जति उत्साहित ऊ घरबाट हिँड्दा भएको थियो अहिले ऊ त्यति उत्साहित छैन । शहरमा जस्तो वाइफाइ इन्टर्नेट यहाँ दुर्गममा उपलब्ध छैन । समय त ऊ बाबाका पुराना कमिक्सका किताब र हिन्दी जासुसी कथाहरु पढेर कटाउने छ । यस्तै होला भन्ने पूर्वानुमान गरेरै त उसले हिँड्ने बेला ती किताबहरु आफनो शुटकेशमा हालेको हो । तर सबैभन्दा श्वासलेवा चिज त उसले यहाँ ट्वाइलेटमा देख्यो । आइपुगेको एक घण्टा नबित्दै उसलाई फर्किहालुँ जस्तो भएको छ ।
“घर त चिटिक्कको पक्की छ त मामु, त्यो ट्वाइलेट पनि ठिकै हो । तर त्यो ट्वाइलेटको बाल्टी चाहिँ किन त्यति घिनलाग्दो ? कसरी चलाउनु त्यस्तो फोहोर बाल्टी ?”
सामान मिलाउँदै उसकी मामु भन्छे-
“फोहोर होइन त बाबु त्यो, देख्दा मात्र पो त्यस्तो ! त्यो त सिमेन्टको घोलले पो त्यस्तो देखिएको, केही हुँदैन बाबु त्यसले ।”
स्वभाविक आवाजमा आएको मामुको प्रतिक्रियाले उसलाई झन् बेचैन गराउँछ-
“त्यस्तो भनेर हुन्छ र मामु ? हेर्दै घिनलाग्दो भएपछि ? म त त्यसको पानी ज्यान गए चलाउदिनँ !”
आमा फेरिपनि उस्तै स्वभाविक आवाजमा के-के भन्छे तर ऊ सुनेर पनि नसुनिदिन्छ ।
साच्चै, आज ४ दिन पुरा भइसकेको छ, ट्वाइलेटमा भरेर राखेको पानी उसले चलाएकै छैन ।
“ट्वाइलेट जाँदा पनि भान्छाको पानी लानुपर्छ र भन्या ? किन टेर्दैन यो केटो हँ ? अब त्यो जग बाहिर कलको पानीले पखालेर मात्र भित्र ल्याएस् नि ! साबुनले धोएर मात्र ल्याएस् !”
“खुब धुन्छु होला, सक्दिनँ म त ! किन नफेरिदिनु त ट्वाइलेटको बाल्टी ?” रुमान प्रतिवाद गर्दै पानी बोकेर ट्वाइलेटतिर दगुर्छ ।
“खाने र हग्ने भाँडो एउटै बनाइसक्यो भन्या ! घिन मान्ने ठाउँमा मान्दैन, त्यति नाथे सिमेन्ट कक्रेर बिग्र्या भाँडो देख्दा भने के-के नै घिनाउँछ ! अचेलका केटाकेटीको बुद्धि नै कस्तो उम्रको हो ?” उसकी मामु बैठक कोठाभित्र एक्लै बर्बराउँछे । उसलाई थाहा छ उसको कुरा सुन्ने त्यहाँ कोही छैन । तर पनि निकै बेरसम्म ऊ बर्बराइरहन्छे । रुमान फर्केर आउँदासम्म पनि ऊ बर्बराइरहेकी छे-
“छोरोले त सुनेन सुनेन, बाउ पनि सुन्दैनन् ! अफिसबाट फर्किँदा बजारतिरबाट प्लास्टिकको बाल्टी एउटा ल्याइदिनु भन्छु हरेक दिन । सुन्ने
नै होइन ! आज पनि त बिर्सेर आउने होलान् !”
भान्छाकै जगमा पानी बोकेर ट्वाइलेट जाने छोरोको बानीले उमालाई हैरान पारिसकेको छ ।
रुमान फर्केर आएको चाल पाउनासाथ सोधिहाल्छे-
“कलको पानीमा साबुनले धोइस् नि ? त्यो भान्छाको जग ?”
छोरोको जवाफ केही लापरवाह सुनिन्छ-
“आ… मामु ! साबुन त लगाइनँ है । पानीले पखाले पुगिहाल्छ नि, के नै हालेको हो र ? देब्रे हातले त छोएको सम्म छैन ।”
यत्ति भनेर ऊ आफ्नो कोठातिर लम्किन्छ । पोते उनिरहेकी उमा झिँजो मानेजसरी आफ्ना अभ्यस्त औँलाहरुलाई रोक्दै मौन सुस्केरा फ्याँक्छे । र पूनः उही गतिमा मिसिन्छे ।
* * *
कोट फुकाल्दै गरेका अफिसर पतिसँग उमा रिसाएझैँ सोध्छे-
“आज पनि बिर्सेर आउनु भो, ल्याउनु भएन है ?”
“के ल्याउन पो भन्थ्यौ साच्ची ? ट्वाइलेटको बाल्टी कि के पो भन्थ्यौ ? भइराखेको के भयो र नयाँ किन्नु बित्थैमा ?” – पतिको झिँजो पनि अर्कै छ । एउटा सामान्य लाग्ने जिनिसले नजानिँदो तनाव घरका सबैलाई दिइराखेको छ । तर सबैलाई अरुका समस्या केवल बहानाबाजी र आ-आफ्नै समस्या ठूलो लाग्छ । उमा थोरै ठुस्किन्छे तर अझै फकाउने प्रयास गर्छे-
“कस्तो नबुझेझैँ गर्नुभएको हो? अस्ति देखि भनेकी त मैले, बाबु घिनाएर हेर्नै सक्दैन त्यो फलामको फोहोर बाल्टी !”
टाइको गाँठो खुकुल्याउँदै त्यसको मालाबाट रुपेश आफ्नो गलाबाट निकाल्छ । लगतै शर्टको देब्रे टाँक खोल्न थाल्छ । बूढोबाट जवाफ नपाएर उमा फेरि घुर्किको लवजमा सम्झाउन खोज्छे-
“होइन, किन बुझ्न खोज्नुहुन्न ? यसरी चाहिँदो कुराको बेवास्ता गरेको त मलाई कत्ति चित्त बुझ्दैन !”
