उसैगरी फर्किँदै छु, जसरी आएको थिएँ। झोला बोकेर। उतिबेला झोला भरी आमाले हाल्दिनुभएको गुन्द्रुक र मुलाको अचार, भाउजुले हाल्दिनुभएको आँपको अचार, आफ्ना केहि जोर कपडा र केहि थान किताब हुँदा पनि पटक्कै भारी थिएन। आज एक जोर फेर्ने कपडा र एउटा डायरीको भारले थिचेर लाग्दैछ म किचिमिचि भइसकेको छु। त्यतिबेला पखेटा लागेका थिए सपनाहरुको। अहिले तिनै पखेटाहरूको मलामी गएर फर्केको छु। लाग्थ्यो कस्तो न होला शहर! कत्ति सुन्दर होला! सुविधा होला! शन्ति होला शहरमा! अनि होलान् सपना सम्म पुर्याउन खुड्किलाहरू। हो, सबथोक रहेछ शहरमा ! वश, एउटा स्वाभिमान रहेनछ । स्वाभिमान च्यातेर मात्र पाइँदो रहेछ शहरमा सुबिधा, शान्ती, सुकुन, सबैसबै कुराहरु ।
गाउँलाई पाखे भन्ने सभ्यताको पुजारी रहेछ । साच्चै, यो जातको फूलबारीमा भेदभाव हुन्न रहेछ मात्र हुनेरहेछ सभ्य भेदभाव । अझै ताजा छ, दुई महिना गाउँले काकाकोमा बसेपछि आफ्नै छुट्टै कोठा खोज्न हिँडेको, हरेक घरमा सोधिएकै थियो, जात अनि पुर्खा । आँखामा कालो चस्मा टिकाएर घुर्ने शहरको बानी हो या स्वभाव? शहरलाई गाउँ गन्हाउँछ रे ! यहाँका घरबेटीहरु कौसीमा लुगा सुकाउन सकेसम्म दिँदैनन् ।
तर हरेक साँझ सब्जी मण्डीमा उनीहरुकै हल्ला हुन्छ – ”गाउँकै लोकल हो त भाइ ?” , ”अर्गानिक मलमा फलेको हो नि ?” , ”यो कहाँको आलु ?” , ”मुस्ताङ्ग कै हो र स्याउ ?” उफ् ! सकस ! शहरमा मुफ्तमा पाइने एक मात्र चिज हो सकस ! नत्र त यहाँ निकासको लागि पनि पैसा लाग्छ । अस्ती बिचबाटोमै आपत परेर ५ रुपैयाँ तिरेर फालियो शरीरमा बढी भएको पानी !
भित्रै बसुँ, बेरोजगारीको सकस, बाहिर निस्कुँ, नातावादको सकस ! कोठाभित्र एक्लोपनको सकस, कोठा बाहिर धुवाँ-धुलोको सकस ! पहिल्यै मुकुण्डो भिरेको अनुहारमाथि अर्को मुकुण्डो राखेर हिँड्छ शहर सुग्घरी बनेर । म पनि त विवश छु शहरको नक्कल गर्न । किन होला ? जस्तै दु:खाहरुको चपेटामा च्याप्टिएर पनि मान्छे बाँच्नै चाहन्छ । शहर तराजु हो । तौलन्छ तिमीलाई तिम्रो हुलियाको आधारमा । कस्तो बोक्राले छोपेको छौ आफुलाई ? शहर नियाल्छ तिमीलाई ! घडी कुन ब्राण्डको ? शर्ट कस्तो ? पेन्ट कुन तेक्स्टायलको ? जुत्ता ? मोबाइल ? हेयर स्टायल ? वश, सुन्तलाको केस्रा फ्याँकेर बोक्राको लेप बनाई लगाएर, छाला चम्काउन पाए पुग्छ शहरलाई ।
भित्र जस्तोसुकै होस रोग, व्याधी ! मतलब राख्दैन शहर गहिराइको । यो नै शहरको आधुनिकताको परिचय हो । कोठाको भाडा एक्लै तिर्न धौ-धौ परेपछि नै हो शहरकै एउटा लोकल ठिटोलाई फकाउन थालेँ । उसको रुममा बिहान-बेलुकाको निद्रा निदाउन पाएपनि बाँच्न सकिन्थ्यो भन्ने मसिनो आश ! त्यसो त मनका उकुसमुकुसहरु डायरीका पानाहरुलाई सुनाउँदा सुनाउँदा हैरान पनि भइसकेको थिएँ म । शहरमा एउटा साथीको खाँचो पनि त थियो । बोल्दै जाँदा खुल्दै गइयो । एक साँझ स्वयम्भूको डाँडामा बसेर वात मार्दै गर्दा उसले मेरो राशी सोध्यो । साथी आफूप्रति उत्सुक पाउँदा हृदयमा खुशीको एक झुल्को उठ्यो । त्यसको पर्सिपल्ट भेट्दा उसले एउटा हत्केलाभरीको राशीको किताब देखायो र पढेर सुनायो । फलानो र ढिस्कानो राशीको सम्बन्धले निम्त्याउने प्रतिफल ।
