SHAME | ADDICTION, LONELINESS AND PAIN | MOVIEMONDAY | काव्यालय-Kavyalaya

SHAME | ADDICTION, LONELINESS AND PAIN

चलचित्र : SHAME 
निर्देशक : Steve McQueen
पटकथा लेखक : Steve McQueen & Abi Morgan
छायांकन : Sean Bobbit 

“लत
लतलतल
तलतल
तल तल
तल” 

चलचित्र ‘SHAME’को बारेमा कुरा गर्दा यसको काहानी नखुलाई कुरा गर्न सम्भव छैन, कमसेकम मलाई त्यस्तो लाग्छ वा भनौँ म काहानी नखुलाई यसको कुरा गर्न सक्षम छैन । त्यसैले, यहाँभन्दा उताको लेखमा ‘SPOILERS’ हुन सक्ने कुरा म जानकारी गराउन चाहन्छु । 

चलचित्रको पहिलो शटमा हामी ब्रान्डनलाई देख्छौँ । ऊ ओछ्यानमा छ । सुतेर सिलिङमा केही हेरिरहेको छ । वा सायद केही पनि हेरिरहेको छैन । सायद, केही सोचिरहेको छ । वा सायद, केही पनि सोचिरहेको छैन । चलचित्रको पहिलो केही दृश्यमा हामी ब्रान्डनलाई उसको अपार्टमेन्टमा देख्न सक्छौँ । राति भर्खरै उसले पैसा तिरेर सम्भोग गरेको छ । बिहान, ऊ ओछ्यानबाट उठ्छ । ऊ नाङ्गै छ । अलार्म बजेको र कोही हिँडेको आवाज हामी सुन्न सक्छौँ । सिसी नाम गरेकी केटीले उसलाई फोन गरेकी थिई ( को हो ऊ ? ) । उसले कल रेकर्डलाई बेवास्ता गरिदिन्छ । ऊ बाथरुम जान्छ र पिसाब फेर्छ । निर्देशकले हामीलाई उसले पिसाब फेरेको समेत देखाएका छन् । तर पिसाब फेरिसकेपछि ब्रान्डनले बाथरुमको ढोका लगाउँछ । हामीले उसलाई नाङ्गै देखिसकेका छौँ । उसले पिसाब फेरेको देखिसकेका छौँ । यस्तो लाग्छ मानौँ  उसले बाथरुमको ढोका लागाएर हामीसँग केही लुकाउन खोजिरहेको छ । निर्देशकले उसलाई हामीसँग केहीपनि लुकाउन दिँदैनन् । निर्देशकले अर्को शटमा ब्रान्डनलाई छर्लङ्गै हाम्रो सामु पेस गर्छन् । अर्को शटमा हामी उसलाई हस्तमैथुन गरिरहेको देख्न सक्छौँ । ऊ हामीसँग यही कुरा लकाइरहेको थियो । किन लुकाउन खोजिरहेको थियो ? किनकी उसलाई आफ्नो यस आदतदेखि लाज लाग्छ । अरुले थाहा पाउन्, ऊ यो चाहँदैन । यही दृश्यले चलचित्रको शीर्षकलाई न्याय गर्छ ।

ब्रान्डन व्यस्त सहरको भव्य अपार्टमेन्टमा एक्लै बस्छ । ऊसँग राम्रो अनुहार छ, सुहाउँदो शरीर छ, गतिलो काम छ र यौनको आदत छ । ऊ यौनको लति हो । कतिसम्म भने रातिको संसर्गका बाबजुद, बिहानै ऊ हस्तमैथून गर्छ । अफिसमा समय निस्किएको बेला बाथरुमा जान्छ र हस्तमैथुन गर्छ । ‘पोर्न’को ऊ नियमित दर्शक हो । उसलाई लत लागेको छ, यस्ता कुराहरूको । ट्रेनमा ऊ नचिनेको स्त्रीलाई निर्धक्क घुर्न सक्छ । कतिले अफ्ठ्यारो मान्लान् कतिले नमान्लान्, उसलाई यस कुराको खासै वास्ता हुँदैन । कसैले अप्ठ्यारो माने ऊ सजिलै आफ्नो बाटो रोज्न सक्छ । कसैले अप्ठ्यारो नमानी मुस्कुराइदिए जवाफमा उसको मुहारमा कुनै चमक देखिँदैन । ऊ पहिलाको जस्तै घुरिरहन्छ । केही होला जस्तो लागे अपरिचित स्त्रीलाई पछ्याउन पनि ऊ पछि पर्दैन । उसलाई केटी फकाउन वा ओछ्यानसम्म ल्याउन खासै कठिन छैन । उसको हाकिम डेभिडले अनेक उपाय लगाउँदा पनि केही हुँदैन तर उसले आँखाको रङ्ग भनेकै भरमा कुरा बन्छ । 

