लैलाको चिहानमा रूमी

मौसमको भर हुँदैन । उसमाथि हुरी त झन् कहिले आउँछ थाहा हुँदैन । तर यो हुरी मेरो लागि अलि फरक भएको छ । मौसमले यो पाली बाहिर मात्र हुरी ल्याएन । मेरो जीवनमा पनि हुरी लिएर आयो । अझ भनौँ आँधी नै ल्यायो ।

कोठाभित्र खाटमा लम्पसार परेर बस्दा विभिन्न सोचाइहरू दिमागमा सलबलाई रहेका छन् । दुधबाट दही बन्न विशेष प्रकारको किराहरूको जरुरी पर्छ । थाहा छैन मेरा दिमागी किराहरू मेरो दिमागलाई के बनाउँदै छन् ।

बाहिर चैते हावा वेगसँग चल्दै छ । यस्तो लाग्दैछ मानौँ प्रकृतिले रिस पोख्दै छिन् । सबै रिसहरूलाई हावाहुरी मार्फत पोख्दै छिन् । मभित्र पनि बेतोडले तुफान चलिरहेको छ । यस्तो तुफान जसले मलाई पूर्ण रुपमा बर्बाद बनाउँदै छ । म रित्तिँदै छु । चिसिँदै छु । हराउँदै छु । गहिरो अस्तित्व सङ्कटमा भासिँदै छु । प्राकृतिक हुरी केही क्षण वितण्डा मच्चाएर सिथिल हुन्छ । तर मेरो मस्तिष्कको ज्वारभाटा शान्त हुने नामनिशान छैन ।

जीवन पहिल्यैदेखि अनिर्णयको बन्दी भइरहेको थियो । उसमाथि समयले ममाथि अर्को बज्रपात प्रहार गर्यो । किन जीवनमा कहिल्यै सोचेको जस्तो हुँदैन ? जीवन र म समानान्तर रेखा भएका छौँ । हामी एक-अर्कालाई सधैँ हेर्छौँ तर मिलन कहिल्यै हुँदैन । म जीवनलाई भेट्टाउने प्रयास गर्छु, ऊ भने मबाट झनझन टाढा भाग्छ ।

जीवनको खेलमा म बारबार हार्छु । यता मिलाउँछु उता भत्किदिन्छ । उता टाल्छु फेरि अर्कोतिर फाट्छ ।यतिखेर मेरो जीवन अरुणा लामाले गाएको गितमा भने जस्तो भएको छ:

पोहोर साल खुशी फाट्दा जतन गरि मनले टाले,
त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टाले,
यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने हो

एउटै मान्छेले सम्पूर्ण भावहरू व्यक्त गर्न सक्दैन । त्यसैले त कला, साहित्य र संगीतको महत्व अर्थपूर्ण रहेको छ यो दुनियाँमा ।मैले जीवनमा सधै अर्थहरूको खोजी गरेँ । खोजको केन्द्रमा जीवन के हो भन्ने प्रश्नलाई राखेँ । जीवनलाई बुझ्दै छु भन्ने भ्रममा बाँचिरहेको बेला समयले अझै बुझ्न बाँकी छ भन्ने पाठ सिकाएको छ ।

पर्दा उघारेर यसो चिहाउँछु । हुरी कम हुँदैछ । मभित्रको विचारको आँधी झन सुनामीमा परिणत भइरहेछ । थाहाछैन यो सुनामीले मलाई कति हानी पुर्याउने हो । यस्तो लाग्दैछ मेरो मृत्युपछि मात्रै यो रोकिने छ । तर के मर्न त्यति सजिलो छ ? त्यो केवल मर्नेहरूलाई थाहा छ ।

मस्तिष्कमा मनी हाइस्ट (Money Heist) को बर्लिन भन्ने पात्रले बोलेको एउटा संवाद झल्किन्छ । ऊ भन्छ –
“आइ ह्याव म्यारिड फाइभ टाइम्स । एण्ड,  एव्रिटाइम आइ थट आइ वाज इन लव ।”

आज समयको चोटले घाइते भएर छ्ट्पटाइरहेको बेला मेरो दिमागमा उक्त संवाद बारबार घुमिरहेको छ । के मैले प्रेमलाई साँचो अर्थमा बुझ्न सकेको छु ? बिल्कुल छैन । प्रेम बुझेर बुझिने कुरा पनि होइन । आफ्नो हालतको लागि म समयलाई दोष दिन्नँ । म मेरो हालतको लागि कसैलाई दोषी दिन्नँ ।

बर्लिनको संवादबाट प्रवाहित भएर विचारको अर्को तरंग उठ्छ –
के प्रेम थुप्रैपटक हुन सक्छ ?
रबिन्दर सिंहको  एउटा उपन्यास छ , क्यान लव ह्यापन ट्वाइस ? ( Can Love Happen Twice ?)
यतिबेला मलाई भन्न मन लागिरहेछ-
द कोएस्चन इटसेल्फ इज इनकरेक्ट !

