सुनगाभा

चकमन्न शान्ति व्याप्त हरियो चौर। वरीपरी अद्भुत निलोपन छर्दै उभिएका शिरीषे जंगल। भित्र छिरेकी म केही पाइला हिँडेर रोकिन्छु । मेरा चन्चल चक्षुहरु एउटा मुडुलो टाउको खोज्छन्। नभन्दै अलि पर एउटा मुडुलो टाउको सूर्यको किरणसँग रमाउँदै सुनौलो भएर यता-उता झुल्दै गरेको देखेँ। मैले आफ्ना पाइलाहरु त्यतै बढाएँ। चौरको बीचतिर नपुग्दै त्यो मुडुलो टाउकोले आफ्नो मोहोडा मतिर फर्कायो। आफ्नाजस्तै चञ्चल चक्षुहरुमा मेरा आँखाहरु परैबाट ठोक्किए। थोरै मुस्कानहरु आफसेआफ लिपिए। मुडुलो टाउको बिस्तारै जाईको पहेंलो झ्यांगबाट बाहिर निस्कियो। मेरा पाइलाहरु टक्क अडिए। पहेंला औँलाहरुको कापमा एउटा सिगार धुँविल हुँकार गर्दै थियो । त्यो दृश्यबाट यस्तो प्रतित भइरहेथ्यो कि मानौँ, सकसले सिगारभित्र गुम्सिएर बस्नुपर्दाको पीडाबाट मुक्ति पाउँदा, धुँवाहरु उत्सव मनाइरहेछन्। सकमबरीपनि ती धुँवालाई स्वतन्त्रता दिलाउन पाउँदा सायद खुशी थिइन्, उनको अनुहार उज्यालो थियो। मपनि बरीबाट उस्तै स्वतन्त्रताको आशा बोकेर त पुगेकी छु । पारिजातले वर्णन गरेजस्तै पाउँछु उनलाई। हो त, पारिजातले ठेगाना बताइदिएकैले त म यहाँसम्म आइपुगेकी हुँ। उनले हुलिया बताइदिएरै त सकमबरीलाई दुरैबाट पनि चिन्न सकेँ।

हामी पहिलोपटक आमने-सामने भयौँ। फर्मालिटीले हो या उनको वजिलो व्यक्तित्वप्रतिको नतमस्तकताले हो, मैले आफ्ना दुवै हत्केला जोड्दै भनेँ-
“म सिमल”
उनलेपनि हातहरु आपसमा मिलाई उस्तै आकृति बनाउँदै भनिन्-
“स्वागत छ सिमल, यो निलो वनमा।”

नमस्कारका आकृतिहरु दुवैतर्फ विलाइसकेका थिए। स्वागतप्रति कृतज्ञता दर्शाउदै एक थान मुस्कानलाई ओठमा र दुई थान मुस्कानलाई दुइ आखामा लिपिदिएँ। हामी दुवैले एकैसाथ ‘पारिजात’ उच्चारण गर्यौँ र गर्दागर्दै बाँकी कुरा अपुरै छाडी म त्यो संयोगलाई मनाउँदै हाँसे। पूरा गर्न जरुरी पनि त भएन, उनले बुझिहालिन्, पारिजातले पठाएकी छु भनेको स्वास्नी मान्छे मै हुँ र मैलेपनि बुझिहालेँ, मेरो उपस्थितीबारे उनी पूर्व-सुचित रहिछिन्। उनले भित्र जानलाई भनिन्। म उनका फुर्तिला पाइला पछ्याउँदै हिँडे। केहीछिनपछि मैले आफूलाई उनको बैठक कोठामा पाएँ। उनीपनि साथै थिइन्। सिंगमरमरको गोलो टेबलमाथि निलो वनको एउटा सानो अंश थियो। उनले त्यहि टेबलमाथि पल्टिबसेको सिगारको बट्टा टिपीन् र एउटा सिगार निकाल्दै मलाई सोधिन्-
“लिनुहुन्छ सिमल?”
“म लिन्नँ बरी।”

बेजवाफ उनले हातको सिगार आफ्ना कलेजी ओठहरुको बिचमा च्यापिन् र त्यसलाई दागबत्ती दिइन् । त्यसपछि तिनै पहेंला औँलाले च्याप्दै धुवाँको पहिलो हुँकार फ्याकिन् र भनिन्-
“मलाई यी चुरोट, सिगारलाई धुँवामा उडाउन खुब मज्जा लाग्छ ।”

 

sakambari

sakambari



भन्न मन त भएर आएथ्यो कि ‘मलाई पनि यो दृश्य हेर्दा उडाउँ उडाउँ लागिरहेछ’ तर भन्न सकिनँ। र एक फिस्सले जवाफ दिई टोपलेँ। एकदुई सर्को अरु धुवाँ उडाई सकेर उनले फेरि सोधिन्-
“के समस्या लिएर आउनु भो त सिमल, यो बेपत्ताकी आइमाई मान्छेको वनमा?”
पारिजातले उनको वर्णन गरेको सम्झिएँ। ‘बेपत्ताकी छ आइमाइ मान्छे, त्यहाँ पुगेर फर्किएपछि तपाइले आफैलाई भुलेर उसैलाइ मात्र सम्झनुहुनेछ।’ अँ त, बरी मेरो समस्या बारे सोध्दै थिइन्। सायद पारिजातले मेरो समस्याबारे पनि उनलाई बताइसकिछिन्। अलि हलुङ्गो महसुसकासाथ मैले सुरु गरेँ-

“झन्डै दुई बर्ष भयो मेरो विवाह भएको। घरपरिवारले चित्त बुझाएकै केटोसँग मेरो विवाह भयो। तर विवाहको सुरुको दिनदेखि आजसम्म मैले श्रीमानबाट यातना भन्दा बाहेक केहि पाएकी होइन। सहन नसकेरै म बिचमा केही समय त माइतपनि बसेँ। फर्कन्नँ भनेरै गएथेँ माइत, तर श्रीमान आफै लिन आइसकेपछि मुवा-बुवालेपनि फर्किनै कर गर्नुभयो। मुवा-बुवाकै वचन टार्न नसकेर म श्रीमानसँग फर्किएँ। तर, घर पुग्नासाथ फेरि उही यातना। माइत फर्केर जाऊँ, पहिलेझैं उनी लिन आइहाल्छन्, मुवा-बुवाको लचिलोपन उही हो, ज्वाइँचेलाको वचन हार्न नसक्ने ! अनि, उही जाँतो घुमाइजस्तै घर-माइत, घर-माइत सधैँभरि !”

