दाङ लिट्रेचर फेस्टिवलको सबैभन्दा अन्तिम सेसन थियो घर फर्किरहेका अक्षरहरु । दशैँमा आफ्नो गाउँ-घर फर्किरहेका कविहरु कविता कोसेली बोकेर फर्किेएका थिए, नयाँ पुस्ताको साहित्यिक हस्ताक्षर लिएर फर्किएका थिए । उदाहरण समूह नेपालले तिनै कविहरुका अक्षरमा भरिएका कोसेलीलाई दाङभर पुर्याउने जमर्को गर्दा यो सेसन साहित्यिक महोत्सवमा समेट्न पुगेको हो । दाङलाई काव्यिक अक्षरहरु कोसेली पुर्याउने पञ्चकविहरुमा हुनुहुन्थ्यो कवि सिर्जना पोख्रेल, कवि युग सर्वनाम, कवि संगीत मगर, कवि नवीन शर्मा र कवि विकास रोका मगर ।
कार्यक्रममा सबैभन्दा पहिला कवि सिर्जना पोख्रलले दुई कविता सुनाउनु भयो । वहाँको प्रथम कविता ‘भीड’ ले दर्शकदिर्घामा स्तब्धता नै छाएको थियो । शान्त बस्न आग्रह गरेर सुरु हुने पोख्रेलको ‘भीड’ कविता अब बोल्न थाल्नुस् भन्दै अन्त्य भएको थियो तर कवितालाई कविले यसरी बुन्नुभएको थियो कि चाहेर पनि बोल्न सक्ने अवस्थामा सायदै कोही श्रोता अपवाद थिए । कवि पोख्रेलका कविता गद्य भइकन पनि अनुप्रासयुक्त, बिम्वात्मक थिए । दोस्रो कविता पनि उस्तै मार्मिक चेतनामूलक सुनाउनु भएकी कवि पोख्रेलले एउटै कवितामार्फत पनि एकभन्दा बढि सन्देश दिन सकिने कुराको उदाहरण पेश गर्दै उक्त कविताको शिर्षक ‘रुख’ कि ‘आमा’ हुनुपर्छ श्रोतालाई नै त्यसको निर्क्योल गर्नसमेत आग्रह गर्नुभयो । कवि सिर्जना पोख्रेल दाङको साहित्याकाशमा उदाउँदो घाम भएको कुरामा दुई मत नहोला ।
सेसनमा दोस्रो कविको रुपमा कवि युग सर्वनामले पनि आफ्ना दुई कविता राख्नुभयो । आफुलाई कविता सिकिरहेको बताउने कवि सर्वनामले कार्यक्रममा ‘आवाज’ कविता मार्फत मुलुकमा बेथिति ल्याउनेहरुप्रति सशक्त भाषामा खबरदारीको आह्वान गर्नुभयो भने दोस्रो कविता ‘गलबन्दी’ मा सुन्दर बिम्वहरुको प्रयोग गरिकन एउटा हराइगएको प्रेमको बाटो पुनः पहिल्याउने प्रयास गर्नुभएको छ । एउटै मञ्चमा क्रमशः विद्रोह र प्रेममाथि काव्यवाचन गरेर कवि सर्वनामले आफुलाई बहुआयामिक कविको रुपमा प्रस्तुत गर्न सफल हुनु भएको छ ।
कवि नवीन शर्मा जसले उज्यालो रेडियो मार्फत पनि काठ्माण्डौँ उपत्यकालाई आफ्ना कविता सुनाइसक्नु भएको छ, घर फर्किरहँदा आफ्नो गाउँघरलाई पनि वहाँले कोसेलीमा कविता मात्र लिएर फर्किनुभएन बरु नयाँ पुस्ताको साहित्यमा एउटा नविन साम्भाव्य समेत बोकेर फर्किनुभयो । कवि नवीनका दुवै कविता ‘गाउँ पुगेको शहर’ र ‘दुःख बोध’ मा मानवताको गहन खोज अन्तर्निहित पाउन सकिन्थ्यो । गाउँको नम्रता र मानवियता, गाउँका दुःख, कष्ट र मिहेनतको शाब्दिक चित्रकला वहाँका कवितामा भेटाउन सकिन्थयो ।
