सिनेमाको अवचेतन शक्ति

सिनेमा हेरिन्छ किन ?
एउटा साधारण जवाफ पेश गर्न सकिन्छ । तपाईं भन्न सक्नुहुन्छ, सिनेमा हेरिन्छ मनोरञ्जनको लागि । सहि ! सोह्रै आना सहि । तर के सिनेमा मनोरञ्जन कै लागि मात्रै बनाइन्छन/हेरिन्छन् त ? सिनेमाको मूल उदेश्य मनोरञ्जन मात्रै हो त ? सिनेमा बनाइन्छन् कथा भन्नलाई । मान्छेलाई कुनै पनि विचार, समूह र आस्थाप्रति आकर्षित गराउनलाई पनि सिनेमा बनाइएका छन् । सिनेमाहरू व्यापारिक परियोजनका लागि पनि बानाइन्छन् । हुन सक्छ हामी सिनेमा केवल मनोरञ्जनका लागि हेर्छौँ तर सिनेमा मनोरञ्जन मात्रै भने पक्कै होइन ।

सिनेमा २४ फ्रेम प्रति सेकेण्ड चल्ने चित्र मात्रै होइन । ‘Alexandre Astruc’ ले भनेजस्तै सिनेमा एउटा भाषा बनिरहेको छ । यस्तो भाषा जसको माध्यमबाट भावनाहरू र कथाहरू भन्न सकिन्छ । दिनानुदिन भोगिरहेको जीवनबाट निस्किएर नयाँ दुनियाँमा जाने माध्यम हो सिनेमा । जिउन नसकेको जीवन जिउन सक्छौँ हामी सिनेमा मार्फत । हामीले भोगेका भावनाहरू पुनः भोगेर पात्रहरूसँग सहमत हुन सक्छौँ । नभोगेका भावनाहरू पनि ती पाात्र मार्फत भोग्न सक्छौँ । मानवको दिमाग नै त्यसै गरी बनेको छ । हामी अरुका पीडा, खुसी, रिस आदि इत्यादि भावनाहरू महसुस गर्न सक्छौँ । हामी भावनाहरूसँग जोडिन सक्छौँ । अरु कसैको भावना हाम्रा भावनासँग मिल्दोजुल्दो हुँदा हामी उनीहरूसँग नजिकिएको महसुस गर्छौँ । हामी सिनेमा यिनै भवनाको खोज गर्न हेर्छौँ ।

सिनेमा हेरिरहँदा सिनेमाका पात्रहरूसँग हामी आफैँलाई दाँज्छौँ । हामी उनीहरूमा आफूलाई खोज्छौँ र पाउँछौँ पनि । त्यसैले त ‘सेबास्टियन’‘मिया’ले अन्तिममा आँखा जुधाउँदा नजानिँदो पीडाले हामीलाई पनि समाउँछ । त्यसैले त ‘यान्डि’ जेल तोडेर भाग्दा हामीलाई खुसी मिल्छ । ऊसँगै हामी पनि चरा हुन्छौँ । ‘गाइतोण्डे’को धम्कीमा हामी पनि भयभीत हुन्छौँ । ‘क्रिस्टोफर गार्डनर’ले जागिर पाउँदा हाम्रा पेटमा पुतली कुदिदिन्छन् । ‘ह्यारी पोटर’को जीवनको लागि हामी पनि कामाना गर्छौँ । हामी पात्रसँग जोडिन्छौँ र जोडिनकै लागि फिल्म हेर्छौँ ।

