आजदेखि ४ दिने ‘जनकपुर साहित्य महोत्सव’ शुरु

जनकपुर – आजदेखि २२ गतेसम्म ४ दिन मिथिला नगरी जनकपुरमा ‘जनकपुर साहित्य महोत्सव’को दोश्रो संस्करण शुरु भएको छ । आयोजक संस्था नव मिथिला फाउन्डेसन, सह-आयोजक बुकहिल पब्लिकेसन र सानो पाइलाले आज राजधानीमा कार्यक्रम कार्यक्रमबारे जानकारी गराएका हुन् ।

महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, सभ्यता, राजनीतिलगायतका विषयका १५ सत्रमा ४५ जना वक्ताहरू सहभागी हुनेछन् । यी सत्रहरुमा १५ जनाले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् । 

‘जनकपुर क्षेत्रको उत्थान, साहित्य, सभ्यता र संस्कृतिको प्रचारका निम्ति यो महोत्सवले दूतको काम गर्नेछ’, घोषणा सभाको उद्घाटन गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भने, ‘जनक, जानकी, याज्ञवक्लव्य र विद्यापतिको सहरका एतिहासिक, पौराणिक, धार्मिक धरोहरको प्रवर्द्धनका लागि पनि जनकपुर साहित्य महोत्सवले अहम् भूमिका खेल्नेछ ।’

साहित्य महोत्सवका निर्देशक संचारकर्मी दिलभूषण पाठकले महोत्सवले साहित्य-पर्यटनका साथै सारा नेपालीलाई जोड्न मद्दत गर्ने बताए । उनले भने, ‘सामाजिक मूल्य-मान्यता र नैतिकता हराउँदै गइरहेका बेला यो साहित्य महोत्सवले सबै वर्गका पाठक र आम जनमानसलाई विभिन्न बहसमा सहभागी गराएर जनकपुर एकताको सूत्रमा जोड्नेछ र देशको पठन संस्कृतिमा योगदान दिनेछ ।’

महोत्सवका संयोजक मनिष झाले जनकपुर साहित्य महोत्सवको पहिलो संस्करणको सफलताले दोश्रो संस्करणसम्म ल्याएको बताउँदै जनकपुर चिनाउन र अपनत्वको अनुभूति गराउन महोत्सव सहायक हुने बताए ।

डिजिटल दुनियाँमा साहित्य महोत्सवमा जोडिन पाउँदा गर्व लागेको मुख्य प्रायोजक फोन पे नेपालका निर्देशक सुवास शर्माले उल्लेख गरे । महोत्सवमा नेपालको विभिन्न क्षेत्र वक्ताहरूदेखि भारत र बंगलादेशबाट समेत लेखकहरूको सहभागिता हुनेछ बताइएको छ । यसमा कवि, उपन्यासकार, पत्रकार, मिडिया व्यक्तित्व, अभिनेता, संगीतकार, साहित्यकार, राजनीतिज्ञ लगायत क्षेत्रबाट सहभागिता रहनेछ ।

महोत्सवमा जनकपुरको सांस्कृतिक, समाजिक जीवनका झाँकी प्रस्तुत हुनुका साथै शहरका विभिन्न भागमा हुने कार्यक्रमले थप रौनकता थप्ने आयोजकको दाबी छ । 

मैथिल संस्कृतिको महत्व बुझ्दै र स्थानीय खानाका परिकारका स्वाद चाख्दै आफूलाई चिन्न जनकपुर साहित्य महोत्सवमा सहभागी हुन आयोजकले आग्रह गरेका छन् । महोत्सवको प्रायोजक ‘फोन पे’ रहेको छ ।

Facebook Comments

You may also like

error: Content is protected !!