सम्बन्धहरू :  शवरीको बयर र सुदामाको कनिकाका कथाहरू ! | निबन्ध | काव्यालय- Kavyalaya

सम्बन्धहरू :  शवरीको बयर र सुदामाको कनिकाका कथाहरू !

सम्बन्धहरू सजिला मात्रै कहाँ हुन्छन ? असजिला पनि हुन्छन् । अप्ठ्यारा पनि हुन्छन् ।
सम्बन्धसँग सँगै जोडिन आइपुग्ने तमाम इच्छा, रहर, र स्वार्थहरूको असहजता, अप्राकृतिक मर्यादाहरू,.. झन् कति हो कति गह्रौँ र जिद्दी रहे ।

सम्बन्ध भनेको दुई दिन, चार दिनको मात्र पनि हुन्छ । एकैछिन र केहीबेरको मात्र पनि हुन्छन् ।
कसले भन्छ, सम्बन्धहरू लामो समयसम्म टिक्ने छ ? सम्बन्धले लामो दूरी पार गर्नेछ ? गन्तव्य भेट्नेछ ? 

ती सम्बन्धहरू एकामुखे रुद्राक्ष जस्ता भए, बडो मुस्किलले भेटिएका । बडो कष्टले जोगाइराखेका । यसका विभिन्न पहलीहरू छन्, तर ती मिठो-मनितो जस्तो भए पनि ती मज्जालाग्दा छन् । चाखपूर्ण छन् ।

अहँ, मैले यस्ता धेरै सम्बन्धहरू पनि भेटेको छु, जहाँ सहता रहेन । समागम भएन । बसाउठी भइरहन सकेन ।  ती व्यक्तिहरू सहसा मकहाँ आइपुगे ।  मसँग अपर्झट घटित भए । एकाएक, अकस्मात, अचानक, सोचविचारबीना मसँग ठोक्किन आइपुगे । जसको नतिजा आजसम्म पनि-  हामी सहचर रहिरह्यौँ, सँगी भइरह्यौँ, सहेली बनि  रह्यौँ, सहगामी भइरह्यौँ । तिनै सम्बन्धहरूबारे कल्पना गर्दा म खुसी हुन्छु, मर्मशील हुन्छु । ती सम्बन्धहरू पारख गरिरहन मन हुन्छ । ती सम्बन्धहरूको कृष्णलोहले मेरो हृदयलाई अहिले पनि आकर्षण गरिरहन्छ । 

शुष्ककलह कहिले भएन त्यहाँँ । व्यर्थको मनमुटाव त्यहाँँ हुनै पाएन । सायद हुँदो यसैकारण ती सम्बन्धहरू मनोहर रहिरहे । जसको प्रशंसा गरिररहँदा, स्तुती गाइरहँदा किन्चित मात्र पनि पश्चताप हुदैन । ढिब्रीमा बलिरहेको बाती जस्तो ती सम्बन्धहरूको उज्यालोले मलाई यतिखेर पनि घेरिरहेको छ । ती समबन्धहरूलाई मानौँ जिब्रोले छोईरहूँ, ती सम्बन्धहरूलाई मानौँ आँखाबाट झर्न सम्म नदिऔँ ती सम्बन्धहरू एकामुखे रुद्राक्ष जस्ता भए, बडो मुस्किलले भेटिएका । बडो कष्टले जोगाइराखेका । यसका विभिन्न पहलीहरू छन्, तर ती मिठो-मनितो जस्तो भए पनि ती मज्जालाग्दा छन् । चाखपूर्ण छन् ।

र, यस्ता समबन्धहरू बारे लेख्न मन पनि हुन्न । कस्तो बचाएर राख्न मन लाग्छ । कति हो कति जोगाएर राख्न मन लाग्छ । अति मायाले, अति प्रेमले सुम्सुमाइरहन मन लाग्छ । प्रेमपासमा बाँधिरहूँ जस्तो, प्रेमास्पद होइरहूँ जस्तो । जसबारे लेख्नै सकिन्न, बोल्नै सकिन्न । अभिव्यक्तिका लागि होइनन् ती । अभिनीत हुँदैनन् ती ।  ती सम्बन्धहरू इसारातीत हुन्छन्, रहिरहुन् । ती त अभीष्ट छन्, रहिरहून् । ज्यादै मन परेको कुराहरू छन् त्यहाँँ, अति प्यारो विचारप्रवाह छन् त्यहाँँ, अति इच्छित तात्पर्यता छन् त्यहाँँ,..रहिरहुन् । म कोही अबज्स्याहा व्यक्ति होइन, तर यस्ता सम्बन्ध नहुनेहरू भाग्यवादको नजरले अभागी हुन्, नित्सेको नजरले इश्वर बराबर हुन् ।

ज्यादै मन परेको कुराहरू छन् त्यहाँँ, अति प्यारो विचारप्रवाह छन् त्यहाँँ, अति इच्छित तात्पर्यता छन् त्यहाँँ,..रहिरहुन् । म कोही अबज्स्याहा व्यक्ति होइन, तर यस्ता सम्बन्ध नहुनेहरू भाग्यवादको नजरले अभागी हुन्, नित्सेको नजरले इश्वर बराबर हुन् ।

अर्कोतर्फ यस्ता सम्बन्धहरू छन्, जसबारे हामी सदैव श्रद्धेय हुन्छौं । आमा, बुबा, देशसँगको सम्बन्ध केही यस्तै रहन्छ । किनभने यी कुरा स्वत: श्रद्धाको घेराभित्र अटाउन आइपुग्छन् । जस्तो नाबालक बच्चाहरूसँग सो समबन्ध, त्यहाँ स्वत: करुणा आइपुग्दछ । सुन्दरतासँग भनौँ, त्यहाँँ स्वत: प्रेमरस र प्रफूल्लाता आइपुग्छ । सहज- स्वाभाविक अनुभवका कारण घट्न पुग्छन् यी । प्रेमास्पद साक्षात्कारहरू हुन् ती । र, यी सम्बन्धहरूबारे लेखेर दुर्वाच्य हुनु मलाई छैन । यी जे छन्, जस्ता छन्; त्यस्तै रहिरहून् ।  कुनै पनि वस्तु स्वभावतः मूल्यहीन र अमूल्य भन्ने हुँदैन; त्यसप्रतिको लगाव र श्रद्धाको हो मूल्य हुने, औचित्य हुने । शवरीको बयर र सुदामाको कनिकाका कथा सायद यहि श्रद्धाका कथाहरू हुन् । श्रद्धाका समबन्धहरू हुन् । यी श्रदेय सम्बन्ध हुन् । यी त मानभाउ र कदरभन्दा पनि निकै माथि छन् ।

