आत्महत्याको चिरफार

आत्महत्या निश्चय नै गम्भीर विषय हो। चिकित्सा विज्ञान र स्वास्थ्य चेतनाको स्तर वृद्धिले मान्छेको औसत आयु लामो भएको आजको समयमा आत्महत्याको दर भने निरन्तर बढिरहेको छ। जोसुकैले गरेका छन् आत्महत्या – लेखक, कलाकार, सङ्गीतज्ञ, आध्यात्मिक, प्रेमी, युवा – युवती, किसान, मजदुरदेखि बालबालिकासम्म (नेपालमा एघार वर्षीय बालकले सुसाइड नोट लेखेर झुन्डिएर मरेको समाचार ताजै छ) । बालक, किशोर, वयस्क र वृद्ध – जुनसुकै उमेरका मान्छेले आफ्नो प्राण आफ्नै हातले लिएका छन्। विश्व स्वास्थ्य सङ्गठनको अनुसार प्रत्येक वर्ष विश्वका एक मिलियन अर्थात् दश लाख मानिसले आत्महत्या गर्छन् । यस तथ्यले आजको तनाव र अनिश्चितताले आक्रान्त जीवन पद्धतिको धेरै कुरा तर्फ सङ्केत गर्छ ।

आत्महत्या विशिष्ट आत्मचेतनाको कारणले नै हुन्छ। आफूले आफूलाई नै स्पष्ट रुपमा हेरिएको हुन्छ यस्तो अवस्थामा र देखिएको हुन्छ त्यो मानसिक अन्तरविरोध जसको समाधान देखिँदैन र त्यो नदेखिनु अत्यन्त पीडादायी हुन्छ। सायद त्यो मानसिकताले देखाउने सबैभन्दा प्रभावकारी समाधान अथवा त्यो असह्य मानिएको पीडाबाट उन्मुक्ति नै आत्महत्या हो। जीवनलाई हेर्ने, बुझ्ने र यसमा अर्थपूर्ण तादात्मयता भेट्ने व्यक्तिको निजी जीवन दृष्टिकोणसँग मानसिक स्वास्थ्य र विशेषतः आत्महत्याको प्रत्यक्ष सम्बन्ध रहेको देखिन्छ। बाहिरी यथार्थलाई बुझेर तदनुरूपको स्वभाविक प्रतिक्रिया दिन सक्नु र नसक्नुमा नै आत्महत्याको पनि सम्बन्ध रहेको छ।

मनोवेत्ता, समाजशास्त्री र आम मानिसको धारणामा फरक फरक कारण देखिन्छन् आत्महत्याको विषयमा। यसको निश्चित कारण यही हो भन्ने कुरामा सबैको एउटै मत छैन । सहायक र सामान्य कारणहरू भने पर्याप्त औँल्याइएका छन्। यस्ता सहायक कारणलाई समग्रमा भन्दा चेतन अथवा अचेतन रुपमा लामो समयदेखिको नैराश्य, अस्पष्ट डर (एङ्जायटी), तनाव आदि मिश्रित अवसाद अथवा डिप्रेसन नै हो भन्न सकिन्छ। तत्कालको कारण (तनावपूर्ण जागिर/प्रेम सम्बन्ध/परिवार, आदि) भने व्यक्ति सापेक्ष फरक हुने भए पनि सामान्य अवस्थामा गरिने तर्कबाट नभई अनियन्त्रित आवेश (प्यारोक्सिजम, फ्रेन्जाइ) को मनस्थितिमा नै आत्महत्या सम्भव भएको हुन्छ। फराकिलो दृष्टिले हेर्दा आत्महत्याको अन्तर्यमा एउटै मात्र कारण छ – आफूले जिउँदै आएको जीवनको अर्थ हराएको प्रष्ट र तीक्ष्ण अनुभूति हुनु । आफूले मानिआएको जीवनको मूल्य कुनै कारणवश समाधान गर्नै नसकिने गरी सङ्कटमा पर्नु या समाप्त भएको यकिनमा पर्नु। त्यसबाट उत्पन्न हुने भयावह रित्तोपन, तीतोपन, असन्तुष्टि अनि मानसिक यातना सहन नसकिने अवस्थामा पुग्नु नै असामयिक आत्मविसर्जनको कारण हुनसक्छ।

***

प्रसिद्ध समाजशास्त्री एमिल दुर्खिमको अनुसार व्यक्ति र समुदायको बीचमा अर्थपूर्ण सम्बन्ध र एकताको अवस्था बलियो अथवा कमजोर हुनुको अनुपातमा नै आत्महत्याको घटना तुलनात्मक रुपले थोरै अथवा धेरै हुने गर्छन्। व्यक्ति र समुदायको दूरी बढ्दै गयो भने आत्महत्या पनि बढ्छन्। आत्महत्याको कारण खोज्दा त्यसैले सामाजिक तथ्यले व्यक्तिमाथि पार्ने असरको रुपमा नै हेरिनुपर्छ भन्छन् दुर्खिम। उनका अनुसार निम्न प्रकारका हुन्छन् आत्महत्या –

१. अहंग्रस्त आत्महत्या

अत्यधिक व्यक्तिवादी चिन्तनले आफू एक्लो भएको र समुदायका अन्य सदस्यसँग अर्थपूर्ण एकत्वको अभाव हुनु र यो सहन नसकी व्यक्तिको अहंमा पर्ने चोटले गर्दा आवेशमा आई गरिने अहंग्रस्त आत्महत्या जसमा व्यक्तिले समाजसँग परोक्ष रुपमा आफ्नो उचित पहिचान र त्यसको स्विकृतिको लागि याचना गर्दछ।

२. परोपकारी आत्महत्या

अरुको भलाई सोचेर आत्मबलिदान स्वरूप गरिने परोपकारी आत्महत्या, जस्तै परिवार बचाउन, आफ्नो देशको सुरक्षा गर्न सहीद हुनु आदि।

