मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति एवं साहित्यकार कृष्ण पहाडीको पूस्तक “जिजीविषा” हालै प्रकाशित भएको छ । यसभन्दा अघि उनको २८ पूस्तक प्रकाशित भइसकेका छन् ।
यसपटक उनले २०७६ सालभरि विभिन्न राष्ट्रिय दैनिकतिर छरिएर रहेका आफ्ना जीवन, जगत सम्बन्धि आलेखहरुलाई एकै ठाउँमा समेटेर सङ्ग्रहको रुप दिएका हुन् । पहाडीका २५ वटा आलेख संग्रहित यो पुस्तक मानव अधिकार तथा शान्ति समाजले प्रकाशन गरेको हो ।
१ सय २२ पृष्ठको यो पुस्तकको मूल्य ३ सय तोकिएको र बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम मानव अधिकार तथा शान्ति समाजको अभियान तथा कार्यक्रममा खर्च गरिने घोषणा भएको छ ।
यसअघि, साहित्यसर्जक पहाडीका १ उपन्यास, १ जेल जर्नल, १ हिन्दी कवितासङ्ग्रह, १ अङ्ग्रेजी कवितासङ्ग्रह, २ कथासङ्ग्रह, २ गीतसङ्ग्रह, २ नियात्रा, २ नाटकसङ्ग्रह, २ मुक्तकसङ्ग्रह, २ प्रबन्धसङ्ग्रह, २ निबन्धसङ्ग्रह, ४ कवितासङ्ग्रह र ६ आलेखसङ्ग्रह प्रकाशित भइसकेका छन् । यसपटकको उनको ७औं आलेखसङ्ग्रह “जिजीविषा” २९औं कृति हो ।