domestic violence

domestic violence

 

यति भनेर म रोकिएँ। अब के भनौँ? बरीबाट के – कस्तो सहयोगको आशा राख्छु म? आफैले केही भेउ पाउन सकिनँ। सिगारको ठुटोलाई काँचको एस्ट्रेमा झोँस्दै उनले सोधिन् –
“कस्तो यातना दिन्छ लोग्नेले तपाईंलाई?”
घोक्न लगाइएका प्रश्नका उत्तरहरु गुरुआमाले सोध्दा होनहार शिष्याले जवाफ फर्काएझैं भनेँ –
“कहिले फोनको झट्टारो, भाडा-वर्तन भेटे भाडा-वर्तनकै झट्टारो, लात्ता, झापु जे लेपनि हिर्काउछन् । बहुलाएको साढेझैं।”
“रक्स्याहा छन् तपाईंका लोग्ने?”
मैले ‘हो’ को टाउको हल्लाउँदै भनेँ, सायद अनुहारपनि बिगारेकी हुनसक्छु-
“त्यो भएपछि  त,अरु केही खान पिउनै पर्दैन उनलाई।”

एकैछिन बैठक कोठामा चकमन्न छायो। बरीलाई म के सहयोग माग्न खोजिरहेछु? म यहि सवालमा हराइरहेथेँ। त्यो चकमन्नमा मेरा सोचहरूलाई चिर्दै उनले त्यहि कुरा सोधिन्-
“मबाट कस्तो सहयोगको आशा राख्नुहुन्छ सिमल?”
मबाटै अस्पष्ट कुराको स्पष्टिकरण अब मैले उनलाई दिनु थियो। आखिर म उनीबाट कस्तो सहयोगको अपेक्षा गर्छु? शरण चाहन्छु उनीकहाँ? कि सम्बन्धविच्छेद गर्न मद्दत गरुन् चाहन्छु? यस्तै यस्तै पलायनवादी विकल्पहरुमा म फेरि हराएछु। उनले घच्घच्याइन् उही प्रश्न दोहोर्याएर। र आफ्नो अस्पष्ट अपेक्षाको अभिव्यक्ति मैले यसरी गरेछु । पक्कै पारिजातको आश्वासन सम्झेर हुनुपर्छ -‘तपाइलाई बचाउन सक्ने, एकमात्र ऊ छे, बरी!’
“मलाई बचाउनु पर्यो बरी, यो यातनाबाट बचाउनु पर्यो तपाईंले”
“बचाउन त म सक्दिनँ तपाइलाई। तर सिमल, केही कुराहरु भने अवश्य बताउन सक्छु जसले तपाइलाई आफै बच्ने साहस देओस्।”

बोलिसकेर उनले मतिर हेरिन्। मेरा आँखाहरु स्वतन्त्र जीवनको भिख मागिरहेथे। म उनले भन्न गइरहेका कुराहरुलाई दिव्य मन्त्रको रुपमा ग्रहण गर्ने मनस्थितिमा उत्सुक हुनपुग्छु। तल चौरमा ठोक्किएका चञ्चल चक्षुहरु स्थिर भएर मतिर सोझिए। बरी मलाई तत्काल अर्कै लागिन्। सोधिन्-
“तयार हुनुहुन्छ? भनिएका कुराको सही तवरले प्रयोग गर्न?”
पलायन हुन खोजिरहेको आत्मविश्वासलाई पकड्दै अधैर्यसाथ भनेँ-
“तयार छु बरी, म सही तवरले गर्नेछु। जस्तो भन्नुहुन्छ त्यस्तै गर्नेछु।”

बुलेट लवजमा उनले सोधिन्-
‘केश काट्न सक्नुहुन्छ? यस्तै छोटो राखेर ?”
इशारा गरिएको उनको मुडुलो टाउको हेर्छु। हड्बडाउँछु। एउटी विवाहित नारी, कसरी केश काटु? त्योपनि यत्ति छोटो राखेर? हिचकिचाहटमा मैले भनेँ-
“तर बरी, म विवाहित स्वास्नी मान्छे। समाजले के भन्ला यसरी केश छोट्याएँ भने?”
कडक आवाजमा उनले आँखामा हेर्दै भनिन्-
“यो डर तपाइलाई केश नछोट्याउँदासम्म हो सिमल। तपाईंको डर, यिनै केशका लहरा-लहरामै लुकी बसेको छ। काटिदिनुस्, आफै भाग्ने छ।”
म फेरी उही डर झिक्छु – “तर …..”
उनी रोक्छिन् मलाई-
“फुर्सदमा सोच्न सक्नुहुन्छ यस विषय।”

म वाल्लिएँ। उनी क्रमश: बोल्दैरहिन्। मलाई उनको कुराभन्दा उनको व्यक्तित्वले लोभ्याइरहेथ्यो। उनी मेरा आँखामा हेरेर बोलिरहेथिइन्। उनको सिगारिक चोर औंलो तनक्क परेर मैतिर सोझ्झिरहेथ्यो। सर्लक्क; त्यो रुप, मिल्ने भए आफैँमा प्रत्यारोपण गरेर घरमा गई श्रीमानलाई देखाउने थिएँ। उनी काउचबाट जुरुक्क उठिन् र डुल्दै बोल्न लागिन्-
“तपाईं सधैँ यस्तै पहिरन लगाउनुहुन्छ? या अरु खालका पनि?”
त्यसदिन मैले आफैलाई औधी मनपर्ने गुलाबी कुर्ता-सलवार लगाएथेँ । भनेँ-
“प्राय कुर्ता-सलवार नै लगाउँछु। पूजा, भोजहरुतिर साडी पनि।”
परेड खेल्दै गरेको सिपाही जस्तै फरक्क उनी मतिर फर्किन् र आफूतिर इशारा गर्दै भनिन्-
“अबदेखि यस्ता लगाउने गर्नुस्।”