साच्चै, शहरले मान्छे देख्दैन । केवल स्वार्थ देख्छ । खोजेको कुरा तत्काल समयमै पाइन्छ भन्थे शहरमा । हो, पाइँदो पनि रहेछ । ढुकुटी नै आफ्नै नाममा हुँदोरहेछ यहाँ आवश्यक चिजवस्तुहरुको । तर त्यसको चाबी हुँदोरहेछ साहुको गोजीमा । परिश्रम बेचेर किन्नुपर्ने यो तलब नाउँको कागजे चाबी, किन दिँदो हो मुटु बिनाको साहुले श्रमिकको हातमा । मान्छे मरेर टरेर गइसकेपछि थोपा-थोपा गर्दै जम्मा हुन सकेको पानी जस्तै हो साहुबाट तलब थाप्नु र आफ्नो आवश्यक्ता पुरा गर्नु । तलब आएको दिन त महिनाभरी को कोसँग मागेर काम चलाइएको थियो, क-कसकहाँ उधारो खाता खोलिएको थियो हिसाब गरेर तिरनतारन गरी अब अर्को महिनाको लागि को-कोसँग माग्ने भन्ने योजना तयार गर्दागर्दै सकिन्छ । यो शहरको मौलिक विशेषता नै हो। शहरका धारामा किन्दा पनि आउँदैन पानी ! आइहाले पनि, खिया लागेझैँ रातो र जण्डिस लागेझैँ पहेँलो आउँछ । गाउँ गन्हाएर तर्की तर्की हिँड्ने शहर यस्तो पानी पिउँछ, खान्छ र यसैले चोख्याउँछ आफुलाई !
अचम्म र उदेक पनि लाग्न छोडिसकेको छ । घाम लागोस्, सडक डढेर, धुलो उडेर फोक्सोमा घर बनाउन थाल्छ । पानी परोस्, सडकमा दही जमेर, चक्का र खुट्टाहरुको दुर्गति ! अझ कहिले त दुर्घटना पनि ! शहरको चोकचोकमा मृत्यु र गल्ली-गल्लीमा भोकहरु भेटिन्छन् । तिनै भोकहरु आउँछन् कहिलेकाहीं अञ्जुलीमा केही कागजका टुक्राहरु बोकेर । त्यति नै तुक्रापानी नभएर गोजी रिक्तताको भारीले चुहिन थालेको हुन्छ आफ्नो । यस्तै चल्छ शहरमा भोकहरुको याचना शोकहरुसँग । र त आजसम्म शहरबाट केही सिकेको छु त समझदारी गर्न सिकेको छु रहर र सौखहरुसँग । कति दिन चलाउनु यसरी ? लतारेर त लत्रिन्छ मात्रै पार लाग्छ र जिन्दगी ?
यो स्वार्थी ठाउँबाट अघाएको छु । यहाँको भिडमा एक्लिएको छु । शहर त मैले यस्तो होला, चिताएकै थिइनँ । मान्छे भएर पनि निर्जन ! सबथोक भएर पनि रित्तो ! झिलिमिली भएर पनि अन्धकार ! यहाँ आफ्नो भन्नु आफ्नो हाल मात्रै हो । हालखबर सोध्नेहरु त सोध्न कै लागि मात्र सोधिदिन्छन् । अपनत्व भाव होइन यो त शहरको आदत मात्र हो, श्वास फेर्नु जस्तै । सोच्थेँ, नयाँ ठाउँमा आएको छु, आफ्नाहरू कमाउनु पर्छ, समय लाग्छ तर लगाउँछु । तर समय आफ्नो नाडीमा बस्दैन रहेछ त्यो पनि थाहा भयो । घडी त सबैको हात हातमा हुन्छ तर हातहरु नै आफ्नो हातमा हुँदारहेनछन् शहरमा ।
त्यसैले, हिँडेको हुँ अब जुन बाटो आएँ, त्यही बाटो । फर्कँदै छु आफ्नै गाउँ । आफ्नाहरू बीच । तर किन गह्रौँ भइराहेछ आज यो झोला ? यसमा छ नै के? दुई जोर कपडा र झिकी राखेको यही एउटा डायरी न हो, के विघ्न भारी लागेको आज ? कुन्नी, के को भारले थिचेर गलाईरहेछ पैताला ! लोलाइरहेछन् यसरी पाइलाहरु ! हिँड्दाहिँड्दै टेक्नु परेको छ घरीघरी यसरी डायरीको वैसाखी !
