***
( कोल्ड वार- आत्मा भर्सेस शरिर ! )
**
कुराहरु । हँ ? एउटै देखिरहेका/भोगिरहेका कुराहरु एक्कासि परिवर्तन हुदाँ कस्तो कस्तो फिल हुदो रै’छ । त्यस्तो कुनै गम्भीर कुरा गर्न लागेको होइन मैले । लभ परेको पनि होइन, ब्रेकअप भएको पनि छैन । आज धैरै दिन पछि कोठा सफा गरेँ । बढारेँ । लुगा मिलाएँ । किताबलाई पनि लाइन लगाएर बुकसेल्फमा थन्काएँ । कस्तो अनौठो देखिरहेछ आफ्नै कोठा । यो मेरो कोठा नै होइन ! कति नसुहाएको यो कोठालाई मिलेको ! खोइ, मेरो हिजोको कोठाको स्वरुप ? कुनै कुनै कुराहरु मिल्दा पनि कुरुप देखिने रै’छन् ?
यो मेरै कोठा हो ? म अझै पनि यही सोचिरहेछु । खै त्यो सिलिङको कुनामा माकुराले ७ दिन लगाएर बनाएको घर/जालो ? अनि खै त्यो माकुरा ? खै खाटामुनिका एक हुल लामखुट्टेहरू ? भरे कसको खुन चुस्नेवाला छन् ती ? खै त्यो भित्तामा टाँसिएका ती धुलोका कणहरु ? कसको शरिरमा गएर टाँसिए होला ? अरे, खोइ त ऐनाको त्यो धब्बा/दाग ? अब खोट कसरी लाउनु मैले आफ्नो चेहेरालाई ? खै च्यातिएका ती डायरीका अर्धलिखित कागजहरू ? कहाँ पुगे ती, अब त्यसलाई पुरा कसले गर्छ ? तँलाई नै त हो जान्ने भएर कोठा मिलाउनु परेको/सफा गर्नु परेको ! अब हेर्, आफ्नै कोठाको शुद्धता माथिको कुरुपता !
यति विग्न उज्यालो किन देखिएको यो कोठा ? झ्याल किन खोलेको फेरि ? मलाई घाम देखि दुश्मनी छ भन्ने कुरा तँलाई थाहा छैन ? त्यो बन्द गरिहाल् ! ( मेरा पैतालाहरु झ्याल तर्फ अघि बढ्छन् । हातहरुले झ्यालका ढोका तान्छन् । पर्दा लगाउँछन् । ) के गरिस् यार तैँले, खै त छरपस्टतामा छरपस्ट भएको मेरो कोठाको सुन्दरता ? खै त त्यो सिग्रेटको गन्ध ? ती डस्टबिन बाहिर छरिएका फिल्टरहरुलाई कता पुराइस् ? मैले त भनेको थिएँ/वाचा गरेको थिएँ तिनीहरुलाई – “ कसम एकदिन म तिमीहरुको नाउँमा पनि कविता लेख्छु र सुनाउँछु यो सिङ्गो सहरलाई ! र त्यतिखेर तिमीहरु पनि ज्ञानी श्रोता भएर सुन्नु आफ्नै जिन्दगी महापुराण !” अब तैँ भन्, ए म बाँचेको म बाहिरको ‘म’, अब ती फिल्टरहरु खोज्न म कहाँ जाउँ – जसले कति पनि झ्याउ नमानि सुनेका थिए मेरो अतितको पुरानो घाउको दुर्गन्धित कथा ? र बनेका थिए त्यो घाउलाई शितल बनाउने/निको बनाउने मलमहरू !
