अवचेतन

अपराह्नको समय थियो, सेता बादलका टुक्राटुक्रीले सजिएको दुधिलो आकाशको सतहमा रंगीचंगी चराहरू उडिरहेका थिए, सिरसिर हावा बत्तिरहेको मध्यान्नको वातावरण स्निग्ध थियो  । चराहरूको लयसँगै म पनि दौडिरहेको थिएँ  । यत्तिकैमा म अनकन्टार अँध्यारो गुफामा प्रवेश गर्छु  । जताततै कालोले पोतिएको कहाली लाग्दो वातावरणले टाउको फुलेर ठूलो हुन्छ, खुल्ला चौरमा चराहरू उडेको हेर्दै दौडिरहेको म अचानक अत्यासलाग्दो परिवेशमा कसरी आइपुगेँ ? एकछिन बिमुढ हुन्छु  । फर्किन बाटो खोज्दा सबैतिर अन्धकार छ  । मनभित्र डर र अन्योलग्रस्तताको मिश्रणले, म आफ्नो सचेतनालाई इन्द्रिएको बोधसँग थाम्न सक्दिनँ, शरीर कम्पित हुन्छ  ।

Grief and Loss, DNA India

Grief and Loss, DNA India


अचानक झल्यास्स ब्यूँझिएँ, सपना पो रहेछ  । उठेर निकै बेरसम्म पनि मुटु ढुकढुक भइरहन्छ  । बत्ती बालेँ, एक गिलास चिसोपानी कलकल पिएँ  । अनि वरिपरिको माहोल नियालेँ, सब लथालिङ्ग छ कपडा टेबलमाथि चाङ । रन्त्नपार्कको फुटपाथमा ५०० को दुई’टा भनेर बेच्न राख्या जस्तो छरपस्ट, जुता र मोजाको तीखो गन्धले बागमतीको किनारलाई चुनौती दिँदै छ । गुफाको र कोठाको बास्ना लगभग उस्ताउस्तै छ ।

नित्यकर्म सकेर चिया बसालेँ । चिया उम्लिएको कर्कश आवाजले मामाको निद्रा खलबलियो मामा पनि उठे । मामा मेरै उमेरका हुन् । हामी सँगसँगै हुर्केका त्यसैले मेरो सम्बोधन मामाप्रति अलि असुहाउँदो छ, “तिमी” । एकजना लाई पकाएको चिया बाँडेर खाइयो । आज अर्थशास्त्रको इक्जाम नोट खोज्दा खोज्दै आधा घण्टा त बितिहाल्यो । अब पढ्ने समय आधा घण्टा छ, छिटो छिटो पाना पल्टाएँ । पढाइ त त्यस्तै हो, पाना पल्टाएर भएपनि मनोशान्ति गरियो । मामालाई म हिँडेको सन्देश दिएँ साथै कोठाको व्यवस्थापनको जिम्मेवारी पनि ।

बस स्टप पुग्दा ६ः३० भएछ १५ मिनेट कुरेपछि बल्ल बस आयो । लास्टको सिटमा गएर बसेँ । अगाडिका प्राय सबै सिट खाली नै थिए तापनि मेरो खोपडीले पछाडि नै बस्न आदेश दियो । बिहानीको चिसो हावाको सिरसिर र सेलाएको वातावरणले म मा बसको झ्याल खोल्ने आँट आएन । अचानक अराजक आवाज सुनियो, “हाऊ !” ।  झस्किएर यस्सो हेर्दा मणी पो रहेछ । क्लासको टप केटो, पढन्नदास ! ऊ मेरो औंलामा गन्न सकिने साथीमध्यको एक हो । हाम्रो घरपनि छिमेकी गाउँँ भएर होला भातृत्व प्रगाढ छ । कम बोल्ने अन्तर्मुखी स्वभावको उसमा अलौकिक आत्मविश्वास छ । मलाई सधैँ प्रेरक कथा, प्रसङ्ग र जिन्दगीको केही आयाममा सफल भएका व्यक्तित्वको जीवनी सुनाएर दिक्दार पार्छ । 

