“लेखककी छोरी” सिंहावलोकन गर्दा

‘लेखककी छोरी’ सामजिक विषयवस्तुमा आधारित कथा हो । जे एन दाहालको प्रथम प्रयास भएपनि यो कथाकृति पढ्दै गर्दा पहिलो प्रयास मात्र भएको आभास हुँदैन । आन्तरिक परिष्कार र समाजिक मानसिकताले दृढ बनेको वैचारिक पृष्ठभूमिमा अङ्कुरित यस कथाकृतीले जे एन दाहाललाई एक उचाइ त दिने नै छ । त्यो भन्दा बढी नेपाली-भूटानी कथालेखन परम्परामा नयाँ आयम यस सङ्ग्रहले थपेको छ । चिटिक्क परेको आवरण सज्जा र मझौलाकारका कथाहरूले पाठक वर्गलाई रसास्वादन गराउँदछ । कथाकृतिको शिर्ष नामले नै कथा भित्र प्रवेश गर्न हुटहुटी जगाउँदछ ।

लेखक साहित्यको लागि बाँच्दछ । र साहित्य समाजलाई दिशाबोध गराउँदछ । तर के समाजलाई दिशाबोध गराउने, साहित्य सृजन गर्ने लेखक-समाजका आउने पिँढीले पनि उस्तै सृजनशील रही समाजको हित गर्न सक्लान त ? के “लेखककी छोरी”हरूले सृजनशील, कल्पनाशील भएर स्वयं लेखकले साहित्यको माध्यमबाट देखेको/देखाएको त्यो सुन्दर सुदुर-भविष्यको गर्तमा सुनौलो दिव्य अंकुर अंकुराउन सक्लान त ? यस्ता प्रशान्त प्रश्नहरू कथाको शिर्ष नामैले उठाएको छ । सङ्ग्रहमा सङ्ग्रहित कथाहरूमा समाजमा घटिरहेका घटनाहरूको फेहरिस्त पाइन्छ । समाजमा निहित संगति र विसंगतिको कटु तर सत्य विषयहरू पाइन्छ । समाजलाई हेर्ने दर्पण पाइन्छ ।

सङ्ग्रहका विषयवस्तु

प्रस्तुत कथासङ्ग्रहमा विभिन्न विषयवस्तु रहेका छन् । यी प्रत्येक कथाहरूको आ-आफ्नै विषय, आकार, भाव, आशय देखा पर्छन् । तीमध्ये केहीलाई केलाउँदा मुख्य गरी अमेरिकामा बसोबास गर्दै गरेको [भूटानी] नेपाली समाजको सामान्य लाग्ने तर जटिल समस्याको चिन्तन, जातीय चिन्तन, भाषाको चिन्तन आदि पाइन्छन् । उनका निम्ति समाजको मूर्त-अमूर्त जुनै कुरालाई पनि कथाको विषय बनाउन सकिन्छ । १४ वटा कथाको आ-आफ्नै विषयवस्तु र भाव भएतापनि कतिपय कथाहरुमा साझा विषय र भाव पाउन सकिन्छ ।

अमेरिकी नेपाली समाजको ऐना देखाउने क्रममा समाजमा देखिएका समस्याको विभिन्न स्वरूपको वर्णन गरिएको पढ्दै गर्दा स्पष्ट हुन आउँछ । यसका साथै प्राय सबै कथाका मूलमा, आदर्श, सुधारवादका पक्षहरू सालाखाला रूपमा पाइन्छन् । “लेखककी छोरी” कथासंग्रहका प्रायः जम्मै कथामा लेखकको समाजिक चेतना र अनुभूति प्रष्फुटित पाइन्छ । समाजमा घटित अ/सहजानुभूतिहरूलाई कथाको माध्यमबाट कथाकारले बाहिर ल्याएका छन् । उनका निम्ति कथा आफ्नै समाजमा छ, आफ्नै वरिपरि, परिवारमा, घर-व्यवहारमा छ । आफ्नो निजी बगैँचामा फलेका फल टिपेझैं सरल तौरले कतै टाढा दौडधुप नगरी आफ्नै सेरोफेरोमा कथा टिप्न सक्ने लेखकको खुबीसँग एक किसिमले ईर्ष्यापनि जाग्न सक्छ ।