थाकेको शरीर बसमै निदाएछु । उफ, ब्युझिंदा कोहीपनि रहेनछन् । सबैजना झरिसके ? मेरो गाउँ कटिसक्यो ? कि, खाना खुवाउन रोकेको हो ? ओर्लुं र ? सादा खाना खान पनि न पुग्ने गरी बचेको छ पैसा, के ओर्लाई भयो र ? बरु पानी पिएरै प्यास मेटौँला । भोक त पचाउने तालिम दिएकै छ शहरले ! धन्न, पानी बोकेको रहेछु । त्यही पनि सकियो अब त । अर्को बोतल लिइराख्न पाए हुने । पानी किन्न त पुग्छ नि पैसा ! जब ओर्लन्छु, तिनछक पर्छु ! एकटक हुन्छु । अनौठो लाग्छ । कतै यो सपना त होइन ? अघि ब्युँझेको पनि सपनामै ब्युँझेको रहेछु क्या हो ? छाम्छु आफुलाई, नाडीमा धड्कन महशुस हुन्छ । पाखुरा चिमोट्छु, दुखेको थाहा पाउँछु । उफ, यो मेरो आफ्नै देश त हो ? खै त धुवाँ ? धुलाम्मे सडक खै त ? गाडी चढेको हुँ । विदेशी भूमिमा ओर्लिएँ कि कसो हो ? फेरी यो कसरी सम्भव ? आहा ! कति चिल्लो सडक ! फराकिलो ! सडकको दुवै किनारमा बगैँचा, बगैँचालाई पछ्याएका लहरै मिलेका दरबारजस्ता महलहरु ! अजीव सौन्दर्य बोकेका महलहरु ! कताकता पौराणिक जस्ता, कताकता आधुनिक जस्ता ! हरेक घर छुट्टै भएर पनि एकै जस्ता ! हरेक घरअघि बलिरहेका ल्याम्पोस्ट ! ल्याम्पोस्टले फ्याँकिरहेको उज्यालो ! उज्यालोले देखिइरहेको डस्टबिन ! कति चिटिक्क घर, सिनिक्क आँगन ! सडक उस्तै सफा ! यो रात, उफ कति चहकिलो ? कस्तो शीतल बतास ? आँखा खोलेर बतासको शीतल लिन पाएको ३ वर्षपछि सायद आजै हो ! साच्चै, आज बतास, बतास मात्र लिएर आएको छ । बिना बालुवा, बिना धुलो । मलाई रहर लाग्छ, नियाल्न यो रातको सुन्दरता ।
यो शहरको… शहर ? होइन होइन, यो पक्कै स्वर्ग हुनुपर्छ ! के आज म चढेको बस दुर्घटनामा पर्यो र म स्वर्गबास भएँ ? यो कुन ठाउँ हो वास्तवमै र म यहाँ कसरी आइपुगेँ ? हो, पक्कै म स्वर्गमा छु । नत्र यो जोश म मा कहाँबाट ? यो फूर्ति ? झोला पनि त भारी लागेको छैन ! होइन, के जादु हुँदैछ यो ? साच्चै जादु नै भएको हो त ? के म स्वर्गबास भइसकेकै हुँ त ? छाम्छु आफुलाई, कुनै चोटपटक छैन, दुखाइ छैन, गोजीमा थोरै पैसा उत्तिकै बाँकी छँदैछ । ज्यूँका त्यूँ, जतिका त्यति ! के को हुन्थ्यो जादु ? सादा खाना पनि आउँदैन यति पैसाले । झन् यो त स्वर्ग ! उफ, यो अभाव फेरी भोक लिएर आइदिन्छ । बल्ल भोक लागेको महशुस हुन्छ मलाई । यो स्वर्गमा अब होटेल हुन्छ कि हुन्न होला ? अहो ! भुँडी बटारिन थाल्छ । स्वर्गको खाना झन् छोइ नसक्नु हुँदो हो नि ! हेरेको समेत पैसा लाग्दो हो के भर ? भयो खान्नँ । तर अब कहाँ जाउँ ? के यहाँ म एक्लै छु ? उफ, वहाँ पनि त एक्लै थिइनँ र ? सोच्दासोच्दै देख्छु इमर्जेन्सी फोन बुथ ! वाह, स्वर्ग पनि क्या स्मार्ट ? फटाफट अघि बढ्छु, फोन उठाउँछु । कति डायल गरुँ ? कस्तो हो फेरि, परेको बेला कसैको नं याद नै आइदिँदैन । पिलिक ! पिलिक ! आ यु इन ट्रबल ? डायल 100 ! धन्न, आफ्नै देश जस्तो पो छ । त्यसोभए के म टाइम ट्राभल पो गर्दैछु? कि, यो सब के हो ? सपना ? १०० डायल भइसकेको छ, फोन पनि उठिहाल्छ –
”हेल्लो, इमर्जेन्सी सर्विस डिपाटमेन्ट, भन्नुस, के सहयोग गरौँ ?”
आफ्नै भाषा? स्वर्गमा ? चित खाँदै बोल्दै हुन्छु – ”म… म हराएँ”
”अहिले कहाँ हुनुहुन्छ ?”