अब यसै गरौँ, केही यस्ता सम्बन्धहरूबारे चर्चा गरौँ-  जसले मलाई पिरोलिरहन्छ, लखेटिरहन्छ । आज यतिखेर यसै पनि सम्बन्धहरूबारे सोचेर दिन बियाँल्ने मेसो गरिरहेको छु ।  दिनकटनीको लागि यो भन्दा उत्तम विकल्प अर्को केही होला र ? खैर, यो अकस्मात घटित प्रश्न हो, माथि वर्णन गरिएजस्तै । म भन्दै थिएँ, केही त्यस्ता सम्बन्धहरू छन् मेरा, जसको मलाई कटाक्ष गर्न मन लागेको छ । तिनका चोक्टाचोक्टीहरू केलाउन मन छ, कुट्काकुट्कीहरू निफन्न मन छ । 

‘ती सम्बन्धहरू’लाई म अहिले ‘यी सम्बन्धहरू’ भनेर सम्बोधन गर्नेछु किनभने म अहिले पनि यी सम्बन्धहरूबाट भाग्न सकेको छैन । मैले कुनै उन्मुक्तिको तन्गारो देखेको छैन यहाँबाट । तर आशातीत भने छु की यी समबन्धहरू सदैव यस्तै रहिरहने छैनन् । परिवर्तनको नियम सम्बन्धहरूको जोडघटाउमा जत्ति कहाँ लागू हुँदो हो ?

 श्रद्धा अतिश्रद्धामा पुग्दा दुर्घटना हुन्छ । समबन्धहरू पनि अतिसम्बन्ध (यो शब्द छ की छैन ?) मा पुग्दा दुर्घटनाग्रस्त हुँदा हुन् । यहाँ यतिखेर म ‘ती’ माफ पाऊँ ‘यी’ दुर्घटनाका कारुणिक दृश्यहरू सूचकाक्षर गर्नेछु । 

यी  कोही बेस्वादिला छन्, यी कोही अत्यन्त पीडादायी छन् । हो, यी सम्बन्धहरू निभाउने कर्ममा हामी पाषाण हृदय बोकेर बस्यौँ । एकअर्काको नजिक भयौँ तर भौतिक हिसाबले मात्र । एक अर्काले आफ्नो बताइरहन मुख उघारिरह्यौँ तर हात पाउ, आँखा नाकबाट भने हामीले सक्दो कटाक्षपात गरिरह्यौँ । प्रेम, क्रोध, इर्ष्या त्यो हदसम्म गर्यौँ की त्यहाँँ हामीबाहेक कुनै पनि अलगाव, अपरिचित कुराहरूको प्रवेश नै रहेन । यो शब्दको प्रयोग ठिक होइन, तर हामी ‘विष्ठाहारी’ भएका थियौँ । गू नै त खाए नभनौँ, तर त्यो गन्ध हामी भित्र-भित्रसम्म पुगिसकेको थियो । र, यी समबन्धहरू अपाच्य बनिरहेका छन् । सानिध्यमा छेरपटी लागिरहेको छ । हामी पन्यालो वस्तु बनिरहेका छौँ । जहाँतँही छताछुल्ल, जताततै छेलोखेलो, जतिखेरै उखालपखाल ।…

यो शब्दको प्रयोग ठिक होइन, तर हामी ‘विष्ठाहारी’ भएका थियौँ । गू नै त खाए नभनौँ, तर त्यो गन्ध हामी भित्र-भित्रसम्म पुगिसकेको थियो । र, यी समबन्धहरू अपाच्य बनिरहेका छन् । सानिध्यमा छेरपटी लागिरहेको छ । हामी पन्यालो वस्तु बनिरहेका छौँ । जहाँतँही छताछुल्ल, जताततै छेलोखेलो, जतिखेरै उखालपखाल ।…

कसैको सामाजिक ओहदा र संरचनालाई मेरो दिमागले कहिल्यै समाउन जानेन । मान्छेको बौद्धिकता भनेको ऊसँगको कोमलता हो, सौहार्दता हो, आत्मिकता हो, चञ्चलता हो- मेरो हृदय आजसम्म पनि यहि भनिरहन्छ । आत्मा के भन्छ, मैले त्यो आवाज सुन्न सकेको छैन । 

सभ्यताको तथाकथित इतिहासमा मानिसकका ऐतिहासिक आवश्यकताहरूमध्ये ‘सम्बन्ध’ एउटा प्रमुख कुरो रहेछ, बुझिल्याउँदा म यहि भेट्छु । चाहे त्यहाँँ ईश्वर र मानिसको कुरा होस्, रचना र कल्पनाका कुराहरू हुन् । चाहे त्यहाँँ कला, संस्कृति, साहित्य, सिद्दान्त, काल, आकाश जस्ता अमूर्तताको कुरा होउन् । चाहे त्यो शरीरधारी/साकार भौतिक वस्तुहरूकै कुराहरू किन नहोस् । तर, त्यहाँँ सम्बन्ध स्थापित भएको छ, हुँदै आइरहेको छ । चाहे ती मूहर्तसम्बन्धि व्याख्या विश्लेशण गर्ने मौहूर्तिक गणक हुन् या तपस्वी या तपोमूर्तिहरू हुन् । चाहे ती मजदूरका गुनासोहरू सुनी मात्र रहने मार्क्सहरू हुन् या रगत प्रवाहलाई अस्तित्वको बाघचाल लडाइ बनाउन तम्सिएका पैसाका भक्तहरू हुन् ।  या अन्य कुनै पनि विचारधारा र साधनाका पन्थहरू हुन्, उनीहरू पनि सम्बन्धको चिरफार गर्ने क्रममा हिच्किचाउँछन्  । सम्बन्ध के हो र कस्तो हुनुपर्छ- यसबारे मलाई लाग्दैन कसिलो ठोकुवा ठोकेर यहि र यस्तो भनेको छ ।