दाहिने बाहुलाको टाँक खोल्दै रुपेश पनि उस्तै लवजमा जवाफ दिन्छ-
“तिमी पनि कस्ती आमा ? बच्चाले त जे पनि भन्छ नि ! तिमी बुझाउन सक्दिनौ ? कि तिमीलाई नै मन परेन बाल्टी ? मन त मलाई नि परेको छैन, तर म अढाई महिनादेखिन् चुपचाप त्यही बाल्टी चलाइरहेकै छु । तिमीहरु आएको दुई दिन हुँदैछ, यो भएन, त्यो भएन !”
रुपेशको निधार केही खुम्चिएझैँ देखिन्छ र फेरि तन्किन्छ । अझै ठुस्किरहेकी स्वास्नीतिर हेर्दै आफुलाई खाटमा बिसाउँछ । डसनामूनिबाट चुरोटको बट्टा निकाल्छ, एउटा थुतेर ओठमा च्याप्दै-निकाल्दै फेरि डसना पल्टाउँदै बोल्न थाल्छ-
“थाहा छ नि उमा तिमीलाई, होम लोनको भार ! घर त बनाइयो नि शहरमा तर बनि नसक्दै यीः यसरी यो गाउँमा आएर बस्नुपरेको छ । बाबुको पढाइ खर्च दिनदिनै बढ्दै छ । अब कलेज भर्ना गर्ने दिन आइसक्यो । सकेसम्म साइन्स पढाउन पाए हुन्थ्यो भन्ने छ तर यहिबेला घरको ऋण थपिएको छ । कसरी हुन्छ, खर्च कम गर्नुपर्नेमा बच्चाको लहडमा उल्टो तिमीले बहकिने होइन नि उमा । काम चलिराखेको छ, फलामको बाल्टी, झन् पो बलियो ! त्यो प्लास्टिकको पिटिक्क जानेभन्दा कति राम्रो राम्रो नि !”
लाइटर भेटिएसँगै ऊ चुरोटलाई फेरि ओठमा च्याप्दै सल्काउँछ । धुवाँ उडाउँदै आफ्नो सम्झाई-बुझाईको प्रतिक्रिया स्वास्नीको अनुहारमा खोज्न थाल्छ । स्वास्नी जवाफिन्छे-
“खर्च कम गर्नुपर्छ भन्ने लागेको भए, बरु यो चुरोट बन्द गरिदिनुस् ।”
स्वास्नीले ठाउँमा हानेको झापडले लोग्ने केही हच्किन्छ सायद, ऊ केही लचिलो सुनिन्छ-
“खर्च त कम नै गरेको छु नि उमा । यी हेर न सूर्यको साटो पाइलट पिउँदै छु ।”
ऊ लोग्नेको कुरासँग चासो राख्दिन, आफ्नै कुरा दोहोर्याउँछे-
“ट्वाइलेटको बाल्टीसँग मलाई केही गुनासो छैन, प्लास्टिकको बाल्टीसँग मोह पनि होइन । तपाईंलाई पो थाहाछैन अफिस जाने मान्छे । भान्छाको जग ट्वाइलेट जाँदा चलाइदिएर दिक्क पारिसक्यो रुमानले मलाई । ट्वाइलेटको पानी चलाउन घिनाउँछ, भान्छाबाट, भान्छाकै जगले लैजान्छ पानी ! नत्र म किन कराइरहन्थेँ यसरी ?”
रुपेशको अनुहार उज्यालिन्छ । आधा बाँकी भएको चुरोट भित्ताको प्लास्टरमा झोँस्दै झ्यालबाट बाहिर ठुटो हुइक्याइदिन्छ ।
“त्यसो चाहिँ भन न त, भोलि बजारतिर भाँडा पसल देखेँ भने एउटा जग ल्याइदिउँला । जगकै कुरा त रहेछ !”
उमालाई लोग्नेको कुरा चित्त बुझेन । भान्छाको जग ट्वाइलेट पुग्नु र ट्वाइलेटको जग भान्छा पुग्नुमा उसले केही फरक पाइन । बैंकबाट लोन लिएर घर बनाएदेखि उसको लोग्ने कति बदलिसकेको रहेछ, ऊ आजमात्र त्यसको राम्रो भेउ पाउँछे । कुरा चित्त नबुझेपनि ऊ थप तर्क तेर्साउदिन । छन त उसँग भन्नका लागि मुखभरिको जवाफ तयार छ, तर लोग्नेको चुँइयाँइको उचाई अगाडि ऊ त्यसको केही औचित्य देख्दिन । हुन त उसले घरका सानातिना खर्च लोग्नेसँग माग्न छोडेको वर्षौँ भइसकेको छ । छोरो हुर्किसकेपछि नै उसले धेरै वर्ष सिलाइ-बुनाइ गरेर आफ्नो व्यक्तिगत र सानातिना घर खर्च आफै जोहो गर्न थालेकी हो । अहिले पनि त उसले पोते उन्न छोडेकी छैन । यहाँ आइकन पनि एउटा सिध्याएर अब भोलिसम्म त अर्को पनि उनेर सक्नेवाला छे । पल्लाघर कि मास्टर्नीले आफू र आफ्ना विहावारी भइसकेका दुई’टी छोरीहरुका लागि ३ झुत्ता पोते लिन्छु भनेकी छे ।
“छोरीहरु त काठ्माण्डौँ बस्छन् नि ! उतै ज्वाइँले परिपरिका किन्देकै होलान् हुनलाई त । तर आमाले यस्तो गाउँमा बसेर पनि यस्तो डिजाइनदार पोते कताबाट ल्याइछ भनेर मख्ख परुन् न !” -उमाले उनेका डिजाइनर पोते देखेर हुरुक्क हुँदै दिउँसो मात्रै भनेकी हो मास्टर्नीले । लोग्ने चुँइया भइसकेको थाहा लाग्नासाथ उमाले कल्पना गर्न भ्याइसक्छे, मास्टर्नीलाई पोते बेचेर कमाएको पैसाले आफै बजार पुगेर प्लासटिकको बाल्टी किन्नेछे । आएको दिनदेखि कै भेडे खुर्सानीको तरकारीले वाक्क भएकी ऊ बाल्टी किन्न जाँदा तरकारी बजार पनि पु्ग्नेछे र भेटेसम्म थरी-थरीका तरकारी त्यही बाल्टीमा हालेर ल्याउनेछे ।
राती खाना खाइसकेर उमा पोते उन्न थाल्छे । रातैभरिमा सकुँ जत्तिकै ऊ औँलाहरु छिटो-छिटो नचाउँछे । औँला सँगसँगै मन पनि नाचिदिन्छ । उसलाई अनेक कल्पना आउन थाल्न्छन् । दशैँमा त ऊ पनि शहरमा हुन्छे, आफ्नो नयाँ घरमा । नयाँ घर बनाएको साल, दशैँ धुमधामसँग मनाउनु छ । देउरानी-जेठानीहरु आउँछन् । माइत पनि त जानु छ । चाडबाडमा त उसले पनि त नयाँ साडी लगाउनु छ । फेरि पोते बेचेको पैसाले पोतेकै दाना पनि त किन्न पर्यो । नत्र त पोते उनाइ नै बन्द हुनेछ । अलि-अलि जोहो गरेको पैसा त लोग्नेको सरुवा भएपछि उसले अढाई महिना घर खर्च मै मासिसकी । लोग्नेको कन्जुस्याँइसँग भर्खरै मात्र परिचय गरेकी उमा बाल्टी किन्ने कि न किन्ने भन्नेमा दोमन हुँदै निकै रात छिप्पिँदासम्म पोते उनिरही ।

Image Source: Thurle
* * *
बिहानै आजपनि रुमान भान्छाको जगमा पानी बोकेर ट्वाइलेट जान्छ । केही भन्यो मात्र भने-
“घर फर्किन्छु”
“मामाघर बस्छु बरु”
“नत्र होस्टेल बसुँला उतै” अनेक तर्क गर्न थाल्छ, त्यसैले उमा चुपचाप बसिदिन्छे । फर्केर छोरो आएपछि चिया थमाउँदै नियोजित नरम लवजमा नजानेझैँ सोधिदिन्छे-
“के खराबी छ र छोरो, ट्वाइलेटको पानीमा ? आखिर एकै कलको पानी राख्ने हो ट्वाइलेटमा पनि, भान्छामा पनि !”
