अल्झिरहेका केही गीत र अवशेषहरू | SATURDAYकलम | Kavyalaya - कव्यालय

अल्झिरहेका केही गीत  र अवशेषहरू

प्राय मानिसहरू दशैंको आगमन मिर्मिरेमा हावाको झोक्काले फाँटभरि झुलिरहेका धानका बालाहरूसँग, आँगनभर सुरम्य फुल्न थालेका सयपत्री फूलहरूसँग अनि आसमानमा उडिरहेका रंगीला धागोका पुच्छरधारी पंछीहरूसँग समन्वय राख्छन्। तर मेरा लागि भने यो सुदूर क्षितिजदेखि मधुर लयमा बताससँग सुसेल्दै आउने एउटा यस्तो हृदयविदारक धुन बनेको छ, जो मेरो स्वप्नस्मृतिको गोधूली किरणसँगै मेरो संवेदनाभरि छाउँछ र मेरो जीवनको एउटा अर्को साँझलाई नुहेर अल्बिदा गर्छ। यसरी मेरा थुप्रै साँझहरू बिदा भइसकेका छन्। कुनै साँझ म उसको आगमनमा विह्वल भएर रोएको छु र कुनै साँझ म विनम्र मुस्कुराएर सहृदयताका साथ झुकेको छु।

त्यसताका म करिब ६ वर्षको हुँदो हुँ। म आँगनमा एक्लै खेलिरहेको थिएँ। कमिलाहरूको लामो ताँती कतातिर जाँदैछ भनेर ध्यान दिएर पछ्याउँदै थिएँ। यत्तिकैमा गेट बाहिर सारङ्गीको छोटो कारूणिक स्वर सुनियो। मैले मेरो टाउको उठाएर हेरेँ। एकजना १५/१६ आसपासको गाइने केटो अलिक लजाउँदै बिस्तारै गेट खोलेर अगाडि बढ्यो र मूल ढोका अघि बरन्डामा आफ्नो शरीर बिसायो। म मेरो अन्वेषण त्यही लत्याएर दगुर्दै उसको छेउमा बस्न गएँ। मेरा लागि यो कुनै गाइनेसँगको जीवनकै प्रथम भेट थियो, सारङ्गीसँगको पहिलो मुलाक़ात थियो – म यस आगमनले एकदमै उत्सुक एवम् प्रफुल्लित थिएँ।

भित्रबाट मुमा र बुवा बाहिर निस्कनुभयो। दुवैको अनुहार यस अप्रत्याशित पाहुनाको उपस्थितिले उज्यालिएको थियो। मुमा मेरो छेउमा बसेर मेरो कपाल सुम्सुम्याउँदै कहिले गाइनेको अनुहार, कहिले उसको पुरानो सारङ्गी र कहिले टाढा शून्यतर्फ एकोहोरिएर हेर्दै मुग्ध बनिरहनु भयो। बुवा भने ढोकाको सँघारमा उभिएर हामी सबैलाई मन्द मुस्कान बोकेर निहारिरहनु भएको थियो। म पनि मौन भएर यो नौलो बाजाको सुमधुर धुनलाई चुपचाप सुनिरहेको थिएँ। गीत सकिए पछि गाइनेले सन्तुष्ट नजर वरिपरि डुलायो अनि लजालु हाँसो मुस्कुरायो।

“तिमीले गीत त गाएनौ नि!” बुवाले आफ्नो हँसिलो स्वरमा प्रतिक्रिया दिनुभयो।

“हजुल.. गा-गा-न मिदैन।” उसले केहि बल गरेर बोल्यो।

“ए..! भैगो ठीक छ, मीठो बजायौ। संगीत सधैँ अक्षरहरूसँगै बज्नुपर्छ भन्ने पनि त छैन।” बुवाले नम्र भएर भन्नुभयो। मुमा पहिले बुवातर्फ अनि फेरि गाइनेतर्फ हेर्दै मुस्कुराउनु भयो।

यो हाम्रो परिवारको ऊसँगको सम्बन्धको सुरूवात थियो। त्यसपछि हरेक साल बर्खा महिना सुषुप्त भएपश्चात ऊ शरदको निम्तोमा हाम्रो दैलोमा एकपटक झुल्कन आउँथ्यो। त्यस पतझर मौसममा म कहिले सुक्खा खस्रो पात हुन्थेँ त कहिले फूलहरूका सुनौला रंग मेरो प्राणमा लतपतिएका हुन्थे।

