रिडी (कथा ) | SATURDAYकलम | काव्यालय - Kavyalaya

रिडी

वि.स. २००१ साल जेष्ठ १४ गते गुल्मीमा जन्मिएका  साहित्यकार भाउपन्थी (तिलकप्रसाद शर्मा खनाल) ले कथा, उपन्यास एवं अनुवाद र सम्पादन लगायात कृतिहरू प्रकाशित छन्

भाउपन्थीका पलाँस (उपन्यास), आदिपुरुष (उपन्यास), उब्रेको मान्छे (उपन्यास), एउटा आकारको बारेमा (कथासंग्रह), बुद्धि (सह-लेखन) प्रकाशित छन् भने विभिन्न पत्र-पत्रिकाहरूमा उनका कथा, कविता, लेख, निबन्ध आदि प्रकाशित भइरहेका छन् ।

यहाँ काव्यालयले शनिबारीय नियमति शृंखला ‘SATURDAYकलम’मा उनै भाउपन्थीको कथा ‘रिडी’ प्रकाशित गरेको छ


रिडी (कथा- भाउपन्थी)

हामी यताबाट गइरहेका थियौँ, जङ्गलबीचको गोरेटै–गोरेटो । अलि चाँडै भात खाइवरि । काफल टिप्नलाई । कान्छी र म । कान्छी हाम्रै काम गर्ने टाढाकी फुपू तुलसाकी छोरी थिई । गाउँमा सबैलाई थाहा थियो, फुपूलाई ललाइफकाई गर्भवती तुल्याएर माने मुग्लानतिर भागेको थियो । हाम्रा बा उदार थिए । उनले भने, टाढाकी बहिनीलाई– ‘तिमी अन्त कतै नजाऊ, मेरैमा बस ।’ गाउँलेबाट लुकाएर राख्ने काम कठिन थियो । बाबाले भन्न्नुभो– ‘अकार्थमा कसैको ज्यानसँग खेल्नु हुन्न । कुनै दिन माने फर्केर त आउला ।’ बाबाले कुनै सीप नलागेर आत्महत्या गर्ने साँधमा पुगेकी फुपू तुलसा वा उहाँको गर्भमा रहेकी कान्छीमध्ये कसलाई वा दुवैलाई इङ्गित गरेर भन्नुभएको हो, त्यो थाहा भएन । 

अनि गोठमा कान्छी जन्मेकी थिई, यस्तो लाग्न सक्छ । तर बाबाको व्यवस्थापनले कान्छी हाम्रै घरको एउटा कुनोमा बाहिरफेर रुवाइ नपुगोस् भनेझैं सानो स्वरमा चिहाँचिहाँ रुँदै जन्मेकी थिई । त्यसै वर्ष म पनि जन्मेको थिएँ । कान्छी ठूली भई । म पनि । ऊ स्कुल जान थाली । मसँगै । बाबाले नै व्यवस्था गरिदिनुभो । स्कुलको सञ्चालक उहाँ नै हुनुहुन्थ्यो । बाबाको सद्भावना, कान्छीले पढोस् । छोरी मान्छे, पढेलेखेकी भई भने केही गरेर खाली । उसकी आमाझैं कसैको चङ्गुलमा फसेर गर्भवती बनाइएर छाडिने छैन भन्ने विश्वास थियो बाबाको । फुपू पृष्ठभूमिमा जानुभो । घाँसपात दाउरा र घरका अन्य काममा व्यस्त रहन थाल्नुभो । तर भविष्य कसले देखेको छ ? भविष्य कसले देखेको छ भनेर कान्छी पनि उसकी आमाझैं गर्भवती बनाइने छे भनेर भन्न खोजिएको होइन । मैले त सानैदेखि चाहेको थिएँ कान्छी साथै रहोस्, एक आत्मनिर्भर व्यक्ति बनोस् । 

