प्रयोगशालामा छट्पटाएका प्रश्नहरू

यस साताको कविता क्याप्सुलमा स्मीता ज्यूका ३ कविताहरूः

प्रस्थान

‘घर’ लाई एक्लै छाडेर घरमा
व्यस्तताको रेलमा छुक्-छुक् गर्दै
तपाईं बाहिरिनुहुन्छ दैलोबाट

कहिल्यै सोच्नु भएको छ ?
कसरी पर्खिबस्छ दैलाले साँझसम्म तपाईं नफर्कुन्जेल
तपाईं बाहिरिएपछि
घरमा मुर्दा-शान्ति नै छाएजस्तो लाग्छ कोठालाई
र घरिघरि हेर्छ ऐनामा आफ्नै अनुहार

तपाईंले पछिल्लो रात पिएको सिग्रेटको धुवाँले भन्दा बढी
निस्सास लाग्छ कोठालाई एकलासले, एक्लोपनाले
नपाएर केही पनि गर्न, केही पनि सोच्न
ऊ सोच्न थाल्छ अजङ्गका कुराहरू
जस्तो कि , उसको पनि भइदिए हुन्थ्यो खुट्टाहरू

तपाईं निस्किएपछि
हावालाई पनि विरक्त लाग्छ झ्यालबाट छिर्न र दौडन- प्रयोजनहीन,
फूललाई पनि दिक्क लाग्छ पागलझै मुस्कुराउन- प्रयोजनहीन,
नहुँदा साथमा, सँगै बरालिने केही जोड आँखाहरु
समयलाई पनि दिक्क लाग्छ एक्लै हिड्न टुकुटुकु

नसुनिँदा मौनतामा प्रिय लाग्ने कुनै मानिसको ढुकढुकी
मौनताहरु जोड-जोडले हल्ला गर्न थाल्छन् ,
बैठकको भित्ताबाट ओर्लिएर
कौसीमा घाम तापिरहेका जूनका आँखामा बुन्छ माकुराले जाल,
टि. भी. र कम्प्युटर हेरेरै थाक्छन् टेबुल र कुर्सीहरू
पुराना दिन सम्झेरै थक्थकाउछन् दराजका कपडाहरु
(ओह! ती दिनहरू निकै सुन्दर थिए! )

तपाईं व्यस्तताहरूमाझ फुर्सदिलो देखिनु भएझैं
फुर्सदै-फुर्सदले अति व्यस्त हुन्छ समय!

तपाईंले पिएर आधा छाडेको गिलासमा तैरिरहेको ओठको स्पर्श ,
कपाल मिलाउँदा काइयोमा अल्झिएका केही रेसाहरू
अथवा,
ऐनाको मस्तिष्कमा बाँचेको तपाईंको अनुहारको बान्की

मात्रै , यी धमिला सम्झनाहरूमाझ
‘घर’लाई एक्लै छाडेर घरमा
व्यस्तताको रेलमा छुक्-छुक् गर्दै
तपाईं बाहिरिनु हुन्छ दैलोबाट
सदाका लागि !!!

Image Source: Jose TJIJILLO, OIL PAINTING, WINDOW IMPRESSIONISM ABSTRACT DOOR

******

प्रयोगशालामा छट्पटाएका प्रश्नहरू

मेरा विश्वासहरू
हराइसकेका छन् आँखाको ‘ब्ल्याक-होल’मा
सर,
तपाईं भने कति सोध्नु हुन्छ सधैं अर्थहीन प्रश्नहहरू ?

तपाईंँले पढाउने वस्तुगत गणित
अल्मलिन्छ ,
जसै जोड्दछु म मेरो व्याकरण ,
चाल सम्बन्धि न्यूटनको पहिलो साध्य …

रिङ्गिरहन्छु मूर्ख-मगज न्यूटनको तेस्रो साध्यमा
किन उछिट्टिन्छ दूर प्रक्षेपित बन्दुक आफैंतिर ?
अथवा,
उडिरहेको ‘ड्रोन’का पछिल्तिर
कसरी विलीन हुन्छन् कपूरझैं नानीका सपनाहरू ?

तपाईं सुनाइरहनु हुन्छ चुम्बकीय ध्रुवको कथा
सुझाउनु हुन्छ –
टुक्रिनुको सीमामा समेत अधुरो नहुने रहस्यको कथा

टुक्राटुक्रा जीवन बटुलेर
जसै खोज्दछु म मेरो आयतन,
‘इन्स्युलेटेड’ विवेकको निस्तब्धतामा
किन अट्टहास हाँसिरहन्छ डार्विन-तरङ्ग ?

बाफिरहने जिज्ञासाका ‘म्याग्मा’हरूसँगै
किन उठिरहन्छ छातीभरि
भूकम्पको घाइते कम्पन ?