३. एनोमिक आत्महत्या

बाह्य परिस्थितिमा आउने हठात परिवर्तनले व्यक्तिगत रूपमा सृजना भएको मूल्यको सङ्कटले निम्त्याउने ‘एनोमिक’ आत्महत्या, जस्तै भूकम्पमा सम्पूर्ण सम्पत्ति र आत्मजन गुमाएपछि हुने रिक्तता।  यस्तो अवस्थामा व्यक्तिलाई समाजमा आफ्नो उचित स्थान कुन हो भन्ने अन्यौलता हुन्छ र अचानक बदलिएको आफ्नो परिस्थितिमा नैतिक व्यवस्थामा परेको संकटले गर्दा आफ्नो चाहनाको सीमा थाहा नभई तीव्र असन्तुष्टि महसुस हुन्छ।

४. भाग्यवादी आत्महत्या

दमनकारी बाह्य अनुशासनको संयन्त्रभित्र आफ्ना संवेदनाको अतिशयोक्ति संकुचन र भविष्यका सम्भावनाबाट बलपूर्वक वञ्चित गरिनुको कारणले आत्मसमर्पणको रुपमा गरिने भाग्यवादी आत्महत्या जस्तै अत्यधिक यातना सहन नसकी कैदीले गर्ने आत्महत्या।

दुर्खिमको अनुसार सामाजिक एकत्व र व्यक्तिको नैतिक नियमनको बीचमा सृजना हुने असन्तुलन नै आत्महत्याको सङ्ख्या घटबढ हुनुको पछाडि रहेका फराकिलो अर्थमा मुख्य कारण हुन्।

***

मान्छेको इतिहासमा आत्महत्या अन्य घटना जस्तै धेरै अगाडिदेखि घट्दै आएको घटना हो र संसारभर आत्महत्यालाई नैतिक रुपमा अस्वीकार नै गरिएको पाइन्छ। अधिकांश समाजमा आत्महत्यालाई अपराध नै मानिएको देखिन्छ र असफल आत्महत्याको अपराधमा पनि उक्त व्यक्तिलाई कानुनी सजाय दिइन्छ। आत्महत्या गरेर मर्ने व्यक्तिलाई उपेक्षा र अपमान गरिनु बाहेक निजको शवलाई अपमानित हुने गरी फोहोरको थुप्रोमा जलाई खोलामा मिल्काउने अथवा निजको हातलाई काटेर साथमै जलाउने होस् या आत्महत्या गरी मर्ने व्यक्तिको शवलाई अस्पतालमा मेडिकल साइन्सको विद्यार्थीलाई पढाउन चिरफारमा समेत प्रयोग गर्ने आदि कार्य गरी आत्महत्यालाई घृणित कार्यको रुपमा नै हेरिएको पश्चिमा देशहरूको इतिहासले बताउँछन्। हाम्रो समाजमा पनि आत्महत्यालाई नकारात्मक रुपमा हेरिन्छ- अगति परी मरेको, पितृलाई अपमान भएको र अशुभ हुने जस्ता प्रतिक्रिया दिइन्छ। तर आत्महत्या सम्बन्धी यस्तो नकारात्मक प्रतिक्रियाले आत्महत्यालाई ठीकसँग बुझ्न दिँदैन। आत्महत्या पाप होइन, अपराध पनि होइन। एउटा असहाय अवस्थामा पुगेको, आफैभित्र जकडिएर छटपटी गरिरहेको मान्छेले संसारसँग माग्न खोजेको सहयोगको निर्धो याचना हो आत्महत्या। त्यसलाई स्नेह र सहानुभूतिका साथ सुनिदिनु नै सम्भावित आत्महत्याको रोकथाम हुन सक्छ।

***

केही महिनाअघि
पेरुको पूर्व-राष्ट्रपति एलन मार्खेज फोन गर्छु भनेर कोठामा पसे ।  चुकुल लगाएर कुर्सीमा थचक्क बसे, गहिरो निश्वास लिएर टोलाए अनि टाउकोमा गोली दागी ढले। घूस प्रकरणमा उनलाई पक्राउ गर्न कोठा बाहिर रहेका प्रहरी चकित परे। अस्पताल पुगेर उनले हंस छोडे । राजनीतिक इतिहासमा आत्महत्या गर्ने नेता पनि छन्। दुश्मनको किल्लामा क्षति गर्न आत्मघाती बिस्फोट गर्नु या आफ्नो समूहको रक्षार्थ आफू एक्लै लडी मर्नु र अरुलाई भगाउनु जस्ता कारणले पनि आत्महत्या गरिएका छन्। सजाय स्वरूप सम्राट निरोले आफ्नै राजनीतिक सल्लाहकार र गुरु लुसियस सेनेकालाई आत्महत्या गरी मर्न आदेश दिएका थिए। सेनेकाले भनेका थिए, “विवेकी मान्छे आफूले चाहेको अवधिसम्म होइन बरु जति बाँच्नुपर्ने हो त्यति समयसम्म मात्र बाँच्दछ।” दुश्मनको हातमा नपर्न हिटलरले आत्महत्या गरे भनिन्छ।

दैनिक रुपमा देखिएका आत्महत्याको घटनामा किशोर/ किशोरीले असफल प्रेम या इच्छाएको उपभोग्य वस्तु (मोटरसाइकल, मोबाइल फोन आदि) प्राप्त गर्न नसकेको घुर्कीको आवेशमा, परीक्षामा असफल भएको चोटमा, सामाजिक सञ्जालमा दैनिक रुपमा हुने साइबर बुलिङ्ग, अश्लील सामग्रीको प्रयोग गरी हुने ब्ल्याकमेलिङ्गको सिकार भएर आदि अनेक कारणले आत्महत्या गरेका देखिन्छन्। विवाह इतरका सम्बन्ध पनि अहिलेको मुख्य कारण हो हत्या र आत्महत्या दुवैको। एकभन्दा बढी व्यक्तिसँगको रतिरागको सम्बन्ध राख्नु, वैवाहिक जीवनमा त्यसको अनावरण हुनु र दैनिक कलहको अवस्था रहनुले धेरै दम्पती तनाव र अवसाद (डिप्रेसन) को पकडमा पर्छन्। अनियन्त्रित डिप्रेसन र तनावले आत्महत्याको अवस्थामा पनि पुर्याउने गरेको छ।

