सुसाइड

अहिले म र समय दुबै फुर्सदमा छौँ । मनमा अनेक थरीका भावनाहरुको आना-जाना भइरहेका छन् । मस्तिष्कमा तर्कहरुको लर्को लागिरहेका छन् । मलाई मन समयझैं लाग्छ, परिवर्तन भइरहने । मलाई मस्तिष्क संग्रहालयझैं लाग्छ, यादहरुको । सुन्दर-कुरुप यादहरु सुरक्षितसँग जम्मा भएको । आज मन खोतल्न मन छैन । मस्तिष्क घुम्ने इच्छा छ । विगतलाई छाम्न मन छ । यादलाई सम्झन मन छ । भुलभुलैया मस्तिष्कको एक कुनामा एक साथीको याद सुरक्षितसँग बसेको छ । म त्यो यादलाई केलाउन थाल्छु । 

** यह उन दिनों कि बात हे **

म ‘प्लस-टु’ मा पढ्थेँ । बिहान ‘६’ बजेबाट ‘साढे ९’ बजेसम्म क्लास/कलेज । त्यसपछि रुम आयो । खाना खायो । अनि पल्टियो केहीबेर । अनि कहिले साथी कहाँ गयो । कहिले साथी म कहाँ आउँथ्यो । अधिकांश समय म घरको छतमा हुन्थेँ । किताब पढ्थेँ । कथा-उपन्यासहरु पढ्थेँ । लेख्थेँ । दिनहरु यसरी नै बित्थ्यो । 

घरसँगै टाँसिएको एउटा गल्ली छ । साँघुरो गल्ली । गल्लीले केही घरहरुलाई जोडेका छन् । ती घरहरुका साझा गल्ली हो त्यो । ती घरहरुमा बस्ने मान्छेहरु त्यो गल्लीमा हिँडिरहदा एक-आपसमा ठोक्किरहन्छन् ।

पहिले म जुन घरमा बस्थेँ अहिले पनि म त्यहि घरमा बस्छु । कति वर्ष भयो, मलाई नै थाहा छैन । पुरानो घरबेटीले घर बेच्यो । नयाँले किन्यो । अझै पनि म यहीँ छु । यहि घरमा । घरबेटी भन्दा म पुरानो छु यो घरमा । 

एउटा घरमा कोठा खाली हुँदा त्यहाँ वरिपरिका सबै मान्छेहरुलाई थाहा हुन्थ्यो, अहिले पनि हुन्छ । नयाँ-नयाँ मान्छेहरु कोठा खोज्न आउथेँ । विद्यार्थी, दम्पती, बुढाबुढी, अधबैंसे । अनेक थरीका मान्छेहरु आउथे-जान्थे । कसैलाई चित्त बुझ्थ्यो, बस्थे । कसैलाई चित्त बुझ्दैनथ्यो, अर्को खोज्न हिँड्थे । धेरैलाई पानीको सुबिधा छ कि छैन भन्ने चिन्ता हुन्थ्यो । समय परिवर्तनसँगै अहिले मान्छेहरुका चिन्ता फेरिएका छन्, ‘नेटको सुबिधा छ कि छैन !’

म बस्ने घरसँगै जोडिएको अर्को घरमा कोठा खाली भयो । त्यहि दिन त्यहाँ मान्छे बस्न आए । एक जोडी । विवाहित । उमेर लगभग मेरै वरिपरिका । उनीहरुलाई देखेर सोच्थेँ, कति चाँडै विवाह गरेका ! अनुमान लगाउथेँ, पक्कै भगाएर ल्याएको होला ! घर नजिक-नजिक भएको हुँदा एक-अर्काको बाहिरी आनीबानी सबैलाई थाहा हुन्थ्यो । म के जासुस हुँ र, अरुलाई ताकिरहने ! तरिरहने ! आफैँमा व्यस्त हुन्थेँ, कलेजबाट घर, घरबाट कलेज । अनि छतमा बसेर लगातार पढिरहने, लेखिरहने । 

