साधन

जेदुनाथले सधैँझैँ आर्यघाटमा बगिरहेको पानीमा आफ्नो दुबै खुट्टा चोप्यो । खुट्टा चोपेर त्यसै बसिरह्यो । त्यहीँ केही पर केहि नजिक अर्धजल छ । त्यो अर्धजलमा सुतेर मानिस अन्तिम सास लिएर परलोक जान्छन् । जेदुनाथले अर्धजलतिर अकारण एकछिन निहार्यो र फेरि पानीमा आँखा ओराल्यो, खुट्टा चोपेको चिसो पानी घामको रापले बिस्तारै तातिदै आयो । जेदुनाथले न्यानो अनुभूत गर्यो मानौँ त्यही न्यानोमा जेदुनाथाको जीवनको गति थामियो ।

यहीँ आएर जेदुनाथको आखिरी अडान भयो । ऊ पशुपतिनाथको हाताबाट बाहिर गएन । यता मन्दिर, उता मन्दिर, चारैतिर मन्दिरै-मन्दिर, मन्दिरभित्र देवीदेवताका मूर्ति, यताउति छरिएर रहेका पत्थर, पत्थरैपत्थरको सिँढीका खुड्किलाहरु। त्यसैको बिचमा जेदुनाथ छ, मानौँ ऊ पनि पशुपतिनाथ हाताभित्रको अभिन्न अंग हो ।

तर जेदुनाथ जीवित छ, प्राणवायु उसभित्र छ, त्यसकारण ऊ पशुपतिनाथका पुजारीहरू, मन्दिरका देवपालहरु, घाटेवैद्य, मुर्दा पोल्नेहरु र फूल बेच्ने पसलेहरुसँग ऊ मिसिन्छ । दर्शनार्थीहरुको घुइँचोको बीचको एउटा मान्छे ऊ पनि हुन्छ ।

जेदुनाथको बाबु थियो । कुनै बखत उसलाई जन्माउने आमा पनि थिई । बाबुको उसलाई झझल्को मात्रै छ । तर आमालाई उसले राम्ररी चिनेको छ । आमाको झझल्को कहिलेकाहीँ अनुभूत भएको उसलाई लाग्छ । आमाबाबु भएको भन्ने धेरै दिनअघिको कुरा हो । अब त्यससँग जेदुनाथको कुनै सम्पर्क छैन । आमा छैन । आमा छैन, नभएको धेरै वर्ष बितिसक्यो र त्यो छैनको अन्तरालमा जेदुनाथले प्राण धान्न केके गर्यो, त्यसको पनि उसलाई झझल्कोसम्म छ । अब त्यही झझल्कोसँग पनि मानौँ उसको कुनै सम्बन्ध छैन । अब यो आर्यघाटको तातो-चिसो पानीमा उसलाई आफ्नो अस्तित्वको अनुभव हुन्छ ।

आर्यघाटको पशुपतिभित्र जाने सिँढीमा बाँदराको बथान कुद्दै, उफ्रँदै आशान्वित आँखाले मानिसलाई हेरेका हुन्छन् । त्यहाँ एउटा ढेडु बूढो बाँदर पनि छ जो अनासक्त, निर्लिप्त भएर कहिले सिँढीको कुनामा, कहिले सँगैको देवलको गजुरमा बसेको हुन्छ । कहिलेकाहीँ अर्द्धनिमीलित आँखाले आउने-जानेलाई हेरेर हुन्छ । आर्यघाटको क्रियाकलापलाई उसले बुझ्न खोजेको प्रतीत हुन्छ । घाटमा मृत्यु भएका मानिसका आफन्त रोएको आवाज महादेवको स्तुतिगानसँग मिसिएको हुन्छ, त्यो पनि त्यो बाँदरले बुझ्न खोजेको प्रतीत हुन्छ । एकछिनपछि फेरिअर्कै मानिसको रोदनसँगसँगै अर्कै मानिस परलोक हुनको निम्ति अर्धजलमा सुतेको हुन्छ । त्यो पनि त्यस्तै अर्द्धनिमीलित आँखाले हेरेर त्यो बाँदरले बुझ्न खोजेको प्रतीत हुन्छ। मानिसको मृत्यु भएर मानिस मुर्दा हुन्छ। आगोको राँकोमा मुर्दा जलेर भस्मीभूत हुन्छ। आधा जलेको काठको ठुटो बागमटीमा बग्छ । त्यो बाँदर अर्द्धनिमीलित नेत्रले त्यो पनि बसेको हुन्छ। जेदुनाथ त्यो बाँदरलाई हेर्छ, आफूलाई हेर्छ र अनायास आफैँ मुस्काउँछ ।

