बुख्याचा म्यान : रि – लोडेड | Anniversary Edition | Kavyalaya - काव्यालय

बुख्याचा म्यान : रि–लोडेड

यो पटकपनि म त्यसरी नै मकैबारीको डिलमा उभिएको छु। तल नेवारको फाँटमापनि केही थान सेता बकुल्लाहरू खेतको आलीमा बकोध्यान मुद्रामा एक खुट्टा टेकेर माछा कुरिरहेछन्। कार्कीको तगारोमा मानिसहरू रोपाइँ गरिरहेछन्। आफ्नो बाली जोगाउन म मकैबारीको डिलमा यता उता टहलिरहेछु। माथि चिलिमडाँडाको वनमा बाँदर (लाखु)हरू भुइँ नै छोलाउँ झैं उत्तिसका टुप्पामा हल्लिरहेछन्। भर्खर जर्ज अरवेलको “एनिमल फार्म” पढेर सकेँ। पशुबाट बाली जोगाउन खेतको आलीमा बसेर पशुहरूकै विद्रोह पढ्नु जत्तिको मजाक के होला?
1000+ ideas about CONTEMPORARY BIRD ART on Pinterest | Tropical ... | Abstract animal art, Bird art, Modern artwork abstractयसो यताउता हेर्दै म सोच्छु, यी बाँदरहरूले मेरो मकैबारीमा विद्रोह गरे भने मेनर फार्मको मालिक मिस्टर जोन्स झै म पनि आफ्नो पुर्ख्यौली थलोबाट सत्ताच्युत हुनेछु। कार्कीको तगारोमा नारिइरहेका ती गोरुहरुले विद्रोह गरे भने ती बाउसे र खेतालाहरूको भागाभाग होला। सेता बकुल्लाहरूले कसरी विद्रोह गर्लान्? तर, मलाई थाहा छ पशुहरूले विद्रोह गरेछन् भनेपनि मानिसहरू जस्तो क्रूर र हिंसात्मक कदापि हुनेछैन।

एक वर्षअघि यसैगरी बुख्याचा बन्दै गर्दा मैले मेरो कथा भनेको थिएँ। निर्मम गोलीको एक झट्काले ढलेको बुख्याचामा बा’को अनुहार देखेपछि मेरो गला अवरुद्ध भएको थियो। वाक्य त्यहीँ बसेको थियो। लाग्यो, सुनाउनु पर्ने केही बाँकी रहेन। यसो हेर्छु, गोलीले छेडेको बुख्याचाको कम्ब्याट कोटको प्वाल त जसोतसो टालेको थिएँ तर रगतका छिट्काहरू कत्तिपनि खुइलिएका थिएनन्।

खासमा मलाई यो कथा भन्नु नै थिएन। न अन्तर हृदयदेखि सक्न नै मन थियो। यी धमिला दृश्यहरू कैयौं वर्षदेखि ऐंठन बनेर मेरो छातीमा दबिएका थिए जसरी बा’को छातीमा तातो गोलीका छर्राहरू दबिएका थिए। बा’ले वीरगति प्राप्त गरेपछि लगभग मेरो जीवनको आधा अंश झरेर गयो जसरी बुढो सिमलको रूखमा झुण्डिएको बा’को लासबाट मांशहरू झरिरहेका थिए, र आधा सपना अझैपनि झुलिरहेछन् जसरी बा’का अस्थिपञ्जरहरू वर्षौंसम्म सिमलका हाङ्गाहरू झुलिरहेका थिए। तर, बा’को जीवन सकिँदैमा छोराको कथा नसकिँदो रहेछ।

धेरै पछिसम्म पनि कता कता टाढा केही फाइरिङका आवाजहरू सुनिन्थे। मैले बुख्याचाको शरीर पल्टाएँ, बा’को अनुहार रगतले लतपतिएको थियो। मेरो होश उड्यो। बा भनेर चिच्याउन खोजे आवाज बन्द भयो स्वर भित्र भित्र भासियो। भाउन्न छुट्यो, वाकवाकी आयो, आँखा डम्म भरिए, हातखुट्टा लगलगी काँपे। भेउ पाउँदा पाउँदै म भुइँमा बजारिए। निभ्न लागेको दियोजस्तै परेलाहरू मलिन हुँदै गए। बारुदको नमिठो गन्ध अन्तिमसम्म नाकमा ठोस्सिरह्यो तर अन्त्यमा, त्यो पनि हराउँदै गयो।