भर्खरै कतैबाट सरेर आएको त्यो नवविवाहित दम्पतीमा एक सदस्य देखिनै छाड्यो । तब, मात्रै केटीलाई देख्थेँ, सिन्दुर-पोतेमा, कहिले गल्लीमा, कहिले छतमा । उनको बुढालाई देख्नै छाडेँ । लाग्यो, उनको बुढा एकाएक गायब भयो ।

म दिनहुँ छतमा उक्लन्थेँ, किताब पढ्न, लेख्न । ति विवाहित केटीलाई पनि दिनहुँ छतमा देख्न थालेँ, कहिले लुगा सुकाइरहेको अवस्थामा । कहिले घाम तापिरहेको अवस्थामा । कहिले आफैसँग भुलिरहेको अवस्थामा ।

न उनलाई कोही भेट्न आउथे, न उनलाई अरु कोहीसँग भेट्थेँ, देख्थेँ । उनलाई एक्लो देख्न थालेँ । एक्लिएको देख्न थालेँ । थुप्रै दिन भयो उनको बुढा गायब भएको । मैले नदेखेको । के थाहा, राती-राती पो आउँथ्यो कि ! 

छतमा म किताब पढिरहेको थिएँ । मेरो नजर अर्को छतमा पर्यो । केटी छतमा एक्लै थिइन् । मुस्कुराउँदै मलाई हेर्दै थिइन् । मैले आफ्नो नजर लुकाएँ । सायद एक्लोपनाले उनलाई थिच्दै थियो । उनलाई बोल्ने कोहि साथी चाहिएको थियो ।  

हामी गल्लीमा थुप्रैपटक ठोक्किन थाल्यौँ । उनी मलाई मुस्कान दिन्थिन् । म मुस्कान फिर्ता गर्थेँ । बिस्तारै उनी मेरो घरको छतमा आउन थालिन् । मैले पढेको, लेखेको हेर्न थालिन् । बिस्तारै हामी साथी भयौँ । मैले उनलाई आफूले लेखेको/रचेको कथा सुनाउन थालेँ । उनी मजा मानेर सुन्न थालिन् । उनको हातमा ब्लेडले काटिएका थुप्रै निसानहरु थिए । एकदिन मैले त्यसको बारेमा सोधेँ । आफूले आत्महत्या गर्न थुप्रैपटक खोजेको कुरा उनले खुलाइन् । उनले आफ्नो कथा सुनाइन् । एक केटाको प्रेममा परेको । गहिरो प्रेममा । दुबै परिवारले स्वीकार्न नमानेको । आत्महत्याको कैयौंपटक प्रयास गरेको । पढाइ छाडेर प्रेमीसँग भागेर विवाह गरेको । कोठा खोजेर आफूलाई यहाँ राखिदिएको । अहिले श्रीमानले नै उनलाई वास्ता गर्न छाडेको । ग्लानीले थिचेको । बेलाबेला नसा काट्ने झोक अहिले पनि चल्छ तर किन काट्ने ? कसका लागि काट्ने ?

उनको कथा सुनेर म रन्थनिएँ । प्रेमले मान्छेलाई कहाँसम्म पुर्याउँदो रहेछ । उनलाई कथा, कविता सुनाएर उनको मन-मस्तिष्क व्यस्त बनाउन थालेँ । उनलाई भुलाउन थालेँ । मनमा अब त्यस्तो भयानक भावना नआओस् भनेर मैले उनको नाम राखिदिएँ- ‘सुसाइड’

छतबाट उनलाई पुकार्थेँ- ‘सुसाइड’ भनेर । छेउछाउका मान्छेहरु तर्सिन्थे । हामी हाँस्थ्यौँ । हामी धेरै समय एक-अर्कासँग बिताउन थाल्यौँ । उनको अनुहारमा छुट्टै किसिमको चमक आएको थियो । ‘तिमी जस्तो साथी सबैलाई मिलोस्’ उनी भन्ने गर्थिन् ।