लेखकले,’महेश’को माध्यमबाट झट्ट हेर्दा नदेखिने तर बिल्कुलै पृथक रूपको कथा देख्छन् । लेखककी छोरीबाट सुदुर भविष्यको कथा देख्छन् । आफूले जिउँदै गरेको समाजमा उपलब्ध अधिकारको गलत प्रयोगमा कथा देख्छन् । ‘कर्म दाइ’को सुसाइडको माध्यमबाट विदेशमा हुने मानिसहरूको मानसिक स्खलनमा कथा देख्छन् ।’हन्टिङ द सिक्रेट कोड’बाट कथाकारले स्वच्छन्दतावादको पनि प्रयोग गरेका छन् । र लेखकले समाजको अन्तरहृदयमा खिलेका भावहरूलाई कथाको माध्यमबाट अभिव्यक्त गरेका छन् ।

कथाकार दाहालले कथामा सुधारवादलाई यथासक्य प्रश्रय दिएका छन् । सङ्ग्रहमा रहेका अधिकांश कथामा सुधारवादी चिन्तन पाइन्छ । मानव समाजको कुरूपता, विकृति, विसङ्गति, स्वार्थन्धता, मानवताको ह्रास आदिदेखि कथाकार विरक्त देखिन्छन् र त्यही विरक्तिलाई उनी सृजनाशक्तिमा रुपान्तरण गर्दछन् । यस्ता प्रतिकुल पक्षहरूलाई पन्छाएर नयाँ सुन्दर, स्वच्छ, परिस्कृत समाजको स्थापना गर्न चाहन्छन् ।

संरचना

यस संग्रहका कथामा वादको कुनै पनि उपस्थिति छैन । सरल र सहज कथा खोलाको पानीझैं सलल बगेका छन् । पाठकले कथामा भएका हरेक संवाद बुझ्न दिमाग खियाइरहन पर्दैन । कति कथामा लेखक स्वयं पात्रको रूपामा खडा छन् त कतिमा द्वितिय दृष्टि-विन्दु र तृतिय दृष्टि-विन्दुको प्रयोग गरिएका छन् । द्वितिय वा तृतिय दृष्टी-विन्दूबाट भनिएका कथाहरुमा भाव पक्ष सशक्त छ । विषयप्रधान भन्दा पनि कथाहरू घटनाप्रधान छन् । कथागत संरक्षना हेर्दा प्राय कथा मझौलाकारका छन् । लामा-लामा कथा पढ्न झिँझो मान्ने पठाकलाई यस कृति भित्र रहेका कथा रुचिकर लाग्ने छन् । सबै कथाको गति र लय एकनासले अघि बढेका छन् । पढ्दै गर्दा कसैलाई पट्यार लाग्दैन ।

पात्र/परिवेश र भाषा शैली

प्राय कथाको परिवेश अमेरिकी भूगोलमा केन्द्रित छ । एकाध कथामा नेपालसम्म पुगेका कथाकारले सरल सटिक र छोटा-छोटा संवादको माध्यमबाट घटनाको गाम्भिर्यता नमारी आधुनिक, पठित/शिक्षित युवावर्गलाई पात्रको रूपमा उभ्याएका छन् । परिवेश अमेरिकाको हुनाले अङ्ग्रेजी भाषाको प्रयोग प्राय कथामा पाउन सकिन्छ जुन पात्र सुहाउँदो छ तर अङ्ग्रेजी भाषामा ज्ञान नहुनेलाई पढ्न केही असहज हुने भएपनि कथाको मूल-मर्ममा पस्न यसले कुनै असहजता भने सृजना गर्दैन ।

अन्त्यमा

नेपाली भूटानी साहित्याकाशमा, कथा लेखनको विमान लिएर उत्रिएका कथाकार जे एन दहालको यस कथाकृतिमा समेटिएका १४ कथा (उहाँकै शब्दमा भन्नुपर्दा) १४ दिशातिरै फर्किएका छन् । चौधै दिशामा फर्किए पनि सबै कथाले समाजमा भएका विभिन्न आयामलाई समात्न सकेको छ । सरल, सरस र सुबोध्य छन् कथाहरू । कथाले समाजमा भएका संगति र विसंगतिलाई सबैले देख्ने, बुझ्ने गरी चित्रण छन् र परिस्कृत समाजको आह्वान गरेका छन् । हर कुराको सूरूवात राम्रो हुन्छ भन्ने छैन । केहि त्रुटी हुन्छन् नै । यस कथाकृति पनि त्रुटीरहित भने छैन । त्रुटी अवश्य छन् । तर त्रुटीभन्दा राम्रा पक्षको सघन उपस्थितिले कथाकृति सु्न्दर बनेको छ । भविष्यमा अझ परिष्कृत कृति आउनेमा म ढुक्क छु । यस कृति सफल रहोस् । लेखक र ‘लेखककी छोरी’मा शुभकामना छ !

lekhak ki chhori by J N Dahal

lekhak ki chhori by J N Dahal

Facebook Comments

You may also like

error: Content is protected !!