”बिल्कुल अर्कै ठाउँ”
”सरी, तपाईंले एड्रेस बताउनु पर्ने हुन्छ”
”स्वर्ग ! म बाटो बिराएर स्वर्ग आइपुगेको हुँ । एकदम अत्यास लागिसकेको छ । प्लिज हेल्प मि !”
”ओके, डोन ओरी ! वि विल ट्राइटु कोड यो लोकेसन । डोन मुव, वि आ ट्राइङ्ग टु फाइण्ड यु”
टुट टुट टुट टुट टुट…. ! फोन कट्यो । अब कसलाई फोन गरुँ ? अत्यास लागिसकेको छ । फेरि लोभ्याइरहेको पनि छ यो स्वर्गको सौन्दर्यले । कता कता गिज्याइरहे जस्तो पनि लाग्छ । यहीँ बाँचिराख्न, डुलिराख्न, हिँडिराख्न, बसिराख्न मन छ । तर, जाने कहाँ ? गर्ने के ? कुन बाटो कहाँ कहाँ पुग्छ ? यहाँको नियम कानुन ? चलन प्रचलन ? कति लाग्ला सिक्न फेरि सुरुदेखि ? साच्चै मेरो उमेर कति भयो? म कस्तो देखिएको छु होला ? उस्तै छु कि फरक भइसकेँ ? लुगा त उस्तै छन् । म बुथबाट बाहिरिन्छु ।
छेउमै देख्छु काठको लामो बेञ्च । गएर बस्छु, थकाइ त कता कता अझै बाँकी नै रहेछ । बेन्चमा बसेपछि देख्छु, बेञ्च कै बगलमा बास्केट, फुड फर यु लेखिएको छ । बास्केटको तलाशी लिन्छु, भेट्छु, फ्रुट केक्सर मिलक सेक्सहरु । विभिन्न थरी चक्लेट्सहरु पनि । मेरै लागि हो त ? खाउँ कि न खाउँ भयो । अरे, पाउँदा पनि नखानु ? आफ्नै ज्यान मार्नु त पाप हो, स्वर्गमा आइपुगेर पनि पाप गर्नु ? खान्छु, यो मेरै लागि हो । जसले पायो उसकै लागि, मैले पाएँ, मेरै लागि भयो । खानेकुरा उठाउँछु र खान थाल्छु। बास्केट पुरै रित्तिएपछि थाहाभयो कति धेरै भोक लागेको रहेछ । मीठो पनि त कति हो नि ? प्यास पनि लागेजस्तो भयो । पानी चाहिँ कता राखिदिएको हुन्छ होला ? कि स्वर्गमा दुध मात्रै पाइन्छ, पानी पाइदैन ? पानी त पाइनु पर्ने, खोज्न थाल्छु यता उता । घरमा पर्खालहरु रहेनछन्, पर्खाल भन्नु नै हरिया बोट बिरुवाहरु। फाइदा उठाउँछु, अलि भित्रैसम्म चहार्छु । कस्तो चोरको डर नभएको मान्छेहरु हुन् यता त ? ल्या, यो त स्वर्ग पो त ! केराको बोट, अम्बाको बोट, इनार ! इनार ? पानी भेटियो । छेउमै भएको बाल्टिन उठाउँछु । ल्या, बाल्टिनमा त डोरी छैन त ? कसरी निकाल्नु पानी र पिउनु ? बाल्टिन भित्र केही देख्छु, हात हाल्दा रिमोट पो रहेछ । कस्ता कस्ता हुनेरहेछन् मान्छे त स्वर्गमा पनि ! बाल्टिनमा रिमोट ? हुनुपर्ने डोरी चाहिँ छैन !
एक्कासी, सडकमा निलो, रातो, हरियो, पहेँलो , बत्तीहरु निभ्दै, बल्दै गरेको देख्छु । इन्द्रेणीजस्तो बत्ती बालेर यस्तो रातमा को आइरहेछ कि गइरहेछ ? इन्द्रको बार पो छ कि नजिकै कतै ? अप्सराहरूको नृत्य पो चल्दै छ कि कतै ? यस्तै के के सोच्दासोच्दै, पहेँलो ज्याकेट र राता ट्राउजर लगाएका केही मान्छेहरु म तिरै आउँदै गरेको देख्छु । ला, चोर सम्झेर आए कि क्या हो, हुल नै कसेर आउँदै छन् त ? हत्त न पत्त दुवै हात माथि उठाउँदै भन्छु – ” म चोर होइन, तिर्खा लागेर पानी खोज्दै आएको हुँ ”
सबैभन्दा अग्लोले भन्यो – ”अघि बुथ नं ६ बाट फोन गर्ने तपाईं नै हो ? हराएँ भनेर ?”