मलाई थाहाछैन कति समयको अचेतनापछि म शिथिल गतिमा ब्युतिएँ। आँखा गह्रुङ्गा भएका थिए। धमिला दृश्यमा केही बुटजुत्ताहरू ओहोरदोहोर गरिरहेका थिए। काँधमा दुखेको महसुस भइरहेको थियो। हठात एउटा बन्दुकको नालले मेरो टाउकोलाई ओल्ट्याइ पल्ट्याइ गर्न थाल्यो। ‘यसलाई अलिअलि पानी छम्किएर उता राख, यो जिउँदै छ’ कोही कडा आवाजमा हुकुम दिइरहेको थियो। एउटा हातले मलाई बिस्तारै उठायो मैले केही प्रतिक्रिया जनाइनँ। त्यहा एक जत्था सेना अनुसन्धान गरिरहेका थिए। बा ढलेको चार-पाँच कान्लामाथि अर्को एउटा लास पस्रिरहेको थियो।

बिस्तारै उनीहरूले बा’को लासमाथि मुचुल्का उठाउन थाले। पहिले उनीहरूले बा’को काँधमा बेरिएको ऊनीको भाङ्रे झोला निकालेर छेउमा मिल्काए, बा’ले लगाएका बुख्याचाका कपडा एक एक खोल्दै गए। गोजीहरू छामछुम गरे। उनीहरूले शंका गरेजस्तो केही भेटिएन। अन्त्यमा तीमध्येको एउटाले बा’को झोला खोतल्यो। झोलाबाट उनीहरूले केही बिजुलीका तारहरू, एक थान टर्च लाइट, केही पर्चाहरू र दुईवटा किताबहरू बरामद गरे। मैले अलिक टाठो भएर ती किताबहरू नियाले। ती मैले स्कुलको लाइब्रेरीबाट चोरेका किताब थिए। म्याक्सिम गोर्कीको ‘आमा’ एउटाचाहिँ  बा’ले जङ्गल जानुअघि मलाई छोडिदिनुभएको थियो।

मैले दगुर्दै गएर ती किताबहरू समाउन खोजेँ। तर, समाउन नपाउँदै एक जोडी बुटजुत्ता लगातार मेरो ढाडमा पालैसँग बज्रिए। म भुकलुक्कै ढलेँ। ‘ मेरा किताबहरू मलाई फिर्ता गर्नुस्। मैले स्कुलमा बुझाउनु छ। बा’लाई पनि मैले फिर्ता गर्ने वचन दिएको थिएँ।’ मेरो आवाज सुनेर सेनामध्येको नाइकेले थोरै आँखा कडकाउँदै मलाइ हेर्यो।

‘ह्याँ आइज’ उसले फौजी आवाजमा मलाई बोलायो। मेरा खुट्टा बाउँडिएजस्ता भए। डेग चलेनन् । म बल लगाएर कान्लामा च्यापिए। अर्को एउटा जवान मलाइ जबर्जस्ती समात्न आयो, मैले झनै कान्लाको सिरु घाँस जोडले समातेँ। ‘फिला झर्ने गरी चाकमा बजाइन राँडीका छोराको” नाइके जङ्गियो। उसको बोली भुइँमा खस्न नपाउँदै मेरो पछाडि बिजुलीको तरङ्गभन्दा ठूलो झट्का पर्यो। म रन्थनिएँ, तुरुक्क पिसाबै तुर्कियो। मैले बा’को लासतिर हेरेँ, असत्तीहरूले सबै कपडा फुकाएर लंगौटी मात्र लगाइदिएर बा’का हातखुट्टामा बाबियोको डोरीले पाता कसेर लामो बाँसमा उन्नै लागेका थिए।