एकदिन ब्रान्डन घर फर्कँदा उसले सिसी ( अगाडि फोन गर्ने केटी )लाई आफ्नो सावरमा पाउँछ । सिसी नुहाइरहेकी हुन्छे, नाङ्गै हुन्छे । उसले, पहिला कुनै बेला, सिसीलाई आफ्नो घरको चाबी दिएको थियो । त्यही चाबी प्रयोग गरेर सिसी ब्रान्डनको अपार्टमेन्टमा छिरेकी हुन्छे । ब्रान्डनले सिसीको नग्नता सामान्य ढंगमा लिन्छ र सिसीले पनि झट्टै आफूलाई ढाक्ने प्रयास गर्दिन । यस्तो लाग्छ, उनीहरूबीच यस्ता कुरा अति नै सामान्य भइसकेको छ । को हुन् उनीहरू ? प्रेमी-प्रेमिका ? केही बेरमै हामीलाई थाहा हुन्छ, उनीहरू प्रेमी-प्रेमिका होइनन्, दिदी-भाइ / दाजु-बहिनी हुन् । उनीहरूबीचको सम्बन्धले हामीलाई केही असहज बनाउँछ । एक ठाउँमा सिसीले ब्रान्डनलाई भन्छे, “हामी नराम्रा मान्छे होइनौँ, नराम्रो ठाउँबाट आएका मात्र हौँ ।” उनीहरूको अतित के हो ? उनीहरूसँग पहिला यस्तो कस्तो घटना घट्यो जसले उनीहरू दुवैलाई टुट्न बाध्य गरायो ? यो हामीलाई थाहा हुँदैन । तर, हामीलाई यति थाहा हुन्छ कि उनीहरू दुवैको मनस्थिति अति नै जिर्ण छ । एउटा लतको रोगले ग्रस्त छ र अर्कोले डिप्रेसनको शिकार हुनुपरेको छ । दुवैलाई एकअर्काको सहयोगको आवश्यकता छ । 

दुवैलाई एक-अर्काको आवश्यकता परेको कुरा सिसीले बुझेकी हुन्छे । ब्रान्डनले पनि बुझेको हुन्छ तर उसलाई सिसीको आगमन मन पर्दैन । यसले उसको दैनिकीमा असर पुग्छ । उसको निजी जिन्दगीमा दखल हुन्छ सिसीको आगमनले । सिसीको फोनवार्ता सुनेर वा उसले गाएको गीत सुनेर (सिसी गायिका हुन्छे जो रेष्टुरेण्टहरूमा गाउने गर्छे ।) सिसीको अवस्था थाहा हुन्छ, उसलाई सहयोग चाहिएको कुरा स्पष्ट हुन्छ । तर ब्रान्डनले यो कुरा नजरअन्दाज गरिदिन्छ । उसको लतका कारण ऊ खुल्न सक्दैन । ऊ  लतको दलदलमा तलतल गइसकेको हुन्छ, भासिइसकेको हुन्छ । उसलाई लागेको लतले उसको पारिवारिक जीवन मात्र बिग्रिएको छैन, उसको निजी जिन्दगीमा पनि असर पुगेको छ । उसको ‘सम्भावित’ प्रेम सम्बन्धमा असर पुगेको छ । उसलाई केवल पैसातिरको यौन र हस्तमैथुनको आदत भइसकेको कारण प्रेम भरिएको संसर्ग ऊबाट सम्भव हुँदैन । 

