संकल्प

“ए पुन्टे, तेरा खुट्टा यता नतेर्स्या है  !”
धनीराम बाजेले हेमराज विश्वकर्मा अर्थात् माइलो कामीको छोरालाई सँगै राखिएको अर्को खाटबाट कराए । असार महिनाको समय थियो । आफूपनि बूढो भएर र भएका छोराछोरी सबै शहर पसेकाले माइला कामीलाई खेत अध्याँ (फलेको अन्न आधा आधा बाँड्ने शर्त) दिएका थिए । उनीहरु प्राय: काम गर्ने सिलसिलामा बाजेको घर आइरहन्थे, बसिरहन्थे, मिलेसम्म र पाएसम्म खाइरहन्थे । कान्छी बज्यै (धनीरामकी श्रीमती) अलि दयालु स्वभावकी थिइन् । माइला कामीका छोराछोरी त्यतातिर देखा परे भने केही न केही खानेकुरा दिइरहन्थिन् । उनको यो व्यवहार देखेर केटाकेटी खुसी हुन्थे भने धनीराम बाजे अलि लोभ गर्थे । भर्सक नदिन पाए हुन्थ्योझैं गर्थे र बोली पनि रुखो थियो । उनी गाउँघरमा नामी पुरोहितमा कहलिन्थे । जातभात खुब मान्थे । कुनै शुद्रले छोएमा पनि सुनपानी नछर्की घरभित्र पस्दैनथे ।

असारे रोपाइँको दिन थियो । माइला कामी बिहानै हल गोरुको साथमा खेतमा पुगिसकेको थियो । बिस्तारै उसका छोराछोरी पनि आइपुगे । पानी, बीउ यताउता सबै मिलान थाले । एकछिनपछि सबैजना रोपाहार (धान रोप्ने महिला)सँगै रुपमती (माइला कामीकी श्रीमती) खाना लिएर आइपुगिन् । उनी साच्चै नै उनको नाम जस्तो अस्याध्यै राम्री थिइन् । चारजना छोराछोरीकी आमा भएपनि उनको सुन्दरतालाई एकरत्ति असर गरेको थिएन । सारा गाउँलेहरु (तरुनादेखि बुढासम्म) उनको फुलिसकेको तर फुल्दै गरेको जस्तो देखिने जवानीमा आँखा लगाउँथे । यो काममा धनीराम बाजेपनि पछि हटेका थिएनन् । कान्छी बज्यै छेउछाउ नभएको मौका छोपेर जिस्क्याइहाल्न पनि भ्याउँथे । रुपमती खुब लजाउँथिन् । बाजेलाई एक शब्द फर्काउन सक्दिन थिइन् ।

एकदिन सबैजना भएको बेलामा धनीराम बाजे हँसिलो अनुहार पार्दै कराएका थिए, “ए माइला ! यस्ती उद्दण्डै राम्री जोई कसरी फेला पारीस् हौ ?”
माहिलो केही बोल्न सकेन, मुस्कुराइरह्यो । उता कान्छी बज्यै मुखले प्रकट गर्न नसकेपनि भित्रभित्रै मुर्मुरिरहेकी थिइन् । अरु सबैपनि मौन हाँसी मात्र रहे ।

रोपाइँको दिन, बिहानको खाना खाएर सबैजना आ-आफ्नो काममा लागे । रोप्न भने मेलो बनिहालेको थिएन । साइँलो (माइला कामीको छोरो जसको वास्तविक नाम जन्मदर्तामा मात्रै छ) साउँदै थियो । डाँडामा अर्थात सिरान खेतमा एउटा कुर्सी लगेर बिँडी तान्दै धनीराम बाजे रोपाइँ हेरीरहेका थिए । रुपमती भने खाएका जुठा भाँडा माझेर मेलातिर जाँदै थिइन् । बाजेले जिस्क्याउन भ्याइहाले, “हिलोमा काम गर्न आउँदा नि धपक्कै बलेर आयौ त ?” बाजेतिर नफर्की रुपमती पछ्यौरीले मुख छोप्दै खेततिर लागिन् । बाजे मुस्कुराइरहे ।

