अपरिचितको कथा

यो कालो रातमा म जीवनको एउटा कथा लेख्न बसिदिएको छु । हुन सक्छ, उसका कथाका निम्ति धेरै मसी चुहिसके, धेरै पन्नाहरु भिजिसके । वा हुन सक्छ ऊ कुनै नलेखिएको कथाको अपरिचित हो, तर पनि मैले उसलाई भेट्टाएको छु । अहिले ऊ मेरो सचेतनाको पर्दा उघारी निस्किएको छ । कुनै निर्विकार रातमा लम्पसार तालको छातीमा सल्बलाइरहेको आकृति झैँ, ऊ मेरो कोठाभरि अविस्मित उभिरहेको छ।

जीवनमा कयौँ घटनाहरु यस्ता हुन्छन् जसलाई न ओकल्न सकिन्छ न त निल्न नै । कुनै व्यक्तिगत डायरी जस्ता हुन्छन् ती कुराहरु जसलाई फुर्सदको बेला हामी निहाल्न खोज्छौँ वा दिनहरुको निमेषमा ब्यूँझाइदिन्छौँ । त्यस्तै घटनाहरुको संचितीमा अहिले म उसलाई मेरो एकदम नजिक पाइरहेको छु । उसले मेरो हातबाट दशको नोट लिँदा छोइएको औँलाको एक झलक स्पर्शभन्दा नजिक । ऊ टुहुरो होइन, पक्कै पनि ऊ टुहुरो होइन । यतिसम्म मलाई थाहा थियो । कौशलटार चोक, बस स्टयान्ड छेउ, ऊ ठिक एउटा स्टेसनरी अगाडि कच्ची माटोमा केही कोर्दै थियो जुन उसका हातका रेखा झैँ निर्अर्थक थिए उसका लागि ती । मैले सामान्य अड्कल काटेँ । ऊ त्यही हुलमा पर्छ, जहाँ भारत र मधेसबाट मान्छे अपहरण वा जबर्जस्ती गरि नेपाल भित्राई माग्न विवश बनाइन्छ । रिस र दयाले म सधैँ खुम्चिन्छु । यस्तो रोग जताततै फैलिएको छ र म प्राय मुख फेरिदिन्छु, पलायन भइदिन्छु यस्ता कुराहरु प्रति । मलाई सम्झिराख्नु छैन कि युद्ध अहिलेसम्म सक्किसकेको छैन । मसँग, म जतिकै वा मभन्दा बढी सभ्य ढाँचाका मान्छे, कसैसँग पनि यो विरोधाभास ब्यूँझाइराख्ने जाँगर पटक्कै छैन।

जम्मामा, म त्यस एकदमै सामान्य घटनाप्रति झस्किएको थिएँ । कहाँ दमित राखेको थिएँ मैले मेरो व्यक्तित्वको त्यो पाटोलाई ? उसको छेउ पुग्दा मलाई लाग्यो ऊ रोइरहेको छ तथापि ऊ रोएको थिएन । तर हो, उसका च्यात्तिएका कपडा रोइरहेका थिए, टाउकोमा गुज्मुजिएको कपाल रोइरहेका थिए र ती सुकेका हातगोडा रोइरहेका थिए । ऊ नजिक फिजिएको मैलो रुमालमा अरु स-साना नोटहरू माझ २० को नोट खसालिदिएँ । त्यो केही होइन तर कर्तव्य, धर्म, मुल्य र सायद अहम थियो त्यो जो मेरो छातीसम्म आइपुगेको थियो । तर उसको तटस्थताले मलाई छक्क पारिदियो । मैले आँखा अझै टक्टकाउँदै उसलाई हेरेँ । खोइ त त्यो कृतज्ञता, त्यो याचना, त्यो दुखेका आँखा, त्यो मर्मपूर्ण सम्मानका वाणीहरु ? ऊ प्रतिक्रियाहिन थियो मानौँ भर्खरको घटना उसँग एकदम असम्बन्धित छ । खोइ त लाचारीले व्याप्त भावनात्मक छनक, खोइ उसका हात जोडिएका मेरो मानवताप्रति ? के मैले खसालेको दामसँगै उसले मेरो व्यक्तित्व उच्च पारिदिनु पर्ने होइन ? तर ऊ म पट्टि हेर्दै हेर्दैन, मानौँ त्यो २० रुपैयाँ केवल एक अवशेष हो उसको अस्तित्वको, ऊ केवल भइदिएकोमा पाएको इन्साफ मात्र हो त्यो । त्यसबेला मात्र उसको जीवनको गन्ध बलियो भएको थियो मेरो मस्तिष्क भरि । क्रमश: सिलसिलाहरु माझ त्यो निमेषको सोचाई भंग भएपछि म भिडहरुमा सामान्यता टाँगेर हिँडिदिएको थिएँ ।

