यस साताको कविता क्याप्सुलमा जनक कार्की ज्यूका ३ कविताहरूः
रत्नपार्क पैसा किन्दैछ!
साँघुरो फूटपाथलाई अतिक्रमण गरेर
रत्नपार्क पैसा किन्दैछ ।
ठेलमठेल, हतास–हतारभित्र
अस्तव्यस्त सवारी साधनको “नो हर्न प्लिज” को आवाज
कण्ठस्त “ताराबाजी लै लै” को बालगीत जस्तो
माइक्रो सहयोगीको सूचनाको आवाज
मण्डला र “बुद्ध वाज बर्न इन नेपाल” अंकित
टिसर्टको बुद्ध आवाज
भोकका कोइलाहरू पोलेर
धुवैँधुवाँ भएको “पट्पट” मकैको आवाज
क्रान्तिको ज्वालाको भुंग्रोमा पोलिएको
रातो–कालो सेकुवाको फुस्रो आवाज
ए! हजुर कता
मात्र पाँच सयमा छानीछानी–रोजीरोजी
जुत्ताहीनको जुत्ताको आवाज
यी सबै आवाजहरू
रत्नपार्कमा पैसा किन्दैछन् ।
एउटा सार्वजनिक शौचालय फोहोर खाएर
किनिरहेछ पैसा,
वीर अस्पतालको अगाडि बसेर
एउटा विरामी किड्नी सरकारको सिफारिसमा
किनिरहेछ पैसा,
टुँडिखेलको फलामे बारमा टाँसिएर
वर्षातमा निथ्रुक्क भिजेको छाताले
किनिरहेछ पैसा,
एउटा तिनकुने गल्लीमा
निरक्षर बाजे पुस्तक फिँजाएर
किनिरहेछन् पैसा,
बाल अधिकारको पम्प्लेटमा
पोको पारेको चट्पटेले
किनिरहेछ पैसा
मम्फलीले अर्धस्तन देखाएर
किनिरहेछ पैसा
नवजात पासपोर्टहरूलाई
एक सपनाका व्यापारीले मोलतोल गर्दै
किनिरहेको छ पैसा
पैसा किन्नु अपराध हो भन्छ महानगरपालिका,
लाठीचार्ज गर्दै सबै पैसा क्रेताहरूलाई
इतरवितर पार्छ ।
यो पार्कबाट दैनिक गुज्रन्छन्
मालिकहरूका गाडी साइरन बजाउँदै
उनीहरूको नजर पर्दैन
उनीहरू
ठूला–ठूला सिभिल मलमा मात्र पैसा बेच्न जाने गर्छन् ।
हराएकोलाई खोज्दै धेरै आउँछन्
रत्नपार्कको भीडभाडमा,
जसरी मनमाया तीन दिनदेखि सुदूरबाट आएकी छिन्
बिहे गरेर पत्तासाफ भएको श्रीमानको खोजीमा
भोक, शोक र रोगको पराकाष्ठापछि
रत्नपार्कले फेरि जन्माउँदैछ
अर्को पैसा किन्ने यन्त्र
रत्नपार्कको आकाशे पुलमा
गुट्का र पानले लिपेको कुनामा
बिछ्याएर चाइनिज म्याट
ओछ्याएर आफैलाई मनमायाले
एउटा प्लेकार्ड राखिन्
जसमा लेखिएको छ–
एक हात्तीमा एक रातभर,
आत्म सफारीको अवसर।
यसरी दैनिक हजारौँ पैसा किन्ने मान्छे थपिएको कुरामा
सरकार अनभिज्ञ छ ।
तिमी पैसा किन्न व्यस्त भइरहँदा
तिम्रो देश अरूले किनिसकेछ !