म झन् हड्बडाएँ। कालो हुनु कि निलो? बोल्नै सकिनँ। बोलुँ त फेरी फुर्सदमा सोच्नुस् भन्लिन्, म मौन बसेँ। मौनता भित्रका मेरा काँतर सोचहरु पनि सुनिन् कि कसो हो, उनी एक राउण्ड विचित्रसँग हाँसिन्। फेरी पारिजातले भनेको सम्झिन पुगेँ ‘विचित्र कि छ यो स्वास्नी मान्छे, हतपत हास्दिन अरु स्वास्नी मान्छेजस्तो’, यस्ती विचित्र कि मान्छेलाई मैले के गरेर हसाएछु? के म हास्याष्पद प्रतित भइरहेछु? मेरो दोमनलाई एकट्ठा गरिदिंदै भनिन्-
“हड्बडाउनु भो त सिमल ? केही छैन, धन्दा नमान्नुस्, म ठट्टा पो गर्दैथिएँ।”
यति भनेर उनी काउचमा बसिन्। मलाई त्यतिबेला पुरापुर विश्वास भएर आयो पारिजातका कुराप्रति कि बरी एउटी वेपत्ता कि, विचित्र कि आइमाई मान्छे हो। म उसको सामुन्ने बचाउ भन्दै हार-गुहार गरिरहेछु र ऊ मेरो सामु ठट्टा गरिरहिछे! मलाई कता-कता रिस उठेर आउँछ तर नाकको चुच्चोमा त्यसलाई चढ्नबाट रोक्छु। सिगारको ठुटो फेरी उही एस्ट्रेमा झोस्दै ऊ बोली-
“तर यो ठट्टालाई ठट्टा मात्रै सम्झेर जान नदिनुभएको बेसै हुन्छ। ठाउँमा प्रयोग गर्न जाने ठट्टाहरुलेपनि गम्भीर अर्थ राख्छन्।”
यस्तो प्रतित भइरहेथ्यो, मानौँ सिगारको ठुटो झोस्दै यसो भनेर ऊ मेरो रिसको आगो मत्थर पार्दै छे। मैले एक धर्को मुस्कान मुस्कुराउनकै लागि लिपिदिएँ। अर्को सिगारसँगै ऊ फेरी सुरु भई-
“अब ठट्टारहित कुरो सुन्नुस्।”
झन् के भन्ने हो अब? मेरा कान र रौँ एकसाथ ठाडा भए।

“मनमा लागेका कुरा उन्मुक्त बाहिर ल्याउने बानीले पनि डर र लाजमा ह्रास ल्याउँछ।”
“मनमा लागेका कुरा?”
नबुझेर मैले सोधेँ। उदाहरण दिइन्-
“जस्तै हाँसो, विमति, चित्त दुखाई” थपिन्-
“अधिकांश स्वास्नी मान्छे रीति र नीतिको बहानामा उन्मुक्त हाँस्नपनि सक्दैनन्। निस्किन नसकेको हाँसोले उनीहरुभित्र कुण्ठित हुनुपर्दा नै डर र लाजको रुप लिने हो।”
उनको ठट्टारहित कुरो सामान्यबाट गम्भीर हुन खोज्यो। मैले ध्यान लगाउन अलि बढी मिहेनत गर्न थालेँ। उनी बोल्दै गइन्-
“याद गर्नु भएकै होला, जो आइमाई मान्छे उन्मुक्त हाँस्छे, उसमा लाज र डर हुँदैन।”
को होली त त्यस्ती आइमाई मान्छे? याद गर्ने के लागेथेँ, आँखाभित्र उनकै तस्विर आइदियो। ओहो ! भित्रपनि उनी, बाहिरपनि उनी ! कस्तो अनौठो आभास। ‘जस्तै तपाईं?’ भनी सोध्न मन थियो। सोधेको भए प्रश्नभन्दापनि त्यो समझाको प्रमाण हुन जान्थ्यो, तर सोध्ने सकिनँ। एउटी स्वास्नी मान्छे आफूजस्तै अर्की स्वास्नी मान्छेसँगपनि यति निरिह? उफ्फ ! यो डर, लाज कँहा हुन्छ? साच्चै, यिनै केशका लहरा र दबेका हाँसो, पीडामै हुन्छन् त?

“तपाईं यहीँ त हुनुहुन्छ?”
उनको प्रश्नले म झस्किएँ। मेरो झस्काइसँगै उनले भनिन्-
“हेर्नुस्, शारीरिक संरचनामा नारी र पुरुष फरक हुनु यो प्रकृतिको नियम हो र यहि नै आवश्यक्ता पनि। यसलाई कसैले फेर्न सक्दैन। तर प्रवृत्ति भनेको प्रकृति होइन। यो हाम्रो आफ्नै औंलामा हुन्छ।”
यसो भन्दै उनले सिगारको ठुटो एस्ट्रेमा झोसिन् र थपिन्-
“हाम्रै औंलाको इशारामा नाच्न तयार छन् हाम्रा प्रवृत्तिहरु त ! बस्, इशारा गर्न हामी तयार हुनुपर्छ।”