उसको प्रतिप्रश्न सुनेपछि बल्ल सास आयो र हात तल झार्दै भनेँ- ”हो, मैले फोन गरेको थिएँ, तर मलाई एकदम पानी तिर्खा लागिरहेको छ, पहिला पानी पिउन पाए, म सबै कुरा बताउने थिएँ। इनारबाट पानी निकाल्न खोजेको यो बाल्टिनमा डोरी नै रहेनछ।”
एउटा पुड्केले अघि सरेर भन्यो- ”यो बाल्टिनलाई डोरी चाहिँदैन, रिमोटबाट चल्छ ।”
सिस्टममा बनाएकोले यो डोरी बिना नै डाइव बटन थिच्दा पानीमा हाम फाल्छ र पुल बटन थिचेपछि यो सिधा भएर माथि आउँछ । यो सेन्सर प्याडमा स्वाइप गरेर बाल्टिनलाई मन लागेको ठाउँमा राख्ने अनि पानी चलाउने ।”
पुड्केको कुराले म आश्चर्यचकित पर्छु – “स्वर्गमा पनि यस्तो विज्ञान ?”
मेरो प्रश्नको जवाफमा पुड्के भन्छ- “विज्ञानको सदुपयोग जहाँ हुन्छ त्यो नै त स्वर्ग हो । यो शहरमा आइपुग्नेहरु सबै नयाँलाई यो ठाउँ स्वर्ग लाग्छ ।”
“शहर ?” – म झस्किन्छु । शहरबाट त म आइपुगेको थिएँ । शहर यति राम्रो कहाँ हुन्छ ? ३ वर्ष शहरमा गुजारेको मलाई यी स्वर्गबासीहरु मायावी जाल गरेर पक्कै ठग्न चाहन्छन् जस्तो छ । स्वर्गमा पनि त जाली झेलीहरु त हुँदारहेछन् ! मलाई अन्योलग्रस्त देखेर सायद ३नै जना हाँसे ।
फेरि अग्लो चाहिँले भन्यो- “तपाईं अलमल्ल पर्नुभयो जस्तो छ । यो शहर होइन, वास्तविक शहर हो । नमुना शहर ।”
शहर ? अहँ, म मान्न तयार छैन- “शहरबाट त म आउँदैछु । शहर कहाँ यस्तो हुन्छ, यति राम्रो !”
पुड्केले हाँस्दै भन्यो- “यो कहाँ शहर हो त ? यो त वास्तविक शहर हो ।”
यो त अघि कै कुरा भो । शहर होइन रे फेरी वास्तविक शहर रे ! खास के हुँदैछ ?
म झन् अलमल्लिएको देखेर अग्लोले भन्यो- “जसलाई तपाईं शहर भन्दै हुनुहुन्छ वास्तवमा त्यो कहिल्यै शहर नै थिएन। वास्तविक शहर यो हो । हिँड्नुस, बाटो बिराएर आउनुभएको रहेछ, स्वागत छ शहरमा । पहिला पानी पिउनुस, तिर्खाउनु भएको जस्तो छ । त्यसपछि हामी तपाईंलाई शहरको आश्रममा पुर्याइदिन्छौँ । भोलिदेखि नै तपाईंले काम पनि पाउनुहुनेछ, शहरमा कसैले अलपत्र हुनु पर्दैन ।”
बाटो बिराएर आइपुग्नेलाई आश्रम? फेरि भोलिदेखि नै काम ? कस्तो अचम्म ! म पानी पिएर उनीहरुको पछि पछि लाग्छु। भ्यान लिएर आएका रहेछन् । म उनीहरुसँगै भ्यानमा पस्छु।
अघि नै देखि चुपचाप उभिएको केटो र म पछाडी बस्छौँ। पुड्के र अग्ले अगाडी । भ्यान हाँक्ने पनि पुड्के नै रहेछ। निलो, रातो, पहेंलो, हरियो बत्ती पिलिक-पिलिक पार्दै भ्यान आश्रमतर्फ अघि बढ्यो। केहीछिन कुदेपछि, आश्रमनगर लेखिएको ठूलो द्वारबाट भ्यान छिर्यो । यो शहरभित्र पनि आश्रमानगर भन्ने अर्को ठूलो शहर रहेछ ।
छेउको केटाले भन्यो- “यो आश्रमानगर हो। यहाँ राज्यले जनताको लागि बनाइदिएका आश्रमहरु छन् । आफ्नो वा पुर्खाको नाममा जग्गा जमिन नहुनेहरुलाई राज्यले यहाँ खाने बस्ने सुबिधा दिएको छ। आफुले सकेको/जानेको काम गरेर जनताहरु सुविधाभोग गर्ने गर्छन् । भोलिबाट तपाईंले पनि इच्छा बमोजिम काम गर्न पाउनुहुनेछ। ”
मलाई फेरिपनि एकपटक आश्चर्य लाग्यो । हुन त म यहाँ आइपुगेदेखी नै आश्चर्यमा नपरेको पल नै कहाँ छ?
