सानो गल्लीमा
हिडिरहँदा एक कवि
आए केही बर्दिधारीहरु
मानेर शासकको आज्ञा
खोजि गरें
सबैतिर
भेटिएन केही पनि
बन्दुक जस्तो
बारुद जस्तो
सम्बोधन गर्दै भनिरहे–
खोज यो आतंककारीको खल्तीमा
होला कुनै खतरनाक हतियार
मुटु छामेर हेर्दा
मात्र थियो संवेदना
आँखामा चिहाएर हेर्दा
मात्रै थियो असन्तुष्टी
मस्तिष्क चिथोरेर हेर्दा
मात्र थियो विचार
उनीहरु आए
शहरको भित्री गल्लीमा
कन्चटमा सोझैं राखेर बन्दुक
गरिरहे तलासी
एउटा कविसँग
भेटे अन्त्यमा–
एउटा रातो कलम
डराए उनीहरु
कविको खल्तीमा भेटिएको
एक चोक्टो कागजको टुक्रासँग
केही अक्षरका हुलहरु्सँग
केही कविताका हरफहरुसँग
शहरको भित्री गल्लीको सुनसानबाटै
उनीहरुले ठूलो स्वरमा घोषणा गरिदिए–
एउटा देशद्रोहीलाई भर्खर गिरफ्तार गरियो ।