कोठा मिलेपछि मसँग म भित्रको ‘म’ खुब रिसाइरहेको छ । म चुपचाप उसको गाली सुनिरहेको छु । सभ्य, असभ्य- दुवै/सबै । सायद कोठा पनि मसँग रिसाइरहेको छ । मौन छ । केही बोलिरहेको छैन । लगातार मलाई घुरिरहेछ ।
**
( युनियन- आत्मा पल्स शरिर ! )
**
खाटमा बसिरहेको मेरो शरिर चुपचाप उठ्छ । बुकसेल्फबाट एउटा बुक निकाल्छ – “यानिमल फाम”, जर्ज वर्विल । किताब पढ्न लागेको देखेपछि मभित्रको ‘म’ भित्रभित्रै मुस्कुराइरहेछ । अब यो आत्मा र शरिर बिचको कोल्ड वार अलिक शान्त भयो । मेरो शरिरले आत्मालाई फकाउने टेक्निक खुब जानेको छ । “आइ यम प्राउड अफ यु माइ ब्वाइ”, छातीभित्रबाट एउटा आवाज गुन्जिन्छ । मेरो शरिर खाटमा पल्टिरहेको सिरानीलाई भित्तामा अडेस लगाउँछ, र आफ्नो ढाडलाई त्यो सिरानीमा । र पल्टाउन थाल्छ त्यो सानो बुकको सा-साना पानाहरु !
किताबका पात्रहरुले मलाई छोयो । क्या गजबको किताब, जहाँ जनवारहरु मुख्य पात्र छन् । प्ल्ट पनि कति युनिक अनि सानदार । पुस्तकमा, एउटा फाममा जनावारहरु हुन्छन्, जो धेरै बाठा अनि बोल्न सक्ने हुन्छन् । जहाँ एउटा सुँगुरले मान्छे विरुद्ध भाषण दिन्छ र क्रान्तिको सुरुवात गर्छ । आफ्नो न्याय र समानताका लागि जनावारहरू आन्दोलन गर्न थाल्छन् । अनि त्यसपछि के हुन्छ ? – त्यो जान्नको लागि चै आफै पुस्तक पढ्नुहोस् ! मलाई त खुब मन पर्यो । सानो, चिटिक्कको र बगेको यो किताबलाई मैले करिब एक घन्टामा नै सकाएँ । सकिएपछि पनि कस्तो मज्जा भइरहेछ । आनन्द ।
**
( गार्डेन अफ फ्यान्टासी ! )
**
किताबलाई बुकसेल्फमा थन्काउँछु, जर्ज वर्विलकै ‘1984’ छेउमा र खाटमा आएर फेरि पल्टिन्छु । मेरा आँखाहरु बुकसेल्फ तिरै सोझिरहन्छन् । म त्यहीँ ‘यानिमल फाम’ लाई हेरिरहन्छु । एक्कासि, त्यहाँभित्रका जनवारहरु (पात्रहरु) मेरो मगजमा नाँच्न थाल्छन् । ‘1984’ कभरको साइडमा मिलेर टाँसिएका- 1,9,8,4,ले पनि मलाई रहस्यमय नजरले हेर्न थाल्छन् । त्यो पुस्तकको आवरणमा ढ्याब्रे अक्षरमा लेखिएको ‘जर्ज वर्विल’ले पनि मतिर शंकालु नजर फ्याक्छ । बिस्तारै, मेरो कानमा त्यो पुस्तकभित्रको त्यो तर्साउने वाक्य गुञ्जिन थाल्छ- “बिग ब्रोदर इज वाचिङ यु…..” । लगातार गुञ्जिरहन्छ…. “बिग ब्रोदर इज वाचिङ यु….. बिग ब्रोदर इज वाचिङ यु…..”
