टि फर टाइगर

तिनताका गाउँभरका केटाकेटी हुल बाँधेर गाउँकै सरकारी विद्यालय सोझिँदा कुष्मा र म आफैँलाई थिच्ने पुस्तकको भारी बोकी पल्लो गाउँको बोर्डिङ कुद्थ्यौँ । हामीले “टि फर टाइगर” फलाकिसक्दा हामीभन्दा जेठी, लक्ष्मी नेपाली दिदीले ‘क’ अक्षरको दर्शनसम्म पाएकी थिइनन् । गाउँको गरिबी, दलितको कोख र त्यसमाथि झन् छोरी मान्छे, उनलाई विद्यालय कस्ले पठाउने ? आफूभन्दा साना नानीहरु ठूला सपना बोकेर विद्यालय जाँदा उनीसँग सानो घरको दैलो रुग्नुको विकल्प थिएन । विद्यालय टेक्ने औषत उमेर नाघिसकेकी उनलाई निकै ठूली भएपछि बाले भर्ना गरिदिए । फोर क्लास उत्तिर्ण भएपछि हजुरबुबाले मलाई पनि आफूले पढाउने विद्यालयको पाँच कक्षामा भर्ना गरिदिनुभयो, जहाँ उनी मेरी सहपाठी बनिन् ।

उसो त उनीसँगको पहिलो भेट विद्यालयमा भने भएको होइन । भैँसीको छालालाई बटारेर बनाएको नारा लिएर त्यसअघि उनी काकाको घरमा निकैपटक आएकी थिइन् र फर्कँदा पोल्टोमा अन्न लिएर फर्केकी पनि । बाघ बुझेकी उनलाई पाँच कक्षा पढ्दासम्म टाइगरबारे भने ज्ञान थिएन । टाइगरको अर्थ नबुभ्दै उनले विद्यालय छोड्नुपर्यो, उनले पाँचकक्षा पूरा पढ्न पाइनन् । त्यसपछिका उनका दिनचर्या घरयासी कामकाजमै बिते । जीवनका निकै वसन्त उनले घरजत्रो दैलो रुँघेर कटाएकी छिन् ।

छुवाछुतको महामारीको सिकार बनेको गाउँमा दलितहरुको छुट्टै बस्ती थियो । ठूलो स्वाँरा वास्तविक नाम रहेको उक्त बस्तीको दोस्रो न्वारन भइकन नाम फेरिइसकेको पनि थियो । हो, सबैको जिब्रोमा सार्कीगाम झुण्डिएको थियो । दलनमा परेर दलित भएको उनको समुदाय भित्रपनि दलनका अनेकौँ आयाम थिए । दलित भएकोले दिदीहरु गाउँबाट छुट्टिएर कथित सार्कीगामका बासिन्दा त थिए नै अझ गरिबीले न्याकेकाले आफ्नो समुदायबाट पनि हेपिएकी उनको बस्तीबाट अलग्गिएको सानो एक्लो घर थियो । खुला आकाशमुनि बाँधेको ख्याउटे गाई, केही थान लत्ताकपडा, अन्न-पानी र खाने–पकाउने भाँडा; यी बाहेक उनीहरुको सम्पत्ति शायदै थियो । तिजु पाक्ने ताका हामी उनको घरको बाटो हुँदै वन छिर्थ्यौँ जतिबेला म उनलाई मकैको भूत्लाले काला भाँडा मस्काइरहेको देख्थेँ । ‘दिदी’ भनेर परैबाट डाक्दा उनी धेरैपटक झस्केकी छिन् । घर अलग्गिएर सधैँ एक्ली भएकीले उनलाई यो संसारमा अरुपनि मानिस छन् भनेझैं लाग्दैनथ्यो रे । फेरि मान्छेको आवाज सुनेर तर्सिने उनलाई समाजले अमान्छे बनाएकै त थियो । उनले बाँचेको समाजमा उनले मस्काउने भाँडाको रङजस्तै मन भएका मानिस पनि थिए । स्वघोषित मान्छे, वास्तविक अमान्छे ।