सेनाको नाइकेले जोरले मेरो कपाल समात्यो, ‘मु*, भनेपछि तँ माओवादीको छोरो होस्?’ मेरो मुखमा एक मुक्का नबज्रिँदै अर्को प्रश्न तेर्स्यायो, ‘भन्, त्यस्ता किताबहरू कसले पढ्न लगायो तँलाई अनि को कोलाई कताकता ओसारपसार गर्छस्?’ म पिलपिल भएँ, एक्कासि डाँको छुट्यो। ‘भन्छस कि ठोकम्?’ उनीहरूले मेरो कन्सिरीमा बन्दुक ताके। केही समय मकैबारीमा मौनता छायो, कोही केही बोलेनन्। माथि चिलिमडाँडातिरबाट अनौठो हुङ्कार बज्यो। सबैजना सतर्क भए। नाइकेले केही हडबडाउँदै सबैलाई पोजिसनमा बस्ने अर्डर दियो, आफू जानभन्दा अघि उसले अर्डर दियो ‘यो बोल्दैन जस्तो छ, च्यापटर क्लोज गर्दे।’

एक्कासि मेरो होश फर्किए झैं भयो। मैले रुन्चे स्वरमा भने, ‘मैले स्कुलबाट चोरेर ल्याएका किताब हुन्। बा’ले देखेपछि मलाई पढ्न दिनुभएन, केही महिनापछि बा आफै क्रान्ति गर्छु भनेर जङ्गल पस्नुभयो। अरू मलाई केही थाहा छैन।’ एकाएक जीवनको कति ठूलो भिख मागेँ मैले।

स्कुलबाट ल्याएको भन्ने सुनेपछि ऊ केही शान्त भयो। केही माया देखाउँदै उसले भन्यो- ‘मलाई तिम्रो स्कुल लान्छौ?’ स्कुलमा बर्खे बिदा भएको थियो, एक हप्तापछि मात्र खुल्ने जानकारी गराएपछि उसले मलाई हेडसरको नाम, घर इत्यादि कुराहरू सोध्यो। अर्को नजिकै बसेको आर्मीले भन्यो, ‘यसलाई पनि सँगै लिएर जाऊँ।’ हामी त्यहाँबाट आधाघण्टा जङ्गलको बाटो हुँदै फाँटमा पुग्यौँ? फाँटका बगरे ढुङ्गाहरूबाट आर्मीका लस्करको परेड आवाज सुनिन थाल्यो। रोपाइँ गर्न लागेका मानिसहरूले सन्त्रासको भावमा लुसुक्क पर्दै हेर्न थाले। म बीचमा थिएँ। केही मिनेटमै हामी स्कुलमा पुग्यौंँ। आर्मीको नाइकेले फौजी पारामा अर्डर गर्यो, ‘सबै ताला फोडेर खोजतलासी लिनू।’ आधा जति फौज त्यहीँ बस्यो, आधा जति भने मलाई बीचमा राखेर हेडसर बस्ने घरतिर लम्किए।

घर नजिकैको पँधेरोमा कछाड बेरेर नुहाउन तम्सिएका हेडसर अचानक आफूतिर आउँदै गरेका सेनाका गस्ती देखेर केही हड्बडाएजस्ता देखिए। धाराको टुप्पोमा राखेको मोटो फ्रेमवाला चस्मा लगाएर हामीतिर घोरिए। आर्मी नाइकेले एकछिन हेडसरसँग समय माग्यो। हामी हेडसर बस्ने घरको पिँढीमा गएर बस्यौँ। उनीहरू कुरा गर्न थाले। मैले अलि चनाखो भएर कसैले भेउ नपाउने गरी कान थापेँ।

‘स्कुललाई त सेल्टर बनाउनु भा’रैछ हैन? कतिजना पाल्नु भा’छ आतंककारी? जासुस पनि खटाउनु भा होला?’ आर्मीको चिफले एकैपटक तीन प्रश्न गर्‍यो। हेडसर वाल्ल परे। उनको निधार र नाकको टुप्पोमा चिटचिट पसिना निस्किन थाले। ‘ विद्यालय शान्ति क्षेत्र हो, हामीले त्यस्तो केही गरेका छैनौँ। विश्वास गर्नुस्।’ उनी मलिन मलिन हुँदै गए।