होइन यो के भइरहेछ मलाई ? के भइरहेछ यो कोठालाई, यी किताबहरूलाई ? हेर्न नमानिरहेका मेरा आँखा फेरि त्यही बुकसेल्फमा गएर एकोहोरो हुन्छन् । त्यो एस.जे वाट्सनको ‘बिफोर आइ गो टु स्लिप’ को आवारणको आँखाले मलाई घुरिरहन्छ । मलाई यस्तो लाग्छ त्यसले भनिरहेछ, “मेरो पात्रलाई यस्तो बनाउनुमा तेरो पनि हात छ !” पाउला हकिङ्सको ‘द गर्ल अन द ट्रेन’बाट निस्केर एउटा ट्रेन मेरो कोठाको वरिपरि घुम्न थाल्छ, जुन ट्रेनको झ्यालबाट एउटी अल्कोहलिक युवतीले मलाई शंका भरिएको नजरले हेरिरहेकी छे । ड्यान ब्राउनको “द दा भिन्ची कोड”बाट निस्किन्छ मुख्य पात्र ‘टोम ह्याङ्क्स’ बनेर र खोज्न थाल्छ मेरो कोठाभरि खै के के जाति हो ! ए.जे. फिनको ‘द वमेन इन द विन्डो’बाट ‘यागोराफोबिक’ पात्र निस्किन्छे र हेर्न थाल्छे मेरो ल्यापटपमा ‘अल्फ्रेड हिचकक’ का थ्रिलर मुभीहरू ।
पाउलो कोएल्होको ‘इलाभेन मिनटस्’ बाट निस्किन्छे त्यो हट एन्ड सेक्सी बेस्या र मलाई उसको प्रोस्टिट्युसनको कार्ड दिएर जान्छे । ग्याब्रिल गार्सियाको ‘वान हन्ड्रेड इयर अफ सोलिटिउड’ (जो मैले पढेको छैन)को त्यो कभरको कुचो, मेरो कोठा वरिपरि, म्याजिकल कुचो बनेर उड्न थाल्छ । अमिसका ‘राम’ , ‘सिता’ र ‘रावण’ आएर मलाई रामायण बिल्कुलै फरक शैलीमा सुनाउन थाल्छन् । ‘द काइट रनर’ र ‘अ थाउजेन्ड स्पेल्डिड सन्स’ बाट पनि त ‘अफगानस्थान’ मेरो कोठामा आएर धुरुधुरु रुन्छ । हरारीको ‘सेपियन्स’बाट निस्किन्छन् हाम्रा पुर्खाहरु र मेरो कोठाको किचन र्याक, ग्याँस, चुलो, लाइटरलाई खुब ध्यान दिएर हेर्छन् ।
धाराबासीकी ‘राधा’ आएर नाँच्न थाल्छिन् । एकछिन मेरो कोठा वृन्दावन हुन्छ । नारायण वाग्लेको ‘पल्पसा क्याफे’ बाट त्यो बच्ची मसँग आएर वार्तालाप गर्न थाल्छे ;
…………………….।
“तिमी त कति राम्री”(म)
– “जे पायो त्यही” (ऊ)
………………………।
पारिजात आएर शिरिषको फुल मेरो सिरानीमा राखेर जान्छिन् । बि.पीकी सुम्निमा आएर मेरो ओठमा एउटा कविता लेखेर जान्छे । बिजय मल्लका कथाहरुले टाउकोमा ठुङ्ग हानेर जान्छन् । बुद्धि सागरको ‘कर्णाली ब्लुज’मा चढेर एकैछिनमा म कर्णाली पुग्छु, मेरा बासँगै । नगरकोटीका किताबहरुबाट बिस्तारै ती सरियल अक्षरहरु बाहिर निस्किन थाल्छन् । र खै कता/कताबाट दाउरा/मुढा भेला पारेर चिता बनाउछन् र मलाई त्यहाँ माथि चढाउछन् ।
मुराकामीका किताबहरुले मेरो आँखालाई हिप्नोटाइज गर्छन् । बिस्तारै ती बुकसेल्फका काला किताबहरूबाट अनगिन्ती काला बिरालाहरूले फुत्त हाम फाल्छन् । जसका अनुहारहरू हुबहु मुराकामीका जस्तै छन् । ‘ब्याल्क क्याट्स विथ मुराकामी’ज फेस’ । । ती काला बिरालाहरू बिस्तारै मेरो वरिपरि उड्न थाल्छन् । तिनीहरुको साइज बढिरहेको छ । मेरो नजर पनि तिनीहरुसँगै घुम्न थाल्छ । एक्कासि तिनीहरु ‘ब्याल्क प्यान्थर’ जस्तै देखिन थाल्छन् । अनि ती सबैले मुख खोल्छन् र एकैचोटि गीत गाउन थाल्छन्,…, “बेला चाउ बेला चाउ….बेला चाउ चाउ..” ( अ स्पेनिस सङ) ।
बिस्तारै तिनीहरुको स्वर ठूल्ठूलो हुदै जान्छ । मेरो कानले पनि त्यो स्वर थेग्न सक्दैन । कानको जाली फुट्ला जस्तो हुन्छ । टाउकाका नसाहरु तन्किन थाल्छन् । म आफ्नो हातले कान थुन्छु । तर पनि त्यो चिच्याहाट मेरो कानमा परिनै रहन्छ, कानलाई छेडि नै रहन्छ !
