कोही मान्छे कतिसम्म क्रूर हुन सक्छ ? कतिसम्म निर्दयी र ढुङ्गासमान हुन सक्छ ? जब संसारले उसमा कुनै पनि मानवीय पक्षको छायाँ समेत देख्दैन ऊ क्रूर निर्दयी हुन बाध्य हुन्छ । त्यस्तो एउटा मान्छे छ, जसलाई संसारले कठोर देख्यो । संसारलाई लाग्थ्यो उसको न मन छ, न मुटु छ, न मस्तिष्क छ । संसारले उसलाई कठोरताको पर्याय बनाइदियो । दुनियाँको अपेक्षा अनुरुप उसले आफ्नो भित्री आवरणलाई न्यानो आत्मको खोल ओढाइदियो अनि बाहिरी अनुहारमा डरलाग्दो मुकुण्डो भिर्यो अनि सारा संसारभर ताण्डव मच्चायो । उसको लागि मानिसको हत्या गर्नु एक साधारण खेल बन्यो । उसले लाखौं मानिसहरूलाई जीउँदै भट्टीमा पोल्यो । संसारका बिरलै मानिसहरूले त्यो आत्मभित्र अङ्कुराएको सुन्दर फूल देखे होलान् । बाँकीको लागि ऊ केवल एक क्रूर शासक, तानाशाह र नरभक्षी मात्रै बन्यो । सुन्दर चित्र बनाउँदै सडकपेटीमा क्यानभास बोकी हिँड्ने एउटा निर्दोष आत्म भएको केटोलाई संसारले गलत बाटो देखाइदियो जसको गहिरो असर आजीवन उसमा छापिइरह्यो ।

House at a Lake with Mountain by Adolf Hitler, 1910 A.D.
आज म एउटा कठोर बोक्राभित्र अस्तित्व गुमाएको नरम गुदीको आत्मको मीमांसा गर्दै छु । या भनुँ कोपिलामै झ्याङ्गिएको गुलाफको फूल, जो संसार लाई बिझाइरह्यो मात्रै, त्यो सुन्दर फूल जसले काँडाघारीका कोप्चाहरूबाट संसारलाई चिहाइरह्यो । जो मेरो लागि प्रिय थियो, प्रिय छ र सदाबहार प्रिय रहनेछ- माइ डियर हिटलर !
सन् १८८९ अप्रिल २० का दिन जर्मनीको सिमाछेउ अस्ट्रियाको सानो गाउँ ब्राउनाउमा एउटा सुन्दर आत्म भएको केटो जन्मियो । परिवारसँगै सहज जीवनको खोजीमा त्यो केटोपनि विभिन्न ठाउँहरूमा सर्यो । त्यसै क्रममा ६ महिनासम्म त्यो केटो बेनेडिक्टको धार्मिक आश्रममा बस्नुपर्यो । त्यस आश्रममा उसको संगत सन्तहरूसँग हुन पुग्यो । उनीहरूले लगाउने कोटको बाहुलामा “स्वस्तिक चिह्न” अङ्कित हुन्थ्यो जसको अप्रत्यक्षअसर उसको धर्मप्रतिको आस्था बढ्दै गयो । त्यो केटोमा बाल्यकालदेखि नै अचम्मका स्वभावहरूको विकास हुन थाल्यो । ऊ सानैदेखि युद्ध सम्बन्धि खेल रुचाउन थाल्यो । ऊ प्रायः जसो राती चिहानमाथि बसेर आकाश हेर्दै घण्टौंसम्म टोलाइरहन्थ्यो । सन् १९००सम्ममा जब ऊ ११ वर्षको पुग्यो बिस्तारै उसमा कलाकारका गुणहरू देखिन थाल्यो । ऊ रंग , रेखा र आकारहरूमा आफूलाई खोज्न थाल्यो ।

