रूप – कुरूप

साँझ यस्तो समय हो, साँझ यस्तो अवस्था हो, जहाँ ऊ स्वयं आफू भने कालो हुँदैन । साँझले त केवल आफ्नो अनुहारमा कालो मोसो दलेर, आफ्नो अस्तित्व छोपेर/ढाकेर बहुरुपी काम गर्न जानेको हुन्छ । मान्छेले जस्तै गरी ।

पहिलो रूप- अन्धकार रूप

मलाई साँझमा घट्ने हरेक घटना निकै अप्रिय लाग्छ । जस्तो कि मान्छे त जतिबेलै मरिरहेका हुन्छन् । चिता त जतिबेलै सल्किरहेको हुन्छ । तर म, साँझमा सल्किरहेको चिताको ज्वाला नै अलि मलिनो देख्छु । साँझको समयमा मान्छे आफ्नो घर फर्किन्छन् । चराहरु गुँडतिर उड्छन् । कुखुरो खोरतिर पस्छ । तर यसरी साँझमा बलिरहेका चिता देख्दा लाग्छ कि यी लासहरुलाई सपनाबाटै बिउँझाएर ल्याइएको हो, जो अब कि कहिल्यै निदाउने छैनन्, कि सधैँ निदाउने छन् ।

साँझको समय निकै हतारमा हुन्छ । उसलाई अन्धकारसँग मीत लगाएर दिनमा गर्न नहुने सबथोक गर्नुपर्ने छ । उसलाई आज फेरि श्रीमानहरुलाई जाममा पारेर श्रीमतीहरु तताउनु छ भने थालहरु चिस्याउनु । साँझलाई रात पारेरै भट्टीमा भिड जम्मा गराउनु छ र लेख्नु छ सुख-दुःखको लामो महाकाव्य । साँझले नै सिकाउनु पर्ने छ, कसैको घर/ताला फोडेर आफ्नो पेट भर्नुपर्ने पाठ ।

एक प्रकारले साँझ दानव रुपी पनि छ । “साँझपर्नु भन्दा छिट्टै फर्कन्छु” भनेर आफैलाई च्यालेन्ज गरेर बजार हिँडेकी छोरी फर्कँदा त्यही साँझले उसको पत्र-पत्र गनेर मात्र छोड्छ । हरेक दिन यसैबेला साँझले अरु कहाँ-कहाँ मुख थुन्छ होला ? कहाँ-कहाँ घाँटी थिच्न भ्याउँछ होला ? घरको दैलोमा अडेस लागेर कतिबेलासम्म आमाको आँखा झिम्किने छैनन् ? मलाई त यो कालो साँझ भन्दा ती डराएका आँखा सम्झेर डर लाग्छ ।

यसरी साँझको अन्धकारले, अन्धकार रूपी साँझले, सधैँ आफू यस्तै घटना नै घटाइरहने भएकाले होला साँझमा उसलाई थोरै भएपनि प्रकाशको जरुरत परेको । त्यसैले यो साँझले वर्षौं पहिलेदेखि मठ-मन्दिर र तुलसी मठमा साँझ बत्ती बाल्दै आएको हो जस्तो लाग्छ ।

दोस्रो रूप- उज्यालो रूप

मलाई बिहानको (४:३०-५:३०) सम्मको समय भर्खरै जन्मँदै गरेको साँझ जस्तै लाग्छ । जो दुरुस्तै साँझ जस्तै छ तर हतारमा भने फिटिक्कै छैन । यो साँझलाई कहिँकतै बास बस्न जानु छैन । उसलाई कुनै महाकाव्य लेख्नु छैन । तर महाकाव्य लेखिने यात्रा/स्मृति भने पक्कै तय गर्नु छ ।

यो साँझ उठ्ने बित्तिकै मान्छेलाई भक्ति सिकाउन थाल्छ । उसले ध्यान सिकाएर मान्छे भित्रै उज्यालो खोज्न सिकाउँछ । यो साँझले नै सबेरै रातो माटोले घर लिपपोत गरी बुहारीलाई कर्मको पाठपनि सिकाउँछ । यो साँझ उठेदेखि झनझन उज्यालिँदै जान्छ ।

यदि मिल्दो हो त, बिहानीको साँझपनि मैले देखेको अन्धकार साँझजस्तै गरी मात्तिनपनि सक्थ्यो होला । उसले पनि चिताको आगो त्यसैगरी बाल्थ्यो होला । जाममा पारेर श्रीमतीहरु फुलाउँथ्यो, घर फोड्थ्यो अनि गुलाफहरुको पत्र-पत्र गन्थ्यो पनि होला । तर किन हो, मैले बिहानीको साँझलाई कहिल्यै यस्तो तनावग्रस्त अवस्थामा भेटिनँ । हुन त हरेक समयमा कुनै न कुनै जैविक शक्तिले प्रभाव पारिरहेको अनुभव हुन्छ मलाई । तर यस बिहानीको साँझमा भने म केही खास नै अनुभव गर्छु । केही खास स्रोतले नै मलाई बाँधिरहेको जस्तो लाग्छ ।

अन्धकार रूप – उज्यालो रूप

एउटा अन्धकार- ‘कालो’तर्फ लम्किरहेको रूप भने अर्को उज्यालो- ‘प्रष्ट’तर्फ लम्किरहेको रूप । कालो अर्थात- डर, मृत्यु, रिस, भय आदि जनाउने रङ्ग ! यस्तै त मानिन्छ । त्यसैले होला साँझको अन्धकार रूप मलाई यति भयानक लागेको । त्यस्तै सेतो अर्थात- उज्यालो, प्रष्ट, शुद्ध आदि जनाउने रङ्ग ! त्यसैले पनि होला, साँझको उज्यालो रुप मलाई यति सभ्य/सरल लागेको ।

तर यो लेख लेखिरहँदा मैले एक रूप, एक साँझमा र अर्को रूप अर्को साँझमा लेखेँ । तर जुन साँझमा जुन रूप लेखिए पनि अक्षर भने कालो मसीले नै लेखिए । अब अन्तिममा आएर म एउटा द्बिविधामा परेको छु । म यी अक्षरलाई कुन रूपको नाउँ दिऊँ ? उज्यालो कि अँध्यारो ?

Facebook Comments

You may also like

error: Content is protected !!