Only Hut near the Dense Forest

Only Hut near the Dense Forest

सबेरै बजार झरेका उनका बाबुआमा साँझ छिप्पेपछि मात्र घर फर्किन्थे र उनीहरुसँगै फर्किन्थ्यो रित्तो डोको । उतिन्जेल घरको रखबार गरेर बसेकी हुन्थिन् लक्ष्मी दिदी । बाटोछेउ घर भएका कारण म ती ठुलाबा आएको परैबाट चाल पाउथेँ किनकी लुत्तेखोलो देखि नै उनले गाएको ठाडो भाकाको आवाज मेरो घरसम्म आइपुग्थ्यो । पिएका उनी मेरो घरमुनि आएपछि सानो मुखीया भन्न कहिल्यै बिर्सिन्नथे । त्यो सानो मुखिया पनि गर्वले ढक्क छाती फुलाएर ‘हजुर ठुलोबा’ भन्न बिराउँदैनथ्यो । अनौठो कुरा त के भने, गाउँका हरकोहीलाई सन्चो नहुँदा पहिलो फर्माइस आउने पद्मे बुढा, उनै ठुलाबा हुन् । अरुबेला छोइँदा हुम् झैं गर्ने बाहुन/बिष्टका मूलकोठामा पसेर समेत उनले उपचार गरेका छन् । आफ्नै सातो लिनेको सातो कैयौंपटक उतारेका छन् । सिपालु, अति हेपिएका वैद्य !

समय बित्दै गयो मलाई शहरले निम्त्यायो । जीवनको आधारभूत आवश्यकतामध्ये कुनै एक मात्रको पनि स्वाद नपाएकी लक्ष्मी दिदीको बालविवाह भयो । टाइगरको माने नबुझेकी उनलाई कलिलैमा बिहे गर्नुहुन्न भन्ने ज्ञान कसरी हुनु ? हुर्किँदै गरेकी छोरी बाआमालाई हरो लाग्यो, थमाइदिए कसैलाई । विडम्बना, बिहेको दुईतीन दिनमा नै उनलाई श्रीमानले त्यागिदियो र भारत पस्यो । दुखियालाई दुखमात्र आइलाग्छ, उनी गर्भवती बनिन् । गर्भवती उनलाई समाजको हेपाई त सहनुपर्यो नै यस अतिरिक्त समाजले उनलाई अनेकौं उपमा टकारिदियो । ती उपमाहरुसँगै उनले अपहेलित जीवन कटाउनु थियो, अनेक दुःख भोगेर । थल्थलिएको भुँडी लिएर मेलापात गरिकन भएपनि उनले प्राण धानिन् । यसैबिच गाउँ जाँदा उनीसँग मेरो भेट हुन्थ्यो । कुरा गर्दा मलाई उनी बेसुरकी लाग्न थाल्यो । सुरकी पनि कसरी होउन् ? उसो त मान्छेहरु उनलाई लठ्यौरी भन्न थालिसकेका थिए ।

उनलाई पुत्रलाभ भएछ । जन्मिँदै टुहुरो त्यो बच्चो अनेक बाधा र अडचनसँग सिँगौरी खेल्दै हुर्कियो । छोरोलाई ढाडमा बाँधेर दिनभरको मेलामा तग्नु सानो कुरा थिएन, तर मेलाको पारिश्रमिक भने छोरालाई भरपेट दुध नआउने हुन्थ्यो । उनको बाल्यकाल छोरामा दोहोरियो । उहि अभाव, उहि पीडा र उस्तै एक्लोपन ! उनको कैयौं पुस्ताले परिवर्तनको आभास गर्न पाएनन् । जडौरी लगाएर र कसैले कृपा गर्दा स्वाद फेरेर त्यो बालक हुर्कियो र आइपुग्यो छोराले कखरा पढ्ने दिन । कखरामा अभ्यस्त भइसकेपछि छोराले अङ्ग्रेजीका वर्ण भट्याउन थाल्यो, त्यो सुनेर दिदी कुहिराको काग बनिन् । क्रमशः दिन बित्दै जाँदा आइपुग्यो छोराले टि फर टाइगर फलाक्ने दिनपनि । उसले निकैपटक त्यसो भनिसक्दा पनि उनलाई टि फर टाइगरको अर्थ थाहा थिएन । उनि अनभिज्ञ नै रहिन्, के हो-के हो टि फर टाइगर ! बस् यत्ति बुझ्थिन् छोरोले अङ्ग्रेजी जान्दैछ ।