त्यसपछि मैले उसलाई हप्तौँ देखिनँ ,महिनौँ भेटिनँ ,प्रत्येक घामको परिक्रमासँगै ऊ सोचाइबाट सेलाउन थालेको थियो । म सधैँ डराउँछु ऊ जस्तैको क्षुधित अनुहार देखी जसको परिपाटी भोका विलासिताहरुले थिचिदिएका हुन्छन् । म उसँग सम्बन्धित हुन सक्दिनँ, पैसाको नाताले त झनै सक्दिनँ । कहिलेकाहीँ म आफैमा गुज्मुजिएर सोच्छु, `के मेरो पैसाले उसको सपना किनिदिन सक्छ? के मेरो शब्दहरुले उसलाई सम्भावना दिन सक्छ?´ अनि म आफ्नै विरोधमा तन्किन्छु, फेरिफेरि त्यही मोडमा ।

दोस्रो पटकको भेटमा म ऊ अघि आफैसँग ठ्याम्मै नाङ्गिएको थिएँ । बाटोको एउटा कुना समाती म टाढाबाट आइरहेको मेरो साथीको गतिलाई आँखाभरि निहालिरहेको थिएँ । त्यही बालक टुप्लुक्क आइपुग्छ मेरो सामु, पुरै रित्तिएझैँ छाती बोकेर ।थोरै हात फैलाउँछ, मानौँ ऊ कुनै ओइलिएको बोट हो र उसका हात फक्रन नसकेका हाँगा हुन् जो आफ्नो प्रगतिको अन्तिम सिमानामा बेहिसाब अडिएका छन् । लाग्छ,उसको अगाडि भनिदिनु हुँदैन कि `बाच्नु एउटा कला हो´ ऊ मुस्कुराउने छैन । मैले थोरै मिजासी भावमा भनिदिएँ- `ऊ त्यो मेरो साथीले दिन्छ । मसँग छैन यहाँ ।´ मलाई थाहा छैन उसले हेरिदियो या हेरिदिएन मैले सोझ्याएको मान्छेतिर । तर ऊ ठिक मभन्दा पाँच फिटको दुरिमा उभियो । मैले उसलाई अनुभव गर्ने प्रयन्त गरेँ । यहाँ त लाशको पनि धर्म हुन्छ, उसको धर्म कहाँ छ ? उसको आँखामा त्यही अनौठोपना थियो, विक्षिप्त ठाउँबाट आउनेहरुको जस्तो तर एउटा छुट्टै प्रत्याशा पनि झल्किन्थ्यो । सम्भवत: उसकी आमाले कुनै कटेराभित्र उसलाई जन्माउँदा उसको कुन्ठिएको अतित, वर्तमान र भविष्यप्रति सायद लामो सुस्केरा हालेकी थिई । अहिले त उसको उमेर त्यस्तै भयो होला, १२ बर्ष । बिस्तारै बिस्तारै उकालो चढ्नेछ उमेर र त्यो सँगै ऊ आफ्नो विकारित संभावनाहरुमा ठोकिनेछ, ऊ झनै उत्तेजित हुनेछ र झनै कुन्ठित पनि ।आकाश छोडौँ ,उसका लागि त एक टुक्रा चिसो भुइँ छ जहाँ ऊ असिद्ध भावको सिरानी र असुरक्षाको सिरक ओढेर सुतिदिन्छ । अनि ऊ आफ्नो अस्तित्वलाई घिच्याउँदै हिँड्नेछ, आफ्नै उपस्थितिलाई चपाइरहनेछ र आफ्नो भाग्यलाई सराप्दै चिसो गुनासोसँग पिल्सिनेछ । तर म त यतिबेला सम्भावनाभित्र छु । हुनसक्छ, ऊ बेलुकाको कुनै बासी गाससँग, हुन सक्छ, आफ्नी बलात्कृत वा पिडित आमा वा बहिनीलाई न्याय दिने सपना देख्दो हो, हराएको बुबा खोज्ने प्रतिज्ञा पो गर्दो हो । उभित्र फेरि आत्मविश्वास पलाउँदो हो र कमसेकम उसको कल्पनामा उसको बासस्थान मसानघाट जस्तो नहुँदो हो । कठै! अहिले त ऊ कराउन, चिच्याउन वा पुल्पुलिन जानेको जस्तो पनि देखिँदैन । यति त म आश्वस्त छु कि उसले मान्छेलाई अहिलेसम्म देखेको छैन । देखेको छ त केवल मान्छेको जस्तो अनुहार लिएको भिड ।

