हुरीले मलाई उडायो
ताराहरुको भीडबाट एकदिन ठूलो हुरीले उडायो
खसेँ
म जून भएँ ।
जान्न चाहनुहुन्न त्यो कस्तो हुरी थियो ?
त्यो हुरी मेरो सपनाको थियो
त्यो हुरी नयाँ विचारको थियो !

Of Stars And Moons by Katerina Naumenko | Image Source: FineArtAmerica
मान्छे प्रतिभाशाली छ
मान्छे प्रतिभाशाली छ
ऊ अरुले गर्न नसक्ने काम गर्छ ।
सूर्य कहिल्यै पनि आफ्नो लागि उदाउँदैन
बादलहरु किसानका लागि पानी पार्छन्
पानी आफ्नो प्यास बुझाउन जन्मिएको होइन
हावा आफ्नो शीतलताले आफ्नो गर्मी हटाउँछ?
रुख आफ्नो हाँगामा आफ्नो गुँड बनाउँछ?
ब्रह्माण्डका सारा चीज अरुका लागि काम गर्छन्
प्रकृति केवल अरुका लागि सोच्छ ।
मान्छे प्रतिभाशाली छ
ऊ अरुले नगर्ने काम गर्छ ।

The Art of Selfishness by NaProsvet | Image Source: NaProsvet.com
सत्यको शल्यक्रिया
सत्य नाङ्गो हुन्छ
नाङ्गो लज्जास्पद हुन्छ
लज्जास्पद इज्जतविहीन हुन्छ
इज्जतविहीन छ मेरो देशको राजनीति
तर, मेरो देशको राजनीति सत्य छैन ।
सत्य नाङ्गो हुन्छ
नाङ्गो, वेश्यालय हुन्छ
वेश्यालय सबै धर्मको हुन्छ
मन्दिर जहाँ सबै धर्मका व्यक्ति प्रवेश गर्न मिल्छ
त्यो वेश्यालय हो ।
सत्य नाङ्गो हुन्छ
नाङ्गो, हाम्रो शरीर हुन्छ
तर, हाम्रो शरीर सत्य होइन ।
सत्य नाङ्गो हुन्छ
नाङ्गा, बच्चाहरु हुन्छन्
त्यसैले बच्चाहरु सत्य हुन्छन् ।

Hidden by Palazzo Farnese