कवि संगीत मगर, जो आफैमा एक फेसन डिजाइनर पनि हुनुहुन्छ, वहाँले पनि कार्यक्रममा दुई कविताको प्रस्तुति दिनुभयो । वहाँको पहिलो कविता ‘आत्म सम्बोधन’ मा प्रेमिल झंकारको साथसाथै केही दार्शनिक चिन्तनका रेखाहरुपनि कोरिएका थिए भने दोस्रो कविता ‘भ्रम’ छोटो भइकन पनि चोटिलो प्रेम विषयक नै थियो । वहाँको दोस्रो कविता ‘भ्रम’ थोरै शब्दले धेरै कुरा बताउनसक्ने गरि सुन्दर बुनिएको कविताको नमूनाको रुपमा उल्लेख्य छ । दाङका महिलाहरुमा पनि काव्य चेतना छ है भन्न सकिने गरि कवि संगीतले आफुलाई एक गतिलो उदाहरणका रुपमा प्रस्तुत गर्नुभएको थियो ।
सेसनको अन्तिम प्रस्तोताका रुपमा कवि विकास रोका मगरले आफ्ना एक जोडा कविता प्रस्तुत गर्नुभएको थियो । ‘बजार’ शिर्षकको कवितामार्फत कविले पुँजिवादी संयन्त्रमाथि गतिलो झापड हिर्काुनुभयो भने दोस्रो कविता ‘अनिँदो जागा बस्दा’ मार्फत वहाँले आफ्नो युगका युवाहरुको पीडा एवं छटपटीको सुस्केरा सुनाउनुभएको थियो । कवि विकासलाई वर्तमान युग र व्यवस्थामा बाँचेर वर्तमानकै चित्रलाई अमिट र हुबहु उतार्न सक्ने कविका रुपमा लिन सकिन्छ ।
कार्यक्रममा प्रस्तुत पञ्चकवि बाहेक अरु दुई कविले समेत आफ्नो कविता प्रस्तुत गर्नुभएको थियो । कवि जनार्धन आचार्यले ‘बुनु’ शिर्षकमा जनयुद्ध विशेष मार्मिक-यथार्थबाहक कविता प्रस्तुत गर्नुभएको थियो भने कवि क्रान्ति शिखा धितालले शिर्षक सोच्न नभ्याउँदै तत्काल रचेको कविता प्रस्तुत गर्नुभयो । कवि धितालको कवितामा जोखिम र जटिल दुई धारमा बगिरहेको महिलाको त्रासमय जीवनको मार्मिक झलक पाउन सकिन्थ्यो । कार्यक्रमको सञ्चालनमा आशा वलीको भूमिका सशक्त देखिएको थियो ।
कार्यक्रमको अन्त्यमा आयोजक, उदाहरण समूह नेपालका मुख-मानव कवि नवीन अभिलाषीले सबै किसिमले सहयोग गर्नेहरुमा कृतज्ञता व्यक्त गर्दै आगामी साहित्यिक महोत्सव बहुदिनको लागि हुने र अझ भव्य हुने घोषणा गर्नुभयो । कार्यक्रमका सबैभनदा ज्येष्ठ नागरिक, वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्माद्वारा मायाको चिनो वितरण सहित मन्तव्य व्यक्त गर्नुभएको थियो । मन्तव्यमा वहाँले उदाहरण समूहले बूढाहरुकै जमातलाई मञ्चमा पुनरावृत्ति नगराएर नयाँ पुस्तालाई अघि लगाई, युवाहरुलाई साहित्यका लागि प्रोत्साहन गरेको कुरालाई मुक्तकण्ठले प्रशंसा गर्नुभयो । कार्यक्रममा जनता बुक्सले साहित्यिक किताबहरुको स्टल राखेको थियो भने औपचारिक कार्यक्रमको समापन लगतै फोटोसेसन र नास्ताको क्रम चलेको थियो । फेस्टिवलको रौनक यसरी चलेको थियो कि उपस्थित कसैमा पनि घर फर्कने हतारो देखिएको थिएन बरु कार्यक्रमको अन्तय पछि पनि साहित्यिक भलाकुसारीको माहोल देख्न सकिन्थ्यो ।