म मूर्तिभन्जकहरूले मूर्ति तोडिरहँदा पनि उपस्थित छु र मूर्तिपूजकहरूले कुनै प्रतिमाको पूजाआराधना गरिहँदा पनि उपस्थित छु । र, मेरो दुवैसँग बराबर उठबस होइरहन्छ । 

म मूर्तिभन्जकहरूले मूर्ति तोडिरहँदा पनि उपस्थित छु र मूर्तिपूजकहरूले कुनै प्रतिमाको पूजाआराधना गरिहँदा पनि उपस्थित छु । र, मेरो दुवैसँग बराबर उठबस होइरहन्छ ।  मलाई यति चाहिँ थाहा छ, दुई फरक विचार बोके पनि यिनीहरूको एकैकुरासँग समबन्ध छ- त्यो  हो मूर्तिसँगको सम्बन्ध । यिनीहरूलाई फिटिक्कै नरुचाउने अर्को समूह परमेश्वर या काल जस्ता कुराहरूको सम्बन्धमा गाँसिएका छन् । यी सबै आ-आफ्ना जीवनउपरका श्रद्धाहरूमा साधनारत छन् । र, यी सबबाट पर रहेका आत्मवादीहरू, शून्यवादीहरू व्यक्तिहरू पनि मानिस एवं समाजलाई निरीह र लाचार बताउँदै यस समाजबाट अलग भएता पनि कुनै न कुनै रुपमा  सम्बन्धमा गाँसिन चाहिँ फेरि पनि आइपुगेकै छन् । यहाँ, कोही न कोही, केही न केही कुरा/वस्तु (मूर्त /अमूर्त)सँग सम्बन्ध स्थापित गर्ने अनुभव-यात्रामा लागिपरेका रहेछन्, यसो घोर्लिँदा म यस्तै भेट्छु । 

हो, यी सब कुराहरूमा उसले देखाउने भनेको आफ्नोपन रहेछ, मौलिकता रहेछ । र, सोही अनुसारकै आत्मस्वीकारुक्तिको स-सानो, झिना मसिना झिल्काहरू संगाल्दै जाने क्रममा सम्बन्ध विकास हुँदो रहेछ, झाँगिदो रहेछ  । र, ती झिल्काहरू कहिले आंगमा खस्ला कहिले ओदानमुनि खस्ला ।  कुरा त यति न हो ।

अब अलि छरपष्ट हौँ है, अलि सजिलो’री कुरा गरौँ क्यारे ।

म विभिन्न समबन्धहरूमा रहेँ । पारिवारिक समबन्ध मेरो ठिकठाक नै रह्यो ।  एकप्रकारले घरपरिवारले श्रद्धा, स्नेह र आशीर्वादको दुबोमा नै मलाई हुर्काए, या म हुर्किएँ । यसकारण ध्वंसात्मक मानिसकताको बीज मेरो मस्तिष्कमा अंकुरित हुन पाएन । दुबो ध्वंसात्मक बेर्नो होइन पनि ।  तर जब मैले दुनियाँको असली जालसाजी र धरपकड धेरै पछि चाखे, त्यो अंकुरण नभई सुख थिएन । सोहिबीच पारिवारिक दुबोबाट पन्छन पनि मेरो केही समय हठ रह्यो । तर जब सांसारिक जालसाझी, धोकाछलीहरू म चिन्दै गएँ, बुझ्दै गएँ;  पारिवारिक रुपमा म आफसेआफ अझ नगिच हुँदै गए ।  

सामाजिक सम्बन्धहरूको हिसाबकिताब गर्न मलाई मन लाग्दैन । कारण हो- समाजले म जे हूँ, त्यो कहिल्यै स्वीकारेन । न मैले नै समाज जे छ, त्यसलाई चुपचाप स्वीकारिरहेँ । समाजका हरेक कुरा, हरेक थोकसँग मेरो विद्रोह रहन्छ । सबैभन्दा बेसी समाजको चेतना र गुणवतासँग मेरा प्रश्नहरू रहन्छन् । म समाजलाई टेर्दै नटेर्ने एउटा डकुलन्ठू बनेको छु  । कमसेकम समाज मेरो बारेमा यहि बोल्छ ।

सरसर्ती यी दुई सम्बन्धबारे यति बोलिसकेपछि मलाई केही रमाइला सम्बन्धहरू वर्णन गर्दै जान मन लागेको छ ।

सम्बन्धहरू जस्तो, साथीभाइसँगका । यसमा म भिज्ने खालको रहेनछु । भिज्ने तर उत्री पनि हाल्ने । डुबीरहन नसक्दो रहेछु । डुब्दा एकप्रकारको उकुसमुकुस र निसास्साई सधैँ रहिरह्यो । साथीभाइहरूसँग एकै गाउँ, एकै स्कुल, एकै पाठ्यक्रम, एकै खेलकुद, भागदौड, एकै शिक्षक शिक्षिकाको अध्यापन रहेता पनि म अलग भएछु । म आजभोलि सोच्ने गर्छु, “आच्या, एकै कुरा पढेर, एकै समाज देखेर/भोगेर, एकै नैतिकता, राष्ट्रियता वा भौगौलिक अखण्डतामा अटाएर पनि म कसरी तमाम मेरा साथीहरूभन्दा अलग भएँ ?” मैले उत्तर भेटेको छैन ।

यतिखेर जो-जो मेरा साथीहरू छन्, तिनका अनुभव भने मेरै जस्तो छ । तर सबकुरा अलग छ । भूगोल, परिवार, समाज, संस्कार र यहाँसम्म कि उमेर पनि ।  यस क्रममा हामीबीच बालसुलभ भोगाई फरक पर्नु स्वाभाविक भयो तर समाजको नजरमा उनीहरू र म; आफन्तजनको नजरमा उनीहरू र म; काटीकुटी बराबरी छौँ । दशैमा चौध धार्नीको खसी लडाएर ५४ भाग बनाए जस्तो । हत्केलाले हो नि तौलेको तर तुलाले जोखेको भन्दा बढी बराबार छ । अँ, मेरा यतिखेरका साथीभाइहरूको किस्सा र मेरो किस्सा त्यहि ५४ भाग मध्येका कुनै पनि एक-एक भाग हुन् । जो बराबरी छन् ।