म झ्यालबाट देखिने निलो वनको टुक्रो नियाल्दै उनको कुरा सुन्दै थिएँ। त्यो शिरीषको सौन्दर्यले लोभ्याएर मात्र मैले दृष्टि त्यता लगेकी थिइनँ। म उनको निर्भिक व्यक्तित्व, सशक्त विचार र बुलेट पड्केकोजस्तो बोलीबाट भाग्न खोज्दैथें। यद्यपी म उनको कुरा मन पराइ नै रहेथेँ।
“आँखामा आँखा जुधाएर कुरा गर्नुस्।”
उनीतिर फर्किएँ तर आँखामा आँखा एक निभेषभन्दा टिक्न सकेनन्। तल चौरमा ठोक्किन आउने आँखाजस्ता ती अहिले कत्तिपनि थिएनन्। बाघसँग डराएर भागिरहेको स्यालझैँ लुक्ने ठाउँ खोज्दै आँखा को दृस्टी सिलिङको आभुषणमा गएर छलिदै थियो।
उनले भनिन्-
“आँखामा आँखा जुधाएन भने त्यो मान्छेको भगुवा मनोवृत्ति हो भनी बुझ्न जरुरी छ।”
मलाई झन् लाजले ढाक्यो। आँखा अँध्यारो भएझैं लाग्यो। उनले यो मलाइ हानेको मुक्का हो या घरमा श्रीमानलाई हान्न भनी दिएको मुक्का हो? मैले त्यो गह्रुङ्गो दिमागले स्पष्ट बुझ्न सकिनँ। तरपनि एउटा फिस्स मेरो ओठमा देखा पर्यो, उनको अगाडी देखापरिनकै लागि। उनको ओठपनि देखेको इशारा चुहाउँदै चली नै रह्यो-

“त्यसैले सिमल, आइ कन्ट्याक्टलाई नबिर्सिनु होस्। यसले अरु भित्रको साहस अनौठो र अदृश्य तवरले आफूभित्र खिच्छ। तत्कालको स्थिति परिस्थितिमा यो निकै भरपर्दो उपाय हुनेछ।”

मैले अलि उज्यालो र हलुँगो महशुस गरेँ। सायद उनले मलाइ नामले सम्बोधन गरेकीले होला। त्यसपछि बैठक कोठाको मौनताले केही समय मेरो फिस्स बाहेक अरु केही सुनेन।

अचानक उनले अनुहारमा सत्कारको उज्यालो पोत्दै भनिन्-
“ओहो! म त कुरैकुरामा बिर्सेछु पो, जाऊँ सिमल भान्सातिर। चिया-कफीको त बानी होला नि?”
मनले मागिरा’थ्यो ‘नाइँ’ भनेर नचाहिँदो स्वाङ पारिनँ।
“हुन्छ, मेरो सौभाग्य तपाइसँग बसेर गफ्फिन र कफ्फिन पाउदाँ” भन्दै उठेँ।

Conversation by Issac Maimon

Conversation by Issac Maimon

उनी उहि फुर्तिला पाइलाले भान्सातिर लागिन्। मैले पछ्याएँ ती पाइला आफैँसँग छक्क पर्दै । म त भर्खरसम्म बाघको अघि लुते स्यालझैं भाग्दै थिएँ, कसरी यस्तो निर्धक्क र निर्लज्ज मनको कुरा राखेँ? उनले कफी मिठो बनाइन्। गुलियो कम, तितो अलि ज्यादा, तर मिठो उनी आफैजस्तो! केहीबेर भान्साकोठामै हामी दुवैजना गफ्फीयौँ। बैठकभन्दा भान्सामा अलि खुलेर बोल्न सकेँ म। विषय अन्तरले पनि त्यसमा साथ दिएको हुनसक्छ। भान्सामा हामीबीच सौख र रुचिबारे कुरा भए। उनले मेरो नामको तारिफ गर्दै आफूलाई फूलहरुको औधी सौख भएको कुरा सुनाइन्। हामीले गफैगफमा कफी भ्यायौँ।

उनले अर्को सिगारलाई दागबत्ती दिँदै भनिन् –
“चुरोटको धुँवा र सिमलको भुवा उडेकै राम्रो हो। धुँवा नउडे चुरोटको के अर्थ? भुवा नउडे सिमलको के विशेषता? त्यसैले सिमल, उडाउनुस् आफूलाई कोसाभित्रबाट निकालेर उन्मुक्त!”

उनको कुरा सुनेर बचपनमा दशैँको बेला चौताराको पिपलको बोटमा पिङ्ग खेल्दै माथि-माथिसम्म मच्चिएको याद आयो। म बच्चाजस्तै हाँसीदिएँ बरीको सामुन्ने। उनी मेरी बचपनदेखि कि साथी हुन्थिन् त सायद,  आज यसरी कोसाभित्रको सकसमा हुन्थिनँ होला म। हामी तल ओर्लियौँ। यसपटक मैले उसलाई पछ्याइनँ । हामी साथसाथ ओर्लियौँ। उनीसँग साथसाथ ओर्लिरहँदा मलाई त्यस्तै खुशी भयो जस्तो बचपनमा कक्षामा प्रथम आउँदा हेडसरले सारा गुरु-गुरुमा र साथीहरुका अगाडी अबिरले टिका लगाइदिएर पिठ्यूँमा स्याबासीको धाप मार्दा मिल्ने गर्थ्यो।

बरीसँगको बसाइँ;
यसलाई न्यानो भन्न मिल्दैन बरु पलपलमा उनले हृदयलाई आच्छु-आच्छु नै बनाइरहिन्। तरपनि, खै के विशेषताले हो उनी विशेष लागिन् मलाई। हरियो चौर टेकेपछि भने उनले आफूलाई पछ्याउने इशारा गर्दै पर्खालातिर अघि बढिन्। मैले आफूलाई पनि उनकै बगलमा लगेर उभ्याएँ। पर्खालमा लस्करै गरी झुण्ड्याइएका सुनगाभाहरु देखाउँदै उनले भनिन्-
“सिमल, यी सुनगाभाहरु देख्नु भो? विशेष ठाउँबाट मगाएकी हुँ।”
भरपूर उमङ्गमा पुरानो साथीसँगझैं गरी उनी बोलेको पाउँदा खुशीले तरङ्गीत भइरहेको पाएँ, आफैलाई। भनेँ-
“आहा ! कति सुन्दर रहेछन्, तपाईंजस्तै।”
नसुनेझैं मेरो प्रतिक्रिया, आफ्नै सूरमा उनले थपिन्-
“यी फूलको पनि आफ्नै विशेषता छ।”
“कस्तो विशेषता, बरी?”
औंलाले देखाउँदै भनिन्-
“यता हेर्नुस्, यो हाँगामा, कोपिलाजस्तो पलाएको छ, देख्नु भो? यो नै यसको प्रमुख अंग हो। यसले किरा मार्छ। यसलाई जीवघातक सुनगाभापनि भन्दछन्। भँवरा, मौरी, अरिङ्गाल यँहा आउने हुँदैन। ”