असाध्यै गरिबी र ऋण तिर्न नसकेको अवस्था सदैव पृष्ठभूमि भएका छन् आत्महत्याको। दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि र खान बस्न समेत अफ्ठ्यारो अवस्थामा पुगिसकेका निरपेक्ष गरिबीको रेखामुनि रहेका निरीह मान्छेले परिवारलाई विष सेवन गराई आफूपनि आत्महत्या गरेका अनगिन्ती घटना समाचारमा आइरहेका छन् ।

भारतमा प्रत्येक वर्ष करिब पैँतालीस हजार किसानले टाट पल्टेको कारणले आत्महत्या गर्छन् भनेर लेखक अरुन्धती रोयले आफ्ना किताबमा बारम्बार ध्यानाकर्षण गराएकी छिन्। उनले ती आत्महत्यालाई दमनकारी राज्य संयन्त्र विरुद्ध निरीह किसानको प्रतीकात्मक विद्रोह भनेकी छन् ।

त्यस्तै,
नेपालमा पनि गरिबीकै कारणले आत्महत्या गरिएका समाचार बेला बेलामा आइरहेका छन् । अत्यधिक लागूऔषधको सेवनबाट हेलचेक्र्याइवश भएका आत्महत्या पनि एउटा सामान्य कारण हो अधिकांश युवाको सन्दर्भमा । कुनै अप्रिय घटना घटेको लामो समयसम्म पनि त्यसको मानसिक असरले पीडित व्यक्तिलाई निरन्तर सताइरहेको हुन्छ जसलाई ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’ (पिटिएसडि) भनिन्छ। आत्महत्या पछाडिको धेरैमध्ये यो पनि एउटा कारण हो। सभ्यता र कानुनी शासनको जति नै बखान गरेपनि आजको दिनमा बालबालिकामाथि हुने यौन हिंसा पटक्कै घटेको छैन भन्ने अन्तर्राष्ट्रिय अध्ययनले बताएका छन्। बलात्कार जस्तो यौन अपराध दैनिक समाचारमा आइरहेकै छन्। अव्यवस्थित पारिवारिक जीवनमा आजका महिला र बालबालिका घरेलु हिंसाबाट उत्पन्न हुने तनावको मौन सिकार भएका छन्। यस्तै कारणले आत्महत्याको लागि पृष्ठभूमि बनिरहेको हुन्छ।

***

आत्महत्या आफैमा नैतिक रुपमा सही हो या गलत भन्ने विषयमा विवाद छँदैछन्। विशेष परिस्थितिमा कानुनी रुपमा भने आत्महत्यालाई व्यक्तिगत अधिकारको अर्थमा परिभाषित र संरक्षित गरिएको पनि पाइन्छ, जसलाई ‘युथेनेसिया’ भनिन्छ। यसमा अदालत स्वयंले निवेदक व्यक्तिलाई स्वेच्छाले चयन गरेको चिकित्सकको सहयोगमा, तोकिएको विधिले आफ्नो जीवन समाप्त गर्ने अधिकारको प्रयोग गर्न दिइन्छ। उक्त निवेदकले निको नहुने, अत्यन्त पीडादायी रोग लागेको अवस्थामा आफूलाई पीडामुक्त गर्न र आफ्नो स्वजनलाई मानसिक र आर्थिक समस्याबाट मुक्ति दिलाउन सचेत रुपमा व्यक्त गरिएको इच्छालाई कानुनसम्मत अधिकारको प्रयोग गरेको मानिन्छ।

सामान्यतः
आत्महत्यालाई प्रोत्साहन दिनु कानुनी रुपमा अस्वीकार्य हुन्छ जसलाई ज्यान मार्ने उद्योगको रुपमा परिभाषित गरी सजायको व्यवस्था समेत छ। कसैले पनि क्षणिक मानसिक आवेशमा परी आफ्ना पारिवारिक र सामाजिक दायित्वलाई बिर्सिएर असामयिक रुपमा आफ्नो जीवन समाप्त गर्नु अवश्य पनि उचित हुँदैन। यसको न्यूनिकरणको प्रयास नै सबैको दायित्व हो। यो दायित्वले आम मान्छेसँग मानवीय व्यवहार माग्दछ जसले समाजलाई बाँच्न योग्य बनाउन प्रत्येक व्यक्तिको भूमिका रहेको छ भन्ने मान्यता राख्दछ। आत्महत्याको न्यूनिकरणको लागि आत्महत्याको मानसिकताभित्र नै प्रवेश नगरी सामान्य मान्छेको तर्कले मात्र सम्भव छैन। सामान्य मानिसको सोचाइमा आत्महत्या केवल हतारको मूर्खता हो भने आत्महत्याको मानसिकताभित्र कैद मान्छेको लागि त्यति सजिलो र सामान्य टिप्पणीले मात्र यसलाई ठीक सम्बोधन हुँदैन।

***

(आत्महत्याको विषयलाई रोमाञ्चक र आकर्षक बनाउन खोज्नु हुँदैन। यहाँ यो प्रयास गरिएको होइन। तर पछिल्लो समयमा भएका अध्ययनले बताएअनुसार आत्महत्याको विषयमा छलफल गर्नु यसलाई निरुत्साहित गर्नु पनि हो। आत्महत्याको सम्बन्धमा छलफल गर्नु यसलाई प्रोत्साहन गर्नु पटक्कै होइन। केही चिन्तकले यस विषयमा प्रकाश पार्न खोजेको सन्दर्भमा तलका पङ्क्तिहरुलाई बुझिदिनुहोला।)

फ्रान्सेली दार्शनिक अल्बेयर कामुले आफ्नो दार्शनिक निबन्ध ‘सिसिफसको मिथक’ मा यो विषय यसरी उठाएका छन् – “यहाँ एउटै मात्र साँच्चै गम्भीर दार्शनिक समस्या छ, र त्यो हो आत्महत्या। जीवन जिउन योग्य छ या छैन भन्ने कुराको निरुपण गर्नुमा नै निहित छ दर्शनशास्त्रको आधारभूत प्रश्नको जवाफ। बाँकी सम्पूर्ण- संसारको त्री-आयाम छ या छैन, मस्तिष्कको नौ अथवा बाह्र प्रवर्ग छन् या छैनन् – ती पछाडि आउँछन्।”