“जेदुनाथ, ए जेदुनाथ !”
जेदुनाथले फर्केर हेर्यो ।
“के टोलाएर बसिरहेको ? छिटो गर, आऊ। दाउरा ओसार्नुपर्यो ।”
अर्द्धजलबाट झिकेर एउटा मृत व्यक्तिलाई सेतो कपडाले भर्खर छोपेको थियो। जेदुनाथ बोलाउने मान्छेको पछिपछि लाग्यो।
“मुर्दा पोल्न अर्को साथी पनि पाइएन। यसो हात देऊ, अलिअलि पाइहाल्छ ।”
एकछिनपछि मुर्दालाई आगो हाल्ने मानिस रोएको आवाज जेदुनाथको कर्णबिन्दुमा ठक्कर खान्थ्यो र हराउँथ्यो। मुर्दा पोल्दाको सुस्त चहलपहल उसको आँखामा गैर थामिन्थ्यो । आगो बल्थ्यो । आगोको राँको पानीमा टलपलाउँथ्यो। मुर्दाको देहसँगसँगै दाउराको आवाजले पनि सुस्केरा हाल्थ्यो। पछि मुर्दाको दुवै खुट्टा माथि उठ्थ्यो, मानौँ मुर्दा अब बिउँझन्छ, अब बिउँझन्छ र पञ्चतत्वमा विलीन हुन्छ । पट्ट मस्तिष्क फुट्छ र मुर्दा पोलाइको मध्यान्तर हुन्छ । मुर्दा खरानी हुन्थ्यो र बचेखुचेको आधा डढेको दाउरा आधा पानीमा खस्थ्यो । केहीबेरअघिसम्म मानिसको सदेह आकार विलीन भएर खरानीमा आकार लिन खोजेको हुन्थ्यो । जेदुनाथ एकछिन उभिएर हेरिरहन्थ्यो । त्यहाँबाट हिँड्थ्यो ।

देवलको पाटीपौवामा बसेका भिखमंगा लुलालंगडाको बीचमा जेदुनाथ बस्थ्यो । सदाव्रतका भोगी बूढाबूढी, सद्दे बिरामीका छेउमा ऊ बस्थ्यो । ऊ कुरा सुन्थ्यो, जीवनगाथा सुन्थ्यो। दु:ख-सुख सबैको एउटै, एउटै किसिमको । उनीहरुको कुरामा अन्यमनस्क भएर जेदुनाथ आफैँमा डुब्थ्यो, मानौँ आफूभित्र उनीहरुको गाथालाई भोग्न चाहन्थ्यो। तर कताकता सामञ्जस्य नमिलेको उसलाई लाग्थ्यो । त्यहाँ यताउति पाटीपौवामा बस्ने अरु मानिससँग पनि ऊ सामञ्जस्य खोज्थ्यो । त्यहाँ पनि सामञ्जस्य नमिलेको उसलाई लाग्थ्यो। त्यस्तै दर्शन गर्न आउने भीडमा पनि उसले सामञ्जस्य पाउँदैनथ्यो। मानिसको कुरा सुनिरहेको हुन्थ्यो । तर बीचैबाट कुरा सुन्दासुन्दै ऊ उठ्थ्यो । मानिसको भीडको छेउछाउबाट पन्छिएर ऊ हिँड्थ्यो। त्यस्तै आफूलाई पाउँ यताउति भौँतारिरहन्थ्यो ।

