~म~
१ बजिसक्दा पनि आज मेरो निद्रा मसम्म आइपुगेको छैन । ‘कसले रोक्यो होला मेरो निद्रालाई ?’, सधैँ यस्तै सोच्छु । यस्तै बेतुकका प्रश्नहरू दिमागमा घुमाइरहेरै हुनुपर्छ, मेरो निद्रा पनि सोच्न बाध्य हुँदो हो, ‘ह्या त्यो मुलाको शरिरमा पनि को जान्छ ? सधैँ नानाथरी कुराहरू खेलाइरा ‘ हुन्छ ?’, मलाई कहिलेकाहीँ लाग्छ, मेरो निद्राले मलाई पागल घोषणा गर्दिसक्यो । ‘म हुँ पनि कि ?’
निद्रा नआउने भएपछि, टेबलमा पल्टिरहेको किताब तानेँ । ‘वान अफ अस इज लाइङ’ । २० पाना पढेर छोडेको थिएँ । किताब पल्टाउने साथै, ह्वाँस्स…रिसको गन्ध मेरो नाक भित्र पस्यो । गन्धसँगै एउटा आवाज मेरो भित्री कानले सुन्यो, ‘तँ खुब अल्छि भ’को छस् है, केटा !’ त्यो आवाजलाई भित्री एक कानले सुनेर अर्को कानले उडाइदिएँ । र किताबका पानाहरू पल्टाउन थालेँ ।
‘थ्रिलर’ मेरो मनपर्दो विधा । मजा लाग्ने जनरा । यो किताब पनि उस्तै राम्रो छ । मलाई, मनलाई, तानी पनि रहेको छ । तर ७ पाना पढ्दा मुखले ३ चोटि हाइ…गरिसक्यो । तर यो निद्रावाला हाइ पटक्कै होइन, बरु अल्छिवाला हाइ हो । थप १० पाना पढिसकेपछि ‘च्याप्टर टु’ सुरु भयो । तर म ‘च्याप्टर टु’को पहिलो हरफ मै बन्द भएँ । किताबलाई बन्द गरेर टेबलमा राखेँ । खाटबाट उठेँ । ऐना अघि उभिएँ । रिसाएको जस्तो गरेँ । हाँसेँ । एकछिन आफैले आफैलाई गिज्याएँ । र ऐनालाई चोर औँला देखाउँदै चर्कै स्वरमा भनेँ, “तँ निकै अल्छि भ’को छस् है, केटा !”
टेबलमा, मोबाइल चार्जरसँग गहिरो सम्भोग गरिरहेको छ । मैले उनीहरूलाई छुट्टाइदिएँ । “देखो आगया प्यारका दुश्मन”, कुनै फिल्मको डाइलग हाने जस्तै म ठूलै स्वरमा चिच्याएँ । “ हाहाहाहाहा….”, मोबाइललाई हातमा बोकेर घुमाउँदै, एउटा अट्टाहास हाँसो हाँसेँ । ‘आफूले आफूलाई गब्बर सिङ सम्झिन्छस् ?’, झ्यालबाट आएको एक झोक्का हावासँगै, मैले यो आवाज पनि महशुस गरेँ । ‘अरे भाइ गब्बर सिङ होइन, हिथ लेजर हुँ, जोकर ..हा..हा…हा..’, भन्न मन थियो, भनिनँ । ‘हावा मुला भाइ देखिँदैन र मात्र…नत्र भनिदिन्थेँ, अघि नै ।’
मोबाइलमा बर्तिकालाई बजाएर खाटमा यसै छोडिदिएँ । ऐना अघि फेरि उभिएँ । कराएँ, “ टा…डा…इट्स म्याजिक..” अनि आफ्नो दुवै हातका दुवै चोर औँलालाई ओठ छेउमा लगेँ, र आफ्नो ओठलाई तन्काएँ । एकपटक वाकिन फिनिक्सलाई सम्झेँ….
“बाटो छुटेदेखि
कस्तो कस्तो संसार तिमीले एक्लै देख्यौ होला….”
मोबाइलमा गीत बज्न थाल्यो । गीतको लयसँगै मैले आफ्नो जिउ हल्लाउन थालेँ । सुस्तरी..। स्लो मोसनमा.. । ‘म पनि आफ्नो कोठाभित्रको त, खत्रै डान्सर हो नि !’ ऐनाले एउटा गिज्याउने हाँसो हाँस्यो । तर म वास्ता नगरी नाचिरहेँ । बाल नदिई जिउ हल्लाइरहेँ । धुनसँगै, शब्दसँगै, गीतसँगै…. म नाचिरहेँ…. ऐनाभित्र…. ऐनाबाहिर…. !