कामुले उक्त लामो निबन्धमा आत्महत्याको नकार गरेका छन्। निजी चेतनाले माग्ने अर्थ र मूल्य अनि निरपेक्ष र निस्पृह जगतबाट कहिल्यै प्राप्त नहुने त्यसको जवाफले सृजना हुने अस्तित्वको असङ्गतिको समाधान जीवनको स्वीकृतिमा नै निहित छ भनेका छन्। जीवनको निस्सारता या असङ्गतिदेखि भागेर आफूलाई झुक्याउनु चाहिँ हुँदैन। यसलाई कामु ‘दार्शनिक आत्महत्या’ भन्छन्। सुख (या मूल्य) र असङ्गति एउटै जीवनको दुई अनिवार्य पाटाहरू हुन्। असङ्गतिलाई नकार गर्दै यसविरुद्ध सम्पूर्ण चेतन प्रयास केन्द्रीत गरी क्षणिक नै भए पनि जीवन निर्बन्ध जिउने प्रयास गर्नु नै आत्महत्याको नकार र जीवनको स्विकार गर्नु हो। मान्छे यस्तो जीवन चयन गर्न स्वतन्त्र छ र यही नै हो जीवनको स्विकृति र मृत्युको नकारको आधार। कामु यसर्थ जीवनवादी, र आशावादी छन्।

प्राचीन ग्रिक दर्शनमा स्टोइक दर्शन छ। यसलाई दार्शनिक जेनो, क्राइस्सफस, एपिक्टेटस र पछि रोमन सम्राट मार्कस अरिलियस र राजनीतिज्ञ एवं नाटककार (माथि उल्लेखित) लुसियस सेनेकाले स्थापित गरेका हुन्। प्राकृतिक रुपमा मान्छेलाई प्राप्त तर्कशक्ति र त्यसबाट निश्रृत विवेकमा जोड दिने यस दर्शनले ‘मृत्यु स्मरण’ लाई सुखी जीवन जिउने आधार मान्दछ। हामीले एकदिन अवश्य मर्नुपर्छ भन्ने तथ्यलाई ध्यानमा राखी आफ्नो प्राथमिकता तय गरी उपलब्ध अनिश्चित समयको विवेकयुक्त सदुपयोग गर्नुपर्छ । यसका अनुसार संसारमा दुई वर्गका विषय छन् –
१. जुन हाम्रो नियन्त्रणमा रहेका छन् (हाम्रो भावना र विचार अनि बाह्य परिस्थितिप्रति दर्शाउने हाम्रो प्रतिक्रिया मात्र)
२. जुन हाम्रो नियन्त्रणमा रहेका छैनन् (कानुन, राज्य, प्राकृतिक नियम, प्रकोप, युद्ध आदि)

यी दुई मध्ये हामीले पहिलो वर्गको विषयमा ध्यान दिनुपर्छ र त्यसमा नियन्त्रण प्राप्त गर्ने कोसिस गर्नुपर्छ र दोस्रो वर्गको विषयमा आवश्यकता भन्दा बढी चिन्तित हुनु हुँदैन । यस दर्शनले हरेक क्रियाकलापमा अतिवादलाई हानीकारक मानेको छ र सन्तुलन कायम गर्नुपर्ने बताउँछ। यो दर्शनले असह्य पीडा र निको नहुने रोग सहनुपर्ने बाध्यता छैन र सोचविचार गरेर स्वतन्त्र रुपमा व्यक्तिले आत्महत्या गरी उन्मुक्ति लिन सक्छ भन्दछ।

स्कटिस दार्शनिक डेविड ह्यूमले पहिलो पटक आत्महत्याको सार्थकतामाथि सोचेका थिए। यसलाई सामाजिक स्तरमा अर्थपूर्ण कार्य हुन सक्नेतर्फ इङ्गित गरेका थिए। आफूले भोगिरहेको असह्य पीडाबाट स्वयंले दिने यस्तो मुक्ति समाजका अन्य उपायहीन रुपले पीडामा कैद व्यक्तिको लागि आफ्नै हातले उघार्ने स्वतन्त्रताको असली चाबी हो समेत भनेका थिए।

चयनको नै विषयमा सहमति गर्दा आत्महत्या आत्मस्वीकृति हुन पनि सक्छ, आत्मनकार पनि। निजी चेतनाले सामूहिक चेतनासँग गर्ने संवादको रुपमा पनि आत्महत्यालाई हेर्न सकिन्छ। जीवनको निस्सारतामा ब्युँझिएको चेतना आफन्त र सुख खोजेर पनि सम्भवतः सजिलो गरी प्राप्त गर्न सक्दैन। त्यसप्रति आफ्नो असमर्थता स्विकार गरी आत्महत्या गर्ने मान्छे पनि हुन्छन्। अथवा आफूले बुझ्न र प्राप्त गर्न नसकेको संसारप्रति नकारको भाव सम्प्रेषण गर्न पनि आत्महत्या गर्छन् मान्छे। यही नै स्पष्ट किटान गरेर भन्न चाहिँ सकिँदैन तर आत्महत्या एउटा अनौठो प्रकारको संवादको प्रयास चाहिँ हो। आत्महत्यालाई संवादको रुपमा यसरी हेर्न सकिन्छ- दुरुह र दुर्बोध्य संसारसँगको असमर्थ र अमूर्त संवाद जसमा बुझ्न खोज्नु तर नसक्नुको गहिरो पीडा हुन्छ र बुझ्न नसकेको तर चाहेको बीचमा तनाव हुन्छ। यसैमा एउटा संवेदनशील जिन्दगीको अवधिमा पूर्णविराम लागिदिन्छ!

