कीर्तिपुर, राराहिल स्थित थिएटर मल कीर्तिपुर रंगमञ्चमा नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’ को मञ्चन शुरू भएको छ। कृष्ण चन्दरको कथामा आधारित नाटकलाई रंगकर्मी केदार श्रेष्ठले नाट्य लेखन, परिकल्पना तथा निर्देशन गरेका छन्।
यसै नाटकबाट कीर्तिपुर रंगमञ्चमा नियमित नाटक मञ्चन शुरू भएको हो। गत वर्ष फागुनमा नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवबाट नाटकघर कीर्तिपुर रंगमञ्चको उद्घाटन भएको थियो। यस बीचमा विभिन्न कार्यशाला तथा केही नाटक मञ्चन भए पनि नियमित मञ्चन भने ‘जामुनको रुख’ बाट भएको हो।
हास्यव्यंग्य शैलीमा प्रस्तुत गरिएको ७० मिनेट लामो नाटक सरकारी सचिवालय अगाडि बूढो जामुनको रुख ढलेर एक आम मान्छेलाई थिचेपछि शुरू हुन्छ। थिचिएको मान्छे निकाल्न कसैले जिम्मेवारी लिनुको सट्टा कर्तव्य र मानवीयतालाई पाखा लगाएर एकपछि अरूलाई जिम्मेवारी पन्छाउँदै नाटकको कथा अघि बढ्छ।
अझै थिचिएको मान्छेप्रतिभन्दा ठीक उल्टो ढलेको बूढो जामुनको रुखप्रति सहानुभूति प्रकट गर्दै अमानवीयताको हदसम्म पुग्छ। समग्रमा ‘जामुनको रुख’ वर्तमान जटिल र विसंगत सामाजिक–राजनीतिक अवस्थाको सपाट कथा हो।
पद र पावरमा रहेकाको अनिर्णय, अनियमितता, अकर्मण्यता, अव्यवस्था, असंवेदना, अमानवीयतालगायतको कथा हो। वर्तमान समयमा खोक्रिँदै गएको सरकारी प्रणाली, राजनीतिक व्यवहार र कर्मचारी संयन्त्रमाथिको सीधा व्यंग्य हो।
यसर्थ यो नाटकलाई निर्देशकले दिएको अंग्रेजी सबटाइटल ‘सेमलेस भल्गारिटी’ अर्थात् ‘लाजविहीन अश्लीलता’ सार्थक लाग्छ। उर्दू र हिन्दीभाषी साहित्यकार कृष्ण चन्दरको लोकप्रिय कथामध्ये एक ‘जामुनको रुख’ जस्तै नाटकलाई पनि सरल र सरसरूपमा प्रस्तुत गर्ने प्रयास मञ्चमा देखिन्छ।
त्यति हुँदाहुँदै नाटक सकिँदासम्म दर्शकलाई गम्भीर बनाएर मञ्चमा नाटकको अन्तिम प्रकाश निभ्छ। त्यसो त निर्देशक केदार भन्छन्–
‘तर, हरेक सरलताभित्र जटिलता र जटिलताभित्र सरलता कलाको स्वाभाविकता हो। यसर्थ तपाईंको भौतिक आँखाले देखेका दृश्यहरूभन्दा पनि भयानक दृश्यहरू तपाईंको चेतन आँखाले देख्नुभयो भने नाटक अर्थपूर्ण बनेछ भनेर बुझ्नेछु।’
साभारः न्यूज अफ नेपाल (newsofnepal.com)
सङ्कलनः श्रीजु सरल