जस्तो, आफन्तजनहरू । उनीहरू मलाई सबैभन्दा मननपर्ने र वाहियात लाग्ने एउटा म नजिकको वर्ग हो । जो परिचालित जीवन निर्वाह गर्दा खेर पनि असाध्यै खुसी, र सन्तुष्ट छन् । कहिलेकाहीँ त स्वाङ हो झैं पनि लाग्छ, तर होइन । उनीहरूको जीवन प्रवाह नै यस्तै छ । मस्तराम भइरहन सक्ने । जहाँ जसको जे होस्, मतलब छैन । तर आफ्नो भाइ, भदो, भान्जा, भतिज, छोरीहरूको बारे भने यिनीहरूलाई सब थाहा हुनुपर्छ । औंलाको रौँदेखि जुताको तुनासम्म ।  

हसियाँको बिहेमा खुर्पाले  गीत पनि गाउला । बालुवा निचोरेर तेल पनि निस्केला । तातोपानीले घर पनि डढ्ला । जुनकिरीको पिंधले औंसी पनि उज्यालो होला । चिनी चिनी भन्दाभन्दै मुख गुलियो पनि होला । तर आफन्तजन करेसाकै भूत हुन् । यिनले तर्साउन छोड्लान भनेर नसोचेकै बेस् ।

उनीहरूकहाँ कहिलेकसो एक-एक किलो स्याउ, एक-एक दर्जन केरा र एक-दुई पाउ बदाम र काजु बोकेर पुग्दा म देख्ने गर्छु- इत्रा इत्रा कुरा पनि कत्रा कत्रा गफ लगाउन सकेका ? मसिना-भुरा कुरामा पनि कत्रो-कत्रो इनार- पोखरी खन्न सकेका ? झिनाझिना कुराहरू बटुलेर पनि कत्रो कत्रो आगोको लप्काहरू उठाउन सकेका हुन् ?  सोच्ने गर्दा, मेरो दिमाग सुरुक्क ट्वाइलेट छिर्ने मनाशय बताएर मूल गेट बाहिर निस्कन आतुर गरिहाल्छ । तर भँगेरा मारिसकेपछि भुत्लाउँन अल्छ्याई गर्न कहाँ पाइन्छ ?  यसैले ढसमस्स भएर पसिना पुछ्दै पनि बस्नै पर्छ। 

अब अर्को भनेको त्यहाँँपुग्दा शिष्टाचार र मान-सम्मानको भारी म बोक्नै जान्दिनँ । भिनाजुलाई पहिले नमस्कार गर्ने हो कि दिदीलाई ? भान्जोलाई काजु दिने हो भान्जीलाई ? स्याउ दिन त दिने तर कतिखेर दिने ? जाने बित्तिकै दिने हो कि निस्कन लाग्दा दिने ?

हावाको बहाव सँगसँगै बत्तिएर कोठाभित्र आइपुगेर हरेक भितामा ठक्क्कर खाँदै निस्कने चेष्टा गरिहेको परेवा जस्तै हुन्छु म । संसारका यावत यावत रहस्यहरूबाट मैले पार पाउँला तर यी कुराहरूबाट ?  बस्यो, बस्यो…बस्यो..अल्छी यति लाग्छ जति आफ्नो कोठामा साथी र उसको प्रेमीकालाई छिराएर कहिलेकसो आफू २/३ घण्टा यसै बाहिर फेर रुँघेर बस्नुपर्छ ।

अझ यी आदर-सत्कारका भोका ठुल्बाउ, हजुरबाउ र फूपुहरूकहाँ पुग्दा मैले धर पाउन्न- मैले गर्ने के हो ? गर्ने कसरी हो ? के बोल्ने हो ? कति बोल्ने हो ? उनीहरूलाई यति जान्नु हुन्छ म बारे, के भनौँ ? मै जान्दिनँ- यिनीहरूलाई केके बताउने हो ? कति जान्न मन हो ? “के गरिराछास्, किन गरिराछास् ? कसरी, कता..?” अनि त्यसपछि उनीहरूको आफ्नो राय, विचार, दृष्टिकोण । उफ्,..निकै सैतानी समय रहन्छन् ती । 

हसियाँको बिहेमा खुर्पाले  गीत पनि गाउला । बालुवा निचोरेर तेल पनि निस्केला । तातोपानीले घर पनि डढ्ला । जुनकिरीको पिंधले औंसी पनि उज्यालो होला । चिनी चिनी भन्दाभन्दै मुख गुलियो पनि होला । तर आफन्तजन करेसाकै भूत हुन् । यिनले तर्साउन छोड्लान भनेर नसोचेकै बेस् । जुत्ताको माला लगाएको नेता छालादेखि तर्सन्छ भन्थे  नि, । हो, म त्यहि हूँ, यो मामलामा चाहिँ । 

जस्तो; भाउजु, माइजु र काकीहरूसँग रहँदाको क्षण । भाउजुहरूको आँखा नै त्यस्तो हो कि नियत त्यस्तो हो ? मैले ठम्माउन सकेको छैन । 

माइजुहरू यति प्रेमभाव र आदरभाव पस्कन्छन्, मानौँ उनको सामुन्ने भान्जो होइन कोही राजकुमार आएको छ, दैविक अवतार फुत्रुक्क खसको छ ।

काकीहरू जतिखेरै गाली गर्न र नराम्रो कुरा खोतल्न मात्रै किन मरिहत्ते गर्छन् ? दाह्री बाहेक अर्को विषय पनि छ । कपाल बाहेक अर्को कुरा पनि गर्न सकिन्छ । र, बिहे ? यो सार्वभौम विषय हो- आफन्तजनकहाँ पुग्दा । यिनलाई मेरै बिहे गराउन के विधि रुचि हो ? गर्ने मैले हो, जे जसरी हो जीवन बिताउने मैले हो । र, बिहे भन्ने कुरा भर्खरै गरिहाल्न जे जस्तो कारणहरू यिनीहरू बताउछन्- त्यो कहिल्यै मेरो दिमागले समात्न सक्दैन ।

‘बेला भयो ।’- यो भनेको के ?
‘बुढो भइसकिस् अब त.. ।’
– आफ्नो उमेर हेरेका छन् ? म हैरान हुन्छु ।

आफन्तजन बिरामी हुँदा, अस्पताल पुग्दा र आर्यघाट सम्म नै पुग्दा भने मन अत्तालिन्छ, चिसो चिसो हुन्छ । जे भए नि जस्तो भए नि, थिए त आफ्नै । यमराज भए नै आफ्नै मृत्युको सौदागर हो नि यार..!