***
५ बजेसम्म एउटा स्पेनिस फिल्म हेरेर सकाएँ । पेन एन्ड ग्लोरी । कुनैकुनै फिल्म आफ्नै जिन्दगी जस्तै लाग्छन् । यो फिल्म पनि मलाई, मेरो जिन्दगी जस्तै लाग्यो । मैले भोग्न चाहेको जिन्दगीसँग मेल खायो । हेरिसकेपछि आनन्द लाग्यो । मजा आयो ।
अझै पनि निद्रा मेरो आसपास भड्किएको छैन । त्यसैले जुत्ता र ज्याकेट लगाएर म बाहिर निस्केँ । बाहिर निकै जाडो रहेछ । ‘टोपी पनि लाउनु पर्ने रहेछ ! अब यत्रो सिढी चढेर को माथी जाने फेरि ?’ त्यसै हिडेँ । दौडिन थालेँ ।
केटो ‘मर्निङ वाक’मा निस्कियो ! सडकमा केही बसहरू कुदिरहेका छन् । केही मोटरसाइकलहरू दौडिरहेका छन् । म पनि दौडिरहेछु । थाहा छैन, मलाई कहाँ पुग्नु छ ? तर म दौडिनै रहेको छु । गन्तव्यहीन ।
कानमा इयरफोन कोचेको छु । घरिघरि ज्याकेटको गोजीमा भएको मोबाइल, झर्ला जस्तो गरिरहेको छ । मैले हातले ठेलेर मोबाइललाई गोजीको कुनामा पुर्याइदिएँ । हातलाई ज्याकेट कै गोजीमा छोडिदिएँ । मोबाइलका अंगरक्षक बने हातहरू, गोजीमा तातिन थाले । मोबाइल फ्रेडी मर्क्युरी बनेर, चुपचाप इयरफोनमा बजिरह्यो-
इज दिस द रियल लाइफ
इज दिस जस्ट अ फ्यान्टासी
कट इन अ ल्यान्डस्लाइड
नो स्केप फ्रम रियाल्टी…
म पनि इयरफोनसँगै गाउन थालेँ । फ्रेडीको नक्कल गर्दै-
ओपन योर आइज,
लुक अप टु द स्काइज एन्ड सी
आएम जस्ट अ पुवर बोइ,
आइ निड नो सिम्पेथि..
१५ मिनेट जस्तो दौडिएपछि हात, खुट्टा गले । म सडक छेउमा रहेको बेन्चमा थ्याच्च बसेँ । कानबाट इयरफोन निकालेँ । हातले मुखको पसिना पुछेँ । ज्याकेट खोलेर छेउमा राखेँ । हुस्सुमा लुकिरहेको घाम, अलिअलि देखिन थाल्यो । ‘धर्तीलाई लाइन मार्दैछ मोरो !’, फेरि त्यस्तै, ताइ-न-तुइका कुरा सोच्न थालेँ । आफ्नै गालामा एकचोटी प्याट्ट हानेँ ।
सडकपारि एउटा अग्लो भित्ता ठिङ्ग उभिएको छ । ‘सायद त्यो भित्ताको पछाडि कुनै सरकारी कार्यालय या कुनै धनी मान्छेको घर छ !’, मैले अनुमान मात्र लगाएँ तर मलाई जसको, जे भएपनि केही मतलब छैन । त्यो भित्ता धेरै पुरानो हो, मभन्दा पनि पुरानो । सायद मेरा बा को उमेरको ! जसको छातीमा अझै पनि राता अक्षरहरू छन् । अलिअलि मेटिसकेको भएपनि, के लेखिएको हो भन्ने प्रष्ट बुझेँ-
“क्रान्ति सफल पारौं !”
र त्यसैको छेउमा रातै अक्षरमा केही दिन अघि लेखिएको नयाँ अङ्क पनि देखेँ-
+३७ ।
***
“सुस्तरी बोल्नुहोस्, भित्ताको पनि कान हुन्छ !”
भित्ताको कान हुन्छ भने, नाक पनि तँ हुदो हो ! जसले सुँघ्दो हो, यो सहरको गन्ध ! सुगन्ध ? आँखा पनि त हुँदो हो, मुख हुँदो हो…सिङ्गो शरिर पनि त हुँदो हो नि !, म फेरि सोचहरूको दलदलमा भाँसिदै गएँ ।
~ आवाज~
म बूढो भित्ता, मसँग कान छ, जो बहिरो हुन लागिसक्यो, यी हर्नहरूको कर्कश आवाजले, यो कोलाहलले । अब त वास्ता गर्न छाडिसकेँ, यी कानहरूले – ती अन्जान झुटहरू, जो ती अपरिचितहरूले मेरै अगाडि बोलेर गएका छन् । अब सुन्न छाडिसकेँ, ‘अर्को पालि फेरि यही ठाउँमा भेटौंँ है’ भन्ने वाचाहरू !