jacaranda and orchid

jacaranda and orchid

म उत्सुक आँखाले उनलाई हेर्दै थिएँ। उनका चञ्चल आँखा झन् चञ्चल भए र मुहार एकाएक धपक्क बल्यो। उनी ताली पिटेझैं रमाउँदै बोल्न लागिन्-
“ओहो ! सिमल, हेर्नुस् तपाईंको सौभाग्य ! आउनुस् म देखाउँछु।”
उनी यसरी खुशी हुँदै यी कुरा मलाई भनिरहेथिइन् कि मानौँ अब त्यो हेरेपछि मेरा सारा समस्याहरु एकाएक सुल्झनेछन्। उनले जस्तै मैलेपनि आफ्नो मुन्टो तन्काएँ। उनी मुख चुच्चो पार्दै त्यसको इशाराले देखाउँदै भन्न लागिन्-
“उ: भँवरा ! त्यसमा बस्न खोज्दैछ। अब हेर्नुस् है यो फूलको कमाल!”
उनी बच्चाझैँ हौसिएकी थिइन्। सुनगाभाको कमाल हेर्न मपनि उस्तै हौसिएकी थिएँ। उनी अलि अगाडि सरिन्। मैलेपनि त्यसै गरेँ।

“ल हेर्नुस् सिमल, फूलका कोपिलाजस्तै लाग्ने यी थैला खुल्दै गरेको?”
ज्यादै अद्भुत दृश्य थियो त्यो मेरा निमित्त, हौसिएर भनेँ-
“आहा ! कत्ति मज्जाले खुलेको ! आँ गरेजस्तै।”
हेर्दाहेर्दै त्यो भँवरा त्यो आँ परेको थैलोभित्र भुनभुनाउँदै छिर्यो। बरी फेरि चिच्याइन्-
“देख्नु भो सिमल? अब हेर्नुस् थैलो बन्द हुँदैछ। देख्नु भो होइन?”
खुशीले धपक्क बलेको उनको अनुहार हेर्दै मैले भनेँ-
“देखेँ नि सबै,कस्तो अद्भुत लाग्यो। अनौठो फूल रहेछ है बरी?”
प्रतिक्रियाप्रति कुनै प्रतिक्रिया नजनाई उनी सुनगाभातिरै एकोहोरिरहिन्।
“अब त्यो भँवरो, भित्रभित्रै निसास्सिएरै मर्छ”
उनले यो वाक्य नाँचुलाझैं गरी भनिन्। एउटै समयमा मैले उनलाई विविध रुपमा देखिरहेथेँ। अघि बैठक कोठाकी बरी र यिनी वेग्लावेग्लई हुन् झैं लाग्यो।कस्तो स्थिति ? जानाजानी भ्रमलाई सत्य स्वीकारुँ झैं लागेको किन पो होला? उनलाई पक्कै माहुरी, भँवरा, अरिङ्गाल आदिसँग एलर्जी हुनुपर्छ। भ्रम भ्रम नै हो भनी यसरी मैले आफूलाई विश्वस्त पारेँ। उनको हाँसोमा हाँसो मिलाउनपनि त भ्याइरहेकै थिएँ। रमाउँदै भनिन्-
“कठैबरा, भँवरो! फूलको रस चुसौँला भनी कत्रो सपना बुन्दै थियो होला, सदैवलाई निदायो।”
र कत्तिपनि मेरो प्रतिक्रियाको वास्ता नगरेरै हाँसिन् एउटा अट्टहास, त्यो भर्खरै स्वर्गीय भँवरोमाथि। सायद उनले भनेको उन्मुक्त हाँसो यहि नै हो। म त्यो हाँसोको लालचमा परेँ। हाँसो सम्हालिएपछि उनले भनिन्-
“तपाईंलाई फरक पर्दैन भने आज यतै बिताइदिनुस्, कसो?”
“होइन बरी, श्रीमान एक्लै पर्नुहुन्छ। खाना त बनाएर खुवाउने पर्यो।”
उनले कर गरिनन्-
“ठिक छ, ख्वाउनुस्। आफूपनि खानुस्, तर खाना मात्रै यातना होइन नि।”
एक मुस्कानमा जवाफ दिएँ।
“आउँदै गर्नुस्, तपाईंसँग कफ्फिन र गफ्फिन म फुर्सदिली छु।”
कस्ती चंख नारी! एकएक शब्द जम्मा गरीराख्ने र ठाउँमा खर्च गर्ने।”
“अवश्य आउनेछु।”

म निलो वनमा एउटी निर्भिक स्वास्नी मान्छेलाई छोडेर फर्किएँ।

म भान्सा तयार गरेर नआइदिए नै हुन्थ्यो जस्तो लाग्ने श्रीमानलाई पर्खेर बसिरहेकी छु। ९ बज्नै लागेको हुँदो हो उनी खोक्दै आइपुगे । मुटु जोडले धड्कियो। उनको खोकी मात्रले पनि सातो लिन्थ्यो मेरो। आजपनि हल्लिएरै आएका रहेछन्। मलाई देख्नासाथ जर्किए-
“के गर्दै छेस् ए बझिनी?
“भान्सा तयार गरेकी छु, हिँडनुस् खाना सेलाइसक्न लाग्यो।”
“सेलाउने खाना तात्तातै खानु नि, किन पर्खिरहनु?”
म केही बोलिनँ।
“सुनिनस्? किन पर्खिनु मलाई , म के सोध्दै छु ?”
“किन हुनु? सँगै खाऊँ कि भनेर नि !”