अर्का हुन्छन्, जो जागिरका सिलसिलामा बन्ने या बन्न आइपुग्नेहरू । यी मान्छे होइनन् । डार्विनले यिनलाई देखेरै नै तमाम मानिसलाई बाँदर भनेका होलान् । मान्छे होइनन् भनेर पनि भर नपाइने । यिनीहरूसँग रातोदिन बसाउठी गर्नु छ । गाली गलौजमा उत्रनुछ । उपियाँ, उडुस र जुम्राभन्दा पनि रगत चुस्न सिपालु यी जातका सम्बन्धहरूबाट भाग्न मेरो कत्रो मेहनत छ ? तर फिलहाल, हालसम्म भागीहाल्न सकिएको छैन । 

पेट छ, जो हरहमेशा भोकाइरहन्छ ।
आँखाहरू छन्, जो प्रहर पछि निन्द्रा खोज्छन् ।
शरीर छ, जो केही समयपछि आराम खोज्छ । 

मलाई थाहा छ, भोक, निद्रा र आराम बेगर पनि म बाँच्न सक्छु । नभए भोक, निन्द्रा र आरामको लागि गरिने दौडधूप अर्को केही पनि छ । अरू केही पनि भेटिन सक्छ । तर सामाजिक गोहो यसरी बनाइएको छ कि छामछाम छुमछुम गर्दै आइपुग्दा यी यस्तै खाल्डोमा आइपुगेर उत्तानटाङ लाग्नै पर्ने रहेछ ।

 यी अन्धमुष्ठी अँध्यारा रातहरू हुन् । 
यी ठुस्स ठुस्स गन्हाइरहने मलखाद र सार्वजनिक शौचालयहरू हुन् । 
यी लेउ लागेका पहाडका भीरहरू हुन् ।
यी चिप्ले ढुंगा हुन्, स-साना खोल्साका । 

जति नै बाठो भइटोपलौँ न, जति न खुरन्दार भई खाऊँ न, यहाँ त जाकिनु नै छ । यहाँ आएर खुदुमुन्टीनु नै छ । म पहिलेपहिले अचाक्ली अनौठा र अचम्म लाग्ने सामुन्द्रीक या परको भौगौलिक जीवजन्तुहरूबारे पढ्दा सोच्ने गर्थे, “आच्या यस्ता पनि हुन्छ र ? यो मास्टरले कस्स्स्म गफ लायो । “ तर अहिले, यतिखेर त्यो मास्टरलाई भेटेर साष्ट्रंग दण्डवत गर्न मन छ । दुईटा नरिवल र एक डालो फूल तिनका पाउमा राख्न मन छ । तर, मेरो दुर्भाग्य, ति मास्टरहरू यतिखेर इहलीलाको खारेजीमा परिसकेका छन् । पन्च तत्वमा बिलाईसकेका छन् ।  

 सम्बन्धकै कुरा हुँदै छ, अझै गरौँ- एक दुई कुरा । 

आज यसै पनि वैचारिक गन्थनमन्थनमा उत्रन मन लागेको छैन । नैतिकता, निष्ठा, बुद्धिमता- जाओस् कहीँ पर गएर अक्करे भीरबाट खंगारीओस् । बर्रोको रुखबाट फाल हानेर मरोस् । नभए कोरोना लागेरै सडोस् ।  ‘भयो, गाली गर्नु हुन्न, एकदम अडिग रहनुपर्छ, ठिक्क बोल्नुपर्छ, शान्त रहनुपर्छ’- होची मिन्हदेखि गान्धीसम्म, त्यहि मास्तिरका कन्फुसियसदेखि यहि मुन्तिर मधेसका बुद्धसम्म- कोही पनि मलाई बिथोल्न आउनु पर्या छैन । मलाई आज हद नाघेर गाली गर्न मन लागेको छ, मन लग्दी बोल्न मन लागेको छ । तिमीहरू केही बेर चुप लागाओ । चालचुल केही नगरी मेरो भडाँस चुपचाप सुनओ । तिमारलाई सुन्दा सुन्दै मेरो बिल्ल्लीबाँठ उठिसक्यो ।  ‘महान आत्माहरू !  मलाइ दया गराओ ।’

अँ, सम्बन्धहरू । ती करिब ७० लाख वर्ष अघिका ‘होमो ह्याबीलीस’हरू दक्षिण अफ्रिकामा जन्मिएका थिए नि ! या ती जो त्यो समयमा यो गोलमटोल धर्तीका फरक-फरक ठाउँमा फरक फरक मौसमी हावापानीमा एकसाथ या एकै कालखण्डमा अंकुरित भएका थिए- तिनीहरूलाई सम्झौँ । तिनीहरूमध्ये जोजती वैराग्यप्रेमी या अल्छी थिए, तिनले केकसो गरेर जीवन धाने होला, सोच्ने विषय हो  । मान्छु, ‘अढाई सय/ दुई सय वर्ष बाच्थे अरे ती ।’ भौगोलिक अध्येता र वातावारणविदका कुरा एक ठाउँमा छन् तर ती त्यति लामो समयसम्म जीवित रहनुमा कहीँ न कहीँ यो एउटा कुराले भूमिका खेल्यो, खेल्यो । त्यो थ्यो- तिनका सम्बन्धहरू अलि सजिलो थियो । 

