लकडाउन समय । वातावरण चारैतिर शान्त छ । होइन, होइन जताततै भाइरसको आतंक फैलिरहेको बेला वायुमण्डल कसरी शान्त रहन सक्छ ? मन कसरी क्लान्त नहुन सक्छ ? शान्त होइन अशान्त छ ।
शान्त, अशान्त भन्दा पनि एक प्रकारको सन्नाटा छाएको छ । शान्त र सन्नाटामा धेरै अन्तर छ । शान्तको आवाज हुँदैन तर सन्नाटाको आवाज हुन्छ । तर, आवाज कहाँ छ ?
जस्तै अल्ट्रा साउन्ड ! कुकुर र चमेरासँग मात्रै अल्ट्रा साउन्डलाई सुन्न सक्ने क्षमता हुन्छ । त्यसैगरी, सन्नाटालाई सुन्न सक्ने क्षमता मान्छेमा मात्रै हुन्छ ।
बरु सुनसान शब्द उपयुक्त होला । चारैतिर, जताततै सुनसान ओछ्छिएको छ । सडक मस्तसँग निदाउन पाएको छ । हावाले धेरैपछि सास फेर्न पाएको छ । चराहरु गुनगुनाउँदै पौडी खेलिरहेका छन् आकाशमा । मान्छेहरु नदेखिएर होला शहर पहिलेको भन्दा केही सफा देखिएको छ । सुन्दर देखिएको छ । आज आफैँले बनाएको पिंजडामा आफैँ कैद छन् मान्छेहरु ।
म बरन्डामा बसेर किताब पढिरहेको छु, ‘Love in the Time of Cholera’. Yes, in the Time of Corona, I am reading ‘Love in the Time of Cholera’.

Love in the Time of Cholera by Gabriel García Márquez
उपहारस्वरूप मैले किताब पाएको सम्भवत: पहिलो अङ्ग्रेजी किताब होला । बुक-सेल्फमा धेरै समय निदायो यो किताब । नछामे पनि पुरै पढेको थिएँ यो किताबलाई । कसैलाई सिफारिस गर्नुपर्यो भने यो किताब कहिल्यै छुट्दैनथ्यो, छुट्दैन पनि । लकडाउन समय । धेरै समयसम्म लक भएर बसिरहेको किताबलाई अनलक गर्न मन लाग्यो ।
‘फर्मिना’ले थोरै शब्द लेखेर ‘फ्लोरेन्टिनो’लाई पत्र पठाउछिन् । पत्रमा लेखिएको हुन्छ- “Today, when I saw you, I realized that what is between us is nothing more than an illusion.”
पत्र पढेर फ्लोरेन्टिनो’झैँ मेरो पनि मुटु निचोरिन्छ । केही समय आफुलाई र किताबलाई आराम दिन्छु । चारैतिर ओछ्छिएको चकमन्नतामाथि आफ्नो नजर ओछ्याउँछु । लागिरहेको छ, समय हिँडिरहेको छैन, घिस्रिरहेको छ । कतै सुनेको/पढेको थिएँ- ‘दिन बित्न गाह्रो हुन्छ तर वर्ष कति चाँडै बितिजान्छ, पत्तै हुँदैन ।’
मेरो नजर सडकछेउमा रहेको एउटा मन्दिरमा अल्झिन्छ । हप्ताको एकदिन खुबै भिड लाग्ने गर्थ्यो त्यो मन्दिरमा । हप्ताको एकदिन मात्रै भक्तजनहरुलाई दर्शन दिने कुन भगवान हो मलाई थाहा छैन । चारैतिरबाट बारिएको फलामको बारले मन्दिरलाई सुरक्षा दिइएको छ । वडम्बना, मान्छेलाई सुरक्षा दिने भगवानलाई उल्टै मान्छेबाट नै सुरक्षा चाहिएको छ ।
मन्दिरको छत भएर एउटा पलाँसको रुख उभिएको छ । एउटा त्यस्तो फूल जसको सुगन्ध हुँदैन । पलाँसको रुखबाट झरेका फूल, पातहरु मन्दिर वरिपरि थपक्कसँग बसेका छन् । एउटा बुढीआमा हुनुहुन्थ्यो जो दिनको दुई-तीनपटक त्यहाँ झाडु लगाउनुहुन्थ्यो । लकडाउनले सायद गाउँ जानूभएको होला ।
मन्दिरसँगै जोडिएको घरमा मेरो नजरले ब्रेक लगाउँछ । चिटिक्क परेको दुईतले घर । लकडाउन हुनुभन्दा केही समय अघि देखि नै घर खाली छ । सुनसान छ । घरको मुलगेटमा पत्रिका राख्ने बाकस बनाइएको छ । बाकस पत्रीकाले भरिएको छ । केही पत्रिका भुइँमा खसेका पनि छन् ।
केहिबेर नजर यताउति घुमाएपछि पुन किताबमै घोत्लिन थाल्छु । ‘लभ-स्टोरी नोभेल’ धेरैपछि समाएको हुँ । यसअघि पनि लभस्टोरी’नै पढेँ- ‘Kabbalah : A Love Story’। ‘Kabbalah’ मा लेखिएको छ- ‘कसैलाई आफ्नो बनाउनु छ भने पहिले आफू उसको हुनुपर्छ । आफूलाई भेट्न पहिला आफू हराउन जरुरी छ ।’ म आफ्नो प्रेम सम्झिन पुग्छु । उनी मेरी भइन् तर म उनको हुन सकिनँ । सायद मैले स्वयंमलाई उनलाई सुम्पिन सकिनँ । त्यै भएर हो कि हाम्रो प्रेम सम्बन्ध टुटेको !