पीडा भइरहेछ । अनन्त पीडा । पीडाको अग्निमा म जल्दै छु । पीडाको महासागरमा डुब्दै छु । पीडामय जीवनलाई केही बहलाउने प्रयास गर्छु । इलिफ शफक (Elif Shafak)को पछिल्लो उपन्यास टेन मिनट्स थर्टी एट सेकन्डस् इन द स्ट्रेन्ज वर्ल्ड (10 Minutes 38 Seconds In This Strange World)को अन्तिम पानाहरू पढ्नु छ । उनको लेखाई मलाई सार्है मनपर्छ । उनको कथा रचना गर्ने शिल्प र वाचन गर्ने तरिकाले मलाई निकै नै तान्छ । यस उपन्यासमा उनले इस्तानबुल शहरको सजिव चित्रण गरेकी छिन् । पढिरहँदा यस्तो लाग्दै छ मानौँ म मुख्य पात्र लैलासँगै इस्तानबुलमा रुमल्लिरहेको छु ।

10 Minutes Thirty Eight Seconds by Elif Shafak

10 Minutes Thirty Eight Seconds by Elif Shafak


कथाको सुरुवात नै लैलाको हत्याबाट हुन्छ । सुरुमा अपरिचित लैला कथा बढ्दै जाँदा मलाई प्रिय लाग्न थाल्छिन् । जति उनको बारेमा थाहा पाउँछु त्यति उनको मृत्युले मलाई पीडा दिन्छ । फेरि अर्को पीडा । उफ्फ ! शायद पीडा नै हो क्यारे मेरो सच्चा मित्र । यसले मेरो साथ कहिल्यै छोड्दैन ।

शफकले फोर्टी रुल्ज अफ लव (Forty Rules Of Love) बाट मलाई आफ्नो काबुमा पारिसकिन् । म कति सजिलै अरुको मोहमा फस्छु । लैलापनि त्यस्तै छिन् । छिट्टै अरुलाई विश्वास गर्ने। तर केही मोहहरू खास हुन्छन् । जति नै पीडा दिएपनि मीठो लाग्छ । जब मान्छेलाई पीडा मनपर्न थाल्छ तब उ मानव सभ्यताले देखाएको बाटोभन्दा अर्कैतिर हिँड्छ । मलाई यो मानव सभ्यताको बाटो हिँड्नु छैन ।

एड्डी भेड्डर (Eddie Vedder) गाउँछन्-

सोसाइटी, यू ‘आ अ क्रेजी ब्रिड
आइ होप यू’आ नट लन्ली विदाउट मी
(Society, you’re a crazy breed
I hope you’re not lonely without me)

चिन्ता नगर एड्डी,
यो जालिम समाज तिम्रो अनुपस्थितिमा एक्लो हुँदैन । जसरी लैला हुनु र नहुनुले यसलाई केही फरक परेन त्यसरी नै म अथवा कोही अरु भएपनि वा नभएपनि यसलाई केही चासो हुँदैन । शायद म धेरै निराशावादी छु। आखिर आशा लाग्दो के नै छ र यो दुनियाँमा ! जीवन । मरण । सुरुवात । अन्त्य ।

निदाउने प्रयास गर्छु तर फिटिक्कै निद्रा आउँदैन । लैलाको कथाको अन्त्य जान्ने मन हुन्छ । बचेको केही पानाहरू छिचोल्न्न थाल्छु । दिमागमा इस्तानबुलको दृश्यहरू कुद्न थाल्छन् ।

ओर्हान पामुक (Orhan Pamuk) मार्फत मैले इस्तानबुल शहरलाई नजिकबाट चिनेको हुँ । आज शफकलाई पढ्दै जाँदा यो शहरप्रति अझ बढी मोह जाग्दै छ । मलाई इस्तानबुल ज्यादै रहस्यात्मक लाग्छ । आजकल एउटा सपना देख्न थालेको छु । कुनै दिन इस्तानबुल गएर सुफी कवि रूमीको प्रेम कविता पढ्ने । अनि इस्तानबुललाई नजिकबाट सुमसुम्याउँदै प्रियसीको नाममा कविता कोर्ने ।

Sunset in Istanbul by Nenad Vasic

Sunset in Istanbul by Nenad Vasic

केही समयको अन्तरालमा लैलाको कहानी पढेर सकिन्छ। अन्तिम शब्दसँगै म अचानक आफूलाई इस्तानबुलमा पाउँछु । यो कस्तो आश्चर्य ! हुन त मान्छे नै आफैमा एउटा अजिब प्राणी हो । त्योभन्दा चकित अरु केही हुन सक्दैन । खैर, प्रस्तुत छ मेरो यात्रा विवरण-

 

quill ink, PNG Repo

quill ink, PNG Repo

इस्तानबुल शहरमा म लैलाको चिहान खोज्दै भौतारिँदै छु । यो शहरले उसलाई कहिल्यै आफ्नो ठानेन । मैले काठमाडौँ सम्झेँ । त्यो शहरले पनि मलाई सधैँ अपरिचितझैं व्यवहार गर्यो । लैला, शायद सबै शहरहरू इस्तानबुल र काठमाडौँ हुन् । मान्छेहरूको भिड । कोलाहल । चिसो । क्रूर । शहर कसैको हुँदैन । कोहीपनि शहरको हुँदैनन् ।