कोट फुकालेर खाटतिर हुत्याउँदै र ज्यानलाई मतिर हुत्याउँदै भने-
“के हुन्छ संगै खाँदैमा?”
नाकभरी रक्सीको नमिठो गन्ध ह्वास्सै गन्हायो। उनी फेरि झम्टिए ममाथि-
“सोध्दै छु! के हुन्छ सँगै खाँदैमा हँ?”
आज पनि पिट्छन् क्यार ! म डराएँ ।
“बच्चा उम्रिन्छ पेटमा?”
म बोलिनँ।
उनले अझै आवाज ठूलो गरे-
“उम्रिन्छ बच्चा?”
म अझै केही बोलिनँ। बोल्नु भनेको पिटाई खानु हो। पिटाइबाट म आजित थिएँ। तर धेरै चुप लाग्दापनि हुनु पर्ने त उही सिकार नै हो। गएर खाटमा बसेर रातभरी एक्लै बहुलाउँदै चिच्यापनि बरु बेसै हुन्थ्यो। कहिलेकाही त्यसै पनि त गर्थे। तर आज अलि खुट्टा टेक्न हुनेनै छन्। पक्कै हात नहाली नछोड्लान् झैँ देख्छु।
“साला! बाँझी आइमाई, एक्लै घिच्न सक्दिनँस्?”
“तँ बाँझी आइमाईसँग बसेर खाँदा अलक्षिण पो लाग्छ।”
“साला अलक्षिणी !”

आजपनि उस्तै गाली गलौज। मलाई पनि रिस उठेर आयो। भनेँ-
“जहिल्यै यहि कुरा किन निकाल्नुहुन्छ? अस्पताल जाऊँ जाचौँ भन्दा चाहिँ मान्नुहुन्न आफै। अनि ,उहि कुराले किन गाली गर्नु सधैँ?”
उनले निधार गाँठो पार्दै सक्दो चिच्याउँदै भने –
“के हुन्छ? के हुन्छ तेरो अस्पताल गएर? कोही बाँझी आइमाई अस्पताल गएर बच्चा जन्माएर आ’की छे? अलक्षिणी साला! कोखै मर्या छ त *त्राको हुन्छ अस्पताल गएर?”
मलाई सहनै नसक्नु भो। अस्पताल गएर जाँच्दा मेरो शरीरमा त्यस्तो केही खोट देखाएको थिएन। मैले यो कुरा उनलाई सुनाउन सकेकी थिइनँ। डाक्टरले पनि श्रीमानमै खराबी हुनसक्ने अनुमान गरेका थिए। मैले आत्मविश्वासका साथ भनिदिएँ-
“छैन मेरो कोख मरेको, बुझ्नु भो ! मैले सम्पूर्ण शरीर जचाइसकेकी छु। डाक्टरले कुनै खराबी नभएको रिपोर्टपनि दिएका छन्। बरु आफू जचाउनुस् !”

अस्पताल गइसकेर, जचाइसकेकै कुराले सायद उनलाई रिस मिश्रित आश्चर्यले छोपिसकेको थियो। त्यहिमाथि अन्तिम वाक्य सुनिसकेपछि त उनी बहुलाइहाले। शर्टको बाहुला पाखुरीमा सुर्किँदै भने –
“के भनिस् रे साला आइमाई? मैले जचाउनु रे? साला डाक्टरसँग सिङ्गो शरीर जचाएर तँ  अझ ममाथि शङ्का गर्ने? ममाथि खोट देखाउने? को हो त्यो डाक्टर तेरो? हँ, हँ?”

उनी खाउँला झैं गरेर मेरो नजिक आए। अब म पक्का भएँ। आजपनि यिनले मलाई पिट्छन्। मलाई बरीको याद आयो। उनले यातना नखानु भनेको याद आयो। आइ कन्ट्याक्टको कुरापनि याद भयो। मैले यसपटक डर लुकाउँदै भएपनि आँखामा आँखा जुधाएरै भनेँ –
“डाक्टर को हो रे? के भन्न खोज्नु भएको ? डाक्टरको कुरा गरेर आफ्नो दोष ढाकछोप गर्न नखोज्नुस्।”
सायद उनले कहिल्यै नसोचेको कुरा भएर होला आश्चर्य लुकाउँदै उफ्रिए-
“मुख लाग्छेस्? साला आइमाई! लोग्ने सँगसँगै मुख लाग्ने तँ? आँखा लडाउने तँ?”
डर त लागि नै रहेथ्यो तर आँखा हटाइनँ। म केही बोलिनँ यसपटक। सायद नबोलेकै देखेर डराई भन्ने सम्झे कि हात छोड्ने अन्तिम सङ्केतसाथ बोले-
“कसले सिकायो बोल्न, फेरी बोल त?”
म बुझिरहेथेँ, उनी मलाई पिटाइको डर देखाइरहेछन्। तर आज म बिच्किइनँ। भागिनँ। अझ उल्टै आँखा जुधाएरै भनिदिएँ-
“कसले सिकाउनु पर्छ बोल्न?”
मेरो आजको अटेरीपन देखेर सायद उनी हच्किए। अझै तर्साउनै खोजिरहेथे तर मपनि बुझिरहेथेँ खासमा आज उनी स्वयं नै तर्सिरहेथे।
“फेरि एक शब्द बोली हेर् त अब?”

अरु बेला उनले यसो भनिरहँदा म रुनलाई मुख बिगारिरहेकी हुन्थेँ। तर आज ममा कुन्नि कताबाट आँट पलाएजस्तै लाग्दैछ। मैलेपनि झर्किएरै सोधेँ-
“किन? के गर्छौ? के गर्न सक्छौ?”
सायद उनको पुरुष अहममा चोट लागेकोले होला अन्धो साढेझैं उनी मेरो कपाल लुछ्न झम्टिए र मलाई खाटमा पछारे।
“साला मुखाले आइमाई! कोसँग बोल्दैछेस्? बिचार छ तँलाई?”
मलाई डर त लागेको हो तर हरेस खाइनँ। आज जसरीपनि सामना गर्छु भन्ने हिम्मत लिएर खाटबाट जुरुक्क उठेँ र बोलेँ-
“के बिचार हुनुपर्‍यो? तिमीलाई मात्र आउँछ बोल्न? हामीलाई आउँदैन? के सोच्याछौ?”