रोपाइँ सक्किन लागेको थियो, मुसलधारे पानी पर्न थाल्यो । जसरी पनि त्यो दिन रोपाइँ सक्नैपर्ने थियो । किनभने, भोलिपल्ट औंसी थियो । गाउँघरमा औंसी पुर्णिमामा गोरु जोत्नु हुँदैन भन्ने चलन छ, त्योमाथि बाहुनको घर । सबैजना पानीमा रुझ्दै काम गरिरहे । बल्लतल्ल काम सकेर सबैजना मेलैबाट घरतिर लागे । तर अघि खाना,खाजा खाएका भाँडाकुँडा लिन भने रुपमती चाहिँ धनीरामको घरसम्म जानुपर्ने भयो र त्यतै लागिन् । बाजे घरबाहिर खाटमा बसेर बिँडी तान्दै थिए । रुपमतीको भिजेको शरीर देखेपछि त बाजेले दशपटक चाहिँ थुक निले होलान् तर केही बोल्न सकेनन् । रुपमती भाँडा लिएर सरासर गइन् । उनले हेरीमात्र रहे ।

माइलो कामीको अर्को पाटो:
ऊ छुवाछुतको एकदमै विरोधी । हुन त समाजले तल्लो जातको दर्जा दिइएकाहरु कसले पो छुवाछुतको समर्थन गर्लान् र ? तरपनि उसको कुरा अलि भिन्नै छ; जवानीमा यहि छुवाछुतको विरुद्दमा लड्नको लागि रातो तारे फेटा बाँध्नेदेखि गाउँका ठूला जात कहलिएकाहरुलाई गोलीसम्म उसले नठोकेको होइन तर बन्दुक र बारुदले घरको चुह्लो बाल्न नसकेपछि ऊ पुनः कृषिमै अलमलिन पुगेको हो । यहि लहैलहैमा भगाएर ल्याएको थियो उसले रुपमतीलाई । अलिकति डर र अलिकति माया भएर नै रुपमती पनि माइलासँग भागेकी थिइन् । हाम्रो समाजमा फेरि अधिकांश दुईछाक टार्नपनि मुस्किल हुनेहरु दलित समुदायबाटै हुन्छन् र माइला कामीको परीवार पनि तिनैभित्रको एक हो ।

उसले एउटा दृढ संकल्प लिएको थियो, “दलित समुदायको भएरपनि म छुत बनेर देखाउँछु ।”जो उसले कहिल्यै सकेन, तर, अडान लिन चाहिँ छोडेन । यो उसको यस्तो संकल्प थियो, जसलाई उसले मर्नुअघि जसै पूरा गर्नु थियो ।

समय बित्दै गयो । रोपेको धान हरियो फिर्दै थियो । भदौको महिना हुँदो हो सायद । कृष्णराज उपाध्याय (धनीराम बाजेको सालो; जसको चर्चा यहाँभन्दा अगाडि बढ्दैन) तीजमा दिदीलाई लिन भनेर आएका थिए । कान्छी बज्यै माइत जाने कुराले खुब खुसी भएकी थिइन् । नहुन् पनि कसरी; छोरी मान्छेलाई माइतको त कुकुर पनि प्यारो हुन्छ भन्छन् । भोलिपल्ट कृष्णराजका दिदीभाइ तिजका लागि बिदा भएर बाटो लागे । अब धनीराम बाजे घरमा एक्लै ।

यहि मौका छोपेर धनीराम बाजेले माइलोलाई उनको घरमा बोलाउन पठाए । केहीबेरमै ऊ बाजेको घरमा आइपुग्यो । केही बेरको सन्चो बिसन्चो साटासाटपछि धनीराम बाजेले अलि गम्भिर भएर भने, “हेर माइलो, तँ छुत हुन चाहन्छस् होइन ?”उसले ‘हो’ को इसारामा टाउको हल्लायो, आँखामा आश्चर्य र खुसी मिसाउँदै ओठ ङिच्च गर्दै मुस्कुरायो ।
“त्यसो भए मैले भनेको कुरा मान्, म तँलाई अछुतबाट छुत बनाइदिन सक्छु ।”
ऊ साच्चै अचम्ममा पर्यो । अछुतबाट छुत ? यो कसरी हुन सक्छ ? सारा गाउँसमाजलाई थाहा छ ऊ तल्लो जातको हो भनेर; फेरि बाजेको कुराले ऊ चकित भयो र एक शब्द निकाल्यो, “कसरी ?”
“कसरीको कुरा छोड्, तँ मेरो कुरा मान्छस् कि मान्दैनस्, पहिले त्यो भन् ?”
यसपटक बाजे अलि ठूलो स्वरमा बोले । ऊ अब रनभुल्लमा पर्‍यो । मान्छु भनौँ भने कस्तो कुरा भन्ने हुन् बाजेले ? त्योपनि छुत बनाउन सक्ने; फेरि मान्दिनँ भनौँ भने उसको यहिसंकल्पको कारण आफ्नो त्याग, बलिदान र जीवन नै खेर जान लागिसक्यो ।