आमाको ‘छोरो’ सम्बोधनबाटै ऊ बुझिसक्छ आमाको टार्गेट । अँह ! ऊ मान्नेवाला छैन । उस्तै जिद्दीपूर्ण भावमा ऊ तर्क गर्छ-
“पानी पो एउटै होला त मामु, पानी राख्ने भाँडा त फरक छन् नि ! ट्वाइलेटको बाल्टी कत्ति फोहोर छ, तपाईंलाई थाहा छैन र ?”
“मैले त्यसमा हरेक पटक पानी भर्दा पखालेर मात्रै भर्ने गरेको छु । तिमी त्यसलाई फोहोर देख्छौ ?”
“त्यो जत्ति पखालेपनि सफा नहुने फोहोर हो ।”
“बाबु, त्यो बाल्टी फोहोर होइन, कुरुप मात्रै हो ।”
“कुरुप नै सहि, मलाई घिन लाग्छ त्यो भाँडो देख्दा । म एक चलाउदिनँ, दुई चलाउदिनँ, तीन चलाउदिनँ ! च्याप्टर क्लोज !”
छोरो पनि बटारियो, मास्टर्नी पनि पोते किन्न आइन । बाल्टी त परै जाओस् साँझ नयाँ जग पनि त आएन । ट्वाइलेटको बाल्टीले उमालाई दिनुसम्म दिक्दारी दिएको छ । सोचाइले पनि मान्छेलाई थकाउँदो रहेछ । खाना खाँदाखाँदै आज त उमालाई सुतिहालुँ झैँ लागेको छ । आज उसलाई पोते हेर्न सम्म पनि जाँगर छैन । दिक्दारीले मन मात्र होइन शरीरपनि थिच्ने रहेछ । भारी ज्यान लिएर उसले चुलोचौको सकी । कत्रो हतार लागेको रहेछ उसलाई हाम फाल्न, मानौँ त्यो ब्ल्याङ्केट नभएर वर्षौँ पछि भेटिएको मायालु अंगालो हो !
* * *
आज पनि त रुमान भान्छाबाटै पानी लिएर ट्वाइलेट आएको छ । ट्वाइलेट सकेर उठ्दै गर्दा उसलाई हिजो आमासँगको वातचित याद आउँछ ।
“बाबु, त्यो बाल्टी फोहोर होइन, कुरुप मात्रै हो ।”
उसले आज बाल्टीलाई अलि गौरसँग नियाल्छ ।
“सिमेन्टी घोलिएकै बाल्टी रहेछ सायद !” आमाको जस्तै निस्किन्छ उसको निचोड ।
“फोहोर त होइन, तर कुरुप हो”
“तर, के त अब ? घिन लागेपछि त सक्किगो नि !” उसलाई अनायासै रिस उठ्छ । आफ्नो रिस देखेर ऊ आफैलाई अनौठो लाग्छ । आफ्नो घरको ट्वाइलेट भएको भए पक्कै ऊ यतिबेला ऐनामा आफैले आफैलाई अपरिचितले झैँ हेर्ने थियो । तर यहाँ कताबाट ऐना पाउनु ? उसको रिसको पारो झन् बढ्छ । बाल्टीको पानीमा मुखभरीको थुक थुकेर, रिसलाई त्यहीँ पोखी राखेर ऊ ट्वाइलेटबाट निस्किन्छ । उसलाई त्यो रात
किन किन निंद्रा पर्दैन । ढिलोगरी मात्र निदाएको ऊ ब्यूझँदा थाहा पाउँछ कि ऊ ट्वाइलेटको त्यही बाल्टीलाई नै सपनामा देखिरहेथ्यो । तर विषय के थियो ? उसले ठिकसँग सम्झिन सकेन ।
दिनभरीमा उसलाई पटकपटक त्यो ट्वाइलेटको कुरुप बाल्टीको अनायासै सम्झना आइरहन्छ । दिनभरी नयाँ साथी मुकेश र सविनसँग नयाँ गाउँ डुलेर रुमान साँझ भोकाएर घर फर्किएको थियो । उसैको भाषामा भन्दा ‘सरुवाघर’ ! तर उसकी आमा घरमा हुन्न ।
“पक्कै मास्टर्नीकहाँ जानुभयो होला”
“सब्जी लिन पो हो कि ? भेडे खुर्सानी मात्रै खाँदा-खाँदा जिब्रो नै भेडो भइसक्न लाग्यो भन्नुहुन्थ्यो ।”
अनेक लख काट्दै ऊ भान्छामा आमालाई पर्खँदै छ । आमा आइपुग्छे । हतारिँदै सोध्छ-
“कहाँ जानुभएको मामु ? कस्तो भोक लागिसक्यो !”