हामी सिनेमा हेर्छौँ, बाँचिरहेको यो दुनियाँ बाहेकको अर्को दुनियाँमा बाँच्न । हामीले गर्न चाहेका तर नसकेका कुराहरूको लागि सिनेमाले प्रयोगको काम गर्न सक्छ । सिनेमामार्फत हामी विगत र भविष्यमा चहार्न सक्छौँ । सिपाही नभएकाहरूले सिपाहीको जीवन बाँच्न सक्छन् । हवाईजहाज नऊडाएकाले हवाईजहाज उडाउन सक्छन् । कहिल्यै सगरमाथा नचढेकाले सगरमाथा चढेर त्यहाँको काहालीलाग्दो खोँच हेर्न सक्छन्, त्यहाँको ‍सुन्दरता हेर्न सक्छन् । संसारको अन्त्य कस्तो हुनसक्छ, सिनेमाद्वारा हामी त्यो महसुस गर्न सक्छौँ । हामी छिर्न सक्छौँ घना जंगलहरूमा सिनेमाकै मार्फत । र यी सबै कुराहरू महसुस गरिरहँदा हामी मनोरञ्जन पनि पाउँछौँ । मनोरञ्जन सिनेमाको ‘बाइ-प्रोडक्ट’ हो, उदेश्य होइन । हुनु पनि हुँदैन । जब कलाको उदेश्य मनोरञ्जन प्रदान गर्नु हुन्छ, कला मर्छ ।

कला र जीवन ऐना हुन् एकअर्काका । यी परिपूरक छन् । एकले अर्कालाई प्रेरणा प्रदान गरिरहेकै हुन्छन् । त्यस्तोमा एकबाट अर्को प्रभावित नहुने भन्ने नै हुँदैन । यो कुरा सिनेमामा झन् धेरै लागु हुन्छ । मान्छेहरूबाट सिनेमा प्रभावित त भएकै छ तर सिनेमाबाट मान्छेहरू पनि प्रभावित हुने गर्छन् । सिनेमाले मानिसमा पार्ने सामान्य असरहरूबाट सुरु गरौँ । कलाकारले बोलेको जस्तो बोली बनाउने, उनीहरूको जस्तै कपाल काट्ने, उनीहरूले जस्तै लुगा लगाउने कुराहरू नयाँ होइनन् । उदाहरण टन्नै छन् । हामी उनीहरूको नक्कल गर्न खोज्छौँं किनकि उनीहरूले त्यो गरिरहेका छन् जुन हामी सक्दैनौँ । हामीहरू जो हुन चाहन्छौँ उनीहरू ती भइरहेका हुन्छन्, पर्दामा । हाम्रो बोलिचाली, हाम्रो लुगा लगाइ फेर्न सक्ने सिनेमाले कुनै कुराप्रति हाम्रो दृष्टिकोण फेर्न नसक्ला त ?

दुई चार-मिनेटको सानो विज्ञापन हेरेर के सामान किन्ने, के नकिन्ने भनेर हामी फैसला गर्छौँ । त्यति सानो विज्ञापनले त हाम्रो रोजाइमा फरक पार्न सक्छ भने सिनेमाले सक्दैन भन्नु मूर्खता हो । यसले हाम्रो बोलाइ, लुवाइमा मात्रमा परिवर्तन नल्याएर कहिलेकाहीँ जीवनमा पनि परिवर्तन ल्याउन सक्छ । हाम्रा सोचहरू परिवर्तन गराउन सक्छ । हामीले भिरेको सिद्धान्तमा कायापलट ल्याउन सक्छ । जनमानिसको राजनैतिक, धार्मिक वा सांस्कृतिक मान्यतामा परिवर्तन ल्याउन बनाइने सिनेमाहरू टन्नै छन् । त्यस्ता सिनेमालाई ‘प्रोपगाण्डा’ सिनेमा भनिन्छ । सिनेमाको तागत बुझेका हिटलरले ‘प्रोपगाण्डा’ सिनेमा बनाउन लगाएका पनि थिए ।

खैर, ‘प्रोपगाण्डा’ सिनेमा बनाइन्छन् नै जनमानसको सोचमा परिवर्तन ल्याउन । तर ‘नन्-प्रोपगाण्डा’ सिनेमाले पनि मानिसको सोचमा परिवर्तन ल्याउन त सक्दछ नै । ‘इन्डियाना जोन्स’ पछि पुरातत्वविद्को मात्रामा वृद्धि आएको थियो । ‘लक्ष्य’ पछि सेनामा भर्ति हुनेमा वृद्धि आएको थियो । चलचित्रमा देखाइएका ठाउँहरूको पर्यटन व्यवसाय ह्वात्तै बढेको पाइन्छ । सन् २०१९ को सिनेमा ‘जोकर’मा एउटा दृश्य छ जसमा ‘जोकर’ बनेका ‘वॉकिन फिनिक्स’ एउटा सिँढीमा नाच्छन् । सिनेमा चल्नु भन्दा अगाडि त्यो सिँढी सामान्य थियो तर सिनेमापश्चात त्यो पर्यटन थलो बन्यो । यस्ता अन्य उदाहरण पनि छन् । यी त राम्रा कुराहरू भए तर के सिनेमाबाट प्रभावित भएर नराम्रा कुराहरू भएका छैनन् त ? अवश्य छन् ।