मलाई अझै धेरै आश्चर्यचकित हुन मन छ शहरबारे अझै धेरै बुझ्न मन छ । के-के सोच्दासोच्दै भ्यान घ्याच्च रोकियो र इन्द्रेणी बत्तीहरु बल्न छोडे । भ्यानबाट ओर्लिएर म पुन: उनीहरुको पछि लागेँ । सेन्सर गेट रहेछ, गेटमा कोही द्वारपाले थिएनन् । उनीहरुले मेरो नामथर उमेर सोधेर गेट छेवैको बायाँ पर्खालमा जडित मेसिनमा इन्ट्री गरे । मोबाइलको क्यामेरा जस्तै एउटा आँखोले खिचिक्क पारेर मेरो फोटो खिच्छ, म यस्तै भन्ठान्छु । बायाँ तर्फको एक पाटो गेट उघ्रिन्छ, उनीहरुको इशारामा म भित्र छिर्छु । त्यसपछि उनीहरु आइ डी कार्ड निकालेर दायाँ पर्खालतर्फ लाग्छन् । क्षणभरमै गेटको दायाँ पाटो पनि उघ्रिन्छ र उनीहरु आइ.डी. कार्डलाई पुन: शर्टको जेबमै सुरक्षित गर्दै भित्र छिर्छन् । त्यस्तो आध्निक शहरको सेन्सरवाला ढोकाबाट छिर्दाछिर्दै मकैबारी देखेर म अर्कोपटक तीनछक पर्छु। पार पार रुख बगैँचा जस्तो पनि देखिंदै थियो । हामी बारी र बगैँचाको मध्यभागमा तेर्सिएर बगेको पिच बाटो हुँदै निकै अगाडी बढ्दै छौ। एउटा ठूलो क्षेत्रफ़ल ओगटेको आँखाले हेरेर न भ्याउने आश्रम-भवन जूनको उज्यालोमा टहकिरहेछ । परिसर भित्र प्रदीप्त स्तम्भदिपहरुले पनि भवन र आसपासका खेत बगैँचालाई चिहाउने मौका दिइरहेछन् ।
हामी आश्रम भवन प्रवेश गर्यौँ। आफूभित्र अधीर तत्त्वले चकचक गर्न खोजिरहे जस्तो मलाई लाग्दैछ । आश्रम-भवन भित्र सुरुङ्ग जस्तो करिडोरमा हिँड्दै गर्दा पुड्केले भन्यो- “यो आश्रम नं १ हो, यहाँ कृषीमा आबद्दहरु बस्दछन् ।” यत्रो विशाल भवन त मात्र जम्माको एउटा अंश रहेछ। म मनमनमा अड्कल लगाउन थाल्छु, वास्तवमा, आश्रम नगर कत्रो होला र यहाँभित्र यो भवन जात्रा अरु कति भवन होलान् ? अलिक बेर हिँडे पछि ठूला ठूला कल र विभिन्न जान अन्जान यन्त्रहरु छरपस्ट सीमाहीन जमिन देखिन्छ । “यो चाहिँ उद्योग कल कारखानाको पालो ?” आफसेआफ ओठबाट प्रश्न हुत्तिन्छ ।
पुड्के नै अघि सर्छ – “ठिक भन्नु भो, यो आश्रमनगरको औद्योगिक क्षेत्र ।” त्यहाँ पनि त्यत्रै भवनको सुरुङ्ग छिचोलेर हामी अघि बढ्छौँ । चिडियाखाना पुगे झैँ अनुभव गर्छु।
पुड्केले बुझाउँछ- “यहाँ भने पशु-पंक्षी एवं माछा पाल्न गर्ने गरिन्छ ।”
त्यसपछि, को भवनमा पुगेपछि अग्लोले भन्यो- ” ल, यो चौथो भवन। यो आश्रम नगरको ठिक मध्यभागमा अवस्थित छ। यहाँ तपाईंजस्तै नयाँ आएकालाई बसोबास र कसलाई कहाँ, कुन विभागमा जान राम्रो हुन्छ जाँच गरी, सर सल्लाह छलफल गरी व्यवस्थापन कायम राख्ने गरिन्छ । यो आश्रमनगरको जनशक्ति विभाग हो । आउनुस, तपाईंलाई हामी यहाँको कुनै एक इन्चार्जको जिम्मा लगाइदिन्छौँ ।”
यति भनेर अग्लोले आफूलाई पछ्याउन निर्देश गर्छ र हामी उसलाई पछ्याउन थाल्छौँ। त्यस मध्य भवनको ग्राउण्ड फ्लोरको मध्य भागमा फराकिलो र ज्यादै आकर्षक रिसेप्सन कक्ष देखिन्छ । यस्तो मध्यरातको समयमा पनि केही रिसेप्सनिस्टहरु फूर्तिला पाइला र तेजिला आँखा सहित भवन भित्र सलबलाइरहेका छन् । हामीलाई देखेपछि एउटी महिला असिस्टेन्ट हाम्रो सेवाका खातिर हाजिर हुन्छे । मेरो बेलिबिस्तार पुड्केले नै त्यस सुन्दर असिस्टेन्टलाई दिन्छन् । असिस्टेन्टले ढुक्क भएर उनीहरुलाई फर्कन आदेश गर्छे र मेरो जिम्मा लिन्छे । मेरो बारेमा टिपिएको कागज लिएर ऊ मलाई सोफामा आराम गर्न लगाई कतै लोप हुन्छे र एकैछिनापश्चात हातमा एउटा कार्ड सहित देखापर्छे। अहो, कति छिटो छरितो काम ? मेरो आइ.