उनी बस्ने घरको घरधनीले एकदिन मलाई भन्यो, “भाइ अरुको श्रीमतीसँग यसरी नजिकिएको ठिक हुँदैन ।” 

म झसङ्ग भएँ । साँच्चै म किन नजिकिँदै छु ? उनलाई साथको जरुरत छ । र, म साथी भएको छु । यसमा के छ गलत ? 

From Fine Art America | Girl with eyes closed

From Fine Art America | Girl with eyes closed


समय बित्दै गयो । 

एकदिन निराश हुँदै सुसाइडले भनिन्, “तिमी सँग पाँच सय भए, मलाई सापट देउन । केही दिनमै दिन्छु ।” 

मैले उनलाई पाँच सय दिएँ । उनले सपिङ्ग गर्न जाऊँ भनिन् । हामी बेलुकी निस्कियौँ । उनले मट्टीतेल किनिन् । म कुखुराको मासु खान्छु कि खादिनँ भनेर सोधिन् । मैले खान्छु भनेँ । एक पाउ कुखुराको मासु किनिन् । मसला किनिन् । गोलभेडा, हरियोपरियो किनिन् ।

उनले आफ्नो कोठामा मलाई निम्ता दिइन् । डिनरको निम्तो । पहिलोपटक म उनको कोठामा जाँदै थिएँ । कोठामा केही थिएन / देखिनँ । मात्रै एउटा स्टोभ र भुइँमा ओछ्छिएको ओछ्यान । मन अमिलो भयो । स्टोभमा मट्टीतेल खन्याइन् । प्लास्टिक झोलामा रहेको चामल बसालिन् । हरियोपरियो काट्न थालिन् । म कोठाको भित्तामा हेर्न थालेँ । उनले आफ्नो श्रीमानको नाम लेखेकी थिइन्, जताततै । यो कस्तो प्रेम ? 

मासु बनाइन् । केही समयमै खाना तयार भयो । एउटा प्लेटमा खाना पस्किइन् र मलाई दिइन् । तिमी खादैनौँ भनेर मैले सोधेँ । पछि खान्छु भनिन् । मैले खाएको हेरिरहिन् । म कोठाबाट निस्कने बेलामा उनले भनिन्, “तिमी जस्तो असल साथी सबैको होस् । तिमीलाई म कहिल्यै बिर्सिनेछैन ।” 

अर्को दिन उनलाई देखिनँ, न गल्लीमा, न छतमा । उनको कोठामा जाने हिम्मत भएन । मान्छेहरुबाट थाहा पाएँ, उनले राती नै कोठा छाडेर गएको कुरा । मन कस्तो-कस्तो भयो । लाग्यो, अब हाम्रो भेट हुँदैन । हिजो रातीको भेट नै हाम्रो अन्तिम भेट हो । 

सायद उनीसँग पैसा थिएन । त्यहि भएर सापटी मागेर त्यहि पैसाले मलाई ख्वाएर गइन् । भनौँ, मीठो धन्यवाद दिएर गइन् । उनले भनेको अहिलेपनि सम्झिन्छु, “तिमिले मलाई दिएको नाम कहिल्यै बिर्सिनेछैन । सुसाइडको सोच अब कहिल्यै ल्याउने छैन । तिमीले मलाई जिउन सिकायौ, रितेश ।”

अहिले बेलाबेला उनको याद आउँछ । सोच्छु, कहाँ होलिन् ? के गर्दै होलिन् ? म उनलाई कथा सुनाउने गर्थेँ । अहिले मलाई उनी कुनै कथाको पात्रझैं लाग्न थालेको छ ।

Facebook Comments

You may also like

error: Content is protected !!