‘फाइट क्लब’ पश्चात अमेरिकामा वास्तवमै कैयौं ‘फाइट क्लब’हरू खोलिए । यहाँसम्म कि सन् २००९मा ‘म्यानह्याटन’मा घरेलु बम विस्फोटन गरेको आरोपमा १७ वर्षे युवकलाई हिरासतमा लिइएको थियो । न्यु योर्क प्रहरी विभागका अनुसार आरोपीले ‘फाइट क्लब’को ‘प्रोजेक्ट मेहेम’को नक्कल गर्न खोजेको बताएका थिए । ‘जोडियाक किलर’बाट प्रभावित भएर ‘एडि सेडा’ नाम गरेका व्यक्तिले न्यु योर्कमा ‘जोडियाक किलर’कै शैलीमा हत्या गरेका थिए । सन् २००५मा संगिता मगर र सिमा बस्नेतमाथि एसिड फ्याँक्ने जीवन बि.क. पनि हिन्दी सिरियलबाटै प्रभावित भएको कुरा अगाडि आएको थियो ।

‘फिल्म कम्प्यानियन’को एक अन्तरवार्तामा भारतिय अभिनेता ‘विजय देवरकोंडा’ले भनेका छन्- “कुनै पनि मानिसले गर्ने व्यवहार पछाडि घरको माहोल, विद्यालयको माहोल, अभिभावकको व्यवहार जस्ता धेरै कारणहरू हुन्छन् । सिनेमा मात्रले कसैको व्यवहार परिवर्तन गराउन सक्दैन ।”

हो, सिनेमा मात्रैले कसैको व्यवहारमा परिवर्तन ल्याउन नसक्ला तर सिनेमा त्यो परिवर्तनको आगो सल्काउन सहयोग पुर्याउने झिल्का भने बन्न सक्छ । त्यसोभए के सिनेमालाई त्यस्ता परिवर्तनका लागि जिम्मेवार ठहर्याउन मिल्छ त ? मिल्दैन । तर सिनेमा आफैँमा जिम्मेवार हुनु भने पर्छ । सहिलाई सहि र गलतलाई गलत देखाइएको हुनु पर्छ । त्यतिका बाबजुद पनि कोही प्रभावित हुन्छ भने त्यसको जिम्मेवार त्यही मानिस हुन्छ । आखिर सिनेमामा हत्या गरेको देखेर कसैले हत्या गर्छ भने त्यसको कारण केवल उसको मानसिक असन्तुलन हो । त्यसैगरी सिनेमामा देखेकै भरमा कसैले समाजमा क्रान्ति ल्याउन खोज्छ भने त्यो यसकारण कि उसको अनुसार समाजमा क्रान्तिको आवश्यकता थियो ।

तपाईं भन्नुहोला माथि सिनेमाले सोच, धारणा र जीवनमा असर पार्छ भन्छ र मुनि भने सिनेमा जिम्मेवार हुँदैन भन्छ भनेर तर तपाईं आफै सोच्नुहोस्, के सिनेमाले सबैलाई असर पारेको छ त ? सिनेमा हेरेर के सबै बिग्रिएका छन् त ? सिनेमा हेरेर के बिग्रिएका सबै सुध्रिएका छन् त ? छैनन् । यो सबै भन्नुको तात्पर्य सिनेमाले असर पार्न सक्छ, पार्न दिने कि नदिने भन्ने कुरा भने हाम्रो आफ्नै हातमा हुन्छ ।

Facebook Comments

You may also like

error: Content is protected !!