सम्बन्धमा बसेका व्यक्तिहरूबीच अनुराग हुँदो हो, स्नेहका दृष्टिले एकअर्कालाई सत्कार गर्दा हुन् । यसैले त त्यो विधि बलिया र अग्ला भए ।  सम्बन्धमा यी यति सार्हा गुजुल्टा र गाँठाहरूमा ती परेनन् । यो अनुसन्धानको विषय होइन, अनुमानको कुरा हो । र, यो विश्वको सबैभन्दा बेसी स्वीकारिएको अनुसन्धानमा अनुमानको जति हात केको छ ? अनुमानको स्वभावत प्रकृति अस्थिर रहन्छ तर  अस्थिरतामा एकनासपन आयो भने त्यो स्थिरता बन्छ । र, विज्ञान सोही स्थिरतालाई आफ्नो मेरुदण्ड बनाएर यति अस्थिर भइरहेको छ ।  भन्नुको मतलब,  जेजति भएका छन् सब अनुमानका भरमा फत्ते गरिएका छन्  । म त्यो मध्ये एउटा हुँ- जो विज्ञानलाई सबैभन्दा कुख्यात रुढीवादी सन्त/साधु मान्दछ । 

विश्वको सबैभन्दा बेसी स्वीकारिएको अनुसन्धानमा अनुमानको जति हात केको छ ? अनुमानको स्वभावत प्रकृति अस्थिर रहन्छ तर  अस्थिरतामा एकनासपन आयो भने त्यो स्थिरता बन्छ । र, विज्ञान सोही स्थिरतालाई आफ्नो मेरुदण्ड बनाएर यति अस्थिर भइरहेको छ ।

फेरि यताउति पुगियो, यतै आऊँ क्यारे ।   

के-के समबन्धहरू हुन्छन अरू ? जस्तो होटल र चिया पसलका सम्बन्धहरू । 

चिया खाउन्जेल एउटा बुढो जतिखेरै मलाई हेरिरहन्छ । न ऊ मलाई चिन्छ, न म उसलाई । एक वर्ष बेसी भइसक्यो हामी एकै पसलामा चिया पिउछौँ, तर बोलचाल छैन । बुढो दिनहुँ दाह्री चिडुलाउँछ, म दिनकै दाह्रीमा तेल लगाउँछु । बुढो गोल्ड स्टारमा बडो फूर्तिसाथ् आएर पत्रिका पल्टाउछ, म चुपचाप आउँछु न्युजफीड खोल्छु र चुरोट सल्काउँछु । बुढो सुरुप्प.. सुरुप्प.. गर्दै पट्यारलाग्दो आवाज निकालेरै चिया घुट्काउँछ, म सकेसम्म हिँड्दा पनि जुत्ता नबजोस् भन्ने चाहन्छु ।  बुढो चस्मा लगाउँछ, ठ्याक्कै गान्धी चस्मा । म अलि चेप्टो चेप्टो लगाउँछु- ठ्याक्कै स्टालिनले लाउने जस्तो । मैले यतिखेर पनि याद गर्न सकिनँ,- ऊ र म बिच के कुरा समानान्तर छ  ? तर ऊ नआएको दिन, मलाई चिया खल्लो लाग्छ । ऊ आइपुग्ला कि भनेर म एक दुई कप चिया  थप्न भ्याउँछु । त्यति गर्दा पनि बुढो आइपुगेनन् भने, बुढालेझैं ‘नानी पैसा’ भनेर साहुनीलाई पैसा दिन्छु । साहुनी एकछिन् वाल्लजिल्ल पर्छिन्, मेरो भागमा त्यो वाल्लजिल्ल पर्ने कार्यभार दिनभर रहन्छ । कहाँ गयो हो यो मुलो बुढो भन्दै भोलिपल्ट बिहान पुग्दा ऊ प्लायाकपुलुक हेरिरहेको भेटिन्छ । जसै म गएर वल्लो किनारमा बस्छु, मुला बुढो शान झारेर पत्रिका पढेझैं गर्छ । बेला बेला पत्रिकाको एक कुनामा उसको आँखीभौँ उचालिएको देखिन्छ । त्यसपछि उही सुरुप्प..सुरुप्प्प..वाक्कदिक्क लाग्दो आवाज । म झ्याउ मान्दै चुरोट सल्काउँछु ।

अब खाजा खाने होटलका कुरा गरौँ । 

त्यहाँ हुन्छ के त भन्दा, त्यहाँँ त्यस्तो कोही बुढो भेटिन्न । त्यहाँ निश्चित प्राय कोही पनि हुदैनन् । देखिने भेटिने अनुहार एक दिन, दुई दिन बिराई त्यहि नै हुन्छन् । कहिलेकसो नयाँ मान्छे मुन्टियो- होटलभरका ग्राहकहरूको आँखा त्यसमा गड्छ । नयाँ मान्छे बुझ्दैन, आज ऊ मुर्गा बन्ने पक्का छ । ‘तर  कुन चाहिँ स्वाँठहरू हुन् यी ? के यसरी हेरिरहेका हुन् ?’ ऊ चाउमिन अर्डर गर्नुपूर्व सोच्दो हो । 

चाउमिन साहुले ल्याइसक्छन् तर ऊ बस्ने ठाउँको खोजीमै हुन्छ । बल्लबल्ल कसैले दया देखाएर उसलाई चाक बिसाउने ठाउँ दियो भने पनि कुनामा बसेकोले ठेल्दी हाल्छ । काँटामा अड्केको चाउमीन भुई भरि हर हर .. । दुई चार गाँस चाउमिन बुत्ताएपछि ऊ पानीको जगको खोजी गर्छ । र, जब ऊ प्यासले बहुलाउँछ, पल्लो टेबलको एउटा आफू वरपर ४/४ वटा भरि जग राखेर मस्त गफ दिइरहेको हुन्छ । ऊ भन्ला पनि, “सर त्यो पानी यता पाऊँ न ।” त्यहि टेबलको अर्को नयाँ आएको उसलाई पानी दिनु पहिले जग रित्ताउँछ र भन्छ- ‘ल्या, सर भर्खर सकिएछ ।’ भलै ऊ त्यो भरि जग रित्ताएर ट्वाइलेट कुदोस् तर त्यो गर्नु सबको नित्य कर्म हो । कानूनत: त्यहाँँ त्यसो गर्नैपर्छ । नत्र अर्को दिन ऊ यहि चाउमिन वाला झैं छटपटाउनु निश्चितप्रायः छ । 