जीवनको व्यतीत भागलाई जेदुनाथले सम्झनसमेत बिर्सिसकेको थियोे। तर उसको आफ्नो व्यतीत जीवन पनि थियोे। ऊ जन्मेको ठाउँ अहिले पनि ऊ सम्झन सक्छ। कहिलेकाहीँ आमाले मायाले मुसारेको पनि उसलाई अहिले भर्खर भएको जस्तो लाग्छ। कहिलेकाहीँ बाबुले पनि अहिले भर्खर काखमा बसाएको झैँ लाग्छ। हो, उसले बिहे पनि गरेको थियो। कहिलेकाहीँ बिजुलीझैँ स्वास्नीको अनुहार उसको सम्झनामा चम्कन्छ। उसले छोरी पनि पाएकी थिई। छोरी पाउनासाथ स्वास्नी मरी। प्रकृतिको अभिशापझैँ कङ्काल छोरीलाई उसकी मामलीबज्यैले लगी। अनि जेदुनाथ घरबाट हिँड्यो।

जीवनको सफर जेदुनाथलाई सपनाझैँ लाग्छ। उसले जीवन धान्न काठमाडौँमा यताउति गरेर भान्छे पनि भएको थियो, टहलुवा पनि भएको थियो। पछि यताउति गर्दागर्दै ऊ हिन्दुस्थान पुगेको थियो। कलकत्ता पुगेर मानिसै-मानिसको स्याउँस्याउँतीको बीचमा ऊ एउटा प्राणी भएर बाँचेको थियो। नोकर भएको थियोे, होटलमा ब्वाय भएको थियो र कारखानामा दरबान भएको थियो। अब अहिले बिपनाझैँ पशुपतिनाथको आर्यघाटमा उसले अडान पायो।

एक दिन जेदुनाथ पशुपतिनाथको सामुन्ने थियो र त्यहाँ अवस्थित साँढेको पाउमा आड लिएर बसिरहेको थियो । अशक्त, अनासक्त निर्निमेष दृष्टिले हेरिरहेको थियो । दर्शन गर्न आउनेको भीड पातलिँदै गएको थियो । जेदुनाथको दृष्टि अनायास ठूलो मूलढोकामा गयो । उसले त्यो मूलढोकामा हेरेको हेर्यै गरिरह्यो। त्यहाँ एउटी आइमाई बच्चा डोएयाएर आइरहेकी थिई र सँगै एउटा प्यान्ट-स्वेटर लगाएको लोग्नेमान्छे पनि थियो । जेदुनाथ अचानक हुत्तिएर व्यतीतमा लीन हुन पुग्यो । त्यो आइमाई बढ्दै आइरहेकी थिई । बच्चा पनि बढ्दै आइरहेको थियो । त्यो लोग्नेमान्छे पनि बढ्दै आइरहेको थियो। पर ढोकामा देखा पर्दा जेदुनाथलाई लाग्यो त्यो आफ्नै स्वास्नीको अर्को रुप हो मानौँ आफ्नी स्वास्नीको पुनर्जन्म हो । त्यो आइमाई उसको नजिकै पुग्दै थिई । नजिकिँदै-नजिकिँदै एकदम उसको नजिकै आइपुगी । उसकी स्वास्नीको रुपसँग एकदम मिलेको उसकी छोरीबाहेक यो अर्को हुनै सक्दैन । त्यो हात समाएर डोर्याएर ल्याएको बच्चा उसको नाति हो। त्यो उसको छोरीको छोरो। सँगै हिँड्ने त्यो लोग्नेमान्छे त्यो आइमाईको पति हो । जेदुनाथले त्यस्तै अठोट गर्यो । उसको हिँडाइ, हेराइबाट उसलाई पक्का विश्वास भयो त्यो उसको छोरीको लोग्ने। जेदुनाथ उठ्यो। एकदम चुम्बकीय ऊ अघिल्तिर बढ्दै आइमाईनिर पुग्यो। आइमाई झस्किएर पछिल्तिर हटी।
उसको अनुहारमा जेदुनाथप्रति घीन पोतियो तैपनि उसले जेदुनाथलाई हेरिरहेकी थिई। जेदुनाथको झुसझुसे दाह्रीजुँगा भएको खस्रोपस्रो, मैलो अनुहारको बीचमा दुईवटा आँखा टल्केको थियो।