“ए, डुलाहा राजा त भोकाएर पो आउनुभयो ? अनि, म चाहिँ अब ट्वाइलेट जाने फुर्सद पनि पाउदिनँ है ?” आमा व्यङ्ग्यपूर्ण लवजमा बोल्छे । रुमान आमाका भिजेका चिसा हातहरु देख्छ र झस्किन्छ । सधैँ जवाफ फर्काइहाल्ने छोरोको उडेको अनुहार देखेर आमा भने पग्लिन्छे-
“पख एकैछिन । रोटी पकाइदिन्छु ।” आमा पिठो मुछ्न आरी ठिक पार्छे । रुमानले अझै जवाफ फर्काउन भ्याइसकेको छैन । आमा फेरि सोध्छे-
“कति ? २’टा ले पुग्छ कि ३्/४ वटै जान्छ आज ?” ऊ पिठो राखेको भाँडो निकाल्छे । रुमान अचानक अत्तालिन्छ-
“मामु एकछिन एकछिन !”
“के भो ?” आमा पनि तर्सिन्छे ।
“पहिला हात धोएर आउनुस्, त्यो ट्वाइलेट गरेर आ’को हात !” रुमानको नाक र निधार सोहोरिन खोज्छन् ।
आमा छक्क पर्छे, त्योभन्दा जयादा हैरान पर्छे । झनक्क उठेको रिस सम्हाल्न खोज्दै सोध्छे-
“नधोइ आएँ होला ? होइन, सफा-सुग्घर पनि तिमीले सिकाउनुपर्छ मलाई ?”
“ट्वाइलेटको पानीले धुनु भो कि कलको पानीले ?” रुमान शंका गरिदिन्छ । आमालाई यसपटक औधि रिस उठ्छ-
“ट्वाइलेटकै ले धोएँ । के भो त ? केही भो ? बडो सुग्घरी भएको छस् होइन ? तँ मैले नै हगेको लिँड, मलाई नै सर-सफाइ सिकाउने ?”
आमा-छोराबिच मानौँ त्यहाँ कसको रिस चर्को भन्नेमा बाजी परेको छ, अब पालो फेरि छोरोको । ऊ यसरी पड्किन्छ, जस्तो रिस कुनै धर्ति फुटाएर निस्किने ज्वालामुखि हो । उसको खोपडी फुटाएर निस्किएको रिस नाकको टुप्पोमा उछिट्टिएर खसेको छ ।
“खान्नँ म रोटी-सोटी ! भोक छैन मलाई ! पकाउनु पर्दैन ?” -ऊ बम्किँदै घुर्कि देखाउँछ र जुरुक्क उठेर भान्छाबाट हिँड्छ । रिसको बाजी सायद यतिमै खतम भएको हो, बम्केर हिँडेको भोकले लखतरान छोरोलाई रोक्न खोज्दै आमा भन्छे-
“रुमान, के भएको छ बाबु तँलाई अचेल ? मेरो कुरा त सुन् ,,,,”
“सुन्दिनँ ! खादिनँ पनि म ! नपकाउनु केही !” ढोका बजारेर रुमान आफ्नो कोठा छिर्छ ।
उमा फेरि फतफताउँछे- “हरे ! अचेलका बच्चा ! कति साँघुरो सोच ? जतिभन्दा पनि नलाग्ने भयो । फोहोर र कुरुप चिन्दैनन् एक त ! त्यहीमाथि आमालाई सर-सफाइ सिकाउन थाल्छन् !”
केहीबेर उमा एक्लै फतफताइरहन्छे । तर आमाको मन न हो । बच्चाको रिसले कहाँ विथोलिँदो हो र आमाको मन ? उमा ढोका बाहिरै बाट छोरोलाई सक्दो फकाउँछे ।
“हात त कल कै पानीले धोएको हुँ बेटा । नपत्याए ल, तिम्रै अगाडि धुन्छु फेरि ल ल ढोका खोल छिटो ! ज्ञानी मान्छे भएर यसरी रिसाउँछन् त ? लु, खोल खोल छिटो । ड्याडी अउने बेला हुनै लागिसक्यो ! बेटा !,,,, ”
यस्ता अनेक फुर्काइहरु पेलिसकेपछि कलको पानीले उेरि एकपटक हात धुनुपर्ने शर्तमा आमाले छोरोलाई ढोका खोल्न फकाइछाड्छे । उसलाई सायद थाहाछैन, यसपटक रुमान घिनाएको त्यो कुरुप बाल्टीसँग होइन । बरु आफैले त्यसको पानीमा थुकेको थुकसँग हो । तर ऊ यो सब हर्कत सुनाउन नसकेर ट्वाइलेटको बाल्टीसँगै घिनाइरहेको अभिनय गरिरहेको छ । ट्वाइलेटको बाल्टीलाई नै सम्झी-सम्झी दही-रोटी सिध्याउँछ । र मनैमन आफैसँग ट्वाइलेटको बाल्टीमा अबदेखि नथुक्ने, लात्ता नहान्ने कसम खान्छ ।
* * *
अज बिहान त अचम्म हुन्छ । रुमान उठेर निस्किँदा निस्किँदै आमाले भन्छे-
“पानी ठिक पार्देकी छु, ट्वाइलेट गइहाल । अनि, चाँडो आऊ, दुध सेलाउँछ फेरि ।”