पानी नपाएको झोंकमा ऊ साहुलाई चर्को स्वर पनि गर्ला । तर साहु हामीलाई चर्को स्वर गर्न सक्दैन । ऊ त एकदिन आउँछ, जान्छ  । हामी सधै आउने हौँ । हामीई गाली गरे उसले सटर नझारे पनि हुन्छ । उसको भोकमरी चल्छ – यो महंगीमा । 

चाउमिनवाला पछि अर्को म:म: वाला आइपुग्छ । बिचरो ऊ झोल थप्नै पाउँदैन । झ्याल पट्टिको कुनै एक दाह्रीवाला म:म: को झोल घुटुघुटु पिउँछ तर म:म: वालालाई दिने छाँट देखाउँदैन । उसले दियो कि भोलि उसले निस्तै म:म: चपाउनु पर्छ । 

अर्को पसिना पसिना भएर आइपुग्छ, र कोक माग्छ । भीडभाडमा एउटा न एउटा जानीजानी त्यहाँ पुग्छ, र उसको हातबाट कोक सकभर लडाउने चेष्टा गर्छ । लडाउन सफल भयो भने उसलाई एउटा कोक दिन अर्को कोहीको आवाज आउँछ, “ ए साहु, यो जिम्बालाई एउटा फ्रीज भित्रको कोक दिनुस् त,..चिसो ।” एक दुई खेप मैले पनि यसरी सित्तैमा कोक रित्ताउने मौका पाएको छु ।

म कुरा गर्दै थिए, सम्बन्धको । अब यी तमाम होटलका नियमित ग्राहकहरू (म सहित )लाई एक अर्का बारे त्यति बिघ्न केही पनि थाहा छैन । कोही सहकारी वाला होला, कोही निजामति कर्मचारी होलान, कोही कलेज पढिरहेको होला, कोही तन्नम अनलाइन मिडिया र एनजियोहरूमा जागिर गरिरहेको होला.. तर नोकरशाही तन्त्रको भागीदार हामी सबको एकमत छ-  सबमा एकनासपन छ । दिनभरको थकाई यहाँ यसरी नै निस्तेज पार्ने हो- त्यसको लागि जुनसुकै हालतमा किन उत्रनु नपरोस् ?

यता, दिनहुँ एउटै किनारा पसलमा दुध लिन जाँदा- साहुनीसँग आँखा जुधीरहेको हुन्छ । कथमकदाचित साहु रहेछन् भने त्यो दिनभर मेरो कोठामा साहुनीको समझनामा कालो चिया भुक्लुक भुक्लुक उम्लिरहन्छ । भोलि बिहान जब साहुनी भेटिन्छिन्, दुध सँगसँगै दहि पनि बोकेर आउँछु । त्यसपछि मेरो होम आइसोलेसनको त्यो एक दिन दुध चिया र दहि-पानी खाएरै बितिरहेको हुन्छ । न आजसम्म उनीसँग दोहोरो कुरा भएको छ, न उनको नामथर सोध्ने हिम्मत आएको छ । तर दुध त्यहि गएर लिनु पर्छ मलाई । त्यहिबाट ल्याएको दुध हालेर बनाएको चिया नै स्वादको लाग्छ मलाई । यो कस्तो सम्बन्ध हो कुन्नि ? यसलाई कसरी पो परिभाषित गर्नु ? 

कथमकदाचित साहु रहेछन् भने त्यो दिनभर मेरो कोठामा साहुनीको समझनामा कालो चिया भुक्लुक भुक्लुक उम्लिरहन्छ । भोलि बिहान जब साहुनी भेटिन्छिन्, दुध सँगसँगै दहि पनि बोकेर आउँछु । त्यसपछि मेरो होम आइसोलेसनको त्यो एक दिन दुध चिया र दहि-पानी खाएरै बितिरहेको हुन्छ ।

अब कुरो टुंग्याउनतर्फ लागौँ ।

मेरो सामुन्ने एउटा पराल गुथेर बनाइएको गोलाकार ह्याण्डीक्राफ्ट छ, जसको ठेट नेपाली नाम मैले यतिखेर बारबार याद गर्न खोजिरहेको छु तर सकिरहेको छैन ।..अँ, याद आयो यसलाई ढकीया भन्ने गरिन्छ । त्यहाँँ भर्खरै मेरो आँखा पुग्दा मैले देखेँ, त्यहाँँ एउटा ५ युरो सेन्ट छ । जो कहाँदेखि आयो, कुन समयमा आयो ? मैले नै ल्याए या कोही अरूले ल्याएर छोडिदियो ? यी सब प्रश्न यतिखेर जवाफविहीन छन् । 

म सरसर्ती आँखा घुमाउँछु, मेरो सामुन्ने म्यानचेस्टर सिटी लेखिएको सेतो रंगको कप छ । फूटबल र क्रिकेटबाट सदैव पर रहे । ती खेलका सामान्य नियम, उस्ताद खेलाडी र प्रमुख घटनाहरू बाहेक अरू कुरासँग मेरो वैचारिक साथसंगत छैन । तर त्यो कप छ, जहाँ करिब दुई वर्ष अगाडि टिस्यु पेपर गुथेर बनाएको एक थुंगा फूल छ- गुलाबी कलरको । झट्ट हेर्दा गुलाबै जस्तो पनि । 

म आँखा घुमाइरहँदा देख्छु, सामुन्ने मानवशास्त्री एवं लेखक डोरबहादुर विष्टको ‘सोताला’ उपन्यास यसै परिरहेको छ । मैले पढ्न भ्याएको छैन । अलि पर, ‘सारकोबेक्स (Sarcobex)’ नाम गरेको औषधीको डिब्बो छ, जसको प्रयोग भइसकको छ । तर त्यसलाई मैले फ्याल्न भ्याएको रहेनछु । भनौँ न फ्याल्नुपर्ने आवश्यकताको खाँचो मैले अहिलेसम्म औंल्याएको रहेनछु । 