Mother Mary with the Holy Child Jesus by Adolf Hitler, 1913 A.D.
जब सन १९०८ मा उसकी आमाको देहान्त भयो । ऊ १८ वर्षको थियो । त्यसपछि बाबुसँगै ऊ भियाना सर्यो । उसले आफ्नो बाबुको सरकारी जागीर खुवाउने सपनालाई तुहाउँदै आफ्नो अनन्त सपनालाई पछयाउँदै एकेडेमी स्कुल अफ आर्ट (पेन्टिङ) भियाना पुग्यो । सर्वप्रथम सन १९०७ मा नै उसले पेन्टिङको लागि एकेडेमीमा प्रवेश परिक्षा दियो । अनुत्तीर्ण उसले अर्को वर्षको प्रतीक्षा गर्यो । उसले एकेडेमी अफ पेन्टिङमा दुई दिनको प्रवेश परिक्षा दियो । अति नै आत्मविश्वासको साथ रिजल्टको प्रतीक्षा गर्न थाल्यो । तर दुई वर्ष नै प्रवेश परीक्षामा ऊ अनुत्तीर्ण भयो । उसले बिजुली चम्किए जस्तो महसुस गर्यो । उसले बनाएका पेन्टिङबाट निर्णायकहरू सन्तुष्ट भएनन् । त्यसकारण ऊ फेल भयो । यसले हिटलरलाई गहिरो असर पर्यो । ऊ आफू कसरी फेल भएँ भन्ने कुराको स्पष्टीकरण माग्न एकेडेमी पुग्यो । त्यहाँ उसका पेन्टिङबारे धेरै कमी-कमजोरी औंल्याइयो । उसले पहिलोपल्ट अनुभव गर्यो कि उसका पेन्टिङहरूमा कुनै मानवीय संवेदना र पक्ष देखिएन ।
त्यसपछि १८ वर्षको एक युवक चित्रकार दिन प्रतिदिन तनावमा गुज्रन थाल्यो । आफूप्रतिको आत्मविश्वास र खुबी खस्किँदै गएको महसुस गर्न थाल्यो । ऊ एक्लै बस्न थाल्यो । एक ठाउँबाट अर्को ठाउँ सर्न थाल्यो । पैसा बिस्तारै सकिँदै गयो । जीवनस्तर झन् खस्किँदै गयो । अन्ततः आफ्नो सबै कुरा सकेर सडकपेटीमा भिख माग्न थाल्यो । राती सडक र दिउँसो गल्लीमा राखिएका बेन्चमा सुत्न थाल्यो । फोहोरी, फाटेका र दुर्गन्धित कपडाहरू लाउन थाल्यो । सन १९०९ डिसेम्बरसम्ममा त उसको हालत नाजुक भइसकेको थियो । त्यसताक यहुदी परोपकारीद्वारा संचालित घरबार बिहीन गृहहरूमा दिन बिताउन थाल्यो । सुरुसुरुमा त्यो फोहोरी टुहुरो जस्तो केटो यहुदीहरूको घृणाको शिकार बन्यो जसको परिणामस्वरूप जीवनपर्यन्त उसले यहुदीहरूको घृणाको बदला लियो ।

The Vienna State Opera House by Adolf Hitler, 1912 A.D.
सन् १९०९ पछि बिस्तारै उसले आफ्नो स्थितिलाई सम्हाल्दै लग्यो । स-साना जलरंगका चित्रहरू, तेल चित्रहरू, केही भवनका आर्किटेक्ट चित्रहरू अनि पोस्टकार्डहरू बनाएर बेच्न थाल्यो । केही पैसा आर्जन गरेर ऊ यहुदी गृहबाट बाहिरियो अनि आफैले भाडाको कोठा लिएर भियानाका सडकपेटीमा चित्र कोर्दै संघर्ष गर्न थाल्यो । भियानाकै सडकपेटीमा बिस्तारै राजनीतिले उसको ध्यान खिच्न थाल्यो । सडकपेटीमा जम्मा भएका मानिसका झुण्डहरू र उनीहरूले गर्ने राजनैतिक क्रियाकलापहरूप्रति उसको रुचि बढ्न थाल्यो । चार वर्ष भियानाका गल्लीहरूमा ब्रस र रंगहरूको संघर्षमा तल्लीन हिटलरले सन १९१३ मा पश्चिम जर्मनीको शहर म्युनिखमा बसाइँ सर्यो । म्युनिखका सडकपेटी र गल्लीहरूमा फेरि एउटा जवान र निराश चित्रकारका रंगिन दिनहरू सुरु हुन थाले । त्यसै क्रममा एक वर्षको म्युनिखको संघर्षपश्चात् सन १९१४ मा जर्मनीका पुलिसहरूद्वारा सडकबाटै ऊ गिरफ्तारमा पर्यो । त्यसताका पहिलो विश्वयुद्धको झिल्का सल्कँदै थियो, यसरी एउटा निर्दोष चित्रकार युद्धको झिल्काले बिस्तारै जल्न थाल्यो ।
त्यही वर्ष नै उसलाई आर्मीको लागि प्रवेश गराइयो । उसले आर्मीका कुनैपनी मापदण्डहरू पूरा गर्न सकेन यद्यपि स्वयंसेवकको रुपमा पहिलो विश्वयुद्धमा एउटा जवान चित्रकारलाई होमियो । युद्ध र गोलीका झिल्काहरूको बीचमा पनि एउटा मान्छेभित्र रहेको चित्रकार आत्म मर्न सकेन । युद्ध चल्दै गयो, बारुदको गन्ध फैलिँदै गयो, भयानक चीत्कार सुनिँदै गयो अनि एउटा स्वयंसेवक चित्रकार निरन्तर युद्ध मैदानको क्यानभासमा अनेक रंगहरू छ्याप्दै गयो । आर्मी हेडक्वाटरमा पनि ऊ घण्टौं चित्रहरू कोर्दै बिताउन थाल्यो । तर एउटा स्वतन्त्र आत्मालाई बिस्तारै हिंसाका राता रंगहरूले भिजाउन थालियो जसकारण एउटा चित्रकार आत्मा बिस्तारै मर्न थाल्यो । अनेक निराशा र तनावको परिणाम आफ्नो न्यानो आत्मालाई पूरै ढाकेर त्यो युवक एक तानाशाह र क्रूर शासकको रुपमा उदायो ।