‘बढ्ता टाठो नहुनुस्, मिति पुर्याइदिउँला। तपाईंको विद्यालयमा यी पुस्तक कसरी आए? कसले ओसारपसार गर्छ यी?’ बन्दुक पड्केको जस्तै गरी आर्मी चिफले कम्युनिस्ट मेनिफेस्टो र चे ग्वेभाराको छापामार युद्धकला हेडसरको मुखैमा फ्याँक्यो। हेडसरले हत्तपत्त किताबका गाता हेरे भित्रपट्टि स्कुलको छापसहित छापामै लेखिएको रहेछ- पुस्तकालय प्रयोजनको लागि ल्याइएका किताबहरूको बिक्री वितरण गरिनेछैन। त्यो देखेर हेडसरको ओठतालु सुक्यो। ‘तपाईंहरूसमक्ष यी पुस्तक कसरी आइपुगे?’ हेडसरले डराउँदै प्रश्न गरे। आर्मी चिफले मतिर औंला सोझ्याउँदै भन्यो, ‘यो केटोले तपाईंको विद्यालयको पुस्तकालयबाट लगेको रै’छ। यसको बाउ माओवादी रै’छ। बेलुकाको मुठभेडमा मारियो। आतंककारीसँग यसरी साँठगाँठ गर्ने तपाईंहरू ?’ ऊ बम्कियो।

हेडसरले मलाई सोध्नुभयो, ‘ सत्य सत्य बोल बाबू। म केही गर्दिनँ, फेरि सबैलाई अप्ठ्यारो पर्छ। नडराई भन् त, कता भेटिस यी किताब ? ‘ बोलीमा केही माया मिसिएजस्तो सुनिएपनि उनको आँखामा रिसको आगो दनदनी रन्किएको देखेको थिएँ मैले। ‘लाइब्रेरीबाट नै लगेको हुँ। पालेदाइलाई बा’को ढाकाटोपी दिएर खुस्सुक्क छिरेको थिएँ, लाइब्रेरीमा डिल्लीराम सर पढ्दै हुनुहुन्थ्यो। सर बाहिर जानासाथ मैले यी किताबहरू उठाएको हुँ।’ मैले साफ साफ भनिदिएँ।

‘ए ए! भनेसि कुरा छर्लङ्ग भयो। स्कुलमा हरेक कुरामा विमति राख्नु, घण्टीमा समेत कक्षामा नजानु, स्कुलै गयल हुनु, स्पष्टीकरण माग्दा पनि ठाडो ठाडो बोल्नुको कारण यस्तो पो रहेछ।’ हेडसरले सबै बुझेझैं  गरी भने र आर्मीको चिफलाई छुट्टै लगेर केही कानेखुसी गरे।

घाम टाउकोमाथि पुगिसकेको थियो, पेटमा भोकको राँको बल्न थाल्यो। रिंगटा लाग्लाझैं भएको थियो। तर, मनभित्रको त्रास र बा’को लासको चिन्ताले सबै बिर्सिएको थिएँ। हेडसर र आर्मी चिफबीचको कुरा सकिएछ। हेडसरले मलाई भन्नु भो, ‘अहिले घर जा, सरहरूले बोलाको बेला लुरुक्क आउनु। गल्ती गरिस् एकपटकलाई माफ भो। बा’को किरिया गर्लास् भनेर मात्र हो, नत्र तँलाई पनि जाकिदिन्थेँ।’

त्यहाँबाट एक सासमा म दौडिएँ। फाँटमा हावा सुसाइरहेको थियो, जङ्गलमा बाँदरहरू पल्याकपुलुक मलाई हेर्दै थिए। मेरा आँखाबाट लगातार आँसु बगिरहे। आँखाहरू धमिला भए, बा’का तस्बिरहरू झन जोडजोडले नाच्न थाले। म सिधै मकैबारीमा पुगे, बा’को लास थिएन, रगत जमेर डल्ला परेका थिए। छेउमा बा’ले लगाएका बुख्याचाका रगतका टाटैटाटा भएका कपडा पोको पारेर फालिएको थियो, म रुँदै पोको टिपेर गोठतिर फर्किएँ। त्यो दिन त्यसै सकियो। भोक, शोक र थकाइले म मुर्दाजसरी पल्टिएँ।