जर्मन दार्शनिक फ्रेडरिख नीत्सेले आत्महत्याको विषय-चिन्तनले मानसिक तनाव न्यूनिकरणमा सकारात्मक प्रभाव पार्छ भनेका छन्।  उनको प्रख्यात उक्ति छ- “आत्महत्याको विचार आफैँमा ठूलो सान्त्वना हो: यसको मद्दतले धेरै खराब रातहरू छिचोल्न सकिन्छ।” विचारणीय यो छ कि, आत्महत्याको कार्यलाई आत्महत्याको चिन्तनले पन्छाउन सकिन्छ। यसको स्वभाविक परिणाम र अनेक आयामको बारेमा सोचिरहेको मान्छेले मानसिक तनावमा आउने गिरावटको साथै आत्महत्याको कार्यमा निहित निरर्थकता समेत अनुभूति गर्दछ र जीवनको सहजतामा फर्किन्छ।

दार्शनिक एमील सियोरानको भनाइ छ – “आफूलाई मार्नुमा कुनै पनि अर्थ छैन किनभने तिमी आफूलाई जहिल्यै पनि असाध्यै ढिलो मार्दछौ।” साँच्चै नै जीवनको इमानदार र गहिरो चिन्तन गर्नेले यही देख्दछ कि दुःखदायी जीवन जसरी बाँचे पनि मर्नु नै बराबर हो, त्यसैले आत्महत्या गर्नुको खास अर्थ रहँदैन। साथै उनले यो पनि भनेका छन् – “केवल आशावादीहरुले मात्र आत्महत्या गर्छन्, जो आशावादी रहीरहन सफल हुँदैनन्। बाँकी अरुहरु, जोसँग बाँच्नको लागि कारण हुँदैन, कसरी मर्नको लागि कुनै कारण हुनसक्छ ?” त्यसैले बाँच्नको लागि कारण हुनेसँग नै मर्नको लागि पनि कारण हुन्छ। तसर्थ साँच्चै आफ्नो अस्तित्वको रित्तोपन देखेको मान्छेले आत्महत्या गर्दैन। केही अर्थ र मूल्य अझै बाँकी रहेको मान्छेले चाहिँ आत्महत्या गर्न पनि सक्छ। त्यस्तै साँच्चै आत्महत्याको बाटोमा अग्रसर व्यक्तिको लागि सियोरानको समाधान यस्तो छ – “कसैलाई आत्महत्या गर्नबाट निरुत्साहित बनाउने एउटै तरिका हो उसलाई आत्महत्या गरिहाल भनेर कर गर्नु। उसले तिमीलाई तिम्रो यो प्रयासको लागि कहिल्यै माफी दिने छैन, उसले आफ्नो योजना त्याग्नेछ, तिमीलाई आफ्नो दुश्मन, गद्दार मान्नेछ। तिमीले सोच्यौ तिमी उसको मद्दतमा सर्लक्क अघि सर्यौ, उसलाई जोगाउन, र तिम्रो उत्सुकतामा उसले दुश्मनी र घृणा बाहेक केही देख्दैन। सबैभन्दा अनौठो कुरा यो हो कि ऊ तिम्रो अनुमति खोजिरहेको थियो, तिम्रो सहभागिता। वास्तवमै उसले के चाहेको थियो त? उसको अन्यौलताको प्रकृति अनुसार आफूलाई छलेनौ र तिमीले? तिमीप्रति खुलेर उसले कस्तो गल्ती गर्यो! उसको ऐकान्ताकताको यो चरणमा, उसले बुझ्न सक्नुपर्थ्यो – ईश्वर बाहेक अन्य कसैसँग पनि सम्झौताको असम्भाव्यता।”

हरेक संवेदनशील व्यक्तिले जीवनमा कुनै पनि मोडमा आफू अमूक जिन्दगी किन बाँचिरहेको छु? भनेर अनायासै सोच्न थाल्छ। प्रख्यात आधुनिक अङ्ग्रेजी उपन्यासकार भर्जिनिया उल्फले बीसौं शदीमा साहित्य मार्फत आधुनिक युगको चेतनाको प्रतिविम्बन गरिन् भनिन्छ। आधुनिक चेतनाले आफैँतिर हेर्छ अनि आफ्नो केन्द्र खोजी गरिरहेको हुन्छ। अति संवेदनशील उल्फले आफ्नो चेतना आफैँले नियाल्ने भयानक डरलाग्दो कर्म गरिन् र देखिन् आफू र बाहिरको यथार्थबीच उपायहीन पर्खाल। आफ्ना खल्तीमा ससाना ढुङ्गा राखेर पोखरीमा डुबेर मर्नुअघि आफ्ना प्रिय पतिलाई उनले लेखेकी थिइन्, “मलाई माफ गर्नुहोला।”

The Death of Chatterton by Henry Wallis

The Death of Chatterton by Henry Wallis

साहित्यिक प्रसिद्धि, सम्पत्ति र पर्याप्त शारीरिक सुखभोगको जिन्दगी जिएर आफैसँग थकित युवा टोल्स्टोयले पनि आत्महत्या सोचे। मृत्यु-चिन्तनले साँच्चै मार्ने रहेछ भन्ने बुझेर प्रसिद्ध कथा ‘इभान इल्यिचको मृत्यु’ लेखे, प्रसिद्धि र सम्पत्तिको अर्थहीनता बोध गरे र आफूलाई ईश्वर समक्ष समर्पित गरी समाजसेवा गर्न थाले।
(अल्बेयर कामुको विचारको आधारमा भन्दा टोल्स्टोयले दार्शनिक रुपमा आत्महत्या गरेर मृत्युको आकर्षक पञ्जाबाट जीवनको काखमा फर्किए।)

यस्तै सङ्कटले आम मानिसको जीवनमा पनि बेलाकुबेला ह्वाङ्ग ढोका उघारिदिन्छ र जीवनको फैसला सम्पूर्ण आफ्नै हातमा थमाइदिन्छ !

