एउटा आत्माको कथा

“ल है हामी गयौँ” आमाले ठूलो सुटकेशको झोला उचाल्दै भन्नुभयो । “गाईभैँसी कराउलान्, बाख्रापाठा राम्ररी हेरबिचार गर्नु ।”
आँगनको डिलमा लौरो टेकेर उभिनुभएको बा को अनुहार निष्पट्ट थियो, खेल हारेर दु:खमनाउ गरिरहेको कोचको जस्तै।

कुखुरी………….काँ…
हिजो मात्रै काटेर खाएको भाले नभएर पोथी कराएको थियो।
“हैन, हिँड्ने बेलामा के अलच्छिन लगाएको यो पोथीले, अब यसलाई पनि नकाटी भएन । “आमाले बाख्रालाई ल्याएको पात्लेको घाँसको झिक्रा टिपेर पोथीलाई झटारो हान्दै कराउनुभयो ।
छोराछोरी समान भन्ने समाजमा खै त पोथिलाई भालेसमान मान्यता ??
यदि त्यहाँ पोथी नबासेर भाले बासेको भए शुभ साइत हुन्थ्यो तर पोथी बासेर… यति बेलासम्म बा अगाडि लागिसक्नुभएको थियो । गोठमा बाँधिरहेको भैँसीलाई सुम्सुम्याउँदै आमाले मलाई र भैँसीलाई संयुक्त रुपमा भन्नुभयो “ल है म गएँ, राम्रोसँग बस्नु” । आँखा टिलपिल थिए आमाका । म आँगन छेउको पर्खालमा घुँडामा चिउँडो राखेर एकटकले त्यो चर्तिकला हेरिरहेको थिएँ । आमा जानुभयो । म हेरिरहेको छु । त्यसरी नै..। घरी आँखामा गोलो आकृती आउँछ त घरी चेप्टो त घरी उहि पोथी बासेको ४-५ पटक टुँ…….. गरेर कानै फुट्ने गरि कराउँछ। म त्यो पर्खालबाट एक कदम पनि हल्लिन सकेको छैन। आँखाका आँसु चुहेर चिउँडाबाट घुँडा हुँदै पैतालासम्म बगिरहेको छ, अनि आँखामा त्यो अन्धकार झन गाढा हुँदै गैरहेको छ।

“ओइ सुन त यता !” म झल्याँस्स भएँ, अनि हतार-हतार आँखाको आँसु पुछेँ र हेरेँ । आमा हुनुहुँदो रै’छ,

“तँलाई एउटा कुरा सम्झाउन फर्केको । हिजो तेरा बा पल्लो गाउँ जानुभाको थियो नि, तेरो सँगै पढ्ने साथी बिक्रम, त्यो तलको गुइए खोलामा पौडी खेल्दा पानीमा डुबेर बित्यो रे, त्यसकै मलामी जानुभा’को रै’छ । बा सँगसँगै हिजो त्यसको आत्मा पनि आएको छ घरमा, तँ चाँडै सुतिहालिस हामी त्यसकै कारण रातभर सुत्न सकेका छैनौँ । त्यो त अझ तेरो साथी, उसको आत्माले सताउँला, ख्याल गरेस् है । ल म गएँ ।”

यति भनेर आमा बाटो लाग्नुभयो । तर मेरो दिमागमा अब १० रेक्टर भूइचालो हल्लिन थालिसकेको थियो । साह्रै नमज्जा लाग्यो, खल्लो भइरह्यो मन । माया लागेर आयो बिचराको ।
एकमनले सोच्न थाल्यो, बिचरा बिक्रम, दशैँको छुट्टि हुनुभन्दा अघिल्लो दिन मात्र उसको जन्मदिनमा सबैले उपहार दिँदा म तँलाई दशैँपछि सर्प्राइज उपहार दिन्छु है भनेको थिएँ । उसले पनि मेरो विवशतालाई बुझेर ‘हुन्छ’ भनेको थियो । तर अब उपहार अदृश्य भइसक्यो, जुन उसले कहिल्यै देख्न पाउने छैन । उसँगै खेलेको भालेजुधामा मैले उसको नाथ्री फुटाइदिँदा रगत देख्नेबित्तिकै हतारहतार उसलाई सम्हालेर धारासम्म लैजाने पनि म नै थिएँ। अघिल्लो शनिबार मात्र नाङ्गै त्यही गुइए खोलामा पौडी खेल्दा झुक्याएर उसको तु* समातेको समात्यै गर्दा उसले अबदेखि तँ सँग बोल्दिनँ, तेरो सर्प्राइज उपहार आफैँसँग राख् भन्दै घुर्क्याएको…. फनफनी घुमिरहेको छ । तर आज ऊ मेरालागि मान्छे हैन पिशाचमा परिणत भइसक्यो । उफ् ! एक डरलाग्दो नरपिशाच, जुन मलाई दुख दिन बा सँगै हाम्रै घरमा बस्न आएको छ ।”

