सुसाइड नोट

याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ
कुनै मोडमा साथी पाईँदो रहेछ, कुनै मोडमा गुमाईँदो रहेछ….

राजेन्द्र थापाको रचना र प्रमोद खरेलको आवाजको यो गीत अर्को कोठामा बजिरहेको छ । दिउँसो गिफ्ट आएको मुराकामीको “अ वाइल्ड शीप चेज” ले छोइदिए नि हुने भन्दै नयाउरो हुदै टेबलमै लम्पसार छ । हिजो भर्खर निर्मलले भनेको कुरा सम्झेर झस्किँए । “रीड मुराकामी एण्ड सुसाईड” । मलाई अहिल्यै मर्न मन छैन ।

अरु केहि सम्झिन खोज्छु । साच्चै आज सम्म कति जना लाई पाँए, कतिलाई गुमाँए । सरररर् सबै याद गर्दा लगभग सबैको नाम यादै रहेछ । रमा, आयुषा, सुरज, आयुष्का, अरुना, स्मारिका, अन्जना, आरभ, प्रकृति..
प्रकृति..
ढक्क मुटु फुलेर आयो…

यकिन यो दिन भनेर याद छैन मलाई । मलाई गते याद गर्न एकदम कठिन लाग्छ, दिमागलाइ चाहिने भन्दा धेरै भार दिए जस्तो । महिना पौष को हो भन्ने झझल्कोमा ताजा छ । कक्षा ७ को थर्ड टर्म आउनै लागेको थियो, तर किताब हेर्ने कुनै जाँगर थिएन । समय लगभग ११ भन्दा धेरै भइसकेको थियो । तराईको चिसो सिरेटोले लगातार हानिरहेछ कान छेडेर गिदी सम्म पुग्नेगरी । घर पछाडीको परालको टौवा नेर टुक्रुक्क बसेर एकोहोरो हेरिरहेछु जल्दै गरेको कागज… ए सुसाइड नोटलाइ…

अतित भन्ने बित्तिकै कसैलाइ धेरै सम्झिरहूँ जस्तो लाग्दैन । मेरो मानसपटलमा पनि धेरै समय देखी बारम्बार एउटै झझल्को आइरहन्छ । केही महिना अगाडि प्रकृतिले मेरो नेपाली किताबको अन्तिम पाना भित्र लुकाई राखिदिएको सुसाइड नोट । बारम्बार याद आउनुको कारण, मैले त्यो सुसाइड नोट ५ दिन पछि मात्र भेटेँ । भेट्दा सम्म धेरै नै ढिलो भइसकेको थियो ।

सायद उनको चाहना नै समयमा नभेटियोस् भन्ने थियो होला र त नोट पनि कहिल्यै पल्टाउन जाँगर नलाग्ने नेपाली किताबको अन्तिम पाना अघि थियो । हुने कुरा भएर नै छाड्छ रे ! सायद मैले किन भयो यस्तो मलाई नै भनेर धिक्कार्नु पनि व्यर्थ नै होला । नियती र भाग्य भन्दा अगाडी पुग्छु भनेर अहिले सम्म को नै पुग्यो होला र ?

सागर,
सायद यो तिमीले पढिरहदा सम्म धेरै नै ढिलो भइसकेको हुनेछ । मैले यो सेतो पानामा कालो मसिले कोरिरहँदा यति थाहा छ कि भोलि म तिम्रो सामु वर्षौँ देखि हरेक घडी मलाई पिल्स्याइरहेका सबै बह छताछुल्ल बनाएर रित्तिनेछु । रित्तिने हिम्मत भएन भने यो नोटले काम गर्ला । तिमीसँगको संगत मेरो ६ दिनको भयो । तर पनि यस्तो लाग्छ कि तिमी कुनै जन्ममा मेरै थियाै । र त मेरो हरेक माैनता बुझेर पनि नबुझेझैँ गर्छाै, कतै मेरो मन दुख्ने हो कि भनेर ।

सधैँ झैँ हामी स्कुलबाट फर्किदा प्रभु राजाको फारम पछाडी शीतलमा बस्ने क्रमले मेरो मनमा भने जलन ल्याइरहेको थियो । धेरै कुरा भन्न मन लाग्दा लाग्दै पनि म शब्दविहीन भइरहेँ । यो सब तिमीलाई थाहा हुँदाहुँदै पनि कहिल्यै आँफै प्रश्न गरेनाै / गर्न चाहेनाै । मैले तिमीलाई बुझ्न खोज्दा पनि सकिनँ र तिमी सब बुझेर पनि माैन थियाै । सायद माैन बसेर नै तिमीले हामी बिच सिमारेखा बनाइसकेको थियाै । खैर ! जे भए पनि म टाढिदै नै छु । कतै तिमीलाई यो पनि त थाहा थिएन नि ?

