‘वाटर’ मीमांसा | नारी दिवस विशेष | Kavyalaya - काव्यालय

‘वाटर’ मीमांसा

In ‘woman’ I see something that cannot be represented, something that is not said, something above and beyond nomenclatures and ideologies. 
– Julia Kristeva 

आकाशमा काला-निला बादलहरू भारी वर्षाको संकेत दिँदै डुलिरहेका छन् । आफ्नो अन्तरमनलाई म बारम्बार प्रश्न गरिरहेकी छु, यदि हाम्रो भाषा संरचनामा पितृसत्ताको प्रमुखता छ भने, मेरो स्वच्छ अभिव्यक्ति कुन हो ? यदि हाम्रो व्यवहार, सामाजिक मूल्य र मान्यताद्वारा निर्मित संस्कारको परिणाम हो भने, मेरो नैसर्गिक स्वभाव कुन हो ?

म बालबालिकाहरूलाई सम्झन्छु जसमा अझै आफ्नो लिङ्गको चेतना छैन । ती प्रेम गर्छन्, ती उन्मुक्ति खोज्छन्, तिनमा कुनै भेदभाव छैन । जब ती हुर्किँदै जान्छन्, तिनले पहिला आफूमा रहेको लैङ्गिक भिन्नता चिन्छन् । तिनका लागि मानिस दुई वर्गमा विभाजित हुन्छ- स्त्री र पुरुष । ऊ आफ्नो लिङ्ग अनुसारको पारिवारिक सदस्यलाई अनुसरण गर्छ । त्यसैबाट उसलाई ज्ञात हुन्छ, मानिस मात्र होइन तिनको कार्य, तिनको स्वभाव, तिनको शैली र तिनको भाषा पनि परापूर्व कालदेखि भिन्न थियो ।

Carl Jung का अनुसार हरेक पुरुषको अचेतनामा नारीको गुण हुन्छ र हरेक नारीको अचेतनामा पुरुषको गुण हुन्छ जसलाई ‘anima’ र ‘animus’ भनिन्छ । उनका अनुसार कोही विशेष विपरीत लिङ्गीप्रति आकर्षित हुनुको कारण ‘हाम्रो अचेनतामा रहेको ‘anima वा animus’को गुण उसमा झल्किएको पाउनु’ हो ।

धर्महरूमा पनि विवाहलाई दुई आत्माको मिलन वा दुई व्यक्तित्वको मिलनको संज्ञा दिइएको छ । जसले विवाहितलाई आफ्नो ‘मास्कुलिन र फिमिनाइन’ दुवै पक्षलाई समतोल गरेर जीवन चलाउन मद्दत गर्छ । पितृसत्तात्मक सभ्यतासँगै विवाह अर्थनीति र सामाजिक स्थायित्वसँग झनै गाँसिँदै गयो । दुई परिवार, समूह वा राज्यबीचको सम्बन्ध दृढताको लागि आफ्नो छोरी दिने चलन ल्याइयो । नारीको ‘पवित्रता’ वा ‘आदर्श’ उसको श्रीमानप्रतिको निष्ठता, गृहस्थीप्रतिको जिम्मेवारी र सन्तानप्रतिको स्नेहले निश्चित गर्न थाल्यो । यसैबीच धर्मशास्त्र र सामन्तीतन्त्रको व्यवस्थाले जनजाति, महिला, तेस्रो लिङ्गीहरूमाथि शासन र निरङ्कुश अधिकार चलाइरहेको कुरा प्रष्ट छ । यी कुराहरू यहाँ राख्नु किन जरुरी छ भने, नारीवादीको प्रमुख नारा `व्यक्तिगत भनेको राजनैतिक हो´ ले ‘मेरो’ नारी र पुरुषप्रतिको धारणा कसरी शताब्दीदेखि हस्तान्तरण हुँदै आइरहेको छ भन्ने कुरा बताउँछ । साथै, ‘मेरा’ व्यक्तिगत भावनाहरू कसरी एउटा ‘सामूहिक चेतना’ सँग गाँसिएको हुन्छ भन्ने कुरा पनि बुझ्न सिकाउँछ ।