अलि लामै सोचपछि माइलोले ‘मान्छु’ को भावमा बाजेलाई इसारा दियो । अब बाजेको अनुहार खुसी देखियो । तर फेरिपनि सोधे, “पक्का मान्छस् नि ?”
“पक्का” अब उसको दृढ संकल्पले मुखै फोर्न बाध्य बनायो ।

“ल त्यसोभए सुन्, तेरो घरमा ढकमक्क फुलिसकेर पनि नओइलाएको फूल मेरो घरमा पठाइदे ! त्यसपछि तँ अछुत भइस् ।” बाजेले एकैसासमा भनिसके । बिचरा ! अनपढ माइलो, कुरा अलि बुझेनछ, “अलि कुरा प्रष्ट भएन कि हजुर ।”
“कुरा प्रष्ट छ हेर् माइला; अहिले घरमा बज्यैपनि माइत गएकी छे, लगभग यो हप्ता आउँदिन होला, त्यतिन्जेल तेरी जोईलाई मकहाँ पठाइदे, अर्को हप्तापछि तँ छुत भइस् ।”बिचरा माइलो ! प्रस्ट कुरा सुनेपछि छरपस्ट भयो, छाँगाबाट खसेर फुटेझैं । अब के गर्ने ?

माइलोलाई उक्स्याउन धनीराम बाहुनले फेरि भन्यो,
“हेर् माइलो मैले यो यस्सै भनेको होइन । विष्णुपुराणमै यस्तो लेखिएको छ,
प्राणानर्थांस्तथा दारान् ब्राह्मणर्थे निवेदयेत् ।
स शूद्रजातिर्भोज्यः स्यादभोज्यः शेष उच्यते ।।
जसको अर्थ हुन्छ,
‘जुन शूद्रले आफ्नो प्राण, धन तथा पत्नीलाई बाहुनको सेवामा अर्पण गरिदिन्छ, त्यस शूद्रको अन्न भोजन गर्न योग्य हुन्छ । बाँकी शूद्रहरुको अन्न भोजन गर्न योग्य हुँदैन ।’ “

आफ्नो दृढ संकल्पको लागि आफ्नी स्वास्नीलाई दाउमा लगाउन सक्छ त माइलोले ? नपठाऊँ, आफ्नो यत्तिका धेरै संघर्षको एक मात्र उद्देश्य नै यहि हो । पठाऊँ त ……..

एक शब्द पनि नबोली माइलो जुरुक्क उठेर हिँड्यो । भट्टीमा छिर्यो, पिउन सक्नेजति रक्सी पियो । आखिर हरेक समस्यामा किन मान्छेले नशा खोज्छ ? सायद नशाले पीडा कम गराउन सहयोग गर्छ होला । मातेरै साँझमा घर पुग्यो । खुट्टापनि बल्लतल्ल टेक्न सक्थ्यो । छोराछोरी टुकीको उज्यालोमा पढिरहेका थिए । रुपमती भने भान्सामा थिइन् । सरासर भान्सामा छिर्यो, च्याप्प रुपमतीको हात समात्यो र केही नबोलिकनै घिसार्दै लघार्दै धनीराम बाजेको घर पुर्याइदिएर उनको अगाडि उभ्याइदियो । ऊ भने सरासर फर्कियो तर घर फर्केन, कहाँ गयो त्यो रात ? त्योपनि कसैले थाहा पाएनन् । धनीरामले सबै कुरा रुपमतीलाई सुनाए, उनको पनि बेहोसीको सिमा रहेन ।

भोलिपल्ट,
तल खोला किनारमा माइला कामीको लास भेटियो । के कसरी मर्यो माइलो ? वास्तविकताको कसैले शङ्कासम्म गर्न सकेनन् । कसै-कसैले गाइँगुइँ कुरा काटे,
‘बिचरी ! रुपमती…….’
‘धेरै रक्सी खाएर गयो माइलो”
‘छुत भएर मात्रै मर्छु भन्थ्यो, यस्तो अकाल मर्नु रै’छ । बिचरा…अभागी माइलो !’

__________________________________________
(नोटः कथामा उल्लिखित “कामी” शब्द
कुनै जातिविशेषलाई होच्याउने उदेश्यले लेखिएको नभएर
समाजको यथार्थ चित्रणका लागि गरिएको हो ।
कसैको यथार्थसँग मेल खान गएमा संयोग मात्र हुनेछ ।)

Facebook Comments

You may also like

error: Content is protected !!