साहिरा, ढोकाको चौकोसमा उभिएर आफ्नो बाबुलाई हेरिरहेकी छे जो उसको भान्सामा झुल्किन आइपुग्ने बिहानको सेतो घामजस्तै मधुरिँदै गइरहेको छ । ऊ संगमरमरको टेबुलमाथि बस्यो र वाकी टकी रेडियोलाई बडा विसादभरि नजरले घुर्न थाल्यो । घाम उसलाई छिचोलेर पर पुग्यो । साहिरा उसको करिब गई, तर ऊ तर्किएर पर-पर भाग्यो यसरी कि मानौँ ऊ विलायो त्यही सेतो कंक्रिट भित्तामा एउटा दृष्टिभ्रमजसरी !
सलेह आफ्नो वरिपरि यान्त्रिक उपकरणहरू देखेर चकित चकित परिरहेछ । २० वर्षअघि इरानीहरूको गिरफ्तारमा परेर जेल जानुभन्दा अगाडि उसले जतिपनि उपकरण देखेको थियो, तीभन्दा यी हरेक तवरले नौला थिए । ऊ ज्यादा जसो तिनैसँग आफ्नो समय बिताउँथ्यो, एउटा शिशुले गुडिया खेलेर बिताइदिएजस्तै । कैद हुँदा, सबै कुरा एउटै हुने गर्थे । यतिसम्म कि हाँस्नका लागि ठट्टा पनि ! उनीहरू सैयौंपटकसम्म पनि एउटै किस्सा सुनाउँथे एक अर्कालाई र यस्तो अभिनय गर्थे कि मानौँ भर्खरै केही ताजा उनीहरूले सुन्न पाएका हुन् ! साहिरा उसलाई हेरेर मुस्काउँछे । हातका खेलौनाहरूसँगै हराइरहेको सानो बालकजस्तै देखिइरहेको थियो ऊ । साहिरा सब्जी पखालपुखुल गर्न बेसिनतिर लागी ।
साहिरा ५ वर्षकी थिई, जब उसको बाबु पक्राउ परेको थियो र छुट्दासम्म त ऊ २३ कि भइसकेकी थिई ! ८ वर्षसम्म चलेको त्यो लामो युद्ध रोकिएपछिपनि,साहिरा र उसकी आमाले इराकी र इरानी कैदीहरूको साटफेर हुँदा पहिलो, दोस्रो र तेस्रो लटसम्म पर्खिएका थिए । ती घर फर्किएर आएका बन्दीहरूसँग हरेकपटक हरेकसँग उनीहरू सलेहको बारेमा सोध्ने गर्थे, कतै देखेका छन् कि वा चिनेका छन् कि ? तर कसैलेपनि देखेको छु वा चिनेको छु भन्दैन थियो । यही व्याकुलताको बिच साहिराकी आमा आफ्नो पतिको कुनै खबर नै नपाइकन मरी, १९६६ मा । त्यसको ठिक २ वर्षपछि १९६८ मा सलेहको रिहाई भयो ।
त्यस हिउँदमा साहिरा ३ रात बगदाद शहरको चोकमा सुती आफ्नो कारभित्र, अल नुसूर स्क्वायर, जहाँ युद्धका बन्दीहरूलाई फर्काउँदा ल्याइने भनिएको थियो । साहिराले बाबुको आइ.डी. को फोटोपनि साथै ल्याएकी थिई जसलाई धुल्याएर ठूलो पारिकन उसले सुनौलो फ्रेममा हालेकी थिई; यो आशामा कि कतै उसले आफूलाई चिन्न सकेन भनेपनि उसकै पुरानो ‘आफू’लाई त पक्कै नै चिन्ने छ । साहिरा आफ्नो कारभित्र सिटमा गुडल्किई, लुगाका बाहुलाले ठिहिराइरहेका औंलाका टुप्पाहरूलाई छोपी र बिस्तारै निदाई । ऊ तब ब्यूँझी जब उसको कार भिडसँगै उचालिन थाल्यो । मानिसहरूको भिड उसको कारलाई निचोरेजस्तै गरी ठेलमठेल गर्दै हुत्तिरहेका थिए मानौँ भिड उसको कारलाई पनि आफू सँगसँगै घिसारिरहेको थियो ।