डी. कार्ड यति छिटै बनिसकेछ, त्यो पनि फोटो सहित, तल मेन गेटमा पर्खालको आँखोले खिचेको फोटो त यहाँ पो काम लाग्ने रहेछ । कस्तो सिस्टमेटिक ? मलाई कार्ड थमाएर असिस्टेन्ट आफूलाई पछ्याउने सुचना गर्छे र 6th फ्लोरको लागि लिफ्ट दबाउँछे।
लिफ़्टले हामीलाई 6th फ्लोरमा उतार्छ । म पुन: उसलाई पछ्याउँदै रुम १२२ अगाडी उभिन पुग्छु । त्यस रुमको डोकामा भएको मेसिनको के-के जाती थिचेर ऊ मलाई आफ्नो अनुहार फेरि अर्को आँखो अघिल्तिर देखाउन आदेश गर्छे। यहाँपनि आँखोले खिचिक्क गरेर सायद मेरो फोटो खिच्छ । ढोका उघ्रिन्छ र हामी भित्र पस्छौँ। म अनुमान गर्छु, एक थान बेड, एक थान अट्याच्ड दराज, एक थान अट्याच्ड बाथरुम, एक थान भित्ताभरिको ऐना, एकथान भित्ताभरिको बुक्सेल्फ़, त्यसमा केही किताबहरु , पक्कै यो मेरो लागि राज्यले दिएको कोठा हुनुपर्छ ।
असिस्टेन्ट बोली – “आजदेखि यो तपाईंको रुम, यहाँ आश्रमका अधिकार प्राप्त कर्मचारी र तपाईं स्वयं बाहेक कोही पनि छिर्न सक्दैन । स्टाफ छिर्नुअघि, ढोका बाहिर अट्याच्ड क्यामरामा आफ्नो फेस इन्ट्री गरेपछि स्वत: ढोका खुल्नेछ । तपाईंको लागि खाना र पानीको व्यवस्था छिटै नै हुनेछ। खाएर सुत्नुहोला र भोलि बिहान उठिसकेर रिसेप्सनमा फेरि एक पटक मसँग भेट्नुहोला ।”
हर्ष र आश्चर्यले गदगद म उसको कुरा सुन्नमा भन्दा फनफन घुम्दै कोठा नियाल्नमा व्यस्त छु। ” आहा ! क्या मज्जाको कोठा ! ” म उतिर नहेरी आफैसँग भन्छु । ऊ मलाई नयाँ कुरा भन्छे- “यहाँ तपाईं निशुल्क बस्न पाउनुहुन्न ।” म एकैचोटी धुरीबाट खस्छु- “आच्या ! किन ? यो त राज्यले…. ”
पूरा गर्न पाउदिनँ, भन्छे- ” तपाईं ले यो सुविधाभोग गरे बापत आफ्नो मन पसन्द काम गरेर राज्यलाई आफ्नो मिहेनतको शुल्क तपाईंले तिर्नुपर्ने हुन्छ ।”
“धन्न, काम त गरिहालिन्छ नि, बरु काम पो के के छन् ?” म उत्सुकता पोख्छु ।
“के छैनन् सोध्नुहोस न, कृषी-खेति, उद्योग, शिक्षण, प्रशिक्षण, धेरै छन् यस भित्र पनि शिर्षकहरु। गीत, संगीत, नृत्य सिकाउने कि? हस्तकला तालिम दिने कि? के आउँछ तपाईंलाई त्यही गर्न पाउनुहुन्छ। राज्यले तपोवन संचालन गरेको छ, त्यहाँ योग, ध्यान तप सिकाउने कि? हस्तकला तर्फ जाने कि? अथवा सिक्ने पो हो कि ? जसरी हुन्छ राज्यलाई आत्मनिर्भर बनाउने कुनै एउटा परियोजनामा संलग्न हुनु पर्यो । भोलि, रिसेप्सनमा आउनुहोस न ।”
” अनि, छुट्टॆहरु पनि मिल्छ कि मिल्दैन यहाँ?” अर्को उत्सुकता कि डर? जे होस पोख्छु ।
भन्छे- “न डराउनुस्स, यहाँ कोही बन्दी होइनन्। सबै नागरिक हुन् । नियम कानुन हुन्छ तर स्वतन्त्र पनि हुन्छन् । छुट्टी अवश्य मिल्छ । स्वैच्छिक छुट्टी पनि कारण र उद्देश्य खुलाएर लिन सक्नुहुन्छ ।”
मेरो हर्षको सिमा रहँदैन – “साच्चै? स्वैच्छिक छुट्टी पनि?”