मलाई पनि तिमीलाई जस्तै गते र समयको कहिल्यै हेक्का रहँदैन । म तिन वर्ष को हुँदा आमा भगवानको बस्ती तिर बसाइ सर्नु भएको रे ! त्यसदिन देखि तिमीलाई नभेटुन्जेल म नितान्त एक्लो थिएँ । एक्लोपन नै मेरो हितैसी मित्र भइसकेको थियो । तर म तिम्रो साथ पाएदेखि झन् भित्र भित्रै निसास्सिएको छु; अल्मलिएको छु; सधैँ गन्तव्य खोजिरहने म, तिमी मै आएर टुंगिएको बाटो । भासिँदै छु तिम्रो आँखाको गहिराईमा । तिमीमै हराउन थालेको छु, जुन मेरो लागि यस जन्ममा लेखिएकै हैन ।

आफ्नो नाममा नलेखिएको कुरालाई जबर्जस्ती मेरै हाे भन्न पनि त भएन नि, हैन ?

समय : रातको ११:५७

घडी को टिक-टिक आवाज पनि झिँजो लाग्दैछ / बगिरहेको हावाको वेग पनि झर्को लाग्न थालेको धेरै भैसक्यो । सिलिङ्ग फ्यानले फ्याकेको तातो हावाले जिउभरी कोर्रा लगाउँदै छ । वर्षौँदेखि यही घटनाचक्र दोहोरीए पनि असहिय भएको छ आज । काँतर भएको छु ।

वरिपरि घुमिरहेको तातो वाफ, घडी, झुल, खाट, कुर्सी, टेबल, कलम, किताब, ह्यांगर सबै-सबै निर्लज्ज भएर मेरो नाङ्गो बलात्कृत शरीरको गन्ध सुँघीरहेछन् । हुन त लाज पनि कति लागोस्, यहि क्रम दोहोरिएको वर्षौँ भइसक्यो । सायद आजसम्म त लाज पनि पचाइसक्यो होला ।

Image Source: Painting by Allison Dunavant

हरेक रात उही प्रक्रिया दोहोरिन्छन् । बारम्बार, म माथि चढेर आफ्नै भनाैदाहरुको हात हरेक अङ्गमा सलबलाउछन्, निचोर्छन्, चिथोर्छन् । मेरो वरिपरी बसेर हेरीरहने यी सब निर्जिवहरु राक्षसी कामुकता प्रति तालि पिट्छन् अनि मेरो नग्नता देखेर खिल्ली उडाउँदै हास्छन् । जलिरहेको आत्मिय भट्टीमा पिल्सिरहेको शरीरको आनन्द लुट्छन् हरेको रात आफ्नै स्वादमा ।

घन्टौदेखि आँशु चिउँडो हुदै नाङ्गो चिथोरिएको छातीमा खस्दैछ । तप्प तप्प… । कुनै दिन आँखा देखि खस्न नपाउँदा उकुसमुकुस हुन्छन् होला यी आँखा भरि छचल्किरहने नुनिलो महासागर । हरेक रात यसैगरी बगिरहने नुनिलो पानीले चिथोरिएका घाउमा मलमपट्टी गर्ने गर्छन । तर आजकल दिउँसो भने तिम्रो बोलीले संजीवनीको काम गर्दैछन् । संजीवनीले मान्छे अमर पनि त हुँदैन होला ! जन्मे पछि मर्नु नै जिन्दगीको धर्म हो । तिमीले / मैले पनि यो धर्म निभाउनै पर्छ । तिमीले केही ढिलो, र मैले चाँडै ।

हुन त मलाई पहिल्यै चेतावनी दिइसकिएको थियो कोही को नाजिक नहुनु भनेर । समय र नियती, सबै नै विरोधमा छन् । परिणाम भोग्ने पर्छ । त्यसैले जानै पर्छ मैले । आमा पनि छोरीसँग भेट्न आतुर भैसक्नु भयो होला । बर्षौ देखी एक्लै बस्दा अत्तालिसक्नु भयो होला । कति कुराउनु आमालाई पनि ।

म सँग समय हुन्थ्यो भने पक्का पनि तिमीलाई मेरो बाहेक कोहिको हुन दिने थिइनँ । तिमी मेरै हौ भनेर भन्न सक्दिन म ( मन भएता पनि ) ! मलाई यसपाली समयले साथ दिएन, अर्कोपालि भावीलाई घुस खुवाएर भए पनि यो भाग्यमा तिम्रै नाम कोर्न लगाउनेछु ।

उही
तिमीलाई चोखो माया गर्ने,
बिटुली प्रकृति

Image Source: tocka.com.mk

Facebook Comments

You may also like

Leave a Comment

error: Content is protected !!