नीलमलाई ६ प्रश्न | संवाद | Kavyalaya - काव्यालय

नीलमलाई ६ प्रश्न

साहित्यकार निलम कार्की निहारिकाका ‘चीरहरण’, ‘बेली’, ‘अर्की आइमाई’,  ‘मौन जीवन’, ‘नियतिको खेल’, ‘ब्रेन फेवर’, ‘नीलम कार्की निहारिकाका कविता’, ‘कागजमा दस्तखत’, ‘त्रिचालिस कथा’, ‘योगमाया’‘हवन’ लगायतका कृतिहरू प्रकाशित भइसकेका छन् भने नयाँ कृतिको तयारी पनि गरिरहनुभएको कार्की बताउनुहुन्छ । वहाँको कृति ‘योगमाया’ले राष्ट्रकै सम्माननिय ‘मदन पुरस्कार-०७४’ हात पारेको छ भने अर्को कृति ‘चीरहरण’ले पनि ०७२ सालको पद्मश्री पुरस्कार प्राप्त गरेको छ । ऐतिहासिक उपन्यास लेखनमा सक्रिय र सौखिन कार्की हाल अमेरिका बस्नुहुन्छ । प्रस्तुत छ, काव्यालयका लागि साहित्यकार कार्कीसँग संवाददाता युवराज कटुवालले गर्नुभएको कुराकानी :

के छ खबर दिदी ? सन्चै हुनुहुन्छ ?


विश्व कोरोनाको कहरमा छ । पुस्तकमा पढिएको थियो केही महामारीका बारेमा । अहिले आफैले भोगिएको छ । कल्पना बाहिरको बिलकुल पृथक समय ! सन्त्रासमा गुज्रिएका छन् दिनहरू । शारीरिक रुपमा स्वस्थ नै छु । तर मन बिरामी छ ।

अँ, चीरहरण र योगमाया दुबै राष्ट्रिय पुरस्कार जित्न सफल पुस्तक । व्यक्तिगत पठन अनुभूतिको आधारमा मैले, पहिलो नम्बरमा चीरहरण राख्छु अनि मात्र दोस्रो नम्बरमा योगमाया । हुन त आफ्ना कृति सबै नै प्यारा हुन्छ्न्, तपाईंले छान्नुपर्दा यी दुई मध्ये कुनै एक छान्नैपर्छ भनेर कर गरियो भने कुन पुस्तक छान्नुहुन्छ ?


निकै जटिल प्रश्न हो यो मेरा निम्ति । फरक फरक दृष्टिकोणबाट मुल्यांकन गर्छु म आफ्नै सिर्जनाको पनि । ‘चीरहरण’ लेख्न लामो समय लाग्यो । पात्रहरू बोकेर हिँडे निकै समय । अतितको स्नेह जस्तै लाग्छ । सानिध्यता बढी नै रह्यो । नेपालमा भएको एक सामाजिक आन्दोलन र शासन सत्ता चलाउने जति फेरिए पनि सम्बोधन हुन नसकेका मुद्दाहरू छन् ‘योगमाया’मा । आजसम्म मैले अझै योगमाया कहीँ भेटेकै छैन । उनैमा आफूलाई रुपान्तरण गर्दै या स्वयंमा योगमाया सिर्जना गर्दै झण्डै दुई वर्ष व्यतीत गरेँ । अब आफ्ना सिर्जना मैले रोज्नुभन्दा यो अधिकार पाठकमा नै दिन्छु । म त फरक फरक दृष्टिकोण मन पराउँछु, समान प्रेममा !

केही कृति, खास गरी उपन्यास लेख्नुअघि यो विषयमा लेख्छु भनेर विषय कसरी छनौट गर्नुहुन्छ ?


जब आइडिया आउँछ, म डायरीमा टिप्छु । त्यसले कुन विधा माग्छ त्यसमा विचार गर्छु । त्यसपश्चात ‘प्राथमिकतामा कुन पहिला ?’ त्यो निर्क्योल गर्छु । कहिलेकाहीँ अरुले दिनुभएको विषयलाई पनि प्राथमिकतामा लेखेको हुनसक्छु ।

चलचित्र कत्तिको हेर्नुहुन्छ ? कस्ता चलचित्र हेर्दा आनन्द लाग्छ ? मनपरेको चलचित्र ? किन ?


हेर्छु म सिनेमा । आज मात्र पनि टोनी मेरिसनको उपन्यासमा बनेको  बिलभिड  हेरेँ । सधैँ यस्तै सिनेमा मन पर्छ । यस्तै भन्ने त होइन तर ऐतिहासिक आधारमा बनेको सिनेमा चाहिँ एकपल्ट हेर्नै पर्छ भन्ने लाग्छ । पारिवारिक र प्रेम सिनेमाहरू पनि हेर्न मन पर्छ । उपन्यास लेखनको अन्त्यतिर यति धेरै तनाव हुन्छ, त्यस समयमा सबैभन्दा राम्रो खुराक नै सिनेमा बन्न पुग्छ ।

योगमाया सहितका साथीहरुले जलसमाधी गरेका थिए । त्यो त उ: बेलाको कुरा भयो । यत्तिका वर्ष बितिसक्दा पनि कैयौं योगमायाहरु आत्महत्या गर्न बाध्य छन् । शान्ति, समृद्धि भन्ने कुरा त ठूलाले ल्याउने र ठूलालाई मात्र आउने भो । के भन्नुहुन्छ यसका बारेमा ?


सबैभन्दा दुःखद पक्ष नै यहीँनेर छ । योगमायाले परिकल्पना गरेकी थिइन् । अझ भनौँ, ६८ जनाले जीवन बलिदान दिएका थिए । धर्मराज्य स्थापना अझै भई नसकेको अवस्था छ । जस्तो कि, जातपात/छुवाछुतको विरोधमा थिइन् उनी । तर हामीकहाँ भर्खरै पनि रुकुम दुखिरहेको छ । भ्रष्टाचारको विरोधमा थिइन् योगमाया । आजको उदाहरण हेर्दा कोरानाको बीचमै समेत आफ्नो स्वास्थ्यको परबाह नगरी प्लेकार्ड बोकी सडकमा छन् आम जनताहरु । भ्रष्टाचारको समाचार नपढेको दिन हुँदैन ।

पछिल्ला समय आएका तपाईंका आख्यानमा विशेषगरी ऐतिहासिक र महाभारतकालिन पात्रहरु देखा परे । अब आउने कृतिहरुमा केही त्यस्तै पात्रहरु नै दोहोरिन्छ्न कि ? नयाँ केहि आउला ? [ ऐतिहासिक पात्र पुराना भए भन्न खोजेको हैन । ]


योगमाया पश्चात् लेख्न प्रारम्भ गरेको पनि विधागत उपन्यास नै हो र विषयगत ऐतिहासिक नै ।
कोरोनाको महामारीको कारण थाती राखेकी छु ।

Facebook Comments

You may also like

error: Content is protected !!