सिनोप्सिस हन्टर

लेख्न त बसिहालियो, ल्यापटप खोलेपछि के लेखौँ के हुँदैन तपाईंलाई ? म पटकपटक लेख्ने कुरो ठम्याउन नसकेर वोर्डको रित्तो स्कृन हेरेर घण्टौं घोरिएको छु । यति गर्दापनि लेख्ने जिनिस दिमागमा नआएर ल्यापटप सट–डाउन गरेको पनि इतिहास छ । लेखकको समस्या भनेकै ‘के लेख्ने ?’ हो । कहिलेकाहीँ सोच्दा यस्तो लाग्छ, लेख्ने कन्टेन्ट सकिए अब । होइन, कन्टेन्ट जतिपनि छन् भनेर तत्काल फेरि आफ्नै विचारको प्रतिपक्ष भइहाल्छु । सानो क्यानभासमा काम गर्दा भने कन्टेन्टले उति सताउँदैन । जब उपन्यास, नाटक वा फिल्मको स्कृप्ट लेखनको कुरा आँउछ, त्यति नै बेला जन्मन्छ ‘सिनोप्सिस’ । फिल्मको स्कृप्ट लेख्छु भन्यो, निर्मातालाई सिनोप्सिस चाहिन्छ । उपन्यास लेख्न सुरु गरे, आफैलाई ! विशेष गरिकन नाटक लेखनमा सिनोप्सिसको खाँचो पाउँछु म । बढीमा दुईघण्टाको नाटकमा दर्शकलाई के देखाउने के नदेखाउने, द्वन्द्वको सुरुवात, कथाको विकास, लेखनमा लेखकको उपस्थिति, पात्र छनोटसहित नाटकको उद्देश्य लेख्नुपूर्व छर्लङ्ग हुनुपर्यो । यसका लागि सर्वप्रथम लेखक सिनोप्सिसको चक्रव्यूहमा होमिन्छ । साइक्लिङ गर्दा होस् या बेकिङ, खाँदा र पकाउँदा पनि यसबारे गमिरहँदा लेखक घनचक्करको शिकार हुन्छ नै । मस्तिष्कको मन्थन सकिएपछि लेखेको सिनोप्सिस आलु लाग्छ आफैँलाई । पात्र आलु, पटकथा आलु, लेख्नुको उद्देश्य आलु, सिनोप्सिसको आधारमा पूर्णरुपको कल्पना गर्दा प्रतिफल आलु । जताततै आलुमात्र देखेपछि आफु नै आलु रहेछु भनेर ऐना हेर्न वासरुम छिर्नुको विकल्प रहँदैन ।

साँच्चै ! सबैभन्दा महत्त्वपूर्ण र जटिल कार्य सिनोप्सिस लेखन हो । लेखको गुदी सिनोप्सिमा नै त हुन्छ । लेखनका हरेक विधाको प्राण सिनोप्सिस त हो आखिर ! व्यक्तिगत रुपमा, लेखको सबैभन्दा गाह्रो विधा नाटक लेखन लाग्छ मलाई । मैले नाटक लेख्न धेरै पटक प्रयास गरेँ, अँह सकेको छैन । उही सिनोप्सिसको धनचक्करबाट गुज्रिनु पर्छ । वोन लाइन स्टोरी त क्लियर हुनुपर्यो नि हैन र ? त्यही कथा भेट्नु नै महाभारत छ । वोन लाइन स्टोरी नपाएर धनचक्करको शिकार कति लेखक भए होलान् ? सिनोप्सिसको शिकार गर्नु बडो कठिन रहेछ ।

कथासरित सागर नामक पुस्तकमा समावेश गरिएको एउटा कथा बडो रोचक छ । बेताल पच्चिसीका प्रमुख पात्र विक्रमलाई एक तान्त्रिकले मसानघाटमा रहेको बेताललाई ल्याउन अह्राउँछन् । वचनका पक्का विक्रम मध्यरातमा बेताल लिन पुग्छन् । रुखमा झुण्डिएको बेताललाई झारेर काँधमा बोकी हिँड्न लाग्दा ऊ अचानक बोल्न थाल्छ । उसका अनुसार यात्रामा उसले राजालाई कथा सुनाउने छ र अन्त्यमा प्रश्न सोध्नेछ । प्रश्नको जानाजान गलत उत्तर दिन पाइने छैन र सही उत्तर दिएमा बेताल वायू-वेगले पुनः उही मसानघाटमा फर्किने छ । यस्तो शर्तमा विक्रम बेताललाई बोकेर हिँड्छन् । बेताल कथा सुनाउँदै जान्छ र प्रश्न गर्छ । विक्रमले उत्तर दिन्छन्, सही उत्तर हुनाका कारण बेताल वायू समान वेगले मसानघाट फर्किन्छ । विक्रम पुनः मसानघाट फर्किन्छन् र बेताललाई बोकी ल्याउँछन् । एवं रितले पुरानै अवस्था देहोरिरहन्छ । यसैबीच विक्रमले चौबिसपटकसम्म प्रश्नको सही जबाफ दिन्छन् र ओहोरदोहोर गरिरहन्छन् ।