यसरी बिस्तारै हामीबीच यस्तो आत्मीयता साटियो कि बर्खा सकिएपछि हाम्रो परिवारमा एउटा अचम्मको व्यग्रता रहिरहन्थ्यो। हामी उसलाई एकदम अधीर भएर कुरिरहेका हुन्थ्यौँ। मानौँ ऊ आएन भने समय त्यहीँ रोकिनेछ वा हाम्रो अस्तित्व हेमन्त आउनु अगावै सुक्खा हावामा यसै लोप हुनेछ।

मुमा कहिले भान्छा गर्दैगर्दा एकोहोरिएर उसलाई सम्झिनाले चिया उम्लिएर पोखिएको ख़्याल नै गर्नुहुँदैनथ्यो।

म पनि कान चनाखो पारेर आँगन वरिपरि हिँडिरहन्थेँ। साच्चिकै रहस्यमय थियो यो प्रतिभास जसरी हाम्रो सम्पूर्ण परिवार एकदम व्याकुल हुँदै जान्थ्यो – मानौँ कसैले मोहनी टुनामुना लगाइदिएको छ।

तर सौभाग्यवश ऊ हरेक साल हाम्रो घरको अभिन्न पाहुना बनेर आइरह्यो अनि यस समयचक्र पूर्ण भइरह्यो। उसको आगमनपश्चात बल्ल आँगनमा फूलका कोपिलाहरू फूल्न थाल्थे र आकाशहरू ती मनोहर रंगीन पंक्षीहरूका निम्ति खुल्न थाल्थे। उसको सारङ्गीका तारहरूको तरंगले शरद ऋतु सृष्टि हुन्थ्यो। हामी केवल मौन भएर उसका धुनहरू सुनिरहन्थ्यौँ, ऊ सुनाइरहन्थ्यो उसका टाढा टाढाका गोरेटोहरू अनि सुदूरका अलौकिक इन्द्रेणीका गीतहरू। हाम्रो ऊ प्रतिको यस्तो अनुराग एकदम ताजुबको कुरा थियो किनभने ऊसँग हाम्रो दोहोरो संवाद बिरलै हुन्थ्यो। यद्यपि हामी अनौठो तवरले मन्त्रमुग्ध बनिरह्यौ ऊप्रति। हामी सुनिरह्यौ उसका क्षितिजपारिका गीतहरू। र, ऊ पनि हामीप्रति उत्तिकै अनुराग, सद्भावना र प्रेम राखिरह्यो।

कालान्तरमा हामीलाई ऊबारे थोरबहुत कुराहरू थाहा भए। जसो कि उसको बुवा परलोक भएको हप्ता दिन पछि उसको जन्म भएको रहेछ। ऊ सानैदेखि आफ्नो बुवाको मात्र नासो – त्यस पुरानो सारङ्गीप्रति अचम्मको आसक्ति राख्न थाल्यो। तर ११ वर्ष पुग्दासम्म पनि उसले प्रष्ट बोल्न भने सकेन। उसको आमा यो कुराले सदैव चिन्तित रहन्थिन् तर उसले पल्लो गाउँका एकजना बुढा गाइनेकहाँ ओहोरदोहोर गर्दागर्दै सारङ्गी बजाउन सिक्यो, जान्ने भयो। जबजब ऊ आफ्नो कोठामा बसेर एक्लै सारङ्गी रेट्थ्यो, उसकी आमा सँगारमा आएर चुपचाप बसिरहन्थिन्। उनी कहिले रुन्थिन् त कहिले प्रेम र ममता भरिएको नजरले उसलाई आशीर्वाद सम्प्रेषन गरिरहन्थिन्। तर पछि ऊ १३ वर्षको हुँदा उनी पनि अचानक खसिन्। त्यसपछि ऊ घरबाट निस्कियो र गाइने भएर लामो दूरीहरू छिचोल्दै आफ्ना गीतहरू सुनाउन थाल्यो।