यसैबीच सिसीले उसलाई हस्तमैथुन गर्दै गरेको अवस्थामा पक्रिन्छे । अनि उनीहरूबीच झगडा हुन्छ । त्यस्तै, एउटा झगडामा ब्रान्डनले सिसीको निन्दा गर्छ र उसलाई जान भन्छ । जब ऊ घर फर्कन्छ उसले सिसीलाई मराणावस्थामा पाउँछ । उसले आत्महत्याको प्रयास गरेकी हुन्छे ।

‘SHAME’ घटनाहरूको चलचित्र होइन । यो मनोवैज्ञानिक चलचित्र हो भन्दा फरक नपर्ला । लतलाई रोग नै नमान्नेहरूको लागि यो चलचित्र जवाफ हुनसक्छ । यस चलचित्रले लतले निम्त्याउने केही कुराहरूलाई प्रष्टसँग देखाएको छ । यो चलचित्र एक्लोपन कस्तो हुनसक्छ भन्ने बारे पनि हो । ‘WIKIPEDIA’ मा यस चचलचित्रलाई ‘इरोटिक’ बताइएको छ । हो चलचित्रमा नग्नता छ, हो सम्भोगका दृश्य छन् । तर ती रोमान्चले भरिएका छैनन् । तिनमा प्रेम मिसिएको छैन । तिनलाई मनोरञ्जनका दृष्टिले त्यहाँ राखिएको छैन । चलचित्रको अन्तिम अन्तिममा एउटा दृश्य छ जहाँ ब्रान्डन क्रिडामा व्यस्त हुन्छ । उसको अनुहारमा कामोन्मादको भावना हुँदैन । उल्टै पीडा, दुःख, रिस, वेदना हुन्छ । ऊ रमाइलो लिइरहेको हुँदैन । उसले मानौँ दुःख भोगिरहेको छ । 

आखिरमा लत के हो ? मानौँ तपाईंलाई कुनै एउटा कुराको बानी छ । तपाईं त्यो कुरा दिनानुदिन जसो गर्नुहुन्छ । जब त्यस कुराले तपाईंको निजी जिन्दगीमा असर पुर्याउन थाल्छ, त्यही नै लत हो । जब त्यो कुराले तपाईंको नजिकका मान्छेमा असर पुर्याउँछ, त्यही लत हो । जब तपाईंको सम्बन्ध त्यही कुराको कारण बिग्रन थाल्छन्, त्यो कुरा लत हो ।

चलचित्रमा यौन र ‘पोर्न’ ब्रान्डनको लत हो । उसलाई यी कुराहरूले खाइसकेको हुन्छ । कहिलेबाट ऊ यी कुराहरुको लति भयो, त्यो ठ्याक्कै भनिएको छैन तर यसको कारण ऊ एक्लिएको छ, यो सत्य हो । ऊ कुनै प्रेम सम्बन्धमा हुँदैन र उसको सबैभन्दा लामो सम्बन्ध चार महिना टिकेको हुन्छ । चार महिना..जम्मा चार महिना । किन त्यति छोटो टिक्यो होला त ? खैर, यो कुरा चलचित्रमा देखाइएको त छैन तर हामी कारण अन्दाज लगाउन सक्छौँ । कारण अरु केही नभएर उसको लत हो । हो, उसको लत । चलचित्रमा उसले एउटा नयाँ सम्बन्ध कायम गर्ने कोसिस पनि गर्छ तर सक्दैन । त्यसको कारण पनि उसलाई लागेको लत हो । ऊ आफ्नो लतमा यति लीन हुनसक्छ कि उसलाई आफ्नो बाहेक अरु कसैको आवश्यकता नै महसुस हुँदैन । त्यसैले त सिसीको आगमन उसलाई मन नपरेको । सिसीको उपस्थितिमा ऊ खुल्लम खुल्ला ती कुराहरू गर्न सक्दैन जुन ऊ सिसीको अनुपस्थितिमा गर्न सक्थ्यो । र यो कुरा सिसीमा मात्र लागु हुँदन, अन्य व्यक्तिहरूमा पनि लागु हुन्छ । उसलाई एकान्तताको आवश्यकता आफ्नो लत पूर्ति गर्न चाहिन्छ नै चाहिन्छ । त्यसैले उसले आफ्नो लतका कारण आफ्ना नजिकका मान्छेहरूलाई टाढा धकेल्नु पर्छ, कोही कोही आफैँ धकेलिन्छन् । यसरी लतले एक्लोपन निम्त्याउँछ । 