त हामी यताबाट गइरहेका थियौँ, गोरटैगोरेटो । भनाइअनुसार उताबाट पनि कोही आउनु जरुरी थियो । मेरो भनाइ नै त्यस्तो थियो– यताबाट हामी गइरहेका थियौँ भनेपछि उताबाट पनि कोही आइरहेको हुनुपर्ने थियो । खासै बाक्लो जङ्गल थिएन । काफलका रूखहरू भने यत्रतत्र थिए । अझ तल गए जङ्गल अनकन्टारमा परिणत हुन्थ्यो । गोरेटो हुँदै हामी गइरहेका थियौँ । एक ठाउँ ८–१० वटा रूख झुरुप्प जमेका थिए । त्यहीँनिरैबाट गोरेटो पनि अझ गहन जङ्गलतिर मोडिन्थ्यो । अर्को बाटो उताबाट आउँथ्यो । दुईवटा बाटा मिसिएको ठाउँनिर रूखहरूको छाया थियो । 

त्यहीँ पुग्दा एकजना मानिस देखियो । मानिस यस्तो थिएन, लागोस् यतैकतैको हो । लाहुरबाट आएजस्तो । बनोट र पहिरनले नै थाहा पाइन्थ्यो यो मानिस यहाँको होइन । मानिस तगडै थियो । पछाडि एउटा भरिया पनि लमकलमक आइरहेथ्यो । भरियासहित हिँड्नेहरू लाहुरे नै हुन्छन् । यो पक्का थियो । भरियाले बोकेको टिनको बाकसबाटै थाहा पाइन्थ्यो, त्यो बाकस लाहुरेकै हो । 

अगडिको गहुँगोरो लाहुरेले पनि चुरोट तानिरहेको थियो र पछाडिको भरियाले पनि । हावा स्थिर थियो र दुवैजनाले तानेको चुरोटको धुवाँ पनि धेरै माथि उड्न सकिरहेको थिएन । चुरोटको गन्ध नाकमा पस्यो । कान्छीले भनी, ‘छ्या कति चुरोट खाएका हुन् ।’ कान्छी स्कुल जान्थी र त्यहाँ चुरोट खानु हुँदैन, यसले क्यान्सर गराउँछ भन्ने सिकाइन्थ्यो । फुपू तुलसा पहिले खुब चुरोट तान्नुहुन्थ्यो । कान्छी हुर्केर स्कुल जान थालेपछि ऊ आमासँग सुत्नै छाडी । भनी– ‘सुर्ती गन्हाउँछ ।’ 

सुर्ती गन्हाए पनि ऊ आमालाई असाध्यै माया गर्थी । सुर्ती चर्को गरी गनाउनुको कारण यो पनि हुन सक्थ्यो, फुपू तुलसाले एउटा सिङ्गै चुरोट एकैपटकमा सक्नुहुन्नथ्यो । दुईचार सर्को तानेर बुङ्ङबुङ्ङ धुवाँ उडाएपछि चुरोट निभाउनुहुन्थ्यो । मुखको थुक औंलामा लिएर चुरोटको टुप्पोमा छुवाएर । त्यसपछि चुरोट कम्मरको पटुकामा घुसारेर राख्नुहुन्थ्यो । घुसारेर राख्नुहुन्थ्यो भन्नाले चुरोट सग्लै रहने गरी जतनसाथ । त्यसले गर्दा फुपूको जीउ पूरै सुर्ती गनाउँथ्यो । बासी चुरोटको सुर्ती यस्तो खार छाड्ने खालको हुन्थ्यो जसलाई कान्छी सहन सक्दिनथी । 

कान्छी मात्र कान्छी थिइन । स्कुलमा ऊ सरस्वती थिई । गुरुहरूले उर्दी जारी गरिदिएका थिए, उसलाई कसैले पनि ‘कान्छी’ भनेर नबोलाऊन् । मित्रतापूर्वक सरस्वती भनेर बोलाऊन् । यसरी कान्छी स्कुलमा सरस्वती भनेर चिनिइसकेकी थिई । पढ्नमा पनि राम्रै थिई । मभन्दा पनि । तर ऊ मलाई उछिनेर अगाडि पुग्न चाहँदैनथी । त्यसैले म फेल हुन सक्दिनथेँ । पास हुने गरी पढ्नै पर्थ्यो । म पढ्नमा अब्बल थिइनँ । 