म भित्ता, मसँग नाक पनि छ, जसले सुँघेको छ- यो सहरको वमिट आउने गन्ध । ती पर्फ्युमका सुगन्ध पनि महशुस गरेको छु मैले । हरेक ३/४ दिनमा, एउटा प्रेमी गुलाफ बोकेर जान्छ यही बाटो । गुलाफको सुगन्ध त निकै पुरानो भइसक्यो यार ! अँ, हेर् त, हिजो बेलुका एउटाले पिसाब फेरेर बनाएको दाग अझै सुकेको छैन मेरो शरिरमा । अझै पनि उसको औकात गन्हाइरहेको छ मेरो नाकलाई ।
म भित्ता, मसँग आँखा पनि छ, जसले देखेको छ यो सहरको सबैभन्दा ला..मो सडक-जाम । जसले हेरेको छ, हतारिएका मान्छेका हतारिएका चेहेराहरू ! जसले देखेको छ, प्यास भरिएका चुम्बनहरू । कसैलाई नभन्, तर मेरा गुप्त आँखाले धेरैका गुप्ताङ्गहरू पनि देखेको छ ।
अरू त के भनौँ र खै ?
म भित्ता, मसँग सिङ्गो शरिरै थियो । तर अब आधाउधी छ, ढुक्क छ !
मसँग हात थिए, जसले छोएका थिए कलिला हातहरूलाई । वयस्क हातहरूलाई । बुढा हातहरूलाई । र महशुस गरेका थिए, चञ्चल, डिप्रेस्ड र मृत्युको प्रतिक्षामा प्रतिक्षरत मस्तिष्कहरू ! तर अहिले मेरा हात बाँधिएका छन् , पोष्टरहरूले/भित्ते लेखहरूले !
अहिले हात चलाउनु परेको छैन, ढुक्क छ ।
मसँग खुट्टा छन्, जो गाडिएका छन् बर्षौंदेखि ! धन्न हिँड्न सिकेनछु । नत्र यसरी हतारमा सधैँसधैँ म चाहिँ हिड्न सक्ने थिइनँ । मलाई ढुक्क छ ।
मसँग जिब्रो काटिएको मुख पनि छ । बोल्नु परेको छैन । चुपचाप बस्छु, ढुक्क छ ।
देखिस् नि ? यो मेरो छातीमा लेखिएको कुरा ! त्यो हैन, हैन, क्रान्ति त सफल भइसक्यो, त्यो मेटिन पनि लागिसक्यो, त्यसलाई वास्ता नदे । तँ एक्लैले वास्ता दिएर हुन्छ पनि के ? त्यो भनेको हैन मैले । यो के यो ! इः , यो रातो रङ्गमा लेखिएको सुन्दर अङ्क, +३७ । सुनेको छु, ३ दिनमा मसम्म आइपुग्छ अरे मेरो काल मलाई भत्काउन, जसलाई तिमीहरू डोजर भन्ने गर्छौ । हो, म भत्किँदैछु । मलाई ढुक्क छ ।
मैले चुपचाप त्यो भित्ताले नबोलेका कुराहरू सुनेँ । महशुस गरेँ । जिब्रो नभएको भित्ताले कसरी बोल्यो ? अरे भित्ता कसरी बोल्छ र ? म साच्चै नै पागल भएँ कि क्या हो ?
बेन्चबाट जुरुक्क उठेँ । ज्याकेट लगाउँदै म कोठातिर फर्किन थालेँ । कुद्न थालेँ । मैले फेरि एउटा आवाज सुनेँ- ‘ओइ सुन् त ?’
म टक्क रोकिएँ । पछाडि फर्किएँ र भित्तातिर हेरेँ । बुढो भित्ता मुस्कुराइरहेको छ । ‘म छिट्टै भत्किँदैछु ‘, ऊ ठूलो ठूलो स्वरमा चिच्याइरहेछ । म डराएँ । बेस्सरी दौडिन थालेँ । उसको आवाज म भित्र गुन्जिरह्यो- ‘कति सुन्दर छ यो अङ्क- ३७ । म सकिदैछु, म भत्किदैछु, म मर्दैछु , ….+३७ ..क्या मज्जा ….हा..हा…हा…!’

बुढो भित्ता