मुमाप्रति ऊ विशेष स्नेह राख्थ्यो। उसकी आमा मुमाजस्तै थिइन् रे। कहिलेकाहीँ मुमा बाहिर आउन ढिला भएमा प्रश्नोन्मुख भावनाले ऊ बुवा र मेरो नज़र ताक्थ्यो। अनि मुमा आएपछि मात्र ऊ मुस्कुराएर अभिवादन गर्दै बल्ल आफ्नो गीत बजाउन सुरू गर्थ्यो। मुमा उसलाई खाजा बनाइदिनुहुन्थ्यो, लुगाफाटो उपहार दिनुहुन्थ्यो। यसरी ऊ हाम्रो घरमा घन्टौं विश्राम गर्थ्यो र सप्रेमले हामीसँग वातचीत गर्न खोज्थ्यो। तर उसले हाम्रोमा बास बस्न भने कहिल्यै मानेन। हाम्रो अनुरोध ऊ सधैँ त्यहि आफ्नो मिजासिलो व्यवहारले टाउको हल्लाउँदै हातहरूको हाउभाउले इन्कार गरिरह्यो।

एकचोटी बुवाले हाम्रो फोटो खिचिदिनुभएको थियो। मुमा बीचमा अनि ऊ र म छेउछाउमा। अर्को वर्ष उसलाई त्यस फोटो देखाउँदा ऊ एकदम आश्चर्यचकित भएको थियो। उसले थोरै लज्जा र अलिक बढी भयमिश्रित स्वरले बुवालाई आफूले त्यो फोटो राख्न चाहेको कुरा अनुरोध गर्यो। बुवाले हाँस्दै उसलाई एल्बमबाट झिकेर त्यो फोटो दिनुभयो। ऊ एकदम धन्यभावले बुवालाई हेर्यो अनि मुमाको हँसिलो अनुहारमा नजर टिकाइराख्यो। मलाई मनभित्र एक्कासी चिसो पस्यो। म उसलाई बिदाइ नै नगरिकन खेल्न जाने बाहानामा बाहिर दगुरेँ।

यसरी मौसमहरू एकनाससँग बदलिँदै, दोहोरिँदै गइरहे। आकाशहरू फेरिइरहे, साँझहरू ढलिरहे। लामा छोटा रातहरूबीच जीवनरीति एकसूरमा बितिरह्यो।

एकदिन बुवा कुर्सिबाट उठ्न खोज्दाखोज्दै लड्नुभयो। त्यसबेला उहाँलाई उठाउँदै गर्दा मैले बल्ल ख्याल गरेँ – बुवाका आँखाहरू एकदम निस्तेज भै’सकेछन्, अनुहार चाउरिसकेछ। बुवा बुढो भै’सक्नु भएछ। यस आकस्मिक अनुभूतिले मेरो हृदयलाई साह्रै पिरोल्यो।

बुवा ट्यूबरक्लोसिसले ग्रस्त हुनुहुन्थ्यो। लेख्न पढ्न सक्नुहुँदैनथ्यो या रूचि राख्न छोड्नुभएको थियो। मेरो कोठामा मैले केही कोरिरहेको देख्नुभयो भने एकछिन ढोकामा उभिएर एकोहोरो हेरिरहनुहुन्थ्यो। मेरो टाउको निहुरेको भएता पनि म आभास गरिरहन्थेँ।

“खै! जिन्दगीमा केही राम्रो लेख्नै सकिएन। अहिले फर्किएर हेर्दा आफूले नै सम्झन सक्दिनँ आफ्ना कथाहरू।” एकदिन बुवाको सम्पादक साथी उहाँलाई भेट्न आउँदा परबाट सुनेँ।

बर्खा सुरू हुँदा बुवा एकदम थला पर्नुभयो। यद्यपि उहाँ गाइनेको आगमन बेसव्र भएर कुरिरहनु नै भएको थियो। एक रात म उहाँको छेउमा बसेर उहाँलाई औषधी खुवाउँदै थिएँ। औषधी खाइसकेपछि बुवा सिरानीमा अढेस लागेर बस्नुभयो र केहिबेर मौन भएर झ्याल बाहिर हेरिरहनुभयो।

“आज कस्तो अचम्मको सपना देखेँ। म एउटा समुन्द्रको किनारमा थिएँ रे। कता हो बाट उसको सारङ्गी बजिरहेछ रे। ठूलो ठुलो छाल आउँदै थियो। मलाई डर भने अलिकति पनि लागेको थिएन। म निथ्रूक्क भिजिसकेको छु तर त्यो गीत कताबाट बजिरहेको छ म थाहा पाउन सकिरहेको छैन। एक्कासि टाढा छालहरूबीच ऊ पछारिइरहेको छ, चिच्याइरहेको छ। म हडबडाउँछु। म कसरी बचाऊँ उसलाई? तर एक्कासि सबै शान्त हुन्छ। म अब एउटा सानो डुंगामा थिएँ अनि समुन्द्रको बीचमा बिस्तारै कतै बग्दै थिएँ। उसको सारङ्गी मेरो काखमा थियो।”