लैला,
तिमीलाई इस्तानबुलले केवल वेश्यामात्र सम्झियो । तिमीभित्रको मान्छेलाई कसैले देखेनन् । तिमीले शरीर बेच्यौ र वेश्या कहलियौ । हरेक मानिस वेश्या हो । हरेकले केही न केही बेचिरहेकै छ । चाहे तिम्रो समाज होस् वा मेरो समाज, समाजहरू पाखण्डको पर्यायवाची हो । यसले अरुमाथि सधैँ नैतिकताको भारी थोपर्छ । आफू भने बन्द पर्दाभित्र आफैले बनाएको नियम कानुनको धज्जि उडाएर बौलठ्ठिपूर्ण नाङ्गो नाच नाचिरहन्छ ।

लैला,
तिम्रो चिहान नजिक तिम्रो श्रीमान दलिको चिहान पनि छ । ऊ पेन्टर मात्र थिएन । ऊ त क्रान्तिकारी पेन्टर थियो । ऊ तिम्रो इस्तानबुललाई परिवर्तन गर्न चाहन्थ्यो । धार्मिक इस्तानबुललाई ऊ प्रजातान्त्रिक इस्तानबुल बनाउने सपना पाल्थ्यो । तर शक्ति, पैसा र धर्ममा उन्माद शासकहरूलाई यस्तो मन्जुर हुने कुरै थिएन । दलिले वेश्यालयमा बनाएको तिम्रो पेन्टिङ एउटा विद्रोह थियो, लैला । यो कुरुप व्यवस्थालाई गतिलो झापड थियो । जिउँदै हुँदा धेरैबेर सँगै हुन नपाए पनि मरेपछि नजिक भयौ तिमीहरू । सबैलाई यस्तो सुख प्राप्त हुँदैन लैला । शहरमा प्रेमपनि शहर जस्तै निष्ठुर हुन्छ भनेर तिमीले नै भनेकी हौ लैला ।

म चिहानको नजिक आइपुगेँ । अहो ! यो कस्तो आश्चर्य ? तिमीहरूको चिहान अघि रूमी उभिरहेछन् । प्रिय रूमीले मलाई आफ्नो नजिक बोलाए । लैला र दलिको चिहान देखाउँदै उनले मेरो हात समाते । रूमीले भने –
‘मानव जगत घृणाको दास भएको छ । घृणा गर्नलाई यहाँ हजारौं विषय छन् । धर्म, राजनीति, जात, लिंग, सिमा, पैसा, आदि । तर मानिसहरूलाई जोड्न सक्ने एउटै मात्र शक्ति छ । त्यो हो – प्रेम । बुझ्यौ, मानव जगत प्रेमको भोको छ । प्रेम गर । दलिले लैलालाई गरेजस्तै प्रेम गर । लैलाले दलिलाई दिएको जस्तै प्रेम देऊ ।”

Sufi Whirling Blish by Shafique Farooqi

Sufi Whirling Blish by Shafique Farooqi

लैला,
म मन्त्रमुग्ध भएर रूमीको काव्यात्मक वाणीहरू सुन्दै छु । चाहे इस्तानबुल होस् वा काठमाडौँ, प्रेमले मात्र शहरहरूलाई बचाउन सक्छ । रूमीले फेरि थपे – मानवप्रेम नै हो औषधी सम्पूर्ण मानव समस्याको । केही मानिसहरू आफूलाई अरुभन्दा भिन्न र माथि ठान्छन्  । अनि त्यहीँबाट समस्या सुरु हुन्छ ।”
रूमी कतै टाढा हेर्दै अँखा बन्द गर्छन् ।

लैला,
म काठमाडौँ फर्किनु अघि तिम्रा साथीहरूलाई भेट्नेछु । उनीहरूले मलाई इस्तानबुलको अँध्यारो वर्जित गल्लिहरू घुमाउने वाचा गरेका छन् । सायद अब समय आएको छ हरेक शहरमा रहेका यस्ता गल्लिहरूहरूलाई शहरले आफ्नो ठान्ने ।

रूमी फर्किन लागेका छन् । उनलाई अरुपनि थुप्रै चिहानहरूमा पुग्नुपर्ने रहेछ । रूमी हलुका पाइला चाल्दै जाँदै छन् । लैला, यो कस्तो अचम्म  ! रूमीले जोन लेननको गित गुनगुनाएको सुनियो – “इम्याजिन अल द पिपल, लिभिन’ लाइफ इन पिस ।” 

अलविदा रूमी,
अलविदा लैला,
अलविदा दलि,
अब म जान्छु । एसिया र युरोप जोड्ने इस्तानबुलको पुलको बिचमा पामुक आफ्नो नयाँ उपन्यासको पाण्डुलिपि बोकेर मलाई कुरिरहेछन् ।

Orhan Pamuk, TNYT

Orhan Pamuk, TNYT

 

Facebook Comments

You may also like

error: Content is protected !!