पसिना र धुलाले मैलिएको पुरानो नाम्लोले टिनको बाकस बोकेको भरियाले एकछिन अडिएर मान्छे चिनेपछि सोधिहाल्यो, ‘ए कान्छी पो । कता जान लागेकी ?’ उसको स्वर सुनेपछि कान्छीले चिनी र भनी, ‘ए माइलदाइ पो, कताबाट ?’ उसले भन्यो, ‘इः देखिहाल्यौ, भारी बोकेर । तल बुटवलबाटै भनम् न ।’ लाहुरे अडिन मानिरहेको थिएन । अगाडि बढ्दै थियो । ‘ए दाइ आऊ, ढिला होला ।’ अरू निहुँ नपाएर ढिला होला भन्यो लाहुरेले । बिहान भात खाने टाइम भइरहेको थियो । भोक लागेको हुँदो हो । ‘कहाँसम्म ?’ कान्छीले सुस्तरी सोधी । ‘गाउँसम्मै हो ।…ल हिँडेँ म त ।’ माइलदाइले हातको ठुटो चुरोटको अन्तिम लामो सर्को तानेर भुइँमा फाल्दै भन्यो । ऊ लाहुरेको पछिपछि लम्किहाल्यो । 

काफल टिप्न हिँडेका हामी काफलतिर खासै ध्यान गएन । काफल टिपाइ पनि भएन । स्कुल पुग्न ढिलो पनि भइरहेको थियो । काफल टिप्नै ढिलो निस्केका थियौँ । खुलदुलीको विषय पनि थियो, गाउँमै एकजना लाहुरेको आगमन भएको छ । गाउँ सानो छ । सबैले सबैलाई चिन्दथे । तर यो लाहुरे पहिला कहिल्यै देखेको मानिस थिएन । कुन घरको छोरो वा भाइ लाहुर गएको छ भन्ने सबैलाई थाहा छ । अहिलेको लाहुरे जवान थिएन र कपाल फुलेका थिए । लाहुरे नहुन पनि सक्थ्यो । सेनाबाट बिदामा घर फर्केको लाहुरे नहुन पनि सक्थ्यो । तर टिनको बाकस बोकाएर गाउँतिर आइरहेका सबै लाहुरे नै हुन्थे । त्यस्ता लाहुरे उसै पनि घर पुग्न लाग्दा फरासिला र रमाएर केही न केही बोल्ने हुन्थे । तर यो लाहुरे ढुस्स परेको थियो । 

यता आउने लाहुरेहरू स्कुलकै बाटो भएर गाउँमा प्रवेश गर्थे । लाहुरे आयो भनेपछि हामी कक्षा छाडेर उसैलाई हेर्न स्कुलको छेउमा थुप्रिन्थ्यौँ । त्यसरी स्कुलै उल्टेर हेर्नु अलिखित सम्झौताजस्तै थियो, गुरुहरू र शिष्यहरूका बीच । लाहुरे गाउँतिर प्रवेश गरेपछि मात्र हामी आ–आफ्नो कक्षातिर लाग्थ्यौँ । 

हामी काफल टिप्ने कार्यक्रम स्थगित गरेर स्कुलतिरै फर्कियौँ । काफल टिप्न आउनुअघि किताब–कापीका झोला कक्षामै राखेर हिँडेका थियौँ । बाटोमा धेरै कुरा भएनन् । दुवैको मनमा गाउँमा आएको त्यो नयाँ लाहुरेजस्तो मानिस को होला भन्ने खुलदुली चलिरह्यो । हाम्रो खुलदुलीको समाधान साँझपख हुनु रहेछ । त्यो समय आउन अझै दिन लामै बाँकी थियो । पढाइ सकेर हामी घरतिर फर्कियौँ । तुलसा फुपू वन गएकी अझै फर्केकी रहिनछन् । भुटेको मकै र एक–एक गिलास अमिलो मोही खाएपछि हामी गाउँतिर निस्कियौँ । गाउँमा खासै चहलपहल थिएन । संजोगले बाटामा उनै माइलदाइ भेटिए । उनले नै भने, ‘यी त जहाँ पनि भेटिन्छन् । अब कता हो नि ?’ 

कान्छीले प्वाक्क सोधिहाली, ‘अघिको लाहुरे खोइ नि ?’ 

‘ऊ त माथिल्लो पाखाको मानिस रहेछ ।’ 

‘कहाँको लाहुरे नि ?’ 

‘अब तैँले लाहुरे भन्ने होइन नि कान्छी ।’ 

‘किन ?’ 