Contemplation, Artmajeur

Contemplation, Artmajeur


मित्रपार्क आइपुगियो । बसबाट झरेर सरासर कलेज गइयो । इन्टर्नल इक्जाम भएकाले म मा त्यत्ति जाँगर छैन । तर मणी घण्टीको व्यग्र प्रतिक्षामा छ । मलाई भने समय कटाउन गाह्रो पर्यो । रातभरिको निद्राले पनि एकै छेऊ नपुगेको भान भइरहेको छ । यस्तो पट्ट्यारलाग्दो समय कटाउन मैले मणीलाई क्यान्टिन जाने प्रस्ताव राखेँ तर उसले ठाडो असहमति जनायो । ऊ सधैँ सुरुमा यसै गर्छ तर मेरो निरन्तरको आग्रहले ऊ पग्लिहाल्छ । गइयो एक – एक कप ब्ल्याक कफी पिएर सरासर इक्जाम हल छिरियो । म एक घण्टामै पेपर सल्टाएर बाहिर आएँ र उसलाई कुरेर फेरि कफी पिउँदै बसेँ । अझै पनि ऊ न आएपछि म गार्डेनतिर लागेँ । हरियाली देख्दा मन यसै प्रसन्न हुन्छ, दुई गमलामा बोन्साइ र वरिपरि गुलाफ, चमेली, पारिजात छन् । कुनातिर केही क्याक्टस र वालमा आइभी लहरा लत्रिरहेको देख्छु ।

वातावरणको सानिध्यले मलाई सहनशीलता र गम्भीरताले छोपेको थियो । म मणीलाई नियाल्छु उसको गम्भीर र भ्रान्त व्यक्तित्व देख्दा लाग्छ उसले आफूभित्र सिङ्गो युग बोकेर हिँड्ने गरेको छ । आफूमा स्थापित नैतिकताको पालना ऊ कहिलै तोड्दैन । नवीन मान्यताहरूलाई ऊ लत्याइदिन्छ । एकचोटी कुनै मान्यता स्थापित भइसकेपछि ऊ त्यसलाई ठोस बनाउँछ । यति ठोस कि त्यसको एक कणले पनि हिल्नका लागि कुनै सुक्ष्म छिद्रसमेत नपाओस् ।

परम्परागत पक्षलाई ऊ कहिल्यै खण्डित गर्दैन । आफ्नो दृढ सङ्कल्प र आत्मविश्वासले नवीन मान्यतालाई भने सधैँ चुनौती दिइरहेकै हुन्छ । समग्रमा भन्नुपर्दा उसमा आत्मविश्वास उल्लेख्य बलियो  छ ।

मैले थाहा पाए अनुसार पहाडको अङ्गालोमा बेरिएको एक अविकसित गाउँँबाट ३ बर्ष अगाडि ऊ सहर भास्सिएको थियो । सुरुसुरुमा ऊ गाउँँको पँधेरो, मैदान, वन, खेतबारी, ,गोरेटो गर्दै बितेका दिनहरू सम्झिन्थ्यो । छिमेकी गाउँको भएपनि  लाई उसको पारिवारिक कुरा रत्ति थाहा छैन ।

बेलुका खाना खाँदै गर्दा घरबाट फोन आउँछ –
” बाबू गाउँँ आइजो कुन्नि के जाती मान्छे मार्नी भाइरस आइछ रे । २/४ दिनपछि गाडी पनि नचल्नी जस्तो हल्ला छ ।”

मलाई यो सब मिथ्या लाग्छ । बाउआमालाई तनाव नहोस् भनेर हुन्छ भन्छु । म समाचारहरूमा त्यत्ति अप्डेट हुने खालको मान्छे हैन । अलिअलि कोरोना कोरोना भन्ने चाहिँ सुन्या हो बजारमा हल्ला । खाना खाएर सुत्ने बेला फेसबुक खोल्छु । सधैँ उजाड मरुभूमिजस्तो रहने इन्बक्स मा एउटा मेसेज आएको रहेछ । उत्सुकतासाथ खोलेर हेर्छु क्याम्पसको ग्रुपको रहेछ । सुचना जस्तो लाग्यो । मलाई सुचना पढ्न खासै मन त लाग्दैनथ्यो तैपनि यो महामारीको बेला न क्याम्पस बन्द हुने सम्बन्धमा पो हो कि ? भनेर खोलेँ ।  नभन्दै हो नै रहेछ । मेरो खुशीले सिमा नाघिसकेको थ्यो । हत्त न पत्त मणीलाई फोन गरेर जानकारी दिएँ । ऊ पनि खुशी नै भयो । बिस्तार बिस्तार पूरा सहर बन्द हुन थाल्यो । लाग्थ्यो म कुनै उजाड मरुभूमिमा डेरा लिएर बसेको छु ।