***

आत्महत्या असामान्य मनोदसाको उपज हो भन्ने सामान्य बुझाइ हो। अति संवेदनशील र सचेत चेतनाले नै आत्महत्याको बाटो तयार पारेको हुन्छ भन्ने पनि स्पष्ट नै छ। तर आफ्नो चेतनाको बोझतल दबिएर पनि आफू बाहेक अन्य कसैलाई कुनै किसिमको भौतिक हिंसा नगरी मर्ने व्यक्तिलाई दुनियाँ हलुका टिप्पणीले अनेक मजाकमा उडाउँछ। कोही काँतर भन्छन्, कोही अनैतिक। एउटा थकित मान्छेको निजी चयनको सम्मान विरलै गरिन्छ। मर्न कत्रो साहस चाहिन्छ।  त्यही साहस बाँच्न लगाएको भए ?  पनि भनिन्छ। 

तर, अल्बेयर कामुले भने जस्तै, “कसैले पनि बुझ्दैन कोही सामान्य हुनको लागि कति धेरै मानसिक शक्ति लगाइरहेको हुन्छ।” अनि जीवनलाई विश्लेषण गरेर हेर्दा देखिन्छ, “बाँच्नु नै ठूलो साहस हो।” चुरोट वा एक छाक खाना त्याग्न न कति गाह्रो हुन्छ अझ कतिले त लाख प्रयासका बाबजुद पनि सकिरहेका हुँदैनन् भने जिउन नै छोड्नु कति गाह्रो होला ? तैपनि, मर्नभन्दा बाँच्न गाह्रो भएको कुरा उसैलाई मात्र थाहा हुन्छ, अरुलाई त्यसको अनुमान मात्र पनि हुँदैन। बाँच्ने नाममा बोलिने लाख झूट र गरिने असङ्ख्य छुद्र बहानाले थङ्गथिलो भएको मान्छेले आफूले ओगटेको सानो स्थानबाट सुटुक्क आफूलाई मेटाउँछ र ऊ गिलो माटोबाट उड्ने बाफझैं कहीँ कतै रहँदैन, मात्र अचानक उसको आजसम्म अदृश्य रहेको र भर्खरै हराएको अस्तित्वप्रति क्षणिक उत्सुकतामा आलोचनात्मक गफको आनन्द लिने रमितेहरुमा उच्चारित हुन्छ, बस् ।

यी हल्लाहरुमा उसले सानो मौनता छोडेर गएको हुन्छ, जुन बाँचिरहेकाहरुका लागि, आफैलाई भुलाउने अर्को मसिनो बहाना बनिदिएको हुन्छ ।

***

गत महिना म हिँड्ने गल्लीमा एउटा किशोरले गलामा पासो लगाई ‘गुडबाइ जिन्दगी’ भनेर गयो ।  पोहोर साल मार्च महिनामा पाँच कक्षामा पढ्ने एकजना नानीको बाबाले ‘टु हेल विथ द वर्ल्ड’ भनेर विष सेवन गरेर हिँडे। आर्थिक वर्ष ०७५-०७६ मा ५३१७ जना नेपालीले आत्महत्या गरेको प्रहरीको रिपोर्टमा उल्लेख छ ।  मुख्य कारण ‘डिप्रेसन’। सहायक कारण – गरिबी, बाध्यताको वैदेशिक रोजगारी (अर्थात् सरकार!) अन्य कारण – सामाजिक सञ्जाल, अस्वस्थ खानपान, प्रदूषण । तत्कालको कारण – विध्वंसक फ्रेन्जाइ। लकडाउन सुरु भएयता (मार्च २४ देखि मे ३० सम्म) नेपालमा एघार सय पाँच जनाले आत्महत्या गरेको प्रहरीको रिपोर्टमा उल्लेख छ। अझै पनि आत्महत्याको समाचार निरन्तर आइरहेको छ।

***

सुरुमा इङ्गित गरिएको प्रसङ्ग – आत्महत्याले सामान्य व्यक्तिको विचारमा समाजको चित्र मैत्रीपूर्ण छ या दुश्मनीपूर्ण छ भन्ने कुरा पनि देखाउँछ। आजको आधुनिकता एक्लोपन सिर्जना गर्ने खालको छ । अनावश्यक रुपमा जीवन कठिन भएको छ। पुँजीवादी समाजमा बाँच्न मेसिन बन्नुपर्छ। दुई छाकको लागि सत्व र समय बेच्नुपर्छ र आफ्नो स्वजन र समुदायबाट अधिकांश अलग रहनुपर्छ । प्रेम, परिवार र सामाजिक सम्बन्धको केन्द्रीय तत्व सहज मानवोचित संवेदना होइन, केवल पैसा भएको छ। सम्बन्धहरु उपयोगितावादी बनेका छन्। उपलब्धिको सम्भावना बिना कोही कसैको व्यक्तिगत जीवनमा स्नेहले वास्ता गर्दैनन्। उदार पुँजीवादी सँस्कृति निजी स्वतन्त्रताको चाख्नै नपाइने ललिपपको विज्ञापन गर्छ बजारमा जहाँ पुँजीले चपाएर रस चुस्दै थुकिएका र थुकिन लाम लागेर छट्पटाउने श्रमिकको विशाल आवादी छ। त्यसमा अर्धबेरोजगार मान्छेको विशाल समुद्र छ जो सस्तोमा आफ्नो श्रम बेच्न व्यग्र एक देखि अर्को स्थानमा निरन्तर भौतारिने गर्छन्। हरेक व्यक्ति आफूलाई बाँध्न दौडिरहेको यो युगमा खै स्वतन्त्रता? खै आत्मसम्मान? खै निजी सत्व? मात्र बजार छ, नौरङ्गी विज्ञापन र वस्तुमा परिणत बुख्याँचा छन् जसलाई बजारजिवी सत्ता ‘स्वतन्त्र व्यक्ति’ भन्छ। सायद यहीँ छ- प्रति वर्ष दश लाख मानिसलाई आत्महत्या गर्न बाध्य पार्ने दुर्खिमको ‘सामाजिक तथ्य’!