वास्तवमा मसँग ‘नारी’को विषयमा बोल्न वा विमर्श गर्न सिधा कुराहरू छैनन् । मसँग केवल बिम्बहरू छन्, जो मलाई स्पष्ट भाषाभन्दा प्रभावशाली लाग्छ । मसँग केवल ‘महिला’ भएर भोग्नु परेको नमीठो अनुभवहरू छन् । मसँग मेरा आमा र दिदीबहिनीले अगेनाछेउ बस्दै वा वनमा घाँस काट्दै गर्दा सुनाउनु भएका कथाहरू मात्रै छन् । मसँग पीडित महिलाहरूले गरेको दुखेसो छ । मसँग प्रतिष्ठित महिलाहरूको प्रेरणा छ र मसँग विद्रोही लेखिकाहरूको आवाज पनि छ । म बिम्बमा नै बोल्नेछु, किनकि मैले महिलाहरूलाई उनको अस्तित्वलाई परिभाषित गर्दै लेखिएको लामो पाण्डुलिपि पढेर बुझ्दै गएकी होइन । तिनको सुस्केरा, तिनको संवेदना, आचरण इत्यादि बुझ्न भुषिता वशिष्ठले भने जस्तै ‘महिलाका कुरा बुझ्न विश्वविद्यालयमा पढेर पुग्दैन, लोकभाषी बिम्ब बुझ्नु जरुरी छ, चरम कुण्ठाले गाँजेर थरथर काँप्दै, र्‍यालसिँगान भएर भुइँमा लडीबुडी गर्दा त्यो आङको खुम्च्याइ–तनाइको गणित बुझ्नु जरुरी छ । गोदना खोप्दाको पीडाको चस्काइ बुझ्नु जरुरी छ, कुनै निदान नभएको एकोहोरो साइकोसोम्याटिक दुःखाइको रन्को बुझ्नु जरुरी छ, मरणासन्न पिटाइ खाएपछिको टनटनको कर्कश राग बुझ्नु जरुरी छ ।

पृष्ठभूमिमा गीत बज्न थाल्छ..

 रंगी सारी गुलाबी चुनरिया…. रे
मोहे मारे नजरिया सांवरिया रे…. 
जाओ जी जाओ, करो ना बतियां
ऐ जी बाली है, मोरी उमरिया रे ……

त्यसैले, म २००७ मा रिलिज भएको चलचित्र `वाटर´ का केही बिम्बात्मक दृश्यहरूको मीमांसा गर्नेछु । यस फिल्ममा विधवाहरूको रीतिबाट पितृसत्ताको महिलाप्रतिको दृष्टिकोणलाई दर्शाइएको छ । जब आफ्नो श्रीमानको मृत्यु हुन्छ, नारीको पक्षको सारा अधिकार र सम्मान हराएर जान्छ । तिनलाई अशुभ मानिन्छ र कलह ल्याउने भयले सामाजिक कार्य र परिवारबाट टाढा राखिन्छ । पुरुष आकर्षित नहोस् भनी तिनको कपाल खौरिइन्छ र शोकको मनस्थिति जनाउन सेतो कपडा लगाइन्छ । अधिकांश वृद्ध विधवाहरू भगवानको स्तुति गाउँदै छिट्टै मृत्युघाटमा पुग्ने कामना गर्दै दिन बिताउँछन् । चिसो र अव्यवस्थित वासस्थानमा आफ्नो व्यथा र निराशा साट्दै तिनलाई सामाजिक श्रृङ्खलाको तल्लो तहमा राखिएको पाइन्छ ।

जुलाई १८५६ मा विधवाले दोस्रो विवाह गर्न पाउने नियम स्थापित भएको थोरैलाई मात्र ज्ञान थियो । वर्तमान समाज विधवाको लागि केही मात्रामा स्वीकारात्मक भएपनि सकारात्मक हुन भने अझै बाँकी देखिन्छ । 