Baital Pachisi

Baital Pachisi


पच्चिसौँ कथापछिको प्रश्नको उत्तर नजानेपछि बेतालले विक्रमलाई तान्त्रिकको उद्देश्य बताउँछ । तान्त्रिकले बेतालको नभएर स्वयं विक्रमको बलि दिनेवाला रहेछ । यो थाहा पाएपछि बेतालको उपाएअनुसार तान्त्रिकले अनुष्ठान गर्ने क्रममा राजालाई नुहेर प्रणाम गर्न भनेका बेला, म राजाजस्तो मान्छे आजसम्म झुकेको छैन एकपटक झुकेर देखाइदिनुहोस् भनि विक्रमले भन्नेछन् र झुकेको तान्त्रिकलाई छिनिदिनेछन् । यसरी राजा विक्रम जीवित रहन सफल हुन्छन् । उनले नजानेको पच्चिसौँ प्रश्न अनौठो छ । एक राजा, रानी र राजकुमारीसँग यात्रामा निस्कँदा डाँकुले उनलाई मारेर धन लुटिदिन्छन् । बाँचेका रानी र राजकुमारी नदी छेउ गएर रोएर बस्छन् । यस्तैमा सोही बाटो भएर हिँडिरहेका अर्का राजा र राजकुमारले पाइला देख्छन् । स्त्रीका पाइला हुन् भन्ने थाहा पाएका उनीहरुले, सानो पाइलावालीसँग राजकुमार र ठूलो वालीसँग राजाले बिहे गर्ने निश्चित गर्छन् । बिडम्बना रानीको सानो पाइला हुन्छ । अबभने छोरी आमाको सासु हुन पुग्छे । बेतालले सोधेको तर विक्रमले उत्तर दिन नसकेको प्रश्न यस्तो छ,

ती दुई आमाछोरीले बाउछोराबाट जन्माएका बच्चा(पुरुष) ले एकअर्कालाई के भन्नुपर्छ ?

यसको उत्तर मलाई पनि थाहा छैन । उत्तरको खोजीमा म स्वयं छु । एकातिरको साइनो अनुसार ती मामाभान्जा पर्छन् भने अर्कोतिरबाट काका भतिज । मामाभान्जा र काकाभतिजको यो फ्यूजनलाई के भन्ने ? प्रश्न आफैँमा वोन लाइन स्टोरी बनेको छ । यो प्रश्न कुनै लेखकको शिकार भयो होला या नाई ? कथा भने मलाई सिनोप्सिस बन्न लायक कथा हो भन्ने लाग्छ । तपाईंलाई लाग्यो कि नाई ? लागेको भए केही लेखिहाल्नुस् है त । झुर छ, सिनोप्सिस बन्न लायक छैन भन्नपनि तपाईं स्वतन्त्र हुनुहुन्छ ।

Bentazien White Serpent Of Japanese Mythology

Bentazien White Serpent Of Japanese Mythology


यस्तै, ह्वाइट सर्पेन्ट नाम दिइएको चिनियाँ मिथक अर्को रोचक मिथक हो । विश्व साहित्यमा प्रयोग गरिने प्यान्डोरा बक्स पछाडिको मिथक उस्तै छ । इजिप्टकी इसिस वा अनुविसको मिथक, अफ्रिकी प्यान्थियोनस् र जापानी वोनी र वोकाईका मिथक, यिनिहरुमा पनि सिनोप्सिस बन्ने गुण छ । जय होस् यस्ता गुण भएकाको ।
John William Waterhouse Pandora's Box

John William Waterhouse Pandora’s Box


नेपाली साहित्यको कुरा गर्दा, मिथक वा कुनै कथाको थिमलाई समातेर विभिन्न विधामा कलम चलाइएका छन् । मदनमणी दीक्षितको माधवी महाभारतका कारण जन्मियो ।
Draupadi Cheerharan from Mahabharata

Draupadi Cheerharan from Mahabharata


धरावासीको राधा र पछिल्लो समयको अश्वत्थामाको आधारपनि व्यासका कृत्ति नै रहे । व्यास हुन्नथे त यी लेखकले के गर्थे होलान् है ! सोचेर अचम्म मान्नु कुनै नौलो कुरा होइन । यस अतिरिक्त अधिकांश नाटकको कथा, मिथक वा यस्तै कथाको थिममा आधारित छन् । समको प्रह्लाद, सरुभक्तको सिरुमारानी, रमेश विकलको मिल्किएको मणि, दीपक पराजुलीको यो कस्तो महाभारत जस्ता नाटकलाई उदाहरणको रुपमा लिन सकिन्छ ।
Sirumarani @ Mandala Theatre

