दोस्रो बाह्रखरी कथा प्रतियोगिता हुँदै

बाह्रखरी बुक्सले दोस्रो कथा प्रतियोगिता घोषणा गरेको छ । कथा प्रतियोगितामा प्रथम हुने कथाकारले १ लाख रुपैयाँ नगद, अवार्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुने कथाकारले क्रमशः ६० हजार रुपैयाँ र ४० हजार रुपैयाँ त्यस्तै अवार्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन चाहनेले नेपाली भाषामा लेखिएको कथा फागुन १० गतेसम्म 12kharibooks@gmail.com मा पठाउनुपर्नेछ । वैशाख १२ गते विजेता घोषणा गरिनेछ ।

प्रतियोगिताका लागि प्राप्त कथा छनोट दुई चरणमा गरिने शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बताइयो । बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले प्राप्त कथामध्ये उत्कृष्ट ५० कथा चुनेर निर्णायक मण्डललाई उपलब्ध गराउनेछ । ती कथामध्येबाट निर्णायक मण्डलले ‘उत्कृष्ट कथा २०७७’ पुस्तकका लागि २५ कथा छनोट गर्नेछन् । २५ कथाबाटै पहिलो, दोस्रो र तेस्रो छानिएर उत्कृष्ट २५ कथा समेटिएको संग्रह प्रकाशन गरिनेछ । २२ कथाकारलाई जनही ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ ।

कथा प्रतियोगिता घोषणा कार्यक्रममा बाह्रखरी बुक्सका सम्पादक राजेन्द्र पराजुलीले नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न गरिएको कथा प्रतियोगितामा भाग लिन देश भित्र र बाहिर रहेका सबै नेपाली कथा लेखकलाई आग्रह गरे। बाह्रखरी बुक्सले लेखक तथा पत्रकार नारायण वाग्लेको संयोजकत्वमा आख्यानकार अमर न्यौपाने र बिना थिङ तामाङ सम्मिलित कथा प्रतियोगिता निर्णायक मण्डल गठन गरेको छ। सोही निर्णायक मण्डलबाट उत्कृष्ट कथा चयन हुनेछ। प्रतियोगिताका लागि १५ सयदेखि बढीमा ४ हजार शब्दभित्र नेपाली भाषामा लेखिएको कथा हुनुपर्नेछ।

गत वर्ष प्रकाशन भएको १२खरी उत्कृष्ट कथा संग्रह हिन्दी भाषामा पनि अनूदित छ । विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा स्थापित बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहयोगमा हिन्दी भाषामा ती कथा अनुवाद भएका थिए । प्रतियोगिताको व्यावसायिक साझेदार सनराइज बैंक, हिमाल स्टिल, कियाको सेल्टोस गाडी, अजोड इन्स्योरेन्स, अर्घाखाँची सिमेन्ट र फ्याक्ट्स रहेका छन् ।

Facebook Comments

You may also like

error: Content is protected !!