वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठानले शनिबार जारी गरेको विज्ञप्ति अनुसार, नेपाली वाङ्गमयलाई गरिमामय बनाउन आख्यानकार ध्रुवचन्द्र गौतमले आधा शताब्दी यता निरन्तर पुऱ्याएको योगदानका निम्ती ७५ हजार रुपैयाँ राशीसहितको यस वर्षको वसुन्धराश्री पुरस्कार प्रदान गरिने भएको छ ।
७७ वर्षीय गौतमका २५ भन्दा बढी उपन्यास मात्रै प्रकाशित छन् भने उपन्यास विधाकै लागि मदन, साझा लगायतका प्रतिष्ठित पुरस्कारहरु उनले पाइसकेका छन् । उनका ‘अलिखित’, ‘कट्टेल सरको चोटपटक’, ‘निमित्त नायक’, ‘तथाकथित’, ‘बाढी’, ‘डापी’, ‘एक शहरमा एक कोठा’ लगायतका उपन्यास लोकप्रिय छन् । हालै मात्रै गौतमको ‘चकमन्नमा एकान्त’ र ‘जेलिएको’ उपन्यास प्रकाशित भएका छन् ।
त्यसैगरी, प्रतिष्ठानका सदस्य सचिव कृषु क्षेत्रीले जारी गरेको विज्ञप्तिअनुसार, यस वर्षको मानश्री पुरस्कार भने साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको छ । यो पुरस्कारमा ५० हजार रुपैयााँ राशीसहित सम्मान पत्र रहेको छ । ६५ वर्षीय सरुभक्तका ‘पागलबस्ती’, ‘तरुनी खेती’, ‘चुली’ लगायतका उपन्यास प्रकाशित छन् भने कविताकृतिमा ‘बोक्सीको आह्वान र घोषणापत्र’, ‘कवि, प्रेमी र पागल’, ‘प्रयोगशालाभित्र’ र ‘इथर समय’ प्रकाशित छन् ।