भोलिपल्ट सबेरै भक्ते काकाको आवाजले म ब्युँझिएँ। भक्ते काका र बा सँगसँगै जङ्गल पसेका थिए। भक्ते काका सानी छोरी र श्रीमति छाडेर क्रान्तिमा होमिएका थिए। काकाले मलाई उठाएर, चिलिमडाँडातिर लानुभयो। उहाँसँग अरू दश-बाह्रजना बन्दुक बोकेका मान्छेहरू थिए। हामीभन्दा पाँच पाँच कदमअघि गएर उनीहरू पहरा दिन्थे, उनीहरूको हातको इशारासँगै हामी अघि बढ्थ्यौँ। डाँडाको डिलको सिमलको रूखमा पुगेपछि काकाले मेरो हात बेस्मारी समात्नु भयो। त्यहाँ अन्य गाउँका मान्छेहरूको पनि भिड थियो। भिड छिचोल्दै भित्र पुगेपछि मैले देखे सिमलको दाहिने हाँगामा बा’को लास झुण्डिएको थियो, मेरा आँखा डम्म भरिए। कुहिनाले आँखा पुछ्दै गर्दा म झसङ्ग भए सिमलको देब्रे हाँगामा डिल्लीराम सरको लास झुण्डिएको थियो। म अक्क न बक्क भएँ, त्यसै वाल्ल परेँ।

छेउमा मान्छेहरू गाँइगुँइ गर्दै थिए- ‘बेलुका हेडमास्टर र मास्टर सा’ब अबेलासम्म मगर साइँलाकोमा रक्सी पिउँदै थिए रे, कसो कसो हेडमास्टरसम्म बाँचेछन्। डिल्लीराम सरका दुईवटै हात बाँधिएका थिए, घाँटीमा डोरी बाँधेर छातीमा सानो कागज झुण्ड्याइएको थियो, जसमा ठूला अक्षरमा लेखिएको थियो ,खबरदार !हाम्रो आदेशबिना जसले हात लगाउला उसको यही हालत हुनेछ।’

सबै तितरबितर भए। भक्ते काकाले जाने बेला भन्नुभयो, ‘मुटु दह्रो बनाएस्। केही परे भन् हामी यतै हुन्छौँ, तेरो बाउपछिको बाउ हुँ म।’ मैले टाउको हल्लाएँ र छुट्दै गर्दा काकालाई भनेँ,  ‘तपाईंहरू के को लागि लड्दै हुनुहुन्छ मलाई थाहा छैन। म कुनै राजनीति बुझ्दिनँ, मलाई कुनै वाद र सिद्धान्त पनि थाहाछैन। तर, जसरी मेरा आँखैअघि यी अमानवीय घटना भए, यिनको विरुद्धमा जरुर लड्ने छु। मेरा बा’को आत्मसम्मान र दिवङ्गत आत्माको लागि लड्नेछु। तेह्र दिनपछि आउनुहोला म तपाईंहरूको प्रतीक्षामा रहने छु।’

मैले अचानक आफ्नै आवाज र वाक्यहरू भारी भएको महसुस गरेँ। मैले थाहा पाइनँ, मलाई यस्तो बोल्न आजसम्म पढेका किताबले सिकायो या बा र काकाहरूले गर्ने बहसले!  या त फेरि समय परिस्थितिले मेरो टाउकोमाथि खसाएको बज्रले? मेरो काँधमा धाप मारेर उनीहरू अघि बढे। आँखामै जाम परेको आँसु र किलकिलेमै गाँठो परेको हिक्कालाई भित्रै कुण्ठ्याउन खोज्दै म गोठमा फर्किएँ। रातभरि लगाएर बुख्याचाका सामानहरू, हजुरबा’को आसामी लाहुर कोट, खद्दरको पाइन्ट, घुँडासम्म आउने पानीजुत्ता र चोयाको छप्रे टोपी मिलाएर आल्मारीमा घुसाएँ। लाग्यो, बुख्याचा बन्ने सपना अझै सकिएको छैन।
Prairie House No.20 (Scarecrow2) by Prairie Project | Artwork Archive

Facebook Comments

You may also like

error: Content is protected !!