मेरो साथी नजिक आइपुग्छ ।ऊसँग दश रुपैयाँ माग्छु र त्यो बालकलाई दिन्छु ।ऊ लिन्छ पनि होइन वश लिइदिन्छ । उफ् ! फेरि त्यही प्रतिक्रियाहिन भाव, टट्कारो आँखा र त्यही वैराग्यपना.. मलाई कहीँ लुक्न मन हुन्छ, कहीँ गुम्सिन मन हुन्छ। उसको भाव पनि त्यस्तै छ, मानौं ऊ एकछिन पनि अडिन चाहँदैन त्यहाँ, जहाँ उसको अस्तित्व अवाञ्छित छ। दश रुपैयाँले कोरिदिएको छ एउटा लक्ष्मणरेखा हामीबिच । मलाई थाहा थियो यदि हामी केहीछिन त्यहाँ अझै रोकिएको भए उसको आँखामा निसन्देह क्रोध भेट्न सकिन्थ्यो । मनमा एक भान पस्छ, ऊ मेरो सारा अहमता प्रति थुकिदिन सक्छ सायद थुक लागिसक्यो पनि । मलाई एकदम ग्लानी भइरहेको छ। साच्चै, के उसले कहिल्यै आफू मरेको कल्पना गरेको छ? कति भयानक हुँदो हो त्यो र कति सस्तो पनि !

ऊ वश यस कथाको पात्र हो । अपरिचित भएर पनि परिचित, परिचित भएर पनि अपरिचित ! उसबाटै म मेरो पूर्ण मौलिकतामा प्रश्न चिन्ह लगाइदिन्छु । अब म आफैलाई उसको मालिक भन्दा कम पाउदिनँ जोसँग केबल भोक छ, तर के को ? मानवतावादी त म हुँदै होइन । लाग्छ, त्यो लक्ष्मणरेखा कोर्ने पनि मै हुँ । उसलाई सधैँ एक चिम्टी दया र पैसामा सिमित राख्ने पनि मै हुँ । यसो गर्दा कुन्नी कस्तो भोक मेटिँदो हो मेरो ? तर आज म त्यो परमपराबाट उम्कन चाहन्छु । त्यसैले शब्दको शृङ्खलामा जोड्दैछु म उसको अभिप्लवहरुलाई । यही कामना छ कि कुनै दिन ऊ यो लेख अथवा यस्तै आवाजहरु पढ्दा वा सुन्दा आफूलाई छाम्ने छ र मन्द तालमा ऊ फेरि आफूभित्र धक्धकाइरहेको जीवन भेट्टाउनेछ ।

Image Source: PETIT MISÈRE by Fernand Pelez

Facebook Comments

You may also like

error: Content is protected !!