीन दिवसीय साहित्य महोत्सव हुने भएको छ। साहित्य, कला र पुस्तक व्यवसाय प्रवद्र्धनका लागि बुक वर्ड फाउन्डेशनको आयोजनामा आगामी कात्तिक २२ देखि २४ सम्म महोत्सव हुन लागेको हो। जनकपुरधामका विभिन्न ६ पर्यटकीय तथा ऐतिहासिक स्थानमा ११ अलग–अलग विषयक सत्र आयोजना गरिने आयोजकले जानकारी दिएका छन्।
जनकपुरधामको जानकी मन्दिर, जानकी मन्दिर परिसरसँगैको विवाहमण्डप, रेल्वे स्टेसन, गोपाल धर्मशाला, गंगासागर पोखरीलगायत स्थलमा कार्यक्रम आयोजना गरिने फाउन्डेसनका संयोजक अजित बरालले बताए। बरालका अनुसार विवाह मण्डपमा हुने महोत्सव उद्घाटन सत्रमा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पत्रकार चन्द्रकिशोर झाले ‘चुरेको चिन्ता’ विषयमा चर्चा गर्नेछन्। यस्तै, प्रदेशका मुख्य शहरहरु जनकपुरधामसहित राजविराज र वीरगञ्जका मेयरबीच छलफल हुनेछ । स्थानीय तहको विकासमा छलफल गराउन भारतमा राष्ट्रपति पुरस्कार पाएका गाउँपञ्चायत प्रमुखलाई पनि बोलाइएको छ ।
उद्घाटन सत्रमै जानकी मन्दिर प्रांगणमा नेपाली कांग्रेसका नेता प्रदीप गिरीले सीताको बारेमा प्रवचन दिनेछन्। पुस्तक बजार व्यवस्थापन, पढ्ने संस्कृतिको विकास गर्ने उद्देश्यले जनकपुरधाममा नेपाल साहित्य उत्सव आयोजना गर्न लागिएको बरालको भनाइ छ। त्यस्तै, गंगासागर पोखरीमा कविता वाचन राखिनेछ । गंगासागर पोखरीको पानीमै बनाइएको स्टेजमा कविहरुले कविता वाचन गर्ने नेपाल भ्रमण बर्ष २०२० प्रदेश २ का पर्यटन प्रवर्द्धन समिति संयोजक मनिष झाले जानकारी दिए ।
जनकपुरधामको रेल्वे स्टेसनमा अर्थतन्त्र र राजनीतिमाथि चर्चा गरिनेछ। प्रदेश वा परदेश विषयमा कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले मोडरेटर गर्ने सत्रमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग अन्तक्र्रिया हुनेछ। महोत्सवका आयोजक बुकवर्म फाउण्डेशनका निर्देशक अजित बरालले सीमासम्बन्धी संवाद पनि हुने बताएका छन् । मैथिली साहित्यमा उच्च योगदान दिने व्यक्तित्वप्रति “श्रद्वाञ्जली र सम्मान” विषयमा पनि चर्चा गरिने उनको भनाइ छ । त्यस्तै, ‘मधेसको हिमाल’ विषयमा डा. रामदयाल राकेश र कनकमणि दीक्षितबीच परिचर्चा हुनेछ।
‘स्वाभिमान सम्मान र अभिमान’ बारे हिमाल खबर साप्ताहिकका सम्पादक किरण नेपाल, प्रदेश दुईका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, प्रदेशसभा सदस्य रानी शर्मा तिवारीबीच परिचर्चा गरिनेछ। यस सत्रको मोडरेटर नेपाली कांग्रेसका नेता गगन थापाले गर्ने आयोजकले जनाएका छन्।
‘विकासको खाका’ माथि जनकपुरधाम उपमहानगरपालिका, वीरगन्ज महानगरपालिका र राजविराज नगरपालिकाका प्रमुखबीच अन्तक्रिया गरिनेछ। यस कार्यक्रमको मोडरेटर पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले गर्नेछिन्।
यसका साथै साहित्य उत्सवमा सिमा संवाद, साहित्य सम्झनामा, कविता वाचनलगायत सत्र समावेश गरिएको छ। महोत्सवका अवसरमा तीनवटा पुस्तकसमेत लोकार्पण गर्ने कार्यक्रम छ। कात्तिक १७ र १८ गतेका लागि निर्धारण गरिएको महोत्सव चाडपर्वलाई मध्यनजर गरेर एक सातापछि सारिएको आयोजकले जनाएको छ ।