जोड | कथा | बाल मनोविज्ञान | दशैं विशेष | काव्यालय-Kavyalaya | कल्पना जोशी

जोड

सर्स्युँको बिउमा परेको छिटुवा धानको बाला अलिक अगाडि नै पहेंलो भएको देखेपछि नर्माले खुसी हुँदै टिपेको बाला नाङ्गलोमा कनिका निफल्दै गरेकी बेसरीलाई देखाइन् ।
“चेलीको जातले यत्ति उत्ताउलो हुनु निको होइन”
खुर्कुट्टीमा बसिरहेकी हजुरआमाले क्रोधको संकेत, आमा बेसरीतिर गरेपछि बेसरीले छोरीतिर केही नबोली आँखा तारिन् ।

“स्कुल ड्रेस बदलेर भात खा ।”
बेसरीले यति भन्न नपाउँदै नर्माले खल्तीभित्रै राखेजस्तो जवाफ फ्याट्ट झिकेर भनिन्
“ह्या आमा, आजदेखि त दशैं बिदा सुरु भइसक्यो ! अब भोलि मास्टरदाइले नयाँ ड्रेस सिलाइसकिने भन्नुभएको छ । दशैंमा टिका थाप्न र जाँतमा(जात्रामा) जान त्यो कपडा भइहाल्छ । किन बदल्नुपर्यो र ड्रेस?”
उल्टै प्रश्न गरेर नर्मा अघितिर आफूले टिपेको धानको बालाबाट धान निकाल्न थालिन् । ड्रेसको सर्टको खल्तीमा धानको मुठ्ठी राखेर गाडतिर (नदीतिर) लागिन्, जहाँ उनले अघि स्कुलबाट फर्किँदा नदीको किनारमा पहेंलो रङ्गको पुतली मरेको देखेकी थिइन् । नर्मा नजिकै गइन्, पुतलीलाई हत्केलामा राखिन्, खल्तीबाट एकमुठ्ठी धान र एक रुपैयाँको सिक्का निकालेर पुतलीको नाउँमा बगरमा फालिन् । त्यसपछि पुतलीलाई नदीको बीचमा लगेर बगाइदिइन् । उनले सुनेकी थिइन् मरेकाजति सबैलाई चिसो पानीमा बगाएपछिमात्रै ‘स्वर्ग’ जान्छन् ।

बगरमा रहेका तितेपाती टिपेर आज स्कुलमा भेटेको रबरले बाँधिन् र चुङ्गी स्कर्टको खल्तीमा लुकाएर पानीको जर्किनसहित घरतिरको बाटो लिइन् । अरु दिनको जस्तो जाँगर छैन उनमा आज । पुतली स्वर्ग पुगे नपुगेको चिन्ता छ उनको मनमा ।
“ल नर्मा रोटी र दूध खाइहाल् म धेरै कराउन र फकाउन सक्दिनँ, भनेको मान् !”
खाना खाने समयमा बेसरीका यी वाक्यांश सुन्न नपाउँदै नर्मालाई आफ्नो अठोट याद आयो र उनी झस्किइन् । आफूले अघि नै भात खाएको र दूध पिउन मन नभएको जानकारी गराइन् । उनले भन्न सकिनन् कि आज पुतलीको आत्मशान्तिको लागि छाक् छोडेको । छिटो निन्द्रा लागोस् भनेर उनले दशैं बिदामा दिइएको गृहकार्य सम्झिन थालिन् र नवमीअघि नै गृहकार्यको काम गरिसक्ने योजना बन्दाबन्दै निदाइसकिछिन् ।

मास्टरदाइले ड्रेसको कपडा ल्याइदिनुभएपछिको दिनदेखि प्रत्येक बिहान नर्मा नयाँ ड्रेस लगाएर दशैंको दिन गन्दै फेरि पुरानो कपडा बदल्ने गर्थिन् । उनले पिङ खेल्ने/ खेलाउने कोही साथी नभेटेपछि बेसरीको आँखा छली छली नयाँ किनेर ल्याएको नाम्लो लगेर अम्बाको हाँगामा पिङ खेल्न जान्थिन् । आमाको आवाज सुनेपछि केही न केही बहानामा पहिले नाम्लो लुकाउँथिन् । नर्मालाई दशैंको मनपर्ने पाटो पनि यही हो ।