म आफैसँग चित खाएँ। अघिदेखि म उनलाई ‘तपाईं’ होइन ‘तिमी’ भनेर सम्बोधन गर्दैछु। ऊपनि चित खाएको हुँदो हो मेरो विद्रोही स्वरुप अनि उग्र हावभाव देखेर। प्रहार गर्नलाई यताउता केही खोजेझैं गर्‍यो र केही नभेटेपछि हात नै उठायो। तर आश्चर्य! आज मैले उसको हात च्याप्पै समातिदिएँ। कतिपनि नहड्बडाई। त्यहि रिसमा उसले बायाँ हातले पछाडिबाट मेरो कपाल तान्यो र आफ्नो दायाँ हात छुटायो। उसको हात छुटेसँगै मेरो देब्रे गाला रन्कियो। म रिसले रन्थनिएँ, सायद आफूले सोचेजस्तो सफलता नमिलेर होला।

मेरो जगल्टा लुछिरहेको उसको देब्रे नाडीमा आफ्ना दाँत बेस्सरी गाडेर टाेकिदिएँ। उ चिच्यायो। अलिकति त दया पनि पलायो। तर उसले मेरो कपाल छोडेको थिएन, मैलेपनि दया गर्न जरुरी ठानिनँ। झन् बेस्सरी टोकिदिएँ। उसले बल्ल हात हटायो र मैले पनि मुख हटाएँ। ऊ अपशब्द बोल्दै आफ्नो टोकिएको नाडी हेर्न थाल्यो। मेरो श्वास बढिरहेको थियोे तर डरको नाम निशाना थिएन। सायद उसको चिच्याहटसँगै मेरो डर भागिसकेको थियो। सधैँ म चिच्याउँथे आज ऊ चिच्याउँदै थियो। रगत फुट्न आँटेको नाडी देखेर ऊ चुरमुरियो र मलाई ताकेर आयो। मैले बरीलाई सम्झिरहेकै थिएँ। ऊ भित्रको साहस मैले आँखा जुधाएरै खिच्दै थिएँ। उसले ताकेको झापड यो पटकपनि रोक्न म सफल भएँ।

wife beats husband

wife beats husband

उसको अनुहार आजको मेरो रुप देखेर त्रस्त देखिन्थ्यो। मेरो डर सायद आज उसको मुटु कुर्न गएको हुनुपर्छ। गर्वले त्यो मारामारको समयमापनि मैले मुस्कानलाई थाम्न सकिनँ। सायद अपमान सम्झेर हुनसक्छ ऊ ‘पागल आइमाई’, ‘साला बाँझी’ आदि भन्दै मेरो घाँटी न्याक्न आयो। उसले फेरि मलाई खाटमा लडायो। साच्चै मार्छ कि भन्ने डरले छोप्यो। टोक्ने उपाय यस पटक सफल भएन। हातले भेट्ने ठाउँमा भुवाको तकिया र उनकै कोट बाहेक अरु केही थिएन। उनको घाँटी नक्याइले मलाई निकै गाह्रो पार्न थाल्यो।

हात छुट्याउन नसक्ने लागेपछि मैले दुबै हात लगेर एक्कासि उसको कान पक्डेर बेस्सरी तान्न थालेँ। असह्य भएर उसले मेरो घाँटीबाट आफ्ना हात छुटायो र मलाई झापड हान्यो। त्यहि हात समातेर मैले उसलाई मेरो बगलमा तानेर लडाउन खोजेँ। हातको बलले नभ्याउलाजस्तो लागेपछि घुँडाको बल लगाएँ। सक्दो बल गर्दा ऊ मेरो बगलमा उत्तानो परेर लड्यो। ऊ लड्न नपाउँदै म उसको ज्यानमाथि चढेँ र घाँटी न्याक्न थालेँ। उसले मेरो कपाल समात्न हात लम्कायो। छलाउन खोजेँ तर सफल नहुने लागेर ऊबाट उफ्रिएर तल झरेँ। ऊपनि जुरुक्क उठेर आयो। भान्सा कोठा छिर्न अर्को ढोका चाहिन्थेन। केवल वृत्तले छुट्याइएको हुनाले सजिलै छिर्न सकेँ।

भान्साबाट तामाको लोटा र फलामको डाडु टिपेर म उसको अगाडि गएँ। हतास अवस्थामा पनि ऊ अझै मलाई छल्न खोजिरहेथ्यो। मेरो हातबाट अस्त्र खोस्ने दाउपनि म देखिरहेथेँ उसको। मैले कत्तिपनि ढिला नगरी उसको निधार ताकेर दायाँ हातको लोटाको झट्टारो हानेँ। ऊ तिलमिलाउँदै घुँडा मारेर बस्यो र सिथिल नै भइसक्दापनि उठ्न खोज्दै भुइँमा लडिरहेको लोटा टिपेर मतिर ताकेर फ्याँक्यो। मपनि कत्ति नडराई ऊतिर उफ्रिदै पुगेँ। उसले हानेको लोटा भान्साकोठाको भित्तामा गएर बजारियो। मैले फलामको डाडु उसको पिठ्युँमा बजारेँ। ऊ ‘ऐया-ऐया’ हुँदै फेरिपनि थुचुक्कै भयो।

डाडुले जथाभावी हानुँ भने मर्ला भन्ने पिर। नहानुँ, मार्ला भन्ने पिर। फ्याकुँ त त्यहि टिपेर आफैलाई हान्ला र ठहरै बनाउँला। साँझ बरीको बगैँचाको सुनगाभा र भँवराको दृश्य आँखासामु आयो। म त फूलभन्दा कोमल पो रहेछु! तर भावनामा बहकिने थिएन परिस्थिति। मैले डाडु बायाँ हातमा सारेँ र उसलाई दायाँ हातले चड्कन लगाएँ। त्यस्तो  शिथिल भइसक्दा पनि झम्टिन खोज्दै थियो। बायाँ हातको फलामको डाडु देखाएर तर्साएँ।
“अझै चाहियो फलामको डाडु ?”
ऊ बच्चा जस्तै हातले टाउको छोप्दै भुइँमा लड्यो र भन्न लग्यो-
“नाइँ सिमल नाइ,भयो !अब पुग्यो सिमल पुग्यो। अबदेखि कहिल्यै झगडा गर्दिनँ। कुट्दिनँ अबदेखि। भयो, पुग्यो….”