‘हिजोको घटनाले मामुलाई ठूलै असर पारेछ जस्तो छ, आज त ट्वाइलेट जान भान्छाको पानी पनि आफै दिनुभयो ।” लख काट्छ । उसलाई आमाको माया लागेर आउँछ । आफुले गल्ती नै गरेको छु कि भनेर हरेक तरिकाबाट सोच्न थाल्छ । नजानिँदो ग्लानी जस्तो भएर उसलाई आफ्नी आमासँगै पनि लाज लाग्छ । तर स्वभाविक देखिने कोसिस मै चुपचाप पानी बोकेर ऊ ट्वाइलेटतिर दगुर्छ । सायद, मनभित्रको ग्लानी मेटाउनकै लागि, गल्तीको बोझ बिसाउनकै लागि भान्छाबाट ल्याएको पानी उसले त्यही ट्वाइलेटकै बाल्टीमा खन्याइदिन्छ । ट्वाइलेटको पानी र भान्छाको पानी अभेद्य भई घुलेको ऊ घुरेर हेर्छ । र आज पहिलो पटक उही घिनलाग्दो बाल्टीबाट घिन नमानी जगमा पानी उबाउँछ । बाल्टीबाट उबाएको पानी अघि भान्छाबाट ल्याएको जस्तै सङ्लो देखिन्छ । ऊ यसै-यसै रोमाञ्चित हुन्छ, मानौँ लामो संघर्षपछि आफ्नो मिल्ने साथीसँगको मनमुटाव मेटाउन ऊ सफल भएको छ । उसलाई आज कुरुप बाल्टी कुरु लाग्दैन । कुदेर गएर आमासँग त्यो नयाँ अनुभूति सुनाइहालुँ जस्तो लाग्छ, तर कुन्नि के ले रोक्छ उसलाई । वश, एक्लै मुस्काउँछ र आज त बिल्कुल हतार नगरी आराम गतिमा ट्वाइलेटबाट निस्किन्छ ।
* * *
आजभोलि त यो नियम नै भइसकेको छ । भान्साकोठाबाट ल्याएको पानी पोखेर सकाउने अनि, बाल्टीकै पानी चलाउने ! बाल्टीमा सिमेन्टको घोल कक्रिएर सुकेर बनेका उकाला-ओराला खल्ट्याङ-खुल्टुङ बुट्टाहरुमा ऊ आजभोलि घण्टौँ हराउन थालेको छ । एउटै आकृति कहिले के जस्तो, कहिले जस्तो देख्छ ऊ । सुरुको दिन लात्ताले हानेर लडाइदिएको उही बाल्टी आजभोलि उसलाई सुन्दर लाग्न थालेको छ । ट्वाइलेटको काम खतम भइसक्दा पनि अचेल ऊ उठ्दैन । उसको ढिलो गरी ट्वाइलेटबाट फर्किने बानीले आमाले उसलाई अपच भएको लख काट्न थालेकी छे । खोजी-खोजी बन्दाकोभि र घरमै दुध जमाईकन बनाएको दही कर गरी-गरी नटुटाई खवाउन समेत थालेकी छे । आजभोलि ऊ बाल्टीमा लत्पतिएका जथाभावी सिमेन्टीका फोकाहरुमा अजीवाजीव आकृति र चित्रकला देख्न थालेको छ । बाल्टीमा ऊ अचेल अनेकानेक पात्रहरु भेटिरहन्छ, खोजिरहन्छ । भेटिरहन्छ, यसकारण खोजिरहन्छ । र सायद, खोजिरहन्छ, यसकारण भेटिरहन्छ । कहिले घोडा भेट्छ, कहिले फ्रक लगाएर नाचिरहेकी अबोध बालिका ! कहिले बञ्चरो उज्याएर मुढो चिर्न लागेझैँ बूढो मानिस भेट्छ त कहिले कामुक मु्द्रामा मस्त उभिएकी स्त्री ! कहिले बाघजस्तै डरलाग्दो आकृति देखेर आफै पनि तर्सिन्छ, कहिले फूलहरुको अस्पष्ट बगैँचा देख्छ र मुस्कुराउँछ । जे होस्, हरेक पटक हेर्दा ऊ त्यो बाल्टीमा नयाँ-नयाँ चित्र भेटिरहन्छ । अचेल उसलाई भाँडो कुरुप जस्तो नलागेर सुन्दर चित्रकलाहरुको संग्राहलय झैँ लाग्न थालेको छ । अब त ऊ बाहिर गाउँ डुल्न पनि जान छोडेको छ । कहिलेकाहीँ मुकेश र सविन उसैकहाँ आइपु्ग्छन् भेट्न मन लाग्दा । आमा पनि उसलाई कति-कति बेला त जिस्काएर अनेक प्रश्न सोध्छे-
“गाउँदेखि अघायो क्या हो हाम्रो राजा ?”
“पुरै गम्भिर हुन थालेको छस् त ए, के भो ? एक्लै एक्लै बसेर के सोच्छस् हँ? रिजल्टको पिर त होइन होला कि यही गाउँ कि सँग लव-सव त परेन ?”
उसलाई अचेल आमाका ठट्टाहरुमा पनि उति रुचि छैन । कोठाभित्रै चुपचाप, मौन-मौन बस्नु नै उसको दिनचर्या हुन थालेको छ । बाल्टीमा देखेका कतिपय आकृतिहरुलाई कापीमा उतार्न खोजेर ऊ आफ्नो सम्पूर्ण दिन बिताइदिन्छ । त्यसैले पनि, ऊ तारको तार ट्वाइलेट गइरहन र त्यसका आकृतिहरुलाई दिमागमा घण्टौँ लगाएर कैद गर्ने प्रयास गर्न थालेको छ । आमासँग पनि कम बोल्ने, सोधेको कुरा मात्रै बोल्ने भएको छ । घरी-घरी ठट्टा गर्दै जिस्क्याइराख्ने गरेपनि, छोरामा एक्कासि आएको परिवर्तन देखेर उमालाई पनि नयाँ छटपटीले समाएको छ । ऊ बारम्बार छोरोलाई के भएको छ, जान्न खोजिरहन्छे । कहिले सिधै पनि सोध्छे, कहिले घुमाएर पनि ! तर रुमान केही पनि भन्दैन । नचाहेर पनि होइन, तर चाहँदाचाहँदै पनि ऊ भन्न सक्दैन आखिर उसलाई भइरहेको के छ । पोते उनिरहेकी उसकी आमाको छेउमा एकरात ऊ धेरै अबेरसम्म बसिरह्न्छ । उसलाई सधैँजस्तै स्वभाविक भएर आमासँग आफ्ना पागल कुराहरु सुनाउन मन भएको छ । जसै ऊ बोल्न थाल्छ, शब्दहरु त निसकिन्छन्, तिनमा सन्दर्भहरु पनि हुन्छन् तर उसले वास्तवमा भन्न खोजेका कुराहरु आवाजमा उनिनै सक्दैनन् । अचानक उमा ढाड सोझ्याउँदै पोते भुँईमा फ्याँकेर फतफताउँछे-
“हरे ! कस्तो नमिलेको !”