उता डरले भयभित भएको अर्को मनले मात्र आमाले भनेको “बा संगै हिजो बिक्रमको आत्मा पनि घरमा पसेको छ, जोगिएर बस है” डुलाइरहेको छ । साथीको माया, पिशाचको त्रास हुनेरहेछ यस्तोमा । समय त्यस्तै बिहानको १०:५५ जति भएको हुँदो हो । आँखाभरी अब गोलो चेप्टो हैन पूरा मान्छेको प्रतिबिम्ब नै नाचिरहेको छ, साला ! त्यही नरपिशाच बिक्रमको । उसँग बिताएका हरेक पलपल नाचिरहेको छ । डरले हातखुट्टा जोडजोडले काँपिरहेका छन् । दिउँसै त यसरी काँपेको छु झन् राती के होला मेरो हालत ? कम्तिमा पनि एकहप्ता एक्लै बिताउनु छ । उफ् ! यो के आइपरेको ?

कुखुरी काँ………
फेरि त्यै पोथीको आवाजले म झसङ्ग भएँ । बाख्रा कराइरहेका थिए । हिजो नै ल्याएको बकाइनोको २-४ डाला घाँस पेटीमा लमतन्न थिए । त्यही घिँसार्दै टाट्नासम्म पुर्याइदिएँ । मन भने बेचैन नै थियो । आँखा, दिमाग र मनभरी त्यही बिक्रमेको प्रतिबिम्व ! मात्रै बिक्रमकै प्रतिबिम्व नाचिरहेको थियो । एक किसिम त आमासँगै रिस उठेर आयो । जानेबेलामा फर्की-फर्की किन सुनाउनु परेको होला यस्तो कुरा ! अब मलाई यहि कुराले कैयौँ दिनसम्म पोल्नेछ र आत्माले सधैँ त्यही सोचिरहनेछ । ☹️

“हर्के, ओइ हर्के” बिक्रम माथिल्लो गराबाटै हाम फाल्दै आयो । म सुतिरहेको थिएँ । “पौडी खेल्न जाँदैनस् ?” माथिबाटै चिच्यायो ऊ ।

केही नाम नपाएर मेरो चाहिँ बा आमाले हर्कबहादुर राखिदिएका थिए । सबलाई बोलाउन सजिलो नाम भएको थियो मेरो ‘हर्के’ !

“हैन किन च्याँठिन्छ यो ठुलिकान्छिको छोरो? मोरालाइ बिहान बिहानै के चाहिएको !” आमाले गोठैबाट चिच्याउनुभयो,सायद भकारो सोहोर्दै हुनुहुन्थ्यो होला । मेरा आँखा भने बल्ल खुले अनि म आँखा मिच्दै आँगनसम्म पुगेँ । बिक्रम आएर बसिरहेको रै’छ ।

“हिँड न जाम, पौडी खेल्न ।”
“बिहानबिहानै?”
“अस्ति तैँले नै भनेको हैन, बिहानै जानुपर्छ भनेर?”
“जान त जाने तर आमा……….”

आमा त्यति बेलै आइपुग्नुभयो, “हैन कहाँ जाने कुरा हुँदैछ, ए बिक्रमे तेरो काम छैन ? खुरुक्क एकभारी बकाइनो लिएर आइज बाख्रालाई ।”

आमा हात धुन धारा जानुभएको मौका छोपेर हामी बत्तियौँ खेतको गह्रैगह्रा फालहान्दै।आमाले देख्नुभएछ क्यार कराउँदैहुनुहुन्थ्यो, सुन्दै नसुनी दगुरेको दगुर्यै गर्यौँ । लगभग १० मिनेट दगुरेपछि त्यही गुइए खोला आइपुग्यो, जहाँ वरिपरिबाट ढुङ्गाले बारेर भैँसी आहाल खेलाउने ठाउँ बनाएको थियो, जहाँ हामीपनि भैंसी जसरी नै आहाल खेल्थ्यौँ । पुग्नेबित्तिकै कुनै दोमन नगरिकन लुगा फुकालेर झ्वाम्म हाम फाल्यौँ, त्यही भैँसी आहालमा । खुशीले स्वर्ग पुगेझैँ भाथ्यौँ । यो भन्दा ठूलो आनन्द केही छैन झैँ लाग्थ्यो त्यो आहालमा चोबलिन पाएपछि ।
लगभग ५ मिनेट जति भएको हुँदो हो खेल्न थालेको मेरो जनै चेपको ढुङ्गामा अड्कियो । जनै जोडले तन्किएको थियो, न त्यो चेपबाट खुस्काउन नै सक्थेँ न त आफ्नो जिउबाट नै । फसाद !