रुञ्चे हुँदै ऊ मेरो पाउ समात्न आइपुग्यो। मलाई एकदम नमिठाे लाग्यो। खुशी त म थिएँ र दु:खी पनि उत्तिकै थिएँ। ऊ मलाई माग्न उसका काकासँग मेरो माइतीमा आउँदा म कति फुरुङ्ग थिएँ। देख्दै यस्तो सुन्दर, भलाद्मी मान्छे! उसलाई शिव र आफूलाई पार्वती कल्पना गरेर म कत्ति धेरै खुशी थिएँ। यो उग्रचण्डीको रुप देखाउने मेरो रहर नै कहाँ थियो र? प्रवृत्ति पो यो मैले उग्रचण्डीको ल्याएँ आफ्नै इशारामा । तर प्राकृतिक स्वभाव त आफ्नो जे थियो छँदै थियो। तर उसप्रति दया-माया देखाइहाल्न पनि मन लागेन चर्को आवाजले आदेश दिएँ –
“माथि उठ !”
तर ऊ घोप्टिरहयो। म फेरि चर्किएँ-
“उठ भनेको सुनेनौ ?”
ऊ बिस्तारै उठ्यो। दायाँ हातमा डाडु ठड्याउँदै बायाँ हातले घचेट्दै मैले उसलाई खाटमा पुर्याएँ। उसको अनुहार हेर्न लायकको भएको थियो। डरले चाउरिएको चेहेरा, बग्न नसकेका आँखा। दिउँसो बरीले उन्मुक्त हाँसोको कुरा गरेकी सम्झिएँ। लाग्यो, लोग्ने मान्छेपनि त उन्मुक्त रुन नसक्दा रहेछन्।

मलाई ऊप्रति दया र माया एकैसाथ पलायो। तर ऊसँग सधै कतै न कतै थोरै भएपनि कडक नै हुने अठोट मेरो बनिसकेको थियो।किनभने, उसका आसु गोहीका भन्दा के नै फरक होलान् र ? दुई वर्षसम्मको यातना सम्झिँदा मलाई ऊ मान्छे नभएर जनावर नै हो भन्ने अझै नि लागिरहेकै थियो। बरीलाई मनमनै धन्यवाद दिएँ र उसलाई अर्को आदेश दिएँ-
“खुरुक्क लुगा फेर! हातमुख धोएर अनि खाना खान तयार होऊ।”
सन्तोषको एउटा लामो श्वास छोड्दै ऊ लुगा फेर्न थाल्यो। उसलाई आज आफ्नै स्वास्नीको अगाडि पनि लुगा फेर्न लाज लागेझैं महसुस गरेँ मैले। त्यसपछि उसकै अगाडि मैले दराजबाट कैची निकालेँ। उसलाई हेर्दै मुसुक्क हाँसें।  हातको कैँची र ओठको मुस्कान देखेर ऊ झस्कियो तर केही बोलेन। मपनि केही नबोली दराजको ऐना अगाडी थुचुक्क बसेँ र छोट्टो पारेर केश काटिदिएँ, जथाभावी। ऊ डर र आश्चर्यले ओठ, तालु सुकेको उसलाई ताकेर भनेँ-
“आज यसले बहुतै बाधा डाल्यो।”

सायद,
त्यो निलो वनबाट निस्किँदा त्यो निर्भीक स्वास्नी मान्छेलाई पनि मैले आफैसँग लिएर आएकी रहेछु।

मौन वातावरणमा खाना खाइसकेपछि ऊ ओछ्यानतिर गयो। म भाडा वर्तन सफा गर्नतिर लागेँ। काम सकेर म खाट छेउ पुगेर हेर्दा ऊ निदाइसकेको थियो। म भित्रकी उग्रचण्डी पनि त निदाइसकेकी थिई। उसलाई चाहिँदा मात्रै त जगाउनु थियो नत्र उसको के काम थियो र लोग्ने स्वास्नीका बिच? मैले तोरीको तेल तताएर ल्याएँ। फलामको डाडुले बजारेको ठाउँमा निलै भएको रहेछ। शर्ट उचालेर तेल लगाई मालिस गरिदिएँ। म पनि शिथिल भइसकेकी थिएँ। बत्ती निभाउन उठ्ने जाँगरपनि चलेन। उज्यालैमा आँखा चिम्लिएँ। कुन्नि कतिबेला निदाएछु एकैचोटि बिहान ब्युँझिदा आफ्नो शरीरबाट उस्तै तोरीको तेल बास्ना आइरहेको पाउँछु। तेलमय त्वचा। उठेर हेर्दा श्रीमानलाई भान्सामा देखेँ। माया लागेर आयो साथै खुशीपनि। तर केही नभएझैं सोधेँ-
“आज आफै भान्सामा?”
“तिमी निदाइरहेकी थियौ उठाउन मन लागेन।”
आश्चर्य! बरीको स्वर्गीय भँवरो सम्झिएँ । तर स्वाभाविक भावमै भनेँ-
“खै भो छोड्नुस्, मै पकाउँला। अफिस जाने मान्छे, अफिसकै काम गर्नुस्। घरको मै गरिहाल्छु नि।”
“आज अफिस छुट्टी छ…”
“के को छुट्टी आज विहीबार ?”
“आज अस्पताल जाऊँ…”

लाग्यो, भँवराको विष जति झरेछन्। के, जीवघातक सुनगाभाले अब घातक बनिरहन नपर्ला त? कोसाबाट सिमलको भुवा निस्किएकै हो त? बरीलाई सम्झिएँ। उनी पक्कै यतिबेला सिगारको धुवाँ उडाउँदै होलिन्। धुवाँमा उनले पक्कै पनि मेरै आकृति देख्नेछिन् आज । उन्मुक्त उडिरहेको ! कोसाको उकुसमुकुसबाट खुला हावामा निस्किएको, सिमलको भुवा !!

Audrey Hepburn by Lana

Audrey Hepburn by Lana

Facebook Comments

You may also like

error: Content is protected !!