“मिलेको छ त मामु ।” पोतेतिर हेर्दै ऊ भन्छ ।
“मिल्नलाई त मिलेकै छ, तर सोचेजस्तो बनेन भनेको के, तँ बुझ्दैनस् ।” आमा लामो श्वास तान्दै भित्तातिर अडेस लाग्न पु्ग्छे । रुमानलाई आमाको कुरा बिझ्छ । उसलाई लाग्छ, उसकी आमा र ऊ ठिक अहिले उस्तै अवस्थामा छन् । ऊ मनमा लागेको अनुभूति ठिकसँग शब्दमा उतार्न सकिरहेको छैन र उसकी आमा पनि मगजमा कल्पिरहेको बुट्टालाई ठिकसँग पोतेमा भर्न सकिरहेकी छैन । यतिबेला ती रङ्गीचङ्गी पोतेका दानाहरु देखेर उसको मनमा अनौठो किसिमको रोमाञ्च पैदा भइरहेको छ । आमाले पटकपटक सुत्न जान भन्दापनि ऊ अटेर गरेर निकै अबेरसम्म आमाको छेउमै बसिरह्यो । पोतेका दानाहरु धागोमा उनिइरहे र ऊ आफै भने तिनै पोतेका दानाहरुमा उनिइरह्यो । राती सपनामा उसले तिनै पोतेका दानाहरुको सपना देख्यो । सपनामा उसले ट्वाइलेट जाँदापनि पोतेका रङ्गिन दानाहरु छोडिरहेको थिएन । किन? के कारण ? अँह, उसलाई सपनाको कता-काता झझल्को भन्दा बढी केही याद रहेन । हुन त प्रायजसो सपनाहरु त्यस्तै नै हुने गर्छन्, धमिलो ! ठ्याक्कै, यही-यस्तै भन्न नसकिने बाल्टीका अस्पष्ट चित्रकलाजस्तै अमूर्त !

Image Source : Venus of Beads from ArtMajeur
* * *
राती ढिलो सुतेकोले होला, ब्यूझिँदा पनि ढिलै भएको थियो । आज ऊ उठ्नासाथ उसकी आमाले उसलाई उत्साहित लवजमा भन्छे-
“गुड मर्निङ बेटा !”
“गुड मर्निङ मामु, आज त दोब्बर-तेब्बर खुशी होइसिन्छ नि, किन हो ?”
“आज एउटा गुड न्यूज छ !” आमा मस्किँदै भन्छे ।
“के गुड न्यूज ? पोतेको डिजाइन मिल्यो ?” ऊ अनुमान लगाउँछ । आमा ‘होइन’ को भावमा टाउको हल्लाउँछे र थप्छे-
“तिम्रो लागि गुड न्यूज, स्पेसल्ली !” आमा अझै राज खोल्दिन ।
“रिजल्ट आयो ?” ऊ चनाखो हुन्छ । आमा फेरिपनि ‘होइन’ को टाउको हल्लाउँदै हाँसिदिन्छे ।
“अनि के त मामु ? भनिहाल्नु न त । ” ऊ उत्सुक छ ।
“आफै थाहा पाइहाल्छौ ।”
“ह्या मामु ! भन्नुस् न के ! के कुरा हो ?”
आमा मात्रै मुसुमुसु हाँसेर टारिदिन्छे । ऊ घुर्क्याउँछ आमालाई –
“न भन्ने तपाईं ?”
“आफै थाहा पाउँछौ बेटा, भनिराख्नै पर्दैन ।”
“ह्या मामु, भनिहाल्नु न के !”
छोरोको जिदको अगाडि फेरिपनि आमा हारिदिन्छे-
“अबेखि ट्वाइलेट जाँदा, यहाँदेखि पानी बोकेर जानु पर्दैन तिमीले !”
ऊ एक्कासि झस्किन्छ । आमा खुशी हुँदै थप्छे-
“तिम्रो बाबाले हिजो बर्जर पेन्ट्सको नयाँ,,,,, एकदम निख्खुर सेतो बाल्टी ल्याएर राखिदिनुभएको छ ट्वाइलेटमा । सफा पारेर, एउटा पनि दाग छैन ! कत्ति पनि कुरुप छैन अब तिम्रो ट्वाइलेटको बाल्टी !”
खोपडी फोडेर रुमानको रिस कतिबेला नाकको टुप्पोमा थुप्रो लाग्न भ्याइसकेछ ? नाकको टुप्पोबाट पनि उसको रिस उफ्रिन थाल्छ-
“यही हो गुड न्यूज ? यत्तिको लागि यत्रो एक्साइटमेन्ट बढाइदिनुभयो ? के-के न होला भन्या त, यूजलेश भाँडो ल्याएर ट्वाइलेटमा राख्या पो रे !” रुमान जङ्गिएर ट्वाइलेटतिर दगुर्छ । आमा हैरान हुन्छे । ऊ बुझ्दिन रुमानलाई । साच्चै अलमल्ल पर्छे ऊ । छोरोको रिस कुन दिशाबाट कुन दिशातर्फ हान्निरहेछ ? अँह, ऊ केहीपनि बुझ्दिन, अलिकति पनि बुझ्दिन । आजित भएर एक्लै फतफताउँछे –
“के भएको छ भगवान, यो केटोलाई ? यहाँ आएदेखि अनाहकमा रिसाउन थालेको छ । केही गर्दा चित्त बुझाउँदैन ।”
उमा नजाने यस्तै के-के फतफताइरहन्छे , रूमान भने ट्वाइलेटको रङ्ग उडेको देखेर नमज्जासँग जिल्लिएको छ । ट्वाइलेटमा उसको कलात्मक बाल्टीको ठाउँमा एउटा निख्खुर सेतो बाल्टी ट्वाल्ल परेर हेरिरहेको ऊ पाउँछ । कता-कता विधवा युवती जस्तो ! दाग बिनाको लाटो चन्द्रमा जस्तो ! नानी बिनाको डरलाग्दो आँखाजस्तो ! ऊ ट्वाइलेटमा उभिरहन सक्दैन । मुखै धुन नभ्याई आज उसको सारा निंद उडिसकेको छ । र ऊ पनि बतासिन्छ बेठेगानको ठेगाना बोकेर । कता ? ऊ आफैलाई थाहा छैन ।