दिदीको दोस्रो विवाह भयो । दोस्रो बिहेसँगै जेठो छोराको टि फर टाइगर यात्रा रोकियो । उनी पुनः गर्भवती बनिन् । श्रिमान हुनुको आड उनले पाइन् । यसपाली भने थल्थलिएको भुँडी लिएर उनले दिनभर मेलामा निहुरिनु परेन । मीठो नभएपनि दुई छाक अघाउने भोजन पाइन् । शायद, मान्छेको साथको आभास उनलाई त्यो उमेरमा आएर भयो । अझ बिशेष गरिकन आफ्नो मान्छेको !

दोस्रोपटक प्रसव पीडा भोगेकी उनले छोरालाई धर्तिको स्पर्श गराइन् । सानो घरमा बडेमानको खुसी आइपुग्यो । बडेमानको खुसी सानो घरमा अटाउन नसकेकाले उनका श्रिमानले ससुराली छोड्ने निर्णय लिए । आफ्नो घरजग्गा केही नभएका कारण बसाइँ गएपछिको रित्तो घर धुँवारेर बस्नुको विकल्प ती दम्पतिसँग रहेन । मानिस बस्न छाडेकै वषौँ भइसेकेको कथित भूतेबङ्गलामा उनीहरुले आश्रय लिए । मान्छेको समाजमा नअटाएका ती चारमान्छे भूतका साथ खुसी देखिन्थे ।

कान्छो छोरा बाईस महिना पुगिसकेको थियो । उस्ले पनि केही वर्ष यता दाजुलेझैं टि फर टाइगरको यात्रा सुरु गर्दै थियो । तर रोकियो उसको टाइगर यात्रापनि । साँझ, भान्सामा मासु भुटिरहेकी दिदी छोरालाई आँगनमै छाडेर गम्दै थिइन्,
‘आज बेस्सेरी भुटेर खुवाम्छु कान्छालाई ।’

तर दुखियालाई दुःखबाहेक केही लेखेको हुँदो रहेनछ । परपरि भटेको मासु खुवाउँला सोचेको कान्छो स्वयं नै कसैको मासु बनेको थियो, नभुटेरै ! कसैले उसलाई काँचै कोपरिदियो ! आफूले सिक्न नपाएको र छोराले फलाक्दा नबुझेको टि फर टाइगरको अर्थ उनले त्यसबेला बल्ल बुझिन् । उनलाई टाइगरले नै टाइगरको अर्थ सिकायो । कस्तो विडम्बना, कान्छोलाई बाघले लतारेछ ! रातभर खोज्दा नभेटिएको छोराको लास भोलिपल्ट गाउँछेउको जङ्गलमा भेटियो । मासुबिनाको खोपडी खुट्टाभन्दा दुई मिटर पर थियो । आधा ज्यान बाघले निलेको आधा माखा भन्किएको । छोराको लास देखेर अचेत भएका बाबुको फेरि बिजोक । सुर हराउन लागेकी दिदी बेसुरे हुनु नौलो थिएन । एकाएक त्यो परिवारमाथि बज्रपात आइलाग्यो । तनहूँमा भएको बाघ आक्रमणको सिकार उनको कान्छो पनि बन्यो । आफ्नो घर हुँदो हो र छोडेको घर धुँवारेर बस्न नपर्दो हो त कान्छोले एकदिन आमालाई बुझाउँथ्यो टि फर टाइगरको अर्थ । घरको महत्तव कति विराट रहेछ, उफ् ! यतिबेला सोच्दा मेरो समेत टाउको चड्किन्छ, कस्तो भयो होला दिदीलाई ?