ImageSource: Scrooge Mcduck Kissing Money by Victor Minca on FineArtAmerica
******
आयुधको खोज
उज्यालोको जन्ती लिएर
आइपुग्छ भाष्कर बेहुला
चराहरू बजाउदै पञ्चेबाजा
कुहिरोको घुम्टो ओडेर बसेकी बेहुली “हिमाल”
भाष्करको किरणले छरीदिन्छ सिन्दूर हिमालका सिउदोमा।
सुसज्जित बेहुली “हिमाल” आइपुग्छे
फेवातालको दर्पणछेउमा
मुस्कुराउदै, लजाउदै अनि डराउदै
आफ्नै प्रतिबिम्ब हेर्दाहेर्दै ।
अचानक रिपु आउँछ
पत्थरका आयुध बोकेर
अनि झर्याम्म फुटाउछ पानीको आरसी
कल्पना ,सपना,सुन्दरता टुक्रा-टुक्रा हुन्छ।
बिदुर बनाउछ भाष्करलाई
युगौदेखी खोजिरहेछ
सुर्योदय र सुर्यास्तको अथक प्रयासहरूमा
त्यो आयुधलाई।

Image Source: Artist Rajesh Kalburgi on Fizdi
******
कविता: हल्ला नगर
स्स्स्स्स्स् चुप !
सरकार सुतिरहेको छ
कृपया हल्ला नगर्नुस् !
तपाइँलाई भोक लागेको हो ?
तपाइँलाई अन्याय भएको हो ?
तपाइँलाई चित्त नबुझेको हो ?
किन चिच्याइरहेको ?
किन निर्वस्त्र भएको ?
किन उफ्रेको ?
किन सन्केको ?
स्स्स्स्स्स्स् चुप !
सरकार निदाइरहेको छ
हल्ला नगर गर्दै नगर
कुम्भकर्ण जाग्यो भने
के हुन्छ सोचेका छौ ?
अनिकाल लागिसकेको छ
भोको कुम्भेले खानेछ तिमीलाई ।
सपना देख्दैछ
नयाँ मुलुक बनाउने
हल्ला गर्दै नगर
अहिले सपना बिथोलिन सक्छ ।
सपना बिथोलियो भने
तिम्रा हल्ला गर्ने जिब्रो थुतेर
निमुखा बनाइदिन सक्छ ।
उसलाई मन पर्दैन
कोहि चिच्याएर बोलेको
उ बैरो छ
अहिले सुन्छ फेरि ।
गरिबी निर्मुल पार्न उसले
सोचिरहेको छ
नयाँ योजना बुन्दै छ ।
गरिबलाई नै सक्ने
उसको योजना छ ।
भोक लागेको हो?
नकराउनुस् अहिले दुई थाल लाठीचार्ज
एक गिलास सिसाको गिलासमा
सिसाकै तातो गोलीको जुस खुवाउँछ भनेको छ ।
इज्जतको ख्याल गर्नुस् है
सरकारले रौसी पिएको छ
अहिले फेरि मातेको मान्छेले जे पनि गर्न सक्छ
करैकरले कर तिराएर बलात्कार गर्न सक्छ ।
स्स्स्स्स्स् हल्ला नगर
चुप लाग
सरकार सुतेको छ।
बापुजीले भनेको मान
नराम्रो नहेर हेर्दै नहेर
नराम्रो नसुन सुन्दै नसुन
नराम्रो नबोल बोल्दै नबोल
किनभने सहरमा अहिले
गब्बर शिंह आएको छ
५० माइल पर बच्चा रोयो भने पनि थाहा पाउँछ
अनि नाच बसन्ती नाच
भन्दै जवर्जस्ती नचाउछ ।
बल्ल खायौ तिमीले !
भनेको मानेको थिएनौ नि
पायौ होइन उपहार श्री ५ बाट
अब देशमा राजतन्त्र आउदैछ
उ हेरत गणतन्त्रको पहिलो राजा
श्रीपेच लगाएर कसरी हात्ती सवार गरेको
तिमी कुकुर भुकेर के हुन्छ ?
सुन्यौ होइन
बुझ्यौ होइन
स्स्स्स्स्स् चुप !
सरकार सुतिरहेको छ
कृपया हल्ला नगर्नुस् !

Image Source: Sαяα Ʋση ƤєякєƖє on Flickr