“किन, के हेरेको ?” उसले भनी ।
“यो तिम्रो छोरो ?” जेदुनाथले भन्यो ।
“हो, किन ?”
“यो तिम्रो पोइ ?”
“हो” आइमाईले हाँसेर भनी ।
“मैले भन्ठानेको साँचो रहेछ ।” जेदुनाथले सुस्केरा हाल्यो ।
“मलाई चिनेको छ ?”
“चिनेको छु । तिमी पुरुषोत्तमकी नातिनी ।” उसले जेदुनाथकी छोरी भन्न सकेन । ‘जेदुनाथ’ शब्द घाँटीमा अड्क्यो ।
“हो, पुरुषोत्तमकी नातिनी ।” उसले फेरि भन्यो ।
“हो, पुरुषोत्तमकी नातिनी, जेदुनाथ भन्नेकी छोरी ।”
“हो, म त्यही जेदुनाथ ।”
“के रे ?” आइमाईले तर्सेर पोइतिर हेरी। एकदम फनक्क फन्केर जेदुनाथतिर पीठ फर्काई । बच्चालाई अचानक समाएर बोकी ।
“हिँड न ।” लोग्नेमान्छेले भन्यो ।

आइमाई उभिएको उभियै हिँड्न सकिन।
“उ: ।” बच्चाले उफ्रिरहेको बाँदरतिर औँल्यायो । आइमाई अझै चलहल गर्न सकिन ।
“हिँड न, के थामिएर बसेकी ? त्यो माग्नेलाई पैसा दिन पैसा छैन? मसँग छ ।”
लोग्नेमान्छे अघिल्तिर बढ्न खोज्यो ।
“होइन, मसँग छ।” आइमाईले हडबडाएर भनी ।
ऊ जेदुनाथतिर फर्की। उसले थैलीबाट पैसा झिक्ने निहुँ गर्दागर्दै जेदुनाथलाई हेरी। एकछिन त्यसरी नै हेरिरही । उसले आफूभित्र उमडिएर आएको ममतालाई थिचेर रोकी।
“तपाईं मेरा बा ?” उसले भन्न सकी ।
जेदुनाथको ओठ मुस्कायो ।
“तर तपाईं मलाई जन्माउने साधन मात्र ।” जेदुनाथको आँखा आश्चर्यले चम्क्यो ।
“साधन मात्र !” जेदुनाथको आँखा आश्चर्यले चम्क्यो ।
“साधन मात्र !” सुस्केरा हालेर आइमाई अघि बढी । मानौँ सत्य उद्भासित भयो, जेदुनाथ अविभूत भएर उभिइरह्यो। हेर्दाहेर्दै त्यो आइमाई , त्यो बच्चा, त्यो लोग्नेमान्छे मानिसहरूको ताँतीमा हराए । एकछिनपछि जेदुनाथ त्यहाँबाट हिँड्यो र केहीबेरपछि आर्यघाटको बगिरहेको पानीमा उसले हात डुबायो। पानीको चिसो स्पर्शले अविभूत हुँदै उसले भन्यो, “हो, हामी सबै साधन मात्र, साधन मात्र ।”

पछि सन्ध्याकालको आरतिमा पशुपतिनाथको ज्योतिर्लिङ्गबाट धेरैबेरसम्म उसले आँखा हटाउन सकेन। मानौँ सत्य, एकमात्र सत्य भएर फेरि उद्भासित भयो,
“हो, हामी साधन मात्रै।” तैपनि आँसुले भिजेको थियो।

बाह्र कथा बाट साभार

Facebook Comments

You may also like

error: Content is protected !!