दिन दहाडै बाघले लुछेको बच्चा

दिन दहाडै बाघले लुछेको बच्चा

छोराले अङ्ग्रेजी सिकाउँदा दिदी मख्ख हुन्थिन् होला । फगत कल्पना गर्नु व्यर्थ छ आखिर । गाउँमा यसअघि बाघले मान्छे नखाएको तथ्य मलाई हजुरबुबाले सुनाउनुभएको थियो । उहाँले बाँचेको सयबर्षको इतिहासमा गाउँमा बाघले मान्छे खाएन, प्रथम पटक मान्छेले बनाएको अमान्छेलाई बाघले कोपर्यो । त्यसपछि भँयर पूजा भयो, गाउँलेले खोर थापे । बाघले खोरमा पर्न बिर्सियो, दिदीले टाइगरको माने सम्झिरहिन् । आखिर, कान्छासँगै ती दम्पतिका सपना तुहिए ।

सरकारले उनको परिवारलाई दशलाख नगद दिनेभयो, सहानुभूतिका नाममा मान्छेहरुले घर बनाइदिने भए । छोरा हुँदा नभएको घर छोराको लासका कारण ठडिने भयो, कस्तो परिस्थिति ! आमाबुबाका सपनानै सन्तान हुन् भने सपना नभएको छानोको के अर्थ ? सरकारले त्यो दशलाख कान्छो जिउँदै हुँदा दिन्थ्यो त दिदीको सपना तुहिन्न थियो । मान्छेले पहिलेनै घर बनाइदिन्थे त कान्छो आफैँले आमालाई टाइगरको माने पढाउँथ्यो । सहानुभूतिको  लागि, स्नेह-प्रेम गर्नपनि अवसर खोज्ने मान्छेहरुले समानुभूति स्विकार्थे त दिदीको कान्छोले बाघको सिकार  नै बन्नुपर्ने थिएन । कत्रो सम्भावना थियो होला त्यो कान्छोमा ? आखिर संसारै नदेखी त्यसरी अकाल कालकै प्यारो हुनुपर्यो । यस्ता सैयौं सम्भावनाको हत्यारा आखिर को ?

उक्त घटना घटेको केही दिनमै पल्लो गाउँको बच्चोलाई पनि बाघले झम्ट्यो । धन्न ! उक्त बच्चोलाई केही भएन । गाउँ, बाघ-आक्रमणको सिकार भएको महिना दिन नाघिसक्यो । सरकारवालालाई गाउँको अझै चिन्ता छैन । मान्छेको रगतले बहुलाएको बाघ दिनमै माझगाउँमा डुकुर्छ । गाउँमा बस्ने एक्ली माताजी मलाई फोन गरेर सुनाउनुहुन्छ,
“आज फेरी सम्धीको बाख्रो हान्यो ।”
“हिजो आँगनमा देखेथेँ, दिदीको बिरालो खाएछ ।”
“ठुलियाँ खा’को थाल छोडेर दौडिन् ।”
माताजीले सुनाएका यस्ता सैयौं तथ्य सुनेर म दिक्क भइसकेको छु । अहँ, तर सरकार कहिल्यै दिक्क मान्दैन । आफ्नो लाचारपनसँग सरकारले दिक्दार मान्नु एकादेशको कथा बराबर भइसक्यो, यस्तै नै सोच्न सकिने स्थिती छ । एउटा बाघले महिनौं त्रास फैलाउने देशका जनता कुन हदसम्म खुसी होलान् र पीडाको कुन हद पार गरिसकेका होलान् ? सोच्नुपर्नेले सोच्दैनन् । लक्ष्मी दिदीजस्तै धेरै आमाका सपना बाघको पेटमा परेका छन् । मान्छेका सपना कोपर्ने बाघलाई मान्छेको सरकारले कोपर्नु पर्छ कि पर्दैन ?

हुन त, सरकारवालासँग कोपर्ने अरु नै थोक छन् । आजसम्म गाउँ बाघको त्रासबाट उम्किएको छैन । निदाउँदा बाघको सपना देख्ने गाउँलेले जागा हुँदा बाघलाई कसरी बिर्सिउन् ? एक बाघ अनेकको बोझ बनेको छ भने सरकार कानमा तेल हालेर रमिते ! थाहाछैन, लक्ष्मी दिदीको कान्छोझैं अझै कति जेठा कान्छाले “टि फर टाइगर” फलाक्न पाउँदा नपाउँदै  आफै टाइगरद्वारा कति फग्ल्याँटा पारिने हुन् ! र कति आमाहरुलाई बाघ स्वयंले टाइगरको अर्थ बुझाइदिनेछ ।

Facebook Comments

You may also like

error: Content is protected !!