***

नोवेल पुरस्कार प्राप्त साहित्यकार अर्नेस्ट हेमिङ्गवेले आफूलाई गोली हाने, भनिन्छ साहसिक जीवनको मज्जा लिएर बाँचेको उनलाई बृद्धावस्थाको निरसता र कमजोर बँचाइसँग घृणा थियो। चित्रकार भ्यान गोगले छातीमा गोली प्रहार गर्नुअघि अनियन्त्रित मनोवेगको हदसम्म प्रसस्त आत्मसंघर्ष गरिसकेका थिए। आफ्ना कवितामा जिन्दगीभर मृत्युको यथार्थसँग निख्खर बौद्धिक र निर्वैयक्तिक दूरी कायम गरी प्रसस्त खेलेकी कवि सिल्भिया प्लाथले (दश वर्ष अघि मृत्युसँग मुखामुख हुन कार दुर्घटनामा आफूलाई पारेर बँचेपछि पनि) सायद अन्तिम पटक मृत्युको स्पर्श गर्न ओभनको ग्यास खोलेर भान्सामा आफूलाई थुनेकी थिइन्, र यही कारणले मरेकी थिइन्। उनले नोटमा डाक्टरको फोन नम्बर लेखेकोले उनी साँच्चै मर्न खोजेकी होइन, मृत्युसँग अनौठो परीक्षण गरिरहेकी थिइन् कि भन्ने पनि छन् । प्रसिद्ध जर्मन निबन्धकार एवं उपन्यासकार स्टेफन ज्विगले युद्धोपरान्त निस्सारता आत्महत्या गरेर सहे।

आर्थर कोएल्स्टरवाल्टर बेन्यामिन जस्ता संवेदनशील बौद्धिकले संसारको पागलपनलाई आत्महत्याले सहन उचित ठाने। व्यंग्यपूर्ण साहित्य लेखेर देश ब्युझाउने भैरव अर्याल गोकर्णबाट बागमतीमा आफूलाई फालेर ‘थुक्क दुनियाँ’ भनेजस्तै गरी गैदिए। को को त्यसरी गैरहेछन् हिसाब छैन। सायद असङ्गति सहने आफ्नै तरिका हो आत्महत्या। पचाउने सीमा एउटा विन्दुमा पुगेर सकिन्छ कि ! अब अरू तन्काउने इच्छाले ‘आइ एम सरी’ भनेको आफैले सुनेपछि मान्छे ओइलाउँछ कि ! म कहिल्यै ओइलाउदिनँ भन्ने अहंको शासनको निश्चित अवधि त हुन्छ नै।  तर मार्खेज वा हिट्लरको आत्मदाह जब्बर पाचन प्रणालीबाट आउँछ। र संवेदनशील लेखक र कलाकारको आत्महत्या चाहिँ सायद आत्मस्वीकृति हुन्छ।

***

आत्महत्याको समाधान खोज्नुपर्छ र यो अवश्य सम्भव छ। मनोवैज्ञानिकहरूले सुझाएका चरणबद्ध उपाय छन् :
१. आत्महत्या सोचिरहेको व्यक्तिको व्यवहार र अभिव्यक्ति चिन्ने मानकहरूप्रति जानकारी राख्नुपर्छ।
. तिनलाई सहयोग हुने र तिनले स्वीकार गर्ने तरिकाले तिनीसँग गरिने कुराकानीको नमूना बुझ्नुपर्छ।
३. प्रोफेसनल मनोचिकित्सकसम्म तिनलाई पुर्याउने, काम गर्नुपर्छ।
४. तिनको औषधि सेवन र नियमित मनोपरामर्शमा सहजीकरण गर्नुपर्छ।
५. नियमित रुपमा तिनको स्नेहपूर्वक हेरविचार गरी सामान्य अवस्थामा फर्काउन मद्दत गर्नुपर्छ।

तिनलाई यहाँ थप चर्चा गरिएको छैन। यहाँ व्यक्तिको निजी जीवन दृष्टिकोणसँग सम्बन्धित हुने केही विचारमा चर्चा गरिन्छ।

मान्छे मूल्याङ्कन गर्ने, आफूप्रति सचेत र आफूले के सोचिरहेको छु आफैँले देख्न सक्ने प्राणी हो भन्ने कुरा सबैलाई थाहा नै छ।  यसैमा मान्छेको असन्तोष, छटपटी र नैराश्य सृजना गर्ने आधार रहेको छ। आफ्ना मूल्य र मान्यतामा गल्तीहरू र पूर्वाग्रह पनि समेटिएका हुन सक्छन् भन्ने तिर पनि ध्यान दिनुपर्छ किनभने गलत मान्यताले नै अनावश्यक समस्या सिर्जना हुन्छन्।

अघाएपछि आफ्नै शिकार मृग नजिकैबाट जाँदा पनि सिंहले आक्रमण गर्दैन।  रतिरागको सिजन आएपछि मात्र अन्य जनावर मैथुन गर्छन्। स्तनधारी नै भए पनि तर यी दुवै कार्यमा मान्छे फरक छ। मान्छेलाई भोलिको चिन्ता आजै हुन्छ र जहिले पनि शारीरिक आनन्दको खोजीमा छटपट गरिरहन्छ मान्छे। मान्छेलाई जे पनि आवश्यकता भन्दा बढीको चाहना हुन्छ जबकी उपभोग गर्न सक्ने क्षमता भने उसँग सीमित छ। भैरहेको भन्दा ‘धेरै’ को इच्छाले मान्छेको अधिकांश मानसिक शान्ति खल्बलाइदिएको छ।

आफ्ना आवश्यकता र इच्छाको व्यवस्थापन गर्न नजानेर मान्छेले मानसिक स्वास्थ्यमा अनेक समस्या सिर्जना गरिरहेका छन्। आजको प्रतिस्पर्धाको युगमा, कसले कुन ब्रान्डको सामान कति खरिद गर्यो? त्यसको आधारमा सामाजिक प्रतिष्ठा र स्थान निर्धारण गरिने यो आवरणमा गुदी खोज्ने, प्रदर्शनकारी सँस्कृतिमा मान्छेले आफ्नो जीवनको वास्तविक आवश्यकता बिर्सिएर बजारमा आफूलाई केवल वस्तुको रूपमा प्रस्तुत गरिरहेका छन्। समाज जतिसुकै आधुनिक र जटिल भएपनि मान्छेले खोज्ने जीवनको अर्थ र मूल्य ससाना कुरामा सदैव उपलब्ध नै छन्। सामाजिक सञ्जालमा हजारौँ मित्र भए पनि सुख दुःख साट्ने सबैको एक दुई जना मात्र वास्तविक साथी हुन्छन् जसलाई आडम्बर प्रदर्शन गर्नु आवश्यक हुँदैन, जसले तपाईँलाई तपाईँ जे हो त्यही रूपमा बुझेका हुन्छन्।