‘साँझ थाहा पाउलिस् । कान्छा बा उतै गएका छन् ।’

त्यति भनेर उनी हिँडिहाले । उनलाई पनि घर पुग्न हतार थियो । काँधमा दोब्राएर राखेको उही नाम्लो थियो । केटाकेटीका लागि केही न केही ल्याएका हुँदा हुन् । भरिया माइलदाइले कान्छा बा भनेका मेरै बाबा थिए । 

‘मामा किन उता जानुभएको रहेछ ?’ कान्छी एकछिन् बाटैमा उभिएर घोइरिई ।

‘हिँड । बाटामै उभिएर थाहा पाइने होइन ।’  अलि बेरपछि मैले भनेँ ।
कान्छी नत्र त्यसरी नै कति बेर उभिराख्ने थिई । उसको घोइरिएर कुरा केलाउँदै छिप्पिएको मान्छेलेझैं सोच्ने बानी थियो, यति सानैमा । कान्छीले मेरो कुरामा सही थाप्दै भनी, ‘त्यो त हो । भरे कसरी थाहा नपाइएला ?’ उसले मतिर अर्थपूर्ण रूपमा हेर्दै भनी । उसको आशय स्पष्ट थियो । आमाबाट मैले कुरा थुतिहाल्थेँ । आमाले हाम्रो जिज्ञासा शान्त हुने किसिमले अस्पष्ट नै भए पनि जवाफ दिन्थिन् । 

साँझ बाबा आउनुभो । फुपू तुलसा पनि वनबाट जक्खु डालेघाँसको भारी बोकेर फर्किसकेकी थिइन् । त्यति बेला केही कुरा भएनन् । भात खाइवरि फुर्सदमा बाबाले फुपू तुलसालाई बोलाउनुभो । आमा पनि सँगै बसिन् । 

बाबाले भन्नुभो, ‘बैनी तिमी दुःखी छौ ?’ 

यति के भन्नुभएको थियो फुपूले बरर्र आँसु खसाल्दे भन्नुभो, ‘भाग्यमा लेखेको कसले टार्न सक्छ र दाइ ।’

‘भाग्य फेरिन पनि त सक्छ नि बैनी ।’ बाबाले सुस्त स्वरमा भन्नुभो । 

फुपूले भन्नुभो, ‘अहिले आएरभाग्य फेरिए पनि के गर्नु दाइ । समय बितिसक्यो सुख गर्ने । म यो त भन्दिनँ मैले यतिका वर्षदिन दुःखले काटेँ । दाइ तपाईं मेरा लागि ईश्वर समान हुनुहन्छ । कहिल्यै दुर्वचन बोल्नुभएन । गाउँलेहरूले थाहा पाएको भए यस्ती (यहाँ उनले फुँडी या यस्तै शब्द राख्न खोजेकी थिइन् तर बाबाले यस्तो शब्द बोल्न निषेध गर्नुभएको थियो) लाई गाउँबाट खेदाउनुपर्छ भनेका भए पनि दाइले नै अघि सरेर मलाई बचाउनुहुन्थ्यो । आफ्नी बैनीलाईझैँं बास दिनुभो र मेरी छोरीलाई आफ्नै सन्तानसरह हुर्काउनुभो । पढाइ रहनुभएको छ । म त्यसै पनि सुखी छु ।’

‘बैनी, तिमीले सबै कुरा थाहा पाइसकेजस्तो छ नि ?’

‘थाहा पाइसकेकी छु दाइ । उसले मलाई लिन आएको छ रे । लुगाफाटा पनि ल्याइदिएको छ भन्ने सुनेँ ।’

कुरा अघिको लाहुरेकै रहेछ । आसामको तेजपुर–हापुड कता पुगेर त्यतै घरजम गरेछ उसले । बिस्तारै बेपार जमाउँदै गएपछि अहिले हुनेखाने भएको छ रे । यी सब कुरा फुपू र बाबाको कुराकानीबाट हामीले थाहा पायौँ । अहिले बल्ल फुपूलाई सम्झेर किन आएछ ? खै, कुनै कुरो स्पष्ट थिएन । कसैले भने उताकीबाट सन्तान भएका छैनन्, त्यसैले फुपू तुलसालाई लिन आएको रे । आसाममा बसे पनि यताबाट गएकाहरूसित सोधपुछ गरेर सबै खबर राख्दो रहेछ लाहुरेले । आफ्नो गाउँको माटोपानी मान्छेभित्र गढेर बसेको हुन्छ । विशेषगरी उसले तुलसा फुपूलाई लिनै भनेर आएको रहेछ । 