तपाईंको प्रयोगशालाको निस्सासलाग्दो ‘ल्याम्प-लाइट’मा
म उभिरहेछु या उभिरहेछन् बेसोमत समयका लाजहरू?

त्यसै अन्कनाएको होइन मसँग सापेक्षताको सिद्धान्त
त्यसै छट्पटाएका होइनन् मेरा आँखाहरू

सर, ताराहरू हराएको प्रदेशमा
किन नीलो छ आकाश ?

तपाईंले राष्ट्रिय भजनझैं पिलाइरहने ‘एटम बम’को सूत्र
बिस्फोट भइरहन्छु म प्रत्येक पल
‘पेण्डुलम’का सरगमहरूमा
लयहीन
भत्किरहन्छु उत्साहका अन्तराहरू

तपाईं रटाइरहनु हुन्छ भ्यागुतो जीवन-शास्त्र
गड्यौलाझैं गुडुल्किएको मेरो यथार्थबाट बेखबर
सिकाइरहनु हुन्छ ‘बटरफ्लाई ईफेक्ट’को अर्थ

तपाईं जान्नुहुन्न
‘लाफिङ्ग ग्यास’को गन्धमा
म किन हाँस्नै सक्दिनँ
तर म जान्दछु
मेरो आँसुको रसायन र भोकको सौन्दर्य
सोध्ने भए सोध्नुस् न
जीवनको परिभाषा अथवा समयको परिभाषा

तर यी सबभन्दा पर
आफैंभन्दा प…र
अहम् को किल्लामा उभिएर
प्याजझैं ढुस्सिएको मेरो चेतनाको सारङ्गीलाई
सर,
कति सोध्नुहुन्छ सधैं अर्थहीन प्रश्नहरू ?

Image Source: Corner of Space Laboratory, Ary Stillman: American Artist

******

रहर

सोचेको थिएँ
मेरो जन्मदिनको बहाना पारेर
तिमीले दिएको डायरीमा
लेख्ने छु कुनै सुन्दर कविता
र बनाउनेछु सदाझैं तिमीलाई नै
पहिलो पाठक !!

तिम्रो आँखाको नानीझैं कालो पाइलट पेनको मसीले
लेख्छु सोचेको थिएँ
आमाले हत्केलामा बाबाको नाम लेख्दै गर्दा
दुवैको ओठको तलाउमा
छचल्किएको प्रेमको एक हरफ तरङ्ग
अथवा लेख्ने छु
त्यही डायरीको कभरमा
सुनौलो मुस्कुराइरहेको गुराँसको प्रियता
र सुनाउनेछु छानामा बेहिसाब परेड खेल्दै गरेका
अनुभूतिका झरिला यामलाई,

आफैंबाट छुट्टिएर गएको आँसुलाई
बोलाउँछु पक्कै लागेको थियो
मेरो आवाजको एकान्त बाटो
र हिडाँउछु लागेको थियो
सबै-सबैले बिर्सिहिडेको जीवनको क्युरियोमा

ओरालेर ताराहरूका सभामा गाउँदै गरेको जून
ब्युँझाएर पहाडको कुम-कुममा निदाउदै गरेको घाम
लागेको थियो लेख्ने छु
घाम र जूनले सँगसँगै देखेको दृश्यको दिव्यता

अरू केही लेख्नै नसके पनि
लेख्ने थिएँ प्रथम भेटको सम्झना
र त्यही सम्झनामा लिपिबद्ध आत्मीयताका लयहरू
कमसेकम तिमीलाई नै सुनाउँछु भनेर लेख्नु थियो
त्यही डायरीको क्यानभासमा
तिमी हुनुले अझ सुरिलो लागेको विश्वासको गीत
तिमी हुनुले अझ ओजिलो लागेको जीवनको बान्की

अनिद्रै-अनिद्रामा बिताएर
तिमीलाई अन्तिम पल्ट भेटेको साँझ
सोचिरहें – को होला त्यो
जो सधैं इन्द्रेणीको अर्को किनार
जुनकीरीका साथ मलाई पर्खिरहन्छ ?
उदासीले बिल्कुल अँध्यारो बनाएको मेरो अनुहारमा
मुस्कानको खेती गर्न हौसिन्छ ?

सोचिरहें
त्यो अनाम मान्छेसँग
कतिको मेल खान्छ तिम्रो अनुहार !

सोच्दा-सोच्दै
कसरी सोच्नै बिर्सेंछु
हेर न, कुनै सुन्दर कविता लेखुँ भनेर
म भने मेट्न चाहँदै रहेँछु
डायरीमा तिम्रै हस्ताक्षर सहितको
नि:शब्दताको कविता !!!

Abstract Love by Billie Colson, Image Source:- FineArtAmerica

Facebook Comments

You may also like

Leave a Comment

error: Content is protected !!