* * *
आज उसको शहर फर्किने दिन । अर्थात सरुवाघर बाट घर फर्किने दिन । निकै उत्साहित छ ऊ । ऊ र उसकी आमा, फर्किन लाग्दैछन् । बाबु भेट्न भनी आएको थियो ऊ आमासँग । तर दुई महिना साथै हुँदा बाबुसँग त्यस्तो केही पलहरु बन्न पाएन जसलाई उसले शहर फर्किएपछि सम्झिएर हाँस्न सकोस् । बाबु जागिरे, जागिर मै व्यस्त । ऊ पनि आफ्नै धुनमा मस्त । भन्ने नै हो भने, उही ट्वाइलेटको बाल्टीसँग मस्त ! ऊ फटाफट सामानहरु मिलाउँदै छ, सम्पूर्ण जोश-जाँगरका साथ । चार महिना अगाडि मात्र ड्याडीलाई एयरपोर्टमा बिदाइ गर्नुपर्दा खिन्न भएर आमा सँगसँगै सुकसुकाएको ऊ कहिले इक्जाम सकूँ र ड्याडी भए ठाउँ पुगूँ भएर आएपुगेको थियो । तर यतिबेला ड्याडीलाई एक्लै छोडेर जाँदै छौँ भन्ने उसलाऐ महसुश सम्म भएको छैन । वश, एउटै धुन छ उसको, कतिखेर घर पुगूँ ! शहर पुगूँ ! जानेबेला मुकेश र सविनलाई भेट्ने ध्यानसम्म भएन उसलाई । आउनेबेला एउटै शुटकेशमा अटाएको उसको सामान आज शुटकेशमा मात्रै अट्दैन । अब भने उसलाई छटपटी हुन थाल्छ । बलिरहेको उसको अनुहारको बत्ति एक्कासि धिपधिपाएको देखेर उसकी मामुले सोध्छे-
“के भयो बेटा ? किन अचानक अल्छि गर्यौ ? थाक्यौ कि ? एकछिन आराम गर न त । समय छ नि अझै ।”
ऊ केही पनि बोल्दैन । अचानक उसलाई ठूलै आपत आइपरेको छ जुन कुरा ऊ आमालाई भन्न पनि सक्दैन, आफै समाधान गर्ने उपाय पनि भेट्दैन । पहिलोपटक रजस्वला भएकी यौवना यसैगरी आफ्नो अनुभूति सुनाउन धक मान्दी हो । अथवा भनूँ नजान्दी हो, त्यस अनुभूतिलाई शब्दमा तुन्न । उसको उडेको अनुहार देखेर आमा फेरि सोध्छे-
“कि भोक लाग्यो बाबु ? खाजा खाएरै जाने हो त ?”
आमाको प्रश्नसँगै उसको निभेको हृदयमा एक्कासि बिजुली चम्किन्छ । मुसुक्क हाँस्दै ऊ ‘हो’ को टाउको हल्लाउँछ । यस किसिमले छोरो लजाएको उमाले आजै पहिलोपटक देखेकी हो । त्यस्तो अपरिचित मुस्कान उसलाई छोरोको अनुहारमा बनावटी लाग्छ । ‘ड्याडीलाई छोडेर फर्कनु पर्दा नमज्जा लागेको हुन सक्छ ।’ ऊ आफै छोराको मनस्थिति पहिल्याउने कोसिस गर्छे, आफ्नै मनोदशामा टेकेर, जो सामान्यतया यस्तो अवस्थामा सबैले गर्छन्, नजानेरै पनि । र हतार-हतार ऊ भान्छा छिर्छे । ऊ मात्र छोराको लागि खाजा तयार गर्छे । सायद, उसलाई भोक थिएन । बिहान खाना अबेर खाएकोले हो या त लोग्ने बिना फर्किनु पर्दाको खिन्नताले हो ! या फेरि २ महिनापछि आफ्नै घर फर्कन पाउँदाको उत्तेजनाले ! छोरोलाई खाजा दिएर ऊ भने छिमेकतिर बिदा माग्न जान्छे । खै, के सोचेर पो हो, अस्ति बेचेको भन्दा भिन्दै नौलो डिजाइनको आफेले दशेँमा लगाउन भनी उनेको पोते पत्रिकामा पोको पारेर उमा मास्टर्नीको घरतिर लम्किन्छे ।
* * *
घर पुगिसकेपछि मात्र उमाको नजर सामानहरु तर्फ जान्छन् । सामानको बिचमा प्रेसर कुकरको कार्टुन देखेर उमा छक्क परी । त्यत्रो ठूलो प्रेसर कुकर त उनिहरुसँग थिएन । फेरि यो कहाँबाट आयो ? रुमानलाई सोध्न खोज्दै ऊ आवाज दिन्छे-
“रुमान ! बाबु यहाँ आइज ।”
रुमानको केहीपनि प्रतिक्रिया आएन । ऊ एक्लै फतफताउँदै कुकरको कार्टुन उचाल्छे । ५ लिटरको प्रेसर कुकर देखेर उमा एक किसिमले खुशी पनि हुन्छे । उसले खोल्नै के लागेकी थिई बाथरुबाट नुहाइसकेर रुमान अत्तालिँदै आइपुग्छ-
“मामु, त्यो किन चलाउनु भएको फेरि ? अर्काको सामान सोध्दै नसोधी ?” हतारिँदै आएर उसले कार्टुन आफ्नो हातमा लिन्छ । आमा अलमल्लिँदै सोध्छे-
“कसको हो र बाबु यो प्रेसर कुकर ?”
आमाको स्वभाविक आवाज सुनेर केही ढुक्क हुँदै ऊ भन्छ-
“यो उमेशको माइजुलाई यतै नजिकै पुर्याइदिनुपर्ने रे अनि, मैले ल्याइदिइएको । अर्कोको सामान नचलाउनु के मामु ।”
छोराको यो बिघ्न सावधानी उमालाई मन पर्दैन । फेरि पनि भन्छे-
“आ,,, ! अब ल्याइ त सकिस् । ले न हेरुँ, के हुन्छ र हेर्दैमा ?”