अर्को अलि अप्ठेरो भनाइ यो थियो, उता काम गर्ने विश्वासिलो मानिस पाइँदा रहेनछन् । त्यसैले फुपू तुलसालाई लिएर आऊ भनेर लाहुरेकी उतैकी स्थानीय स्वास्नीले करै गरेर पठाएकी रहिछ भन्ने हो । त्यता मातृसत्ता चल्छ रे । गाउँलेहरूले त पोथी बास्ने भने । त्यतातिर दुई–चारवटी स्वास्नी हुनुले केही फरक पार्दैन पनि भने । हो वा हैन, त्यसको निक्र्योल भएन । हल्ला हो, हल्लाकै भरमा यस्ता कुरा हुन्छन् । ए त्यसो भए फुपू तुलसालाई काम गर्ने नोकरका रूपमा लैजान पो आएको रहेछ लाहुरे । मैले कान्छीतिर प्रश्नात्मक आँखाले हेरेँ । ऊ र म ठूलाहरूका कुरामा सामेल थिएनौँ तर सुन्ने छुट दिइएको थियो ।

आसाम ! यो कहाँ हो ? नौ डाँडा काटेर जानेलाई सम्झने गीतहरू त खुबै सुनिन्थ्यो तर त्यो आसाम मुलुक कता छ ? नक्सामा बुझी–नबुझी हेरिएको त थियो । तर नौतनवाँबाट गोरखपुर, गोरखपुरबाट ग्वाटी (गुवाहाटी) त्यसपछि पनि रेलैमा हापुड–तेजपुर कता हो जानुपर्ने अरे । कल्पना गरेर तुरिन नसकिने लामो यात्रा । 

कान्छीलाई मैले हेरेँ । कान्छी घोइरिएर सोचमग्न थिई । उसको अनुहारभरि कालो बादल थियो । त्यो यति सघन थियो टुकीको उज्यालोमै पनि मैले साफसँग देखेँ । बिजुलीको खाँबा तानिएका थिए तर बिजुली आइपुगेको थिएन । टुकी र लाल्टिनले नै काम चलाइन्थ्यो । भए पनि कान्छीको उज्यालो अनुहारमा सघन काला बादल मडारिएको थाहा पाएँ । मनमा एउटा सन्तुष्टि पनि आयो, कान्छी जाने मन गरिरहेकी छैन । 

‘पढ्न पाइन्छ ।’ मैले उसको कानछेउ मुख लगेर भनेँ । 

‘याँ के गाईबाख्रा चराइहिछु ?’ उसले झर्केर भनी । 

मेरो कुरालाई उसले राम्रो मानिन । 

‘तैपनि बैनी, तिमी जान चाहन्छ्यौ भने हाम्रो आपत्ति छैन । यति वर्षपछि आएको छ । जाने–नजाने तिमी नै विचार गर । हामी त तिमीलाई सुखी देख्न चाहन्छौँ । भोलि ऊ आएर तिम्रो चाहना बुझ्नेछ । तिमी जान्नौ भने कसैले कर गर्न सक्दैन । जान्छु भने पनि कसैले रोक्न सक्दैन । मलाई त यस्तो लाग्छ ।’ बाबाले भन्नुभो । फुपू तुलसा अविरल आँसु बगाएर बसिरहनुभो । यता कान्छीले एक थोपा आँसु चुहाएकी थिइन । 