म चिच्याएँ, “बिक्रम! …….ए बि..क्र..म बिक्रमे……”

चारैतिर हेरेँ, बिक्रम्लाई कतै देखिनँ । जनैले तन्किएर ‘कि तँलाई छिनाल्छु कि त ढुङ्गा’ भनिरहेको थियो । म भने उम्किनलाई बल गरिरहेको थिएँ । तर निस्किन सक्ने अवस्थामा थिइनँ। यत्तिकैमा एक्कासी पानीले हो कि या त जनैले हो या फेरि ढुङ्गाले नै हो मलाई बिस्तारै पानीभन्दा भित्र-भित्र धकेलिरहेको थियो । म चिच्याइरहेको थिएँ जोड जोडले… “बिक्रम बि..क्र..म आमा आ..मा…”

झल्याँस्स भएँ । ओछ्यान भैँसी आहाल नै भएको रै’छ । यस्सो, घडी हेरेँ, 3am लेखेको रै’छ । डरले सबैभन्दा पहिले घाँटिको जनै छामेँ । अनि एक घुट्की पानी मुखमा हालेँ ।घाँटिभन्दा तल जान मानेन सायद त्यही जनैले नै पो छेक्यो होला कि ? भित्तातिर प्याच्च पारेँ । यस्तो नभएको भए सायद झ्याल खोलेर बाहिर थुक्थेँ होला । अब मलाई मरिगए सुत्न मन लागेन । शरीर डरले काँपि नै रहेको थियो । जता हेरेपनि त्यही पिशाच बिक्रम मात्रै देख्न थालें ।

“जिउँदो छँदा त साथ छोडिनस् छोडिनस् मरेपछि पनि किन यस्तो गर्छस् ए…. बरु तेरो गिफ्ट लिएर जा ।” यस्तै यस्तै अनेक कुराहरु मनमा तरङ्गित भै’रहेको थियो । आँखामा रत्तिभर निंद थिएन । जिउमा खाटबाट बाहिर निस्कन सक्ने ताकत पनि त बाँकी थिएन । यत्तिसम्म कि मनमा केही कुरा सोच्न सक्ने सामर्थ्य म मा बाँकी थिएन । जे सोचाइरहेको थियो मनले आफै सोचाइरहेको थियो जसमा मेरो कुनै वश थिएन ।

कुखुरी काँ…………
बिहानको ठिक चार बजेको रै’छ । “यो पनि भाले हैन पोथी नै बासेको होला । “मनले यस्तै यस्तै सोच्न भ्यायो । राम्ररी उज्यालो भई नसकेकोले र जिउमा ताकत नभएजस्तो भएकोले उठ्न मन लागेन तर बिडम्बना सुतौँ भने आँखामा रत्तिभर निंद छैन सब त्यही बिक्रमले प्यारो बनाइसक्यो । मनमा अनेक कुराहरु खेलिरहे तर जति खेले सब बिक्रमकै आसपास रहेर खेले । बल्लतल्ल ६ बज्यो अनि उठेर नित्यकर्म सकिभ्याएँ । भैँसीलाई घाँस हाल्ने र बाख्रापाठालाइ खोरबाट निकालेर टाट्नामा बाँध्ने पनि मेरो नित्य-कर्मभित्रै परेको थियो । जब खाना बनाउनलाई भनेर चुलोको छेउमा गएँ, तब पो देखेँ त्यो नरपिशाच……बिक्रम……बिक्रमे…ठुलिकान्छिको छोरो .. मेरै साथी…… उफ् ! आफ्नै साथी देख्दापनि ! म काँपिरहेको थिएँ ।

आँखा टोलाएको टोलायै भयो । हातखुट्टा गलेर कुट्दा कुट्दा छोडेको मान्छेको जस्तो भयो । न आँखाले केही ठम्याउन सक्यो न त मनले केही सोच्न नै । आमासँग खुब रिस उठेको थियो मलाई, हिँड्ने बेलामा यस्ता कुरा सुनाएकाले । तर अब मैले आँखा देख्न सकेको थिइनँ । आमासँग हैन बाबासँग पो झ्वाँक चलेर आयो एकाएक ।

“आखिर किन मलामी जानुपरेको होला के बाबालाई !” एकमन भन्छ यस्तो ।
“हुन त जिउँदाको जन्ती मर्दाको मलामी भन्छन् छिमेकीलाई, जानै परेर त होला ।” अर्को मनले यस्तै केही ढाडस दिई भ्यायो ।
“अनि फर्कँदा चै किन लठ्ठी टेक्नै परेको के बा लाई??” फेरि एकमन सोच्छ ।
“बुढै भएर त होला लौरोको साहारा लिनु परेको !”अर्कोमन सम्झाउँछ ।
आफू भने छाँगाबाट खसेझैँ भा’छु।
मलाई पनि हिजै फेरि खाना बनाउँदा त्यही लौरो पोल्नुपर्ने ! जसले एकातिरबाट बिक्रमको लाश पोलियो अनि अर्कोतिरबाट चाहिँ मेरो खाना पाक्यो ।
जुन लौरो, मेरै आँखा अगाडि दुवैपट्टी पोलिएर बिक्रम कै लाशझैँ सुतिरहेको थियो ।

Facebook Comments

You may also like

error: Content is protected !!