बुवा एकछिन टोल्हाइरहनुभयो। अनि फेरि बोल्नुभयो –
“मलाई डर लाग्दैछ कतै उसलाई केही नराम्रो त भएन? बिचरा कहाँ होला, अहिले के गर्दै होला? दशैं आउन अझै महिना दिन बाँकी छ।”

“बुवा तपाईं किन कथा लेख्नुहुन्न?” मैले प्रत्युत्तरमा भनेँ।

बुवा मेरो प्रश्न सुनेर खिन्न हुनुहुन्छ होला सोचेको थिएँ तर उहाँ शुभ्र मुस्कान मुस्कुराउनु भयो।

“म सोच्दै थिएँ म ऊबारे कथा लेखूँ। यतिका वर्षसम्म उसलाई देखेको, चिनेको छु तर उसबारे कथा लेख्ने ख्याल कहिल्यै आएन। कस्तो अचम्म!”

मैले मुस्कुराउँदै उहाँका आँखा निहारे, ती एकदम जीवन्त भएर चम्किरहेका थिए।

तर बुवा त्यस रात निदाएर फेरि ब्यूँझनु भएन। बिहान उहाँको बिछ्यौनामा उहाँको देहसँगै छेउमा एउटा नयाँ खाली डायरी र ढक्कन खोलिएको उहाँको पुरानो कलम शान्त लेटिरहेका थिए।

जब गाइनेको सारङ्गी बिलौना गर्दै बज्न लाग्यो, मुमा असहाय भएर रून थाल्नुभयो। गाइनेले आँखा चिम्लिएर सारङ्गीसँगै वेदना पोखेर रोइरह्यो। गीत सकिएर उसले आफ्ना आँखा खोल्दा त्यहाँ बुवाप्रतिको निर्मल स्नेहको पोखरी तैरिरहेको थियो। हामीसँग बिदाइ लिइसकेपछि गाइने केहि मिनेट बरन्डामा एक्लै बसिरह्यो। मैले भित्र झ्यालको कापबाट उसलाई हेरिरहेँ। सायद ऊ मौन धारण गर्दै थियो।

मलाई यहाँ आएर यो कथा अधि बढाउन चाहना छैन। कथा अघि बढ्नु भनेको समय अघि बढ्नु हो। समय अघि बढ्नु भनेको… तर मैले कथा रोक्दैमा समय रोकिँदैन। र यो समय वेगवान छ, मृत्यु अप्रिय तर अपरिहार्य छ। समय निसंकोच बगिरहन्छ, जीवन सृष्टि भइरहन्छ, ब्रह्माण्डको वियोगान्त धुन बजिरहन्छ, चेतना आफ्नो छोटो निरर्थक आयुबीच नाचिरहन्छ, रोइरहन्छ अनि मृत्यु अवश्यम्भावी भएर आयुलाई बिस्तारै बिस्तारै निचोरिरहन्छ।

मुमा एकाबिहान मलाई अतालिदै डाँक्नुभयो।

“बाबु म दाहिने कान केहि पनि सुन्दिनँ ! कसरी भयो एक्कासी यस्तो? किन भयो?”

म निस्तब्ध भएँ। मलाई मेरो अन्तस्करण देखि चीत्कार छोड्न मन लाग्यो। मलाई भाउन्न भएर आयो – मुमा अब धेरै बाँच्नुहुन्न।

मुमाका आँखाहरू पनि निस्तेज भै’सकेका थिए। मैले सम्झन खोजेँ उहाँका पुराना बितेका उमेरहरू। मुमा कस्ती राम्री हुनुहुन्थ्यो। मुहार सधैँ धप्प बलेको, शोभायमान मुस्कान ओठभरि खेलेको। तर अहिले उहाँ निर्मम रूपले बेरंग भै’सक्नु भएको थियो। बर्खा महिनाभर मुमा कुनै बखत मलिन त कुनै बखत प्रशान्त मुद्रामा बसिरहनु भएको हुन्थ्यो। झ्याल बाहिर फाँटहरूमा हराएका उहाँका नजर अनि कोठाको त्यस कुनामा एक्लिएको उहाँको त्यो आकृति! म अहिलेसम्म पनि सपनामा देखिरहन्छु।