फूलपातिको दिन बेसरीले फूल टिप्न लगाएपछि नर्मा ठूलो डालो लिएर फूल टिप्न गइन् ।
“यो पाला त तिहारसम्म तेरो भाइ भइहाल्छ होला नर्मा, कोपिला नभाँचिने गरी फूल टिप् !”
पल्लोघरकी काकीले आवाज ठूलो पारेर सुझाइन् । नर्माले फूल टिपिसकेपछि आमाले भनेअनुसार राखिन् । गैराका सबै ‘लाहुरेहरू’ घर आइसक्दापनि आफ्ना बुवा नआएपछि बुवालाई छिट्टै छुट्टी मागेर अहिले नै घरको लागि टिकट काट्न भन्नका लागि उनी हेल्थ पोस्टनिरको पिसिओमा पुगिन् ।
“फोनको लाइनमा खराबी आएको छ । इन्डियाको फोन त्यति प्रष्ट सुनिँदैन अचेल । फोन लागेपछि म डाको लगाउँला है !”
पिसीओ बाजेका यी शब्दले नर्माको निराशाको पहाडमा एक इँट्टा थपिदियो । यो सालपनि बुवासँग जाँत जान नपाइने भयो,उखुको डण्डा हातमा बोकेर बुवाको काँधमा फर्किन नपाइने भयो, सुन्तला र मुम्फली कसले किनिदेला ? यी र यस्तै कुराले मन भारी बनाउँदै घरसम्म आइपुगिन् ।

अष्टमीको दिन गाउँभरिको घरहरूमा बलि दिन भनी बोकाहरू किनेर राखिएको थियो । बेग्लाबेग्लै ठाँउबाट किनेर ल्याइएका जनावरहरू आतुर देखिन्थे एकैसाथ एकै ठाँउमा देउतालाई प्रसन्न गराउन, तब त ज्यानै जानेगरी कराउँदै थिए सबै । रगतको फाउन्डेसन् र अबिरको कम्प्याक्ट पाउडर लगाएका देवी-देवताहरू विवश देखिन्थे नर्माजस्तै ।
“आज हाम्रै घरमा मासुभात खान आइजा है नर्मा दुईवटा बोका भाकल गरेकोले मासु टन्नै हुन्छ ।”
भन्दै कमलाले बुवाले इन्डियाबाट ल्याउनुभएको मिठाई थमाइन् । नर्मालाई भक्कानो छोडेर रुन मन लाग्यो तर मिठाई समातेर केही नबोली दाैडिइन् उनी । बाख्राको सानो पाठी भएको गोठभित्र लुकेर रुन थालीन् ।

महानवमीको राती दुर्गा जाँतको लागि गाँज/देउरो सजाउन थाले भँडारघरमा । दमाहा, ट्याम्को र भोक्कर लगायतका बाजागाजाहरू पखाल्ने शुद्ध बनाउने काम हुन थाल्यो । गाउँभरिबाट आलम, शङ्ख र घण्टहरू प्रसादको रूपमा चढाउनेको ओइरो थियो । नर्मालाई भोक्करको आवाज सम्झना मात्रैले पनि बुवा घरमा नहुनुको पीडा झन् बुलन्द गराउँदै थियो ।
“मेरो पेट दुख्यो ! जा जा ! पल्लोघरकी काकी र खोलापारिकी बज्यैलाई बोलाएर ल्याइजा त !”
भनेर बेसरी पेट च्यापेर कराउँदै भुइँमा असिनापसिना हुँदै गरेकी आमा बेसरीलाई देखेर नर्मा आत्तिएर पहिला खोलापारि बज्यैलाई बोलाउन गइन् । उनले सुनेकी थिइन् कि नर्मा जन्मिँदा पनि उनका बुवा इन्डिया नै थिए र तिनै खोलापारिकी बज्यै मात्रै साहारा थिइन् त्यतिबेला ।

खोलापारि बज्यै आइपुगुन्जेल बेसरीकै चिच्याहटले पल्लो घरकी काकी आफै आइपुगिसकेकी थिइन् । बेसरी जगल्टा परेको कपालमा पसिनाले भिजेको शरीरमा दुवै हातले पेट च्यापेर बेस्सरी चिच्याइरहेकी थिइन् । एक्कासि नजिकैको दुर्गा मन्दिरमा शङ्ख र घन्ट जोरजोरले बज्न थाले । त्रिशूल र घण्टहरूबीच भयानक टकराव भएजस्तै आवाज सुनिन थाल्यो । बतास एकदमै शान्त भएर बहन थाल्यो । बिना गड्याङ्गुडुङ् आकाशमा एक झिल्को बलेको उज्यालोले मन्दिरका ध्वजापताकाहरू अन्तराष्ट्रिय स्तरमा खेल जितेपछि देशको झण्डा फहरिएजस्तै फहरिरहेका थिए । नर्मालाई पहिलोपटक देखेको यो दृश्य अनाैठो लाग्नु स्वाभाविकै थियो ।



भँडारघरः भण्डार घर, मकै, धान, गहुँज्ता अन्न भण्डारण गर्ने ठाउँ ।
देउरोः
देवीदेवतालाई स-सम्मान पुज्न बनाइएको गह्रुङ्गो पुत्ला ।
भोक्करः सहनाईजस्तै जाँतमा बजाइने बाजा ।



 

Facebook Comments

You may also like

error: Content is protected !!