लकडाउन भएको दुई महिना बित्यो आक्रान्तता र भयवितता मान्छेको मनबाट अझै उडेको छैन । त्रासदी, मनमा जेलिएको छ । म गाउँँ जान पाएको थिइनँ । पैसा सकिएर हालत खराब थियो । साथीभाइसँग पनि सम्पर्कमा न आएको धेरै भो । प्रायः जसो सधैँ घरमै हुन्छु । आफ्नो कोठाको बरण्डामा बसेर बालसुलभ मनको विस्फारित कामनाहरू केलाउँदै । नाङ्गिएका हाँगा, काला झ्याल, अपरिचित मानिस, एकसरो घर, सतर्क समय, टाढिएको वसन्त र हानिकारक जीवाणु, इत्यादि बिचको धरातलमा ।

सदाझैं बेलुका खाना बनाउने जिम्मेवारी पूरा गरेर म बसिरहेको छु । मामा बौद्ध जान्छु भनेर बाहिर निस्कन्छन् । अचानक मेरो कानमा बाहिरबाट आएको आतंकित आवाज पर्छ । मामा फोनमा कसैसँग कुरा गर्दै थिएँ  ।

म ससङ्कित भएँ, कसलाई के भयो ? माम लाई सोध्नै नपाई ऊ हिँडिहाले ।

मामाको र मणीको एउटै गाउँँ हो तर उनीहरूको त्यति केमिस्ट्री मिल्दैन जति मसँग मिल्छ । गाउँँतिर केही भएछ कि भनेर बुझ्न मैले मणीलाई फोन गरेँ तर उसले फोन उठाएन । दोस्रो पटक गरेँ, फेरि पनि उठाएन । १०औं पटकको फोन पनि नउठेपछि मन चिसो भएर आयो । हतार हतार गरेर म मणीको कोठामा पुगेँ । त्यहाँ भीड जम्मा भएको रहेछ । मेरो आँखामा अनौठोपन छ्याङ्गिसकेको थियो । म ढोकातिर अघि बढेँ, मेरो मस्तिष्क चेतशून्य भयो । अघिल्तिर मणी चिर निद्रामा छ । उसलाई उठाउने लाख कोसिस गरेँ तर ऊ कसै गरेपनि उठेन ।

त्यहाँको भीड मेरो याचना र चित्कारको मौन दर्शक बन्यो, मेरो अवरुद्ध गलाको चित्कारले वातावरण कोलाहल बन्यो, आफूलाई सम्हाल्ने कोसिस गर्दै म कोठामा उसकोअन्तिम सन्देश खोज्न थालेँ ।  एउटा पर्ची टेबलमा कलमले थिचेर राखेको देखेँ ।

ऊ बच्चै हुँदा कामज्वरोले उसको बुवाको अकाल मृत्यु भएको रहेछ। घरमा चरम आर्थिक मन्दिको अवस्था आएपछि उसको आमाले पनि धर्म छाड्नुभएछ, बच्चैमा टुहुरो भएको मणीको लालनपालनको जिम्मा गाउँका साइला हजुरबाले लिएका रहेछन । बचपन सुखैसँग बिताएतापनि मणीलाई सधैँ बुवाआमाको अभाव खड्किरहन्थ्यो, मणी सुनसान घरमा (पुरानो घर) कहिलेकाहीँ एक्लै गएर आमालाई पर्खिन्थ्यो ।

ती पर्खाइले गम्भीर बनेका आँखामा कसरी छचल्किन्थे जिन्दगीका गतिहीन गतिशीलताहरू ?

चिठी हेर्दै गर्दा मणीको रहस्यमयी व्यक्तित्वको कसीहरू एक एक गरी खुल्दै थिएँ  । दुई महिनाको एकान्तबासको पट्ट्यारताले मणीको सङ्कल्पलाई जगैदेखि हल्लाइदिएको थियो । ‘खाली दिमाग सैतानको बास’ भनेजस्तै उसका विचलित भावनाहरूलाई ठोस घटनामा बदल्न एकान्त बासले नुनचुकको काम गर्यो । दुई महिनासम्म एउटै कोठामा थुनिएर बस्दा ठूलो पीडाले जकडेको मणीको अवचेतनमा जीवन बाँच्ने रहर र मर्ने प्यासको युद्ध पर्यो, जसमा मर्ने प्यासले जित्यो । लकडाउनले मृत्यु त कहाँ छेक्न सक्दोरहेछ र ? यो लकडाउनको बिच एउटा प्रशस्त आयु र यथेष्ट भविष्य सँगालेको कलिलो ठिटोले यो संसारबाट हतास-हतारमै बिदा लियो । भाइरसले होइन उसलाई उसको आफ्नै अवचेतनले लग्यो । 

Anxiety, Depression

Anxiety, Depression


मलाई यो क्रुर रातमा कठोर विवशताले समात्यो । म विकल्पहीन भएर त्यसलाई महसुस मात्रै गरिरहेँ !

Facebook Comments

You may also like

error: Content is protected !!