जवाफमा यसपटक सुन्दरी असिस्टेन्ट मुस्काउछे मात्र । र जान लाग्छे, म उसको नाम सोध्छु- ” अनि तपाईंको नाम?”
“सपना ।”
आहा ! सपना जस्तै ठाउँमा आइपुगेर सपना संगै भेटिनु ? कस्तो मीठो संयोग !
ढोकासम्म पुगेकी ऊ फरक्क फर्किएर भन्छे- ” गुड नाइट, म खाना पठाइदिन्छु। ”
अब भने सपनाको बोली र रुप बिलाइसकेको हुन्छ । तर उसको पदचापले ल्याइरहेको ट्याक् ट्याक् आवाज अझै सुनिइरहेकै छ। म आफ्नो नयाँ कोठामा नयाँ सपनाको साथमा उभिरहेको छु। यो कति सुन्दर भावना? यो सुन्दर शहरको कमाल सायद ! कति सुन्दर शहर यो? कति राम्रो राज्य अनि राज्यव्यवस्था ? वास्तविक शहर रे ! नमुना शहर !
हिजोसम्म म जुन शहरलाई शहर भन्दै थिएँ, त्यो वास्तवमा कहिल्यै शहर नै रहेनछ । त्यो त बरु शहर बनाउन खोज्दा बिग्रेको गाउँ पो रहेछ । एउटा यस्तो ठाउँ जो न शहर बन्न सक्यो न त गाउँ नै रहिरहन सक्यो ! वास्तविक शहर त न आधुनिक हुँदोरहेछ न पौराणिक ! बरु त्यो त सन्तुलित हुँदोरहेछ । म सम्झिन्छु, अघि मूलकै शुद्द पानी रिमोट सिस्टमले झिकेर पिएको ! वास्तवमा शहर भनेको त गाउँ नै रहेछ, एउटा विकसित गाउँ ! त्यस्तो गाउँ जहाँ हिँड्न सहज होस्, भिरबाट खस्ने जोखिम नहोस, पहिरोले थिच्ने जोखिम नहोस । खाल्डा र खुल्डीले सद्दे खुट्टा न भाच्चियोस । भाच्चिहालेमा उपचार सहज पाइयोस र भरपर्दो पाइयोस । सबैतिर झिलिमिली होस् तर हरियाली पनि नहराओस । त्यस्तो विकसित गाउँ पो शहर ! हिजोसम्म म जसलाई शहरिया भनेर गाली गर्थेँ, विचरा तिनीहरुलाई त थाहा सम्म रहेनछ आखिर शहर भनेको के हो, कस्तो हो ? शहर त राज्य मात्रले बनाउने पं त होइन रहेछ । शहर त दुवै राज्यशक्ति र जनाशक्ति मिलेर बनाउने पो रहेछ।
राज्यले तपोवन संचालन गरेको छ रे ! आहा! कत्रो चेतना भएको राज्यशक्ति ? अनि जनता उस्तै दानी, ज्ञानी, ठाउँ ठाउँमा अन्न-पानी जो सुकेका लागि भनेर राखिदिनु । आहा ! मानवता ! अनि किन न बनोस स्वर्ग जस्तो शहर ? यस्तो होस् र पो बन्छ शहर । शहर, अर्थात विकसित गाउँ ! प्रकृति र प्रविधिको सन्तुलित संयोजनले निर्मित बस्ती ! स्वर्ग ! आहा ! आहा ! आहा !
ढ्याक ! ढ्याक ! ढ्याक ! लु आयो है, मातृपूर ! झरौँ है झरौँ लु, मात्रिनगर झरौँ ! नत्र फर्काएर लान्छु है म त उतै धुलाम्पूर तिरै, होइ झरौँ होइ !
थैट !
सपना पो ? कस्तो नमजाले निदाएर कस्तो मज्जाको सपना देखेको फेरि ? उफ ! सपना ! सपना पो रहेछ सब ? तर यो सपना कति मीठो ? मातृनगर आइपुगेको छु म, यस्तो सुन्दर सपना सँगसँगै, आफ्नो जन्मस्थान, आफू जन्मिएको ठाउँ, आफ्नो गाउँ । जसरी हिजो झोला भिरेर मनभरि सपना बुनेर तथा-कथित शहर छिरेको थिएँ । त्यसैगरी आज मगजभारी सपना उनेर म फर्किएको छु आफ्नै गाउँ । पुरा गर्नु, नगर्नु अघि, प्रयास गर्नुपर्छ । त्यो प्रयासभन्दा पनि अघि भर्खर सपनाले पखेटा मात्र फिजाउँदा भने छुट्टै जोश आउने नै रहेछ । पिठ्यूँमा सिमलको भुवाजस्तै झोला हल्लाउँदै म गाडीबाट उडूँला झैँ ओर्लन्छु । र सम्झिन थाल्छु ‘ गाउँमै केही गर्नुपर्छ, यही गाउँको विकास गर्नुपर्छ’ भन्ने गरेका आफ्ना साथीहरुलाई !