**
( वान्डरिङ अफ वान्डर्स ! )
**
म जुरुक्क उठेँ । बुकसेल्फ छेउमा गएँ र सेल्फका सबै बुकहरु छरपष्ट पारिदिएँ । भुँइमा खसालिदिएँ । भुइँमा खसेका बुकलाई पनि तित्तरबित्तर पारिदिएँ । र त्यही माथि लडिदिएँ । तर अझै पनि त्यो गीत मेरो कानमा गुन्जिनैरह्यो/ गुन्जिनैरहेको छ । उस्तै ठूलो स्वरमा । मैले सहन नसक्ने भएँ । जरुक्क उठेँ । र कोठाबाट बाहिर निस्किएँ, ढोका पनि नलगाई ।
बाहिर पानी परिरहेको रहेछ । पानीमा बिझ्दै भए पनि म बाटोमा निस्किएर हिड्न थालेँ । कहाँ ?- थाहा छैन । बस्, हिडिरहे- छिटो/छिटो । बिस्तारै मेरो कानबाट त्यो गीत मधुरो/मधुरो हुदै बिलायो । म सोच्न थालेँ- ‘आखिर के थियो त्यो ? के भएको मलाई ? या कोठालाई या किताबलाई ?
किताबहरुको आत्मा हुन्छ कि नाइँ ? दिमागमा खै कस्तो सोच आयो ?- यस्तै सोच आयो ! यस्तै सोच्दै म त्यो पानीमा भिजिरहेछु, हिडिरहेछु । किताबभित्रका पात्रहरूको पनि त आत्मा हुन्छ होला ! अँ, कहिलेकाहीँ पहिलो च्याप्टरका पात्रहरूलाई/अक्षरहरूलाई अन्तिम च्यापटरसम्म पुग्ने मन होला ! पुग्छन् पनि त होला ! कहिले यसै पात्रहरु एकअर्कासँग गफिदा हुन् ! अक्षरहरु पनि त एकै ठाउँमा ठिङ्ग उभिदा उभिदा गल्छन् होला ! त्यसैले कहिलेकाहीँ उनीहरू पनि हिडेर अर्को पेजसम्म पुग्छन् होला ! कहिलेकाहीँ एउटा किताबले अर्को किताबका अक्षरहरुलाई उसको किताबी दुनियाँमा घुम्न बोलाउदो हो ! उनीहरु कहानी साटासाट गर्दा हुन् । एक किताबको पात्रले अर्को किताबको पात्रलाई प्रेम गर्दो हो ! सम्भोग गर्दो हो !
यस्तै सोच्दै म हिडिरहेछु ..भिजिरहेछु-
ऽऽऽ
यहाँ,
को जिउँदो छ ?
को मरिरहेछ ?
– के मर्नुको/बाँच्नु मापन सास फेर्नुले मात्र हुन्छ ?
ऽऽऽ
**
( फियर अफ इम्याजिनेसन ! )
**
मनमा खै कताबाट फुत्त एउटा डर पस्यो । बिना सुचना- ‘अब म त्यो कोठामा कसरी फर्किने ?’