Kabbalah – A Love Story by Lawrance Kushner
सडकमा केही मान्छेहरु देखिन थाल्छन् । म घडी हेर्छु । पाँच बजेर दस मिनेट । चाहिने सामानहरु किन्नका लागि एक घण्टा केही पसलहरु खुल्ने व्यवस्था गरिएको छ । म हतारो गर्छु । किताबलाई छोडेर सडकमा उत्रिन्छु । अण्डा, चाउचाउ, मुङ्गीको दालमोठ र साग किन्छु ।
मन्दिर हुँदै फर्किन्छु । भुइँमा खसेका सबै पत्रिकाहरु बाकसमा कोचिदिन्छु । फेरि सोच्छु, यी पत्रिकाहरु कसले पढ्छन् ? समाचारहरु बासी भइसके । घरमा कोही मान्छे छैनन् । धेरै नसोची बाकसमा रहेको सबै पत्रिकाहरु निकाल्छु र आफैसँग लिएर जान्छु ।
सामानहरु किचेनमा राख्छु । पत्रिकाहरु बेडको एकछेउ हुत्याउँछु । चिया बनाउँछु । चिया लिएर पुन बरन्डामा देखा पर्छु । केही पन्नाहरु छाम्छु । साँझको हावा बहन थाल्छ । म किताब बन्द गरेर कोठामा पस्छु । मोबाइलमा गित बजाउँछु । किचेन छिर्छु र भात बसाल्छु । बिहानको जुठो भाँडाहरु माझ्छु ।
मोबाइलको गीत बन्द गर्छु । टिभी खोल्छु । जताततै कोरोना । हिन्दी फिल्मी च्यानलहरु लगाउँछु । जताततै दक्षिण भारतिय फिल्म । दिक्क लाग्छ । अङ्ग्रेजी फिल्मी च्यानलहरु खोताल्छु । हेर्न लायक कुनै भेट्दिनँ, देख्दिनँ । अन्तिममा एम टिभी लगाएर छोडिदिन्छु ।
अघि ल्याएको पत्रिकाको मुठो हातमा लिन्छु । सबै कोरानाको समाचारले भरिएको छ । कुनैपनि नपढी एउटा कुनामा कोच्छु । पत्रिकाको भित्री पत्रबाट दुई निमन्त्रणा कार्ड र एउटा बन्द खाम खस्छ । निमन्त्रणा कार्ड उठाउँछु । वर्तबन्धको निमन्त्रणा, जुन पक्कै यो लकडाउनले क्यानसिल भएको हुनुपर्छ ।
मेरो आँखा बन्द खाममा ठोकिन्छ । हातमा लिन्छु । खाममा लेखिएको हुन्छ, ‘दिस इज नट फर यु’ । अहिलेको जमानामा पनि पत्र ? खाम ओल्टाइपल्टाइ गर्छु । खोलुम कि नखोलुम् ? यो मेरो पत्र होइन । यो मेरो लागि होइन ।
हामी मान्छेलाई नियम तोड्न मजा लाग्छ । नगर भनेकै कुरा गर्न मन लाग्छ । मान्छेको यो खत्तम स्वभाव हो । खाम च्यात्छु । दुई पन्नाको पत्र हातमा लिन्छु । पढुम कि नपढुम् ? पत्रलाई आँखाले छाम्न थाल्छ । म पढ्न थाल्छु ।
“लकडाउन समय । वातावरण चारैतिर शान्त छ । होइन, होइन जताततै भाइरसको आतंक फैलिरहेको बेला वायुमण्डल कसरी शान्त रहन सक्छ ? मन कसरी क्लान्त नहुन सक्छ ? शान्त होइन अशान्त छ ।
…………………………………………………………..
………………………………………………
………………………………
म अचम्मित पर्छु । त्यही बेला प्रेसरकुकरको सिट्ठी लाग्छ । म तर्सिन्छु । किचेनमा गएर ग्यास अफ गर्छु ।
पुन पत्रमा घोत्लिन्छु ।
“म बरन्डामा बसेर किताब पढिरहेको छु, ‘Love in the Time of Cholera’ । yes, In the Time of Corona, i am reading ‘Love in the Time of Cholera’.”
……………………………………………………
…………………………………………….
……………………………….
पत्रमा त्यही शब्दहरु भेट्छु जुन शब्दहरु मेरो मस्तिष्क र मेरो दैनिकीमा कोरिएका थिए । पत्रमा म आफ्नो दिनभरिको अनुभव भेट्छु । आफ्नो मनोदशा भेट्छु । मनमा खेलेका भावानाहरु भेट्छु ।
पत्रमा फेरि नजर डुबाउँछु ।
“लागिरहेको छ, समय हिँडिरहेको छैन, घिस्रिरहेको छ । कतै सुनेको / पढेको थिएँ- ‘दिन बित्न गाह्रो हुन्छ तर वर्ष कति चाँडै बितिजान्छ, पत्तै हुँदैन ।”
…………………………………………………….
………………………………………….
……………………………….
यो कसरी सम्भव भयो ? म डराउँछु । आत्तिन्छु । कसैले मसँग कुनै मजाक गरिरहेको त छैन ?
सिधै पत्रको अन्तिमतिर पढ्छु ।
“यो कसरी सम्भव भयो ? म डराउँछु । आत्तिन्छु । कसैले मसँग कुनै मजाक गरिरहेको त छैन ?”
…………………………..

This is not for you !