तपाईं साँच्चै रमाउने निश्चित केही कार्य छन् जुन सीमित नै छन्। तपाईंले मेहनत साथ सिकेका सीप र विषयगत दक्षता पनि तुलनात्मक रूपमा सीमित नै छन्। तपाईँले साँच्चै चिन्तित भएर सोच्ने र विश्वास गर्ने विचार पनि सीमित नै छन्। तपाईँले लिने वास्तविक चासोका विषय पनि सीमित नै छन्। तपाईँले इमानदार भएर वास्तवमा नै बुझेका कुराहरू पनि सीमित छन्।

त्यसो हो भने किन आफ्नै सीमाहरू नस्विकार्ने ? किन ती सीमित विषयमा पूरा नडुब्ने ? आफूले चासो नदेखाए पनि हुने विषयमा किन बुझक्कड छु भनेर देखाउन पर्यो ? आफूले नबुझेको कुरामा जिज्ञासु मौनता किन नलिने ? आफूलाई अरुले दुर्व्यवहार गरेको मन पर्दैन भन्ने स्पष्ट बुझेर पनि किन अरुलाई चाहिँ दुर्व्यवहार गर्ने ? आफूलाई बुझ्ने इमानदार प्रयासमा अरुलाई पनि बुझिन्छ । जीवनलाई सरल रुपमा हेर्न सकिन्छ भने किन जटिल बनाउने ?

कहिलेकाहीँ सबै किसिमका धार्मिक ग्रन्थको अध्ययन गरेर हेर्नुहोस् – हाम्रा पुर्खाले जीवन र जगतलाई बुझ्ने प्रयासमा सिकेका बहुमूल्य ज्ञान छन् तिनमा, कल्पना र कविता छन् तिनमा, अज्ञात प्रतिको रहस्यमय उत्सुकतामा पुर्खाले महसुस गरेको विनयशीलता र समर्पणभावबाट निस्कने मौनता छन् तिनमा। आज हामी विज्ञान र प्रविधिका चमत्कारमा जीवनको अर्थ बुझ्न खोज्दैछौँ। यसमा आध्यात्मिक दृष्टि पनि सन्दर्भ सामग्रीको रुपमा सामेल गरी हेरौँ। पक्कै पनि सकारात्मक प्रभाव पर्नेछ।

पुराना दर्शनमा पनि विचरण गरौँ।  बुद्ध पढौँ र बुझौँ संसार केवल मनोरञ्जन र आनन्दको निरन्तर दौड मात्र होइन हाम्रा अनियन्त्रित इच्छाले निम्त्याउने अनवरत दुःखको बाढी पनि हो, आफ्नो आनन्द अलिकति पन्छाएर अरुको भलाई सोचेर करुणा व्यक्त गर्नुमा कति सुन्दरता छ महसुस गरौँ । स्टोइक दर्शन पढौँ र बुझौँ वास्तवमा प्रसिद्धि, धन सम्पत्ति र आडम्बरमा त्यस्तो आकर्षक केही छैन। वास्तविक खुसी आत्मसंयम र विवेकको सदुपयोग गर्नुमा छ। आफूलाई आफ्नै सीमाहरू र कमजोरीहरु सहित बुझ्नुमा नै ठूलो सुरक्षाको अनुभूति हुन्छ भन्ने बुझौँ ।

आफूले पूर्ण रुपमा उपभोग गर्न नसक्ने वस्तुहरूको बोझतल दबिनु भन्दा थोरै र अत्यावस्यक चीजहरू मात्र आफूसँग राख्नुको हलुकापन महसुस गर्न मिनिम्यालिजम पढौँ र अभ्यास गरौँ। मिनिम्यालिजम चिन्तनले भने जस्तै वास्तविक धनी मान्छे त्यो हो जो थोरैले सन्तुष्ट हुन्छ। गरिब त्यो हो जो धेरै भएर पनि त्यसमा सन्तोष महसुस गर्न सक्दैन। यसलाई बुझौँ।

आफूलाई सधैँ अरुले प्राप्त गरेको सफलताले मापन नगरौँ। हरेक सफल व्यक्तिको सफलताको पछाडि हामी सबैबाट लुकेको कठिन संघर्षको कथा रहेको हुन्छ भन्ने कुरा पनि मनन गर्नुपर्छ। संसारमा सबैले सफलता पाउनैपर्छ भन्ने आग्रह पनि नराखौँ। सबै जना प्रसिद्ध हुनुपर्छ भन्ने छैन। प्रसिद्धिको लागि आफूलाई सर्वाङ्ग अरुको अगाडि उघारेर राख्नुमा मूर्खता छ भन्ने बुझौँ।

हरेक व्यक्तिको आफ्नै विशेषता र क्षमता हुन्छन्। तिनलाई एकै ठाउँमा मिसाएर कसैप्रति कठोर मूल्याङ्कन नगरौँ। हरेक मान्छेलाई कसैले राम्रोसँग बोलिदिएको मन पर्छ, हरेकलाई आत्मसम्मान प्रिय लाग्छ जसरी तपाईंलाई लाग्छ । यसलाई बुझौँ ।

जीवन सीमित अवधिको लागि मात्र हो भन्ने नभूलौँ । सकेसम्म झुटको सहारामा कसैसँग सम्बन्ध नजोडौँ । कसैको भावनासँग गैर-जिम्मेदार व्यवहार नगरौँ । आफ्ना जिम्मेवारी पूरा मनले निर्वाह गरौँ ।

जीवनको निहित सौन्दर्य देख्ने क्षमता सबैलाई उपलब्ध छ । जीवनलाई उत्सव बनाउन सकिन्छ भन्ने कुराको ख्याल गरियोस् । स्मरण रहोस् – यत्तिसम्म निष्ठूरी नबन्नुहोस् न ! तपाईंको जिन्दगी कसैको मीठो सपना हो !

***

Facebook Comments

You may also like

error: Content is protected !!