Sirumarani @ Mandala Theatre


बहुचर्चित भारतीय सिनेमा बाहुबलीपनि मिथकलाई आधार मानेर बनाइएको सफल चलचित्र हो । जापनी चलचित्र त मिथकका भण्डारनै भएगुरुङ समुदायमा प्रचलित मिथक म्ले क्यूँ को अर्थ बिर्साउने पानी हुन्छ । मरेका मान्छेलाई जीवित रहँदाको घटना बिर्साउने एक तिलस्मी पानीको कुवा यस मिथकमा मुख्य छ । अनौठो कुरा त के भने पछिल्लो समयको चर्चित पुस्तक लिङ्कन इन द बार्दोको कथासँग म्ले क्यूँको मिथक मिल्दो छ । सिनोप्सिसको खोजीमा भौंतारिएका ती अमेरिकी लेखकले म्ले क्युँको मिथक सुनेका पनि हुन सक्छन् । अमेरिकी गुरुङले सुनाए होला है जर्जलाई यो मिथक । खैर, सुनेको भए नभएपनि सिनोप्सिसको घनचक्करबाट त उनी पक्कै गुज्रिए ।
Lincoln in the Bardo

Lincoln in the Bardo


मिथक वा ग्रन्थका अंशलाई सिनोप्सिस बनाउने शिकारी लेखक नेपाली साहित्यमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा पनि छन् । बुकर अफ दि बुकर पाएका प्रिय लेखक रुस्दीले पनि ग्रयाब्रिल फरिस्तालाई पात्र बनाएकै हुन् । बिचरा ! इस्लाम ग्रन्थ भित्र सिनोप्सिसको शिकार गरिरहेका उनी झण्डै आफैँ समेत शिकार बनेनन् । ड्यान ब्राउनको दा भिन्ची कोडले उठाएको जीजसको ब्लडलाईनको कथा पनि शिकार गरिएको सिनोप्सिसको प्रतिफल न हो । मिथक होस् या ग्रन्थको अंश, राजनीतिक परिवेश वा समाजीक घटना, कुरीति, कुप्रथा या हिंसा, जे जस्ता घटना घट्छन् तीनको शिकार भइहाल्छ । लेखकलाई सिनोप्सिस चाहिन्छ, फतलः यस्ता घटनाको शिकार हुन्छ । कस्ता हगि शिकारी लेखक !
Da Vinci Code by Dan Brown

Da Vinci Code by Dan Brown


यस्ता लेखकका शिकार भएका मध्ये अधिकांश त मिथक नै होलान् । ग्रन्थ पनि बिचरा नै हुन् । हुँदाहुँदा शिकारीहरुले एउटै किस्सालाई अनेक विधामा प्रयोग गर्न भ्याएका छन् । अब हेर्नोस् न ! मूर्खदास कि कालीदासले अभिज्ञान शाकुन्तल लेखेर गए । अब शिकारीहरु नी ! देवकोटा बाजे शाकुन्तल लेख्न पछि परेनन् । एक भारतीय नाटककारले उही थिममा विनिर्माण लगाएर शकुन्तला के औँठी नामक नाटक लेखे । बलीउडको एउटा चलचित्र पनि शाकुन्तल र दुष्यन्तको कथाजस्तै छ भन्ने सुनेको छु मैले । कविता त कतिले लेखे होलान् शकुन्तलाको औँठीलाई लिएर । मेरा बाबा हो ! त्यो एउटी शकुन्तला कतिकी शिकार भएकी हगी ! फेमिनिस्टले सोच्नुपर्ने विषय हो यो । शकुन्तलालाई हेप्नी ?
Shakuntala and Dushyanta Lovestory

Shakuntala and Dushyanta Lovestory


अब हेपाईको कुरा आँउदा यो लेख पढिसक्दा मप्रति तपाईंको दिष्टिकोण यस्तै नरहला भन्न सकिनँ । क्या, तोरी लेख्यो त्रीले भन्ने लाग्नु स्वभाविक नै हो । वास्तवमा म आफैँ शिकारको पछि लागिरहेको छु । मर्ला केही आए पो ! के लेखौँ के भएर पागल भएको लेखकले यस्तो लेख्नु स्वभाविक नै हो । माफ गर्दिनु होला । हुन त के माफ माग्नु, गल्ती नै गरेजस्तो । के लेखौँ भनेर सोचिरहँदा ल्याप्टपको स्कृनमा औंला चल्यो र अक्षरहरु यसरी बसिदिए, अब मिलेर बसे बसेनन् तपाईंकै जिम्मा । तर थाहा छ तपाईंलाई ? यति लेखिसक्दा भने दिमागमा सिनोप्सिस हुन लायक एउटा प्लट आएको छ । माथि लेखेजति डिलिट गरेर आएको प्लट लेख्छु भन्ने नलागेको पनि होइन । तर लेखकहरु लोभी क्या ! बल्ल बल्ल गरेको शिकार त बचाउनु पर्यो नि हैन ? त्यो शिकार भएको सिनोप्सिसमाथि पनि काम सकिएपछि अवश्य खबर गरुलाँ है !

Facebook Comments

You may also like

error: Content is protected !!