“यत्रो वर्ष भै’सक्यो.. ऊ आफ्नै छोरा जस्तो लाग्छ। ऊ सधैँ दशैं लिएर आइरह्यो हामी कहाँ। तर हामीले सँगै दशैं मनाउन कहिल्यै पाउने भएनौँ। यो पाली उसलाई अघि नै भएपनि टीका लगाइदिनुपर्ला।”

मैले मुस्कुराएर मुमालाई हेरिरहेँ।

मुमा बिहान सबेरै उठेर पूजा कोठामा आरती गर्दै हुनुहुन्थ्यो। भान्छामा मलाई भन्नुभयो – “खै, किन किन मलाई लाग्दैछ आज ऊ आउनेछ।”

मुमा दिउँसोभर पुराना यादहरू स्मरण गर्दै बस्नुभयो। मेरो बाल्यकालका बदमासीहरूमा फेरि हाँस्नुभयो। बुवासँगका पुराना यादहरू सम्झनुभयो। साँझ पर्न लाग्दा उहाँ कोठामा एक्लै बसेर सन्दुकबाट बुवाका पुराना चिठीहरू खोलेर हेर्दै हुनुहुन्थ्यो। त्यसपछि मुमा बार्दलीमा कुर्सीमा बसेर गाइनेको बाटो कुर्दै बसिरहनुभयो। पूजा कोठामा रातो अक्षता टीका मुमासँगै गाइनेको प्रतिक्षा गर्दै थियो। टाढा क्षितिजमा बिस्तारै सुनौलो गोधूली साँझ पर्दै थियो। मैले परबाट मुमालाई बोलाएँ – “मुमा! चिया बनाऊँ?” मुमा पछाडि फर्केर मुस्कुराउनुभयो।

गाइनेका कदमहरू हाम्रो प्रांगणमा धीमा तवरले आउँदै थिए। मलाई घरभित्र पहिल्यै मनमा आभास भैसकेको थियो उसको आगमन। म शिथिल पाइलाहरू चाल्दै बाहिर गएर गाइनेको छेउमा चुपचाप बसेँ। उसका आँखाहरू मुमालाई खोज्दै थिए। म मौन रहिरहेँ। गाइने केहीबेर विक्षुब्ध भएर मलाई हेरिरह्यो। मेरा आँखाहरू रसाइसकेका थिए। मैले मेरो धमिलो दृष्टिले उसको आकृति निहारेँ। ऊ पनि ढल्दै गरेको साँझ भै’सकेको थियो।

गाइने हिक्का छोडेर रून लाग्यो, म पनि सँसँगै बेस्सरी रून थालेँ। अब म मात्र बाँकी थिएँ, नितान्त एक्लो। उसको अन्तिम स्रोता। म अब एकदम निहत्था, निराश्रय, निर्धो भै’सकेको थिएँ। मुमा ! कति निष्ठुर निर्दयी छ यो जीवन, यो प्रारब्ध! जीवन एउटा युद्ध थियो जोसँग म निश्चित हारिसकेको थिएँ। त्यसैले म चाहन्थेँ म नरोऊँ, प्रतिकार नगरूँ। यस निस्सारतालाई आफूभित्र समेटूँ जसरी म जीवनभर लागि परेको छु। तर यसपाली मैले मेरो मनको बाँध सम्हाल्न सकिनँ। मुमा मेरो जीवनको अन्तिम सार हुनुहुन्थ्यो।

गाइने र म एकअर्कालाई अँगालो हाल्दै पूर्ण असहाय भएर रोइरह्यौँ। उसको काँधमा मेरा आँसुहरू भिज्दै गर्दा मलाई मनभित्र थाहा भै’सकेको थियो – यो हाम्रो अन्तिम भेट हो। मलाई लाग्छ त्यस समभाव उसलाई पनि बोध भै’सकेको थियो। हामी निकै बेर मौन भएर बसिरह्यौँ। केही कालपछि उसले आफ्नो सारङ्गी बजाउन सुरू गर्यो। सारङ्गी यस्तो वेदना लिएर रोयो कि आँसु सकिसकेका मेरा आँखाहरू फेरि रसाउन थाले। उसले आफ्नो गज एकनासले रेटिरह्यो त्यस पुरानो सारङ्गीका तारहरूमा।