“कहिले नदेख्या हो र प्रेसर कुकर ? अर्काको सामान, कता के बिग्रिन्छ, कोरिन्छ । होस् पर्दैन है मामु ।” रुमान आफ्नो शुटकेशभन्दा अगाडि त्यही कुकर आफ्नो कोठामा लगेर थन्क्याउँछ । हुन पनि हो, अर्काको सामान, किन खानतोलासी गर्नु ? आमा पनि आफ्नै काम तिर लाग्छे ।
* * *
उनिहरु यतिबेला स्वभाविक दिनचर्यामा आइसकेका छन् । रुमानको रिजल्ट आइसकेको छ । तर अझै प्लस टु मा के पढ्ने उसले सोचिसकेको छैन । आजभोलि आमा-छोरा यही विषयमा ठुस्काठुस्की गरिरहन्छन् । रुमान आजभोलि झन् अचम्मको भएको छ । डुल्न थाल्यो भने डुलेको डुलेकै मात्र गर्छ । घरमा बस्यो भने गीत घन्काएको छ, कोठाभित्र बसेको छ, बसेको छ । मान्छे घरमा छ, छैन हेर्न नगई थाहै नहुने । भोक लाग्यो भन्दै छिनछिनमा खाइरहनु पर्ने मान्छे न खाजाको वास्ता गर्छ अचेल न त खाना खान मन गर्छ । ३ पटक नबोलाउँदा सम्म उठेर आउने होइन । अजीवको भएको छ, उमा हैरान छे ।
आजपनि कुनबेला निस्किएर कता गइसकेछ । घरमा ऊ एक्लै छे । तल तलामा बस्नेहरु पनि त जागिर खान गएका छन् । के गरेर बस्नु दिनभरी ? पोते पनि कति उनोस् विचरी ? सिरियल पनि दुई महिना हेर्न छुटेको, कहानी त उसलाई छोडेर निकै टाढा भागिसकेछन् । अँ त, ऊ सम्झिन्छे, रुमानले उसलाई हिजो लगाएको टिशर्ट पो धोइिदिनु भनेको थियो । अहिले त वासिङ मेसिन जोडेपछि निकै सजिलो भएको छ उसलाई । अनावश्यक खर्च गर्न लोभ गरेपनि आफ्नो सुबिधाको लागि भने लोग्नेसँग उसले पापड बेल्नु पर्दैन उमाले । यो वासिङ मेसिनको माग त एकै वचनमा पास भएको थियो । ‘जे भएपनि, लव म्यारिज पो हो त !” उमा एक्लै-एक्लै मख्ख पर्दै छोरोको कोठातिर लम्किन्छे ।
“अब कुन दुलोमा पो फ्याँकेको छ होला यसले लुगा ?”
“जत्ति गरे नि नलाग्ने यो केटोलाई ! पछि कस्ती पर्दि हो यस्ता कि स्वास्नी ?”
“हेर हेर, तन्ना त अस्ति मात्र धोएको उस्तै पारिसकेछ ।”
“लौ न ! कहाँबाट के रङ्ग दलेछ यसले यो नयाँ तन्नामा ? नङ पालिश त लाउँदै त यो केटोले ?”
“होइन, यसले गर्लफ्रेण्ड त ल्याउँदैन नि ?”
“शिव, शिव ! के-के सोच्छु म पनि ? तर यो तन्नामा रङ्ग चाहिँ कसरी लाग्यो त ?”
ओछ्यानबाट तन्ना निकाल्दै गर्दा अचानक उसका आँखा त्यही प्रेसर कुकरको कार्टुनमा परेर झस्किन्छन् । पत्याउन नसक्दानसक्दै उसलाई एक किसिमको पीडा र शंकाले छोप्छ-
“कतै यो केटोले चोरी गर्न त थालेन ? किन यो कुकर आजसम्म यहीँ छ ?”
मन थाम्न नसकेर उसले कार्टुन उघारेर हेर्छे । ऊ कार्टुन उघारेपछि झन् पत्याउन सक्दिन । त्यसभित्र कुनै कुकर नभएर बरु त्यही ट्वाइलेटको बाल्टी पो छ जुन बाल्टी उसको छोरोले वहाँ पुगेको पहिलो दिन नै लात्ती हानेर फ्याँकििएको थियो । त्यही बाल्टीको निहुमा कति झगडा गरिरहन्थ्यो रुमान, त्यहाँ बसुन्जेल त्यही बाल्टीको निहुमा कति सताएको थियो उसलाई ! छोरो त्यो बाल्टीसँग घिनाएकै कारण कत्रो पापड बेलेर उसले नयाँ बाल्टी मगाएकी थिई लोग्नेसँग । त्यसैको पानी चलाउन घिन मानेर भान्छाबाट लैजान्थ्यो पानी पनि ! नयाँ बाल्टी ल्याएको दिन उसकै आँखाबाट गायबै भइजाओस् भनेर कान्ला कट्नेगरी फ्याँक्न लगाएकी थिई । उमा सम्झिन्छे, त्यति नै बेला माथि,,,, लेकतिरबाट झर्दै गरेको बटुवाले “यति राम्रो, बलियो बाल्टी त मलाई पो काम लाग्ने रहेछ” भन्दै कत्ति खुशी हुँदै टिपेर लगेको थियो । त्यस्तो बाल्टी आज उसको छोरोको कोठामा ? ऊ अझै विश्वास गर्न मानिरहेकी छैन, तर नगरेर सुख पनि त छैन उसलाई । किनभने, बाल्टी उसकै हातमा छ ।
ऊ सबैभन्दा हैरान त यस कुरामा भइरहेकी छे कि, आज त्यो बाल्टी कत्ति पनि कुरुप देखिएको छैन । बाल्टी त बरु रङ्गीचङ्गी छ, उसले गलामा सजाइरहेको पोतेजस्तै । ऊ लुगा धुन बिर्सेर त्यो बाल्टीलाई हेरिरहेकी छे । हेर्दाहेर्दै ऊ त्यो बाल्टीमा अनेक दृश्य देख्न थाल्छे । कहिले रेसमा दौडिरहेको सेतो घोडा देख्छे त कहिले पहेँलो भुँईमा निरबुट्टे फ्रक लगाएर नाचिरहेकी सानी बच्ची देख्छे ! कहिले खरानी दौरामा कालो स्टकोट लगाएर दाउरा चिर्दै गरेको दाउरे देख्छे त कहिले रातो म्याक्सीमा कालो कपाल लहराउँदै मस्त उभिरहेकी तरुनी युवती देख्छे ! कहिले फूलैफूलको बगैँचा त कहिले डरलाग्दा जीवहरुका भयानक आँखाहरु देख्छे ! कहिलेकाहीँ त हेर्दाहेर्दै ऊ त्यो बाल्टीमा कुची बोकेर हाँसीरहेको आफ्नै छोरोजस्तै केटो पनि देख्छे !

Image Source: Antique English Firebucket With Old Paint from YahooImages