यस्ता धेरै कुरामा मेरो आँखा परिरहेको छ  । सायद ती कुरामा मेरो धेरैपटक नै आँखा परिसकेको पनि हुँदो हो, आज जसरी ती चिजहरूलाई मैले गहिरिएर हेरेको थिइनँ होला । र, सयाद ती दिनहरूमा म अन्य केही चीजहरूलाई गहिरिएर हेरिरहेको हुन्थेँ, जो यतिखेर मैले नजरअन्दाज गरिरहको हुन् सक्छु । आत्मचिन्तन र आध्यात्मिक प्रक्रियामा साधनारत व्यक्तिका कथनअनुसार, हाम्रो वरपर भएका सम्पूर्ण भौतिक, आत्मिक, भावनात्मक, विचारात्मक र अन्य अन्य कुराहरू हेर्नको लागि, देख्नको लागि, हामीहरू सक्षम छौं । उनीहरूबाट केही कुरा छुट्दैन । म असहमत कदापि छैन । तर यतिखेर जुन सामाजिक मनस्थिति या वैश्विक संरचनामा म आफ्नो मस्तिष्क घुमाइरहेको छ, हृदय चलायमान बनाइरहेको छु, के त्यो सम्भव छ ? मलाई सम्भव होइदिए हुने थियो भन्ने लाग्दछ । र, मेरो प्रयत्न पनि यी कुराहरूलाई सम्भव बनाउनु नै रहेनेछ । 

मलाई लाग्छ, जीवनका व्यापकताहरूमा आफ्नो सहभागिता जनाइरहनु पर्दछ । जीवन चाडबाडविहीन छैन,, अनुष्ठानविहीन छैन । ‘जलाश्रय र मसानघाटसम्म’को सम्भाव्यताको कथाहरू हामीले सुनेका छौं । आत्महाहाकारजन्य अवस्था यतिखेर मसँग छैन, मुर्छायमान स्थितिमा यतिखेर म छैन,  आत्मलान्छना यतिखेर म गरिरहेको छैन । तर मेरो आग्रह आफैसँग यति मात्रै रहन्छ- केही समय फुर्सद निकाल्नु पर्छ मैले । र, त्यो फुर्सदीमा बसेर जीवनका हरेक थोक र हरेक घटनाहरूलाई आत्मसाथ गर्नुपर्दछ । नत्र, म पनि त्यो एक हजुरबाउ हुनेछु, जो मानवीयताको कथा दन्त्यकथा भाँती आफ्ना नातिनातिनालाई सुनाइरहेको हुनेछ । आफ्ना नातिनातिनासँगको त्यो पनि एक सम्बन्ध हुनेछ, तर त्यो समबन्ध म कदापि चाहन्नँ । 

एउटा कुरा चाहिँ पक्का छ, सम्बन्धको बिहान हुन्छ, मध्यान्ह हुन्छ, साँझ पर्छ र जून देखिन्छ । फेरि पनि घाम झुल्कियो भने त्यो गजब भइहाल्यो । सम्बन्धको यी बामेसराइहरू अझ घटित हुनेछन्, म समक्ष । ती कुन रुपमा, कुन समयमा म कहाँ आइपुग्नेछन् ? तर मेरो चेष्टा रहनेछ कि त्यसबाट म केही सिकौँ । केही जानौँ । एउटा विचार या सिद्धान्तमा रमाएर बस्दा अर्को विचार बोकेर आइपुगेको व्यक्ति म नजिकैबाट किनारा लागेको छ । र, म उसँगको साथसंगत र उसको विचारमन्थनबाट कहीँ पर हुत्तिन पुग्दो रहेछु ।

जीवन र मृत्यु; दुवै संस्कार यति महंगा र असजिला बनेका छन्, यसबीच सहजता खोज्ने ध्येय नै हो सम्बन्ध । यसबीच आफ्नोपन महसुस गर्ने चेष्टा न हो सम्बन्ध । हल्लिएको दाँत त एकदिन फुस्कन्छ भने जिन्दगीका दु:खहरू कसो एकदिन नफुक्लेलान् ?

मलाई यतिखेर लागिरहेको छ, सम्बन्ध भनेको सडकमा हिँडेको जस्तो होइन । दुई किनारा, दुई पहेंला धर्सा बीच सतर्कतासाथ ।
सम्बन्ध साँघुरो गोरेटोको हिँडाइ रहेछ, जहाँ तलमाथि होइराख्छ । कहिले कसलाई बाटो छोडिदियो, कहिले कसलेबाटो छोडिदिन्छ । यसक्रममा उसको पसिना मैले सुघ्न पाऊँ, मेरो पाखुराको रौँ उसले महसुस गरोस् । यसक्रममा पो हामी नजिक नजिक हुँदै जाँदा हौँ । यसरी पो परस्पर समबन्ध बन्दै जाँदो हो । 

सम्बन्ध मानौँ कुनै खेल हो, जहाँ दुवै व्यक्ति सहभागी हुन्छन् । र, दुवैले जित्छन् । यो यस्तो खेल हो, जहाँ कसैले कहिल्यै हार्दैन । जहाँ कुनै पनि किसिमको मानिसक भेदभाव रहँदैन, दमनको लसपस हुँदैन । त्यो पो समबन्ध, त्यो पो एक उदाहरण

जीवन र मृत्यु; दुवै संस्कार यति महंगा र असजिला बनेका छन्, यसबीच सहजता खोज्ने ध्येय नै हो सम्बन्ध । यसबीच आफ्नोपन महसुस गर्ने चेष्टा न हो सम्बन्ध । हल्लिएको दाँत त एकदिन फुस्कन्छ भने जिन्दगीका दु:खहरू कसो एकदिन नफुक्लेलान् ? बस, सम्बन्धहरूमा मृदुल रहिरहुन् ।  सुकुमार्य रहिरहुन् । जिन्दगीका तमाम दुःखहरू त यसै पनि उसै पनि छचल्किरहकै छन्..।

Facebook Comments

You may also like

error: Content is protected !!