The Courtyyard of the Old Residency in Munich by Adolf Hitler, 1914 A.D.
दोस्रो विश्वयुद्धमा ऊ एक निर्भीक लडाकु, लिडर बन्यो पूरै संसारले जसरी उसलाई त्रासदी सिकायो त्यसैगरी संसारलाई पनि उसले त्रसित बनायो र ताण्डव मच्चायो । एक तानाशाह शासकको रुपमा उदाएपछि उसले आफ्ना सम्पूर्ण कलाका कामहरूलाई जम्मा गरेर जलाइदियो । केही चित्रहरू जो केही-कुनै कारणवश बचेका थिए तिनलाई दोस्रो विश्वयुद्धपछि सङ्कलन गरियो, कतिलाई संग्राहलयमा पठाइयो । कति चित्रहरू अमेरिकी सेनाहरूद्वारा बलजफ्ती लुटियो । धेरैजसो चित्रहरू अमेरिकी सरकारले गाड्न लगायो । बचेका चित्रहरूलाई प्रर्दर्शनीमा राखेर लिलाम बिक्री गरियो । उसका अनेक माध्यम र शैलीका चित्रहरू भेला गरी जम्माजम्मी चौध लाख अमेरिकी डलर बराबर मूल्यमा तिनलाई बिक्री गरियो ।
केही चित्र अन्वेषकहरूका अध्यन अनुसार हिटलरले आफ्नो जीवनभर जम्माजम्मी ३०० वटा जति पूर्ण चित्रहरू बनाएको अनुमान छ तर हिटलर स्वयंले आफ्नो आत्माकथा ” mein kemph” मा आफूले भियाना रहँदा दिनमा दुई देखि तीनवटासम्म चित्रहरू बनाउने लेखेका छन् । विशेष गरी सन् १९०८ मा एकेडेमीबाट रिजेक्ट भएदेखि सन् १९१४सम्ममा उनले हजारौं चित्रहरू सिर्जना गरेको दाबी गरेका हुन् । ती ६ वर्ष नै हिटलरको जीवनको ऊर्जाशील र सिर्जनशील समय रहेको कुरा पुष्टि हुन्छ । तर जीवनको अन्तिम समयसम्ममा पनि कला प्रतिको आफ्नो राग सुगन्धित रहिरहने समेत लेखेका छन् ।
सन् १९३९ मा दोस्रो विश्वयुद्धको अन्त्यपछि बेलायती राजदुत निभिले हेन्डरसनसँग हिटलरले भनेका थिए,
“म वास्तवमा एक चित्रकार हुँ कुनै राजनेता होइन, एकपटक मात्रै पनि यो पोलिश विवाद सुल्झिएपछि म मेरो जीवन एक कुशल चित्रकारको रुपमा अन्त्य गर्न चाहन्छु ।”

Tree at a Track by Adolf Hitler, 1911 A.D.
तर अफसोस सन् १९४५ अप्रिल ३० का दिन हिटलरको कोठाबाट रिभल्वरको गोली पड्केको आवाज आयो, दोस्रो गोलीको आवाज सुन्न मानिसहरू पर्खिरहेका थिए । तर दोस्रो गोलीको आवाज आएन तब मानिसहरूले कोठाको झ्यालबाट चिहाएर भित्र हेरे । रगताम्य हिटलरको शरीर सोफामा लडेर चिसो भएको थियो र उनको छेवैमा उनकी प्रेमिका इभा ब्राउनको लास थियो, उनको मुखभरि फिज भरिएको थियो ।
यसरी एउटा गुमनाम चित्रकारको निकै क्रूर र तानाशाह रुपमा अन्त्य भयो । त्यसको मुकुण्डोसँगै बङ्करभित्र उसको शरीर जलाइयो थाहाछैन संसारका कति मान्छेहरूले मुकुण्डो भित्रको त्यो फूल देखे वा देखेनन् अनि त्यसको बास्ना सुँघे कि सुँघेनन् ?