सुरुमा त सलेहलाई विश्वास नै हुन सकेन कि ढोका खुल्यो । उसलाई अचम्म लाग्यो के यो साच्चै हो ? त्यो पालेले वास्तवमै भर्खरै फारसीमा चिच्याएर बाहिर जान सक्ने खबर दियो ? उसलाई विश्वास लागेन । ऊसँगैका बन्दीहरूले जस्तै उसले पनि सोच्यो कि अब उनीहरूलाई फाँसीमा चढाउन लागिँदै छ । बन्दी मध्यको एउटा अलि आशावादीले सोध्यो, “के हामीलाई अब छोड्दैछन् ?” “चुप लाग् !” कुन सनकमा हो कुन्नि सलेहले त्यसलाई एक झापड बजाएर झपार्यो । एकसरो लाम लगाएर उनीहरूलाई बाहिर हिँडाइयो । बाहिरको दुनियाँ असाध्यै चर्को थियो, आँखा खानेगरी उज्यालो ! सलेहलाई आकाश हेर्न मन लाग्यो, तर त्यसको उज्यालोलाई उसका आँखाहरूले थेग्न सकेनन् । जब उनीहरूतिर नयाँ लुगा हुत्याइयो र फेर्न भनियो सलेह पुनः एकपटक छक पर्यो । सलेहले आफ्नो पुरानो लुगाको बाहुलालाई बिस्तारै च्यात्यो र केही हिस्सा लुकायो । मनमनै तय गर्यो, यदि उनीहरूलाई भनिएको कुरा झुटो साबित भइहाले ऊ त्यही कपडाको पासो हाल्ने छ । लुगा फेरिसकेपछि उनीहरूलाई एउटा भुवादारी सिट भएको बसमा हुलियो । १८ वर्ष भइसकेको थियो सलेह यस्तो लचकदार चकटीमा बस्न पाएको थिएन । अचानक ऊ आफ्ना हत्केलाहरूलाई त्यस लचकदार चकटीमा गाडेर रुन थाल्यो । तब उसलाई विश्वास भयो उनीहरू साँच्चै नै घर फर्किँदैछन् ।
“हे ईश्वर, धन्न”
“ड्याडी ! यता !”
उनीहरू एक अर्कालाई अंगालो हाल्दै, खुशीका आँसु बगाउन थालिसकेका थिए । यस्तो लाग्थ्यो कि समय पनि केहीक्षणलाई आफ्नो बाटो बिराएर रोकिएको थियो । भिडमा एउटा गर्जन पैदा भयो ।
“धन्य हो ईश्वर !”
सलेह खुशीले आफ्ना ओठ उसका ओठमा पुर्याउनै लागेथ्यो साहिराले भनी,
“ड्याडी, म… साहिरा ! मम्मी त..” यति भनेर अकमकाई ।
सलेहले झट्टै उसको काँधबाट आफ्नो हात हटायो, मानौँ भर्खरै उसलाई करेन्ट लागेको छ । साहिरा, उसकी सानी फुच्ची, जो उसका खुट्टामा लपेटिएर झुण्डिने गर्थी, आफ्ना घुम्रिएका केश हल्लाउँदै खितखिताउँदै हाँस्ने गर्थी जब ऊ आफ्नो कोठामा खुट्टा हल्लाउँदै बस्ने गर्थ्यो ।
“साहिरा” भावविह्वल मुद्रामा सलेहले उसलाई निधारमा चुम्यो । “मैले त तिमीलाई चिनिनछु ।”
“ड्याडी ?” सलेहले झस्किएर, तौलियामा हात पुछ्दै गरेकी साहिरालाई हेर्यो ।
“खाना तयार भइसकेको छ, भोक लाग्दा खाइहाल्नु है । एकपटक तताए मात्र पुग्छ, है ! मैले अब काममा जानु पर्छ । अरु केही चाहिएको छ ड्याडी ? भन्नु है ! ठिक छ नि ड्याडी ?”
साहिराले सधैँजस्तै एकोहोरो वार्तालाप गरी । ड्याडीको शिर थपथपाउँदै ऊ आफ्नो कोट र पर्स निकाल्न ओझेल परी । साहिरा अब निस्किनको लागि तयार भइसकी ।
“घर छोडेर कतै ननिस्किनु है ड्याडी । केही चाहियो भने, मलाई फोन गर्नु है । ल, म निस्किएँ । बस्नु है !”
सलेह रेडियोको पार्टपुर्जामा यसरी हराएको थियो कि उसलाई केही कुराले विचलित गराउन सक्दैन थियो । सलेहले पहिलो ड्याम्म आवाज सुन्यो, फेरि दोस्रो र त्यसपछि साहिराका फिका हुँदै गइरहेका पदचाप । सलेह त्यसपछि बिस्तारै होसियारीपूर्वक कुर्सीमुनिको भुवा सक्कली हो या होइन जाँच्नलाई निहुरियो । त्यसपछि, उठ्यो र त्यो आँखै खाने घामको उज्यालोलाई भित्र छिर्न नदिन उसले पर्दा बन्द गर्यो ।
[ प्रस्तुत लघु-कथा इराकी कथाकार मुना फाह्दिल (Muna Fadhil) को अङ्ग्रेजी भाषामा लिखित कथा “प्रिजनर अफ वार” (Prisoner of War) बाट नेपालीमा अनुवाद गरिएको हो । ]