लतमा फसेका मानछेहरूमा पीडाजस्तो कुरा सामान्य हुन्छ । उनीहरू पहिल्यै एक्लो हुन्छन् । उनीहरूलाई कताकता आफ्नो अवस्थाको दोषी आफू नै भएको कुरा थाहा हुन्छ । यस कुराको बोध हुँदा पीडा त हुन्छ नै । चलचित्रमा ब्रान्डन पनि यस्तै पीडाहरुबाट गुज्रिरहेको हुन्छ । सिसीले गाएको गीतको दृश्यमा यो ब्रान्डनको पीडा खुलस्त हुन्छ । सिसीले गाएको ‘NEW YORK, NEW YORK’ गीत बिम्बात्मक छ । यसले सिसीको अवस्था बयान गरिरहेको हुन्छ । यो कुरा ब्रान्डन बुझ्दछ र उसलाई यस गीतले छुन्छ पनि । आँखाभरि आँसु पारेर ऊ सिसीले गाएको हेरिरहन्छ र सोचमा हराउँछ । के सोचिरहेको हुन सक्छ ऊ ? के ऊ सिसीको पीडा बुझिरहेको छ ? कि उसले त्यो गीतमार्फत आफ्नो पनि अवस्था सम्झिरहेको छ ? जे भएपनि उसलाई पीडा भइरहेको छ । र ब्रान्डनको पीडा यस दृश्यमा मात्र नभएर चलचित्रभरि महसुस गर्न सकिन्छ । चलचित्रको अन्तिममा, सिसीलाई अस्पतालमा छोडेर ब्रान्डन निस्कन्छ । पानी परिरहेको छ । ऊ कतै त हिँडिरहेको छ तर कता थाहाछैन, उसैलाई थाहाछैन । कहीँ पुगेर ऊ रोकिन्छ । उसको अनुहारमा पीडाका धर्साहरू प्रष्ट देख्न सकिन्छ । ऊ टुट्नै आँटेको छ । र ऊ टुट्छ पनि । 

निर्देशकले चलचित्रमा ब्रान्डन नाम गरेको पात्रमाथि कुनै पनि प्रकारको सहानुभूति देखाउँदैनन् । यो चलचित्र जे छ, यही एक कारणले छ । यदि निर्देशकले कुनै पनि प्रकारको सहानुभूति देखाउने प्रयास गरेका थिए भने चलचित्र खोक्रो बन्न सक्थ्यो तर चलचित्र खोक्रो छैन, यथार्थवादी छ । ‘MICHAEL FASSBENDER’ चलचित्रका मुटु हुन् । उनले ब्रान्डनजस्तो पात्र गर्ने हिम्मत मात्र गरेनन् यस पात्रलाई न्याय पनि दिए । सिसीको भूमिकामा रहेकी ‘CAREY MULLIGAN’ पनि दमदार छ । यस चलचित्रको अर्को मुटु भनेको यसको संगीत हो । उराठलाग्दो एकोहोरो धुनले ब्रान्डनको पात्रको मनोभावना दर्शाउन सहयोग पुर्याउँछ । चलचित्रमा भएका ‘लङ टेक’ पनि अल्छि लाग्ने छैनन् । पात्रको अध्ययन हो ‘SHAME’ । ‘भिजुअल स्टोरिटेलिङ’को खजाना हो  ‘SHAME’। अन्तिममा, यो चलचित्र हेर्न म सबैलाई आग्रह गर्छु । एकपटक हेर्नुस, दुइपटक हेर्नुस्, तीन पटक हेर्नुस्..तर यो फिल्मको लत चाहिँ नबसाल्नुस् ! 

Facebook Comments

You may also like

error: Content is protected !!