११ असोज, काठमाडौं- खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वर्ष २०७६ को पद्मश्री पुरस्कार आफूलाई अर्पण गर्ने निर्णयप्रति पछिल्लो समयका चर्चित उपन्यास ‘हंस’, ‘घनचक्कर’ उपन्यासका लेखक सञ्जीव उप्रेतीले आपत्ति जनाएका छन् ।
यसका अलावा साहित्यकार उप्रेतीको ‘मकैको अर्कै खेती’ नाटकपनि लोकप्रिय छ । पुस्तकका रुपमा प्रकाशित हुनुका साथै थिएटर भिलेजमा पनि उक्त नाटक मञ्चन गरिएको थियो जसमा उप्रेतीकी श्रीमती अर्चना थापाले अभिनय समेत गरेकी हुन् । अर्चना थापा स्वयं पनि एक कुशल लेखक, अध्येता, थिएटर अभिनेत्री एवं प्रकाशक हुन् ।
नेपाली लेखकले दुर्लभ कलम चलाएको साहित्यदर्शनका क्षेत्रमा “सिद्धान्तका कुरा” जस्तो गैर आख्यानबाट समेत लोकप्रियता बटुलेका साहित्यकार उप्रेतीले प्रतिष्ठानले आफूलाई पद्मश्री दिइरहँदा पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई पनि सँगै दिइने निर्णयप्रति आपत्ति व्यक्त गरेका हुन् ।
आफ्नो आपत्तिबारे सबिस्तार गर्दै साहित्यकार उप्रेती भन्छन्, ‘यौन हिंसाको आरोपमा पर्नुभएका लेखकसँगै बसेर एउटै मञ्चबाट पुरस्कार लिन मलाई गाह्रो पर्छ । पुस्तककै माध्यमबाट मोदनाथ पश्रितलाई शारदा भुषालले लगाएको आरोप अझै रहिरहेकाले पुरस्कारसँग मेरो विमति रहेको हो ।’ प्राध्यापकसमेत रहेका उनले लैंगिक समानताका पक्षमा निरन्तर आफ्ना लेख-रचनाहरूका माध्यमबाट आवाज उठाउँदै आइरहेका छन् ।
आयोजकलाई आफ्नो धारणा पठाइसकेका जनाउँदै उनी भन्छन्, “आयोजकको जवाफ के कस्तो आउँछ, त्यसपछि मात्र पुरस्कार लिने, नलिने व्यक्तिगत निर्णय मैले राख्न सक्छु ।”