दृश्य १: कमलको फूल र बैलगाडी

लाग्छ, यो दृश्यभित्रै आधा कथा अटाएको छ । फिल्मको बीचतिर हामी थाहा पाउँछौँ कि कल्याणीको अर्थ `कमलको फूल´ हो । चुइया यात्रामा हुन्छे वा भनौँ उसको पतिको गम्भीर स्वास्थ्य अवस्थामा उसको आफ्नो जीवन पनि प्रभावित हुन्छ । कमलको फूलले `हिलोमा फुले पनि शुद्ध रहेको´ प्रतिकात्मक अर्थ दिन्छ । चुइया चाँडै नै हिन्दु रुढीवादको नियम अनुरूप विधवा आश्रममा उपेक्षाकृत भएर बसे पनि ऊ सकुन्तला र नारायणको सहयोगले आश्रमबाट भाग्न सफल हुन्छे र उसको नवयात्रा फेरि सुरु हुन्छ । त्यसैले, यो दृश्य चुइयाको जीवनको यात्राहरूको पूर्वसूचना वा पूर्वसंकेत जस्तो बनेको छ ।

दृश्य २: सुनौलो आकाश र गंगा 

कल्याणी प्रेममा विद्रोह भेट्टाउँछे । प्रेम, उसको लागि उन्मुक्ति हो किनकि नारायण र ऊबीचको सम्बन्ध सामाजिक मान्यता विपरीत फक्रिरहेको छ । उसको साहस वा संघर्षको परीक्षा प्रेमले लिइरहेको छ । अन्त्यमा, ऊ विधवाको धर्मपालन छोडेर नारायणसँग विवाहमा बाँधिने आकाङ्क्षा बोकेर आश्रम छोडिदिन्छे । यहाँ कथाको मोड फेरिन्छ । गंगापारि जाने बखत दुई पात्रबीच यथार्थ एकदम सजीव भएर आन्तरिक भावनामा अवरोध गर्न आउँछ । त्यसले परिवारको आदर्श र सदस्यको उत्तरदायित्वप्रति प्रश्न तेर्स्याउँछ । र त्यो यात्रा अधुरो नै रहन्छ । डुङ्गाले आफ्नो दिशा बदल्छ । आकाशको रंग सुनौलोबाट बिस्तारै निलोमा परिणत हुन थाल्छ ।

दृश्य ३: अस्तु र थामिएका हात

झरीमा एक-अर्काको रुमानी कल्पनाबाट सुरु भएको कथावस्तु, कल्याणीको अस्तु नदीको प्रवाहसँगै बग्दै क्यामेराको ‘फ्रेम’बाट बाहिरिएपछि सकिन्छ । पण्डितले सकुन्तलालाई एउटा प्रश्न सोधेको हुन्छ, “के तिमीलाई लाग्छ अब तिमी मोक्ष पाउन सक्छौँ ?” 

जवाफमा उसले भनेकी हुन्छे, “यदि मोक्षको मतलब बैराग हो भने, मैले पाउदिनँ ।”

सकुन्तलाको विश्वास बिस्तारै भत्किँदै जान्छ । कल्याणीलाई बचाउन नसकेको खेद उसको मनमा बसिरहन्छ । उसका हातहरू केही मागिरहन्छन् तर ती डराउँछन्, ती आड नपाएर रोकिन्छन् । एक प्रकारले उसको अन्तर्मनलाई तिनले चित्रण गर्छन् । छुटेर गएको कुरालाई अब त्यसले समात्न सक्दैन र नयाँ चलनलाई एकैपटक अंगाल्न पनि त्यो हिच्किचाउँछ । त्यसैले, ऊ दोधारमै थामिन्छ । आफैभित्रको विरोधाभासमा ऊ समय झनै सक्किरहेको हेर्छे ।

अब भने थोपाहरू हल्ला गर्दै जमिनलाई स्पर्श गर्न थालिरहेका छन् । मलाई फेरि थोरै स्वच्छताको लोभ लाग्छ । सायद, भाषामा अभिव्यक्तिहरू फिक्का नै रहलान्, अस्तित्वको ओज सधैँ तिनले थेग्न पनि सक्दैनन् । नारीत्वको कैयौं आयामहरूमा डुब्न बाँकी नै छ र नारीको मौलिकताप्रति सधैँ असीम सम्मान रहने छ । हिजोको सहनशील भोली विद्रोही हुन सक्छे, भोली आत्मनिर्भर हुन सक्छे ।

Facebook Comments

You may also like

error: Content is protected !!