‘आमा रोएको देखेर पनि…’ मैले अलि दिक्क मान्दै फेरि उसकै कानछेउ मुख लगेर भनेँ । 

‘यो रुने बेला होइन ।’ उसको स्वर सामान्यभन्दा दृढ थियो । 

‘हाँसेकी पनि छैनौ ?’ मैले ठट्टामा भनेँ ।

‘भोलि थाहा हुन्छ ।’ उसले भोलि नै भविष्य देखिहालिनेछ भन्ने सुनिश्चित गर्दै भनी । 

त्यस रात जागेरै बित्यो । जति बेला निद्रा लाग्यो त्यस समयको निद्रा गाढा थिएन । बिहान सखारै निद्राले छाड्यो । लाहुरेलाई बाबाले फुपू तुलसालाई भेट्ने अनुमति दिनुभएको रहेछ । उसलाई यतै खाना खाने गरी आऊ भन्नुभएको रहेनछ । भान्सामै लगेर भात खुवाएपछि बढी मान्यता दिएको ठहरिएको देखिन्छ, त्यो गर्दा फुपूमाथि यहाँबाट जाऊ भन्ने दबाब पर्छ भन्ने विचार रहेछ बाबाको । फुपू तुलसाले स्वतन्त्र निर्णय गरून् भन्ने बाबाको सद्भाव देखियो ।

लाहुरे आयो । केही ल्याएको थियो, पोकाहरूमा । उसले बाबालाई नमस्कार गर्यो । हामी बाबाको छेउमा बसेका थियौँ । तुलसा फुपू बाबाभन्दा अलि पर चकटीमा बस्नुभएको थियो । 

‘उसले भन्यो, छोरी यत्री भइछ । के नाम हो नि ?’ लाहुरेले कसैलाई इङ्गित गरेर सोधेको देखिएन । अलि हच्केको देखियो । कसैले जवाफ पनि दिएन ।

‘त हजुर, अब हजुरको विचार के छ, जान्न पाऊँ न ?’ आसामतिर यसरी नै बोलिन्छ कि भन्ने अनुमान गरेँ मैले । धेरैधेरै वर्षपछि फर्केको हुनाले लाहुरे उतैको भइसकेछ । बीचबीचमा गाउँ आउनेजाने गरेको भए के हुने थियो कुन्नि ? 

‘बहिनी तुलसालाई नै सोध । उसले जान्छु भनी भने मेरो असहमति छैन । जान्न भनी भने पनि बसैकी छ । बस्छे ।’ 

‘……..’ लाहुरे बोलेन । फुपू तुलसाको जवाफ पर्खिरहेको हुँदो हो । 

‘म कता किन जाऊँ ? …कतै पनि जान्नँ । यही गाउँमा हुर्केँ–बढेँ । छोरी पनि । यो उमेरमा बिरानो देशमा बिरानो मानिससँग कसरी र किन जाने ? म जान्छु रिडी । अझै केही वर्ष यही छोरी बढे–हुर्केको र पढेलेखेको हेर्छु । अनि जान्छु रिडी । कालीको छेउ । मलाई कुनै कुराको तिर्सना छैन । दाइले बस् भने पनि नबस् भने पनि मेरो मन यो धर्ती यो देश छाडेर जाने मन छैन । मेरो मनले अब पराइ मुलुक गएर बस्न इच्छा गर्दैन ।’

फुपूले दृढतापूर्वक तर मन दुखेको स्वरमा निर्णय सुनाउनुभएपछि लाहुरे अँध्यारो भयो । लाहुरे यो भन्न चाहन्थ्यो होला, ‘अज्ञानमै बिराम भयो ।’ क्षमा माग्ने कि नमाग्ने यो कुरामा ऊ पनि अलमलमा परेको देखियो । 

लाहुरे फर्के पनि उसले ल्याएको पोको जुन ठाउँमा उसले राखेको थियो, त्यही ठाउँमा बेवारिसेझैं थप्पक थुप्रिएर बसेको थियो । बाबाले भन्नुभो– ‘जा यो उसैलाई दिएर आ ।’

मेरो पालो टपक्क पोको टिपेर दगुर्दै डिलमुनि पुगेको लाहुरेभन्दा अगाडि निस्केर उसैको हातमा पोको राखिदिएँ । लाहुरेले पनि एक शब्द नबोली पोको हातमा लियो र ओरालो लाग्यो । पछाडि फर्केर हेर्नै पर्ने खण्ड पनि थिएन । 

फुपू तुलसाले त्यस दिनदेखि चुरोट खाएको कसैले देखेनन् । रिडी जाने तयारी हो कि वा जीवनको एउटा ठूलै निर्णयले सन्तुष्टि दिएर हो, खै ?

Facebook Comments

You may also like

error: Content is protected !!