एकछिन पछि ऊ आफ्नो सारङ्गी बजाउँदा बजाउँदै बरन्डाबाट उठ्यो र मलाई एकनासले निहार्यो, सानो मुस्कानसँग अन्तिम अलबिदा स्वरूप आफ्नो शिर झुकायो अनि पछाडि नफर्किकन एकसूरमा हिँडिरह्यो। र, एक अनन्तसम्म उसको त्यो विरहको धुन हावाभरि गुन्जिरह्यो। हरेक साल बर्खायाममा म ती गीतका केही अनुनादहरू अझै सुनिरहन्छु – कहिले बताससँगै, कहिले झरीसँगै। लाग्छ, उसका ती पुराना गीतहरू सायद वायुमण्डलमा अझै कतै बादलहरूबीच अल्झिरहेका छन्।

गाइनेसँगको मेरो सम्बन्धको कथा यति नै हो र मेरो जीवनको कथा पनि यति नै हो। अहिले सम्झँदा म प्राय सोचमग्न भइरहन्छु। सायद मेरो जीवनभरकै आत्मीय मुहारहरू सम्झन खोज्दा ऊ तेस्रो नम्बरमा आउँछ। लाग्छ, मेरो जिन्दगीमा मैले धेरै अनुहारहरू नै चिनिनँ। अनि मेरो जीवनमा धेरै घटनाहरू नै घटेनन् जसलाई म नितान्त आफ्नो अनुभव, आफ्नो अस्तित्व वरपरको परिवेश या छरछिमेकका भोगाइहरू समेटेर मौलिक सम्झनाहरू सोच्न सकूँ, कथाहरू कोर्न सकूँ। मैले जीवनभर पुस्तकहरूसँग मात्र संगत गरिरहेँ। मैले इष्टमित्र, नातागोता र निकट सम्बन्धहरू, वैवाहिक जीन्दगी या वंशको जिम्मेवारीहरूप्रति कहिल्यै दिलचस्पी दिइनँ, बोध गर्न चाहिनँ। सायद त्यसैले नै हो म ऊप्रति यसरी अल्झिएको – म यसै भन्न सक्दिनँ। तर मलाई मेरो व्यतीत जीवनसँग कुनै गुनासो पनि छैन।

अहिले मेरो जीवनका ५० साँझहरू यसरी बितिसकेका छन्। मेरो एक्लो आत्मा सम्पूर्ण ब्रह्माण्डको अस्तित्वको अवशेष जस्तो बनेर यो पुरानो घरभित्र बाँचिरहेकै छ। र, मेरो यादहरू भित्र बाँचिरहेका छन् ती तीन पात्रहरू। अनि हाम्रा हरेक साझा स्मृति विस्मृतिहरू। म कुनै दिन मरूँला अनि मसँगै ती सबै-सबै एकदम अस्तित्वहीन, अर्थहीन हुनेछन्। कठै जीवन, कठै चेतना!

म गाइनेलाई कुरिरहेको छैन। मेरा बाँकी दिनहरू म कुनै परबाहबिना, कुनै पर्खाइबिना बाँच्न चाहन्छु। म मेरा अहिलेका साँझहरू यस बार्दलीमा सिगरेटको धुवाँबीच आफ्नो मृत्युबारे मनन गर्दै बसिरहन्छु। मलाई साँच्चिकै केही कुराको पर्खाइ छैन- मृत्युको पनि छैन। अनि मलाई यकीन छ कि ऊ अब यहाँ फर्कने छैन। तर ऊ मरेको छैन, मलाई यो पनि नि:सन्देह थाहा छ – ऊभन्दा पहिले म नै मर्नेछु।

म बेलाबखत सोच्ने गर्छु – मेरो मृत्यु भएको केही कालपश्चात ऊ यहाँ फर्कनेछ र मेरो अस्तित्वको भग्नावशेषहरू उसले देख्नेछ, महसूस गर्नेछ। ऊ मेरो अर्थहीन जीवनको अन्त्येष्टिका नाममा केहीबेर मौन धारण गर्नेछ। अनि उसले त्यही आफ्नो पुरानो सारङ्गीमा एउटा अन्तिम निरीह गीत बजाउनेछ – मेरा निम्ति… मुमाका निम्ति, बुवाका निम्ति, आफ्ना निम्ति अनि जीवन र मृत्युको विवश निस्सारताका निम्ति। र त्यसपछि ऊ एकोहोरो हिँडिरहनेछ र यहाँ कहिल्यै फर्कनेछैन। मलाई थाहा छ, मलाई यो निश्चय थाहा छ।

 

Facebook Comments

You may also like

error: Content is protected !!