आदि पुस्तक
म थिएँ -र सायद तिमी पनि
सायद एक मांसको दूरीमा उभिएका
सायद एक नजरको अँध्यारोमा बसिरहेका
सायद महसुसको एक मोडमा हिँडिरहेका
तर त्यो प्रागैतिहासिक समयको कुरा हो
यो मेरो र तिम्रो अस्तित्व थियो
जो दुनियाँको आदि भाषा बन्यो
मेरो पहिचानको अक्षर बन्यो
तिम्रो पहिचानको अक्षर बन्यो
र उनीहरूले आदि भाषाको आदि पुस्तक लेखे
यो मेरो र तिम्रो मिलन थियो
हामी पत्थरको शैय्यामा सुत्यौँ
र आँखा, ओठ, औंला, पैताला
मेरो र तिम्रो वदनको अक्षर बन्यो
र उनीहरूले त्यस आदि पुस्तकलाई अनुवाद गरे
ऋग्वेदको रचना त धेरै पछिको कुरा हो ।

Script of Origin by Michael Cheval
आदि रचना
म – एक निराकार म थिएँ
यो ‘म’को सङ्कल्प थियो, जो पानीको रूप बन्यो
र ‘तिमी’को सङ्कल्प थियो, जो आगो जसरी प्रज्ज्वलित भयो
र आगोको ज्वाला पानीमा चल्न थाल्यो
तर त्यो प्रागैतिहासिक समयको कुरा हो
म माटोको प्यास थिएँ
कि उसले ‘तिमी’को नदी पिइदियो
म माटोको हरियो सपना
कि ‘तिमी’को जङ्गल उसले खोजिदियो
म माटोको गन्ध थिएँ
र तिमीलाई आकाशसँग प्रेम थियो
र तिम्रो नी……लो सपना
माटोको शैय्यामा सुत्यो
यो तिम्रो र मेरो मांशको सुगन्ध थियाे
र यो हकिकतको आदि रचना थियो
संसारको रचना त धेरै पछिको कुरा हो ।

Love between Sky&Land
आदि चित्र
म थिएँ — र सायद तिमी पनि
म छहारी मुनिको हल्लिरहेको छायाँ
र तिमी पनि सायद मट्याइलो छायाँ
अँध्यारोभित्र अँध्यारोको टुक्रा
तर त्यो प्रागैतिहासिक समयको कुरा हो
रात र रुखको अँध्यारो थियो
जो तिम्रो र मेरो पोशाक थियो,
सूर्यको एक किरण आयो
दुवैको वदन छोएर
प….र पत्थरमा अङ्कित भयो
सिर्फ आगोको गोलो थियो, चन्द्राकार थियो
यो दुनियाँको आदि चित्र थियो
पातहरूले हरियो रङ्ग भरे
बादलहरुले दुधिलो, धुम्म आकाशले खरानी
र फूलहरुले रातो, पहेँलो, वैजनी
चित्रहरूको कला त धेरै पछिको कुरा हो ।

Canvas of Us by P. JOHN BURDEN
आदि सङ्गीत
म थिएँ — र सायद तिमी पनि
एक असीम खामोसी थियो
जो सुकेको पातहरू जसरी झर्थ्यो
वा यसै किनाराको बालुवा जसरी घुल्थ्यो
तर त्यो प्रागैतिहासिक समयको कुरा हो
मैले तिमीलाई एक मोडमा आवाज दिएँ
र जब तिमीले फर्केर आवाज दियौ
तब हावाको गलामा केही थर्थरायो
माटोको कण केही सर्सरायो
र नदीको पानी केही गुनगुनायो
रुखका हाँगाहरु केही दृढ भए
पातहरुबाट केही झङ्कार उठ्यो
फूलका कोपिलाले आँखा झिम्काए
र एक चराको पङ्ख हल्लियो
यो पहिलो नाद थियो जुन कानहरुले सुनेका थिए
सात सुरहरुको संज्ञा त धेरै पछिको कुरा हो ।

Music of love by Pinterest Artist Michael Cheval
आदि धर्म
मैले जब तिमीलाई पहिरिएँ
तब दुवैको वदन अन्तर्ध्यानमा थियो,
गुलबहार फूलहरु जसरी गुथिएका
र आत्माको दरगाहमा अर्पित भयो
तिमी र म हवनको अग्नि
तिमी र म सुगन्धित सामाग्री
एक-अर्काको नाम ओठबाट निस्कियो
र त्यही पूजाको मन्त्र बन्यो,
यो तिम्रो र मेरो अस्तित्वको एक यज्ञ थियो
धर्मकर्मको कथा त धेरै पछिको कुरा हो ।

multiverse
आदि कबिला
‘म’को जब ऋतु भरिएको थियो
मांशको बोटमा फल पाक्यो,
पवनको आँचलमा सुगन्ध बाँधियो
‘तिमी’को अक्षर लहलहाएको थियो
‘म’को र ‘तिमी’को छायाँमा
जब ‘ऊ’ आएर निश्चिन्त सुत्यो
यो ‘ऊ’को एक मोह थियो
गहुँको दाना हामीले बाँड्यौ
‘ऊ’ सहज थियो, स्वाभाविक थियो, ‘म’को र ‘तिमी’को तृप्ति
कबिलाहरुको कथा त धेरै पछिको कुरा हो ।

Camping
आदि स्मृति
कायाको हकिकतदेखि लिएर
कायाकाे आबरुसम्म म थिएँ,
कायाको सुन्दरतादेखि लिएर
कायाको प्रेमसम्म तिमी थियौ
यो ‘म’ अक्षरको ज्ञान थियो
जसले ‘म’लाई आचरण सिकायो
यो ‘तिमी’ अक्षरको उत्सव थियो
जसले ‘ऊ’लाई चिन्यो,
भय-मुक्त ‘म’को हस्ती र भय-मुक्त ‘तिमी’को, ‘ऊ’को
मनुको स्मृति त धेरै पछिको कुरा हो ।

Script of the world by Sandro Botticelli
[ अमृता प्रीतमको “आदि” नामक काव्य-सिरिजबाट मोहित जोशीद्वारा अनुवादित । ]