अङ्ग्रेजी साहित्यको सुप्रसिद्ध पुरस्कार ‘द बुकर प्राइज’ को सन् २०२० को लामो सूची अर्थात् ‘द बुकर डोजन’ आज सार्वजानिक भएको छ । ५ निर्णायक, सम्पादक, समालोचक एवं पूर्व प्रकाशक मार्गरेट बस्बी, लेखक ली चाइल्ड, लेखक एवं समालोचक समिर रहिम, लेखक एवं सञ्चारकर्मी लेम सिसे र शास्त्रीय लेखक एवं अनुवादक इमिली विलसन को संयुक्त निर्णायकत्वमा कुल १६२ उपन्यासमध्यबाट मात्र १३ कृति द बुकर डोजनमा छानिएका हुन् ।
मनोनयनमा परेका उक्त १३ कृतिमध्य १ कृति हिलारी म्यान्टलको ‘थोमस कोमवेल ट्रिलोजी’ अन्तर्गतको तेस्रो किताब ‘द मिरर एण्ड द लाइट’ पनि रहेको छ । लेखक हिलारी म्यान्टलले यसअघि पनि दुई कृतिकालागि दुईपटक द बुकर प्राइज हात पारिसकेकी छिन् । दुई-दुईपटक द बुकर प्राइज जित्ने ४ लेखकहरु मध्य उनका अलावा लेखकत्रय मार्गरेट एटवुड, पिटर क्यारे, र जे.एम. क्योत्जे समेत छन् । यदि, यसपटकको पुरस्कारपनि लेखक हिलारी म्यान्टलले जितेमा, एकै लेखकले ३ पटकसम्म बुकर प्राइज जितेको यो नविन कीर्तिमान दाखिल हुनेछ बुकर प्राइजको इतिहासमा । खैर, विजेता को हुनेछन् जान्नको लागि भने धैर्य नै गर्नुपर्ने हुन्छ ।
मनोनित १३ कृतिहरुमध्यबाट पनि छोटो सूचीका लागि मात्र ६ कृति आउँदो सेप्टेम्बरमा छानिने छन् । सेप्टेम्बरमा छानिएका ६ मध्यबाट एक कृति बुकर प्राइजको विजेता पुस्तकको रुपमा नोभेम्बरमा घोषणा गरिने छ । विजेताले ५० हजार पाउन्ड (आजको विनिमय दर अनुसार नेपाली ७६ लाख ८९ हजार ५०० रुपैयाँ) बराबरको नगद पुरस्कार प्राप्त गर्नेछन् ।
२०२० को मनोनितको सूचीले पुरस्कारको इतिहासमा एउटा रोचकता थपेको छ, किनभने मनोनितमध्य आधाभन्दा ज्यादा नवोदित लेखकहरु दर्ता भएका छन्, त्योपनि फरक फरक भूगोल र संस्कृतिबाट ।
द बुकर डोजन अर्थात् द बुकर प्राइजकालागि मनोनित कृति एवं लेखकको लामो सूची यस प्रकार छः
Author | Title (Imprint) | Country/Territory |
---|---|---|
Diane Cook | The New Wilderness (Oneworld Publications) | USA |
Tsitsi Dangarembga | This Mournable Body (Faber & Faber) | Zimbabwe |
Avni Doshi | Burnt Sugar (Hamish Hamilton, Penguin Random House) | USA |
Gabriel Krauze | Who They Was (4th Estate, HarperCollins) | UK |
Hilary Mantel | The Mirror & The Light (4th Estate, HarperCollins) | UK |
Colum McCann | Apeirogon (Bloomsbury Publishing) | Ireland/USA |
Maaza Mengiste | The Shadow King (Canongate Books) | Ethiopia/USA |
Kiley Reid | Such a Fun Age (Bloomsbury Circus, Bloomsbury Publishing) | USA |
Brandon Taylor | Real Life (Originals, Daunt Books Publishing) | USA |
Anne Tyler | Redhead by The Side of The Road (Chatto & Windus, Vintage) | USA |
Douglas Stuart | Shuggie Bain (Picador, Pan Macmillan) | Scotland/USA |
Sophie Ward | Love and Other Thought Experiments (Corsair, Little, Brown) | UK |
C Pam Zhang | How Much of These Hills is Gold (Virago, Little, Brown) | USA |
अघिल्लो वर्षको बुकर प्राइज दुई लेखक, ‘द टेस्टामेन्ट्स’का लागि मार्गरेट एटवुड र ‘गर्ल, वुमन, अदर’का लागि बर्नार्डिन इवारिस्टोकाबिच बाँडिएको इतिहास बनेको थियो । जसमा इवारिस्टो बुकर प्राइज जित्ने कालो जातिकातर्फबाट प्रथम विजेता थिइन् भने ७९ वर्षीय एटवुड बुकर प्राइज जित्ने सबैभन्दा पाको उमेरकी विजेता थिइन् जसले सन् २००० मा पनि ‘द ब्लाइन्ड असासिन’का लागि बुकर हात पारिसकेकी थिइन् । दुई लेखकबिच पुरस्कार बाँडिएको किर्तिमान भने बुकर प्राइजले सन् १९९३ मै पहिलोपटक दाखिल गरिसकेको थियो ।

Margaret Atwood and Bernardine Evaristo – Winner of The Booker Prize 2019
अङ्ग्रेजी साहित्यका लागि प्रदान गर्नेगरी द बुकर प्राइजको सुरुवात सन् १९६९ देखि भएको हो । यस पुरस्कारका लागि, यू.के वा आयरल्यान्डमा प्रकाशित अङ्ग्रेजी भाषामा लेखिएका उपन्यास विश्वभरिका जुनैपनि राष्ट्रका लेखकले आवेदन दर्ता गर्न सक्नेछन् ।