रेजिनाले ‘क’ लेखिन्

स्कुल छुट्टी हुने बेला भई सकेको थियो । रेजिनाकी मम्मी अघिदेखि उनैलाई पर्खेर बसिरहेकी थिइन् । रेजिना आज निक्कै खुसी र उत्साहित देखिन्थिन् ।
‘हाई मम्मी’ अमेरिकाको नयाँ जीवनशैलीमा रत्तिदै गएका आम नेपाली बाल-बालिका झैँ साबिक अभिवादन गर्दै आमा-छोरी गाडीमा बसे ।
“छोरी, किन आज निक्कै खुसी देखिन्छ्यौ नि तिमी?” रेजिनाकी आमाले गाडी चलाउँदै सोधिन् ।

“अनि कि मम्मी…….., आज स्कुलमा मेरो टिचरले इस्टरको बारेमा कथा भन्नु भयो । कस्तो…… मज्जा आयो।” रेजिनाले एकै सासमा आफू खुसी हुनुको कारण आफ्नी आमालाई सुनाइन् ।
“मम्मी……. ! हाम्रो ब्याकयार्डमा पनि बन्नी (खरायो) आउँछ है । अस्ति मैले एउटा कस्तो क्युट (राम्रो) बेबी बन्नी देखेको थिएँ ।”
“आउँछ त छोरी, किन?” आमाले सोधिन् ।
“किन भने नि………, बन्नीले इस्टर एग ल्याउँछ नि त म सुतेको बेला । त्यो इस्टर एगमा त कस्तो….. राम्रो राम्रो मिठाई र खेलाउनाहरु हुन्छन् ।”

Easter egg Rabbit from House Beautiful

Easter egg Rabbit from House Beautiful

यति कुरा हुँदा सम्ममा आमा-छोरी घर आइपुगेका थिए ।
“ल छोरी नानु, तिमी दिनभरि स्कुलमा पढेर थाकेकी छ्यौ । जाऊ, लुगा फेर, हात-खुट्टा धोऊ अनि म खाजा तयार गरिदिन्छु है।” आमाले प्रेमपूर्वक भनिन् ।
“हुन्छ मम्मी”
रेजिनाले स्कूल जाँदा बोक्ने आफ्नो झोला (ब्याक्-प्याक) सोफामै फ्याँकेर कोठामा गई लुगा फेरिन् अनि हात-खुट्टा धोएर बाहिर डेकमा (बरण्डा) भएको स्विङ्गमा गएर बसेको मात्रै थिइन्, आमाले नास्ता ल्याइदिइन् ।
“मम्मी…. प्लिज………, म यत्ति धेरै खान सक्दिनँ ।”
“खाऊ छोरी, खाऊ।”
पेपर-प्लेटमा अण्डा हालेर घिउमा फ्राई गरेको भात, दुई चाना गाजर र एक ग्लास दूध खाँदै पर पर बारीमा हेर्दै के के सोच्न थालिन् रेजिना । दिनभरि स्कुलमा खेल्दै उफ्रँदै लेख-पढमा व्यस्त भएकाले रेजिना धेरै थाकेकी थिइन् । खाँदा खाँदै पिङमै भुसुक्कै निदाइछन् ।

रेजिनाले आफ्नो शाही ताज शिरमा मिलाउँदै राजगद्दीमा बस्दै गर्दा झल्याँस्स आफ्नो आँखाले विश्वासै गर्न नसक्ने दृश्य देखिन् । एकचोटी आँखा मिचिन् र फेरि नियालेर हेरिन् । पक्का हो! उनलाई कुनै धोका वा भ्रम भएको होइन । उनका आँखाका सामु ड्याडी बन्नी, मम्मी बन्नी अनि बेबी बन्नी आ-आफ्ना हातमा अति चम्किला र सुन्दर सुन्दर इस्टर एगले भरिएका डाली (बास्केट) बोकेर सरासर उनकै महल तिर प्रवेश गर्दै थिए । रेजिना हर्षले गद् गद् भइन् । जुरुक्क उठिन् र दगुरेर ती बन्नीहरुतिर लागिन् ।

“राजकुमारी ! नकुदी बक्सियोस् । हुकुम गर्नुहोस् , हामी हाजिर छौँ सरकारको सेवामा ।” राजकुमारीका सुसारेहरूले पनि पछि पछि दगुर्दै भने । राजकुमारीले नसुनिकन बन्नीहरुको अगाडी पुगेर घुँडा टेकी बन्नीलाई विनम्र अनुरोध गरिन् ।
“बन्नी ! प्लिज…….. मलाई त्यो चमकदार इस्टर एगको टोकरी दिनुस् । पक्कै पनि तपाईँहरूले त्यो मेरै लागि ल्याउनु भएको होला ।”
“हुन्न राजकुमारी, हामी यो हजुरलाई दिँदैनौँ तर हजुरको महलभित्र कहीँ लुकाएर राख्नेछौँ। हजुरले आफै खोजेर भेट्टाउनु पर्ने छ अनि मात्र ती उपहारहरू पाउनुहुनेछ ।”
यति भनेर बन्नीहरु सरासर राजकुमारीको महलभित्र पसे । राजकुमारीको मन खिन्न भयो ।
केही बेरपछि बन्नीहरु रित्तै फर्केर जाँदै गर्दा राजकुमारीले बाई भनिन् ।

Source- Asia Contemporary Art -My Little Princess

Source- Asia Contemporary Art -My Little Princess

“राजकुमारी ! आज्ञा होस्, हामी ती अण्डाका बास्केटहरू खोजेर ल्याउनेछौँ ।” सुसारेहरूले भने ।
“होइन, म आफैँ खोज्छु ।”
राजकुमारी हस्याङफस्याङ गर्दै महलको कुना काप्चा सबै चहार्न थालिन् । बल्ल-तल्ल खोजेर तीन वटा बास्केट लिएर आइन् र उनका सुसारेहरुसङ्ग बसेर एक एक गर्दै बडो उत्सुकताका साथ ती इस्टरका अण्डाहरू खोल्न थालिन् । अण्डा खोल्दै जाँदा राजकुमारी छक्क परिन् किनभने ती अण्डाहरू भित्र त अनौठा अनौठा आकारका खेलाउनाहरु पो रहेछन् । ती खेलाउनाहरुलाई ओल्टाई पल्टाई एकदम राम्रो गरी नियालिन्, सुम्सुम्याइन् । एकदम राम्रो, खेलाऊँ खेलाऊँ परेका, एकदम आकर्षक अनि चमकदार रहेछन् । तर ती खेलौना के आकारका हुन् भन्ने कुरा उनलाई थाहा भएन । त्यसैले, पत्ता लगाउने अठोट गरिन् । यी खेलाउनाहरु के वस्तु हुन् त ? रुख-पात पनि होइन, चरा-चराचुरुङ्गी पनि होइन, कुनै जनावर पनि होइन । के चाहिँ हो त ? दरबारमा हल्ली खल्ली भयो । अन्तमा दरबारका विद्वान पण्डितलाई राजकुमारी सामु हाजिर गराउने र बन्नीले दिएका उपहारहरू के हुन् त भनी रहस्य खुलाउने हुकुम भयो ।

केही बेरपछि पण्डित राजकुमारी अघि उभिए ।
“ल ! पण्डित बा…….. ! भन्नुहोस् यी अनौठा तर राम्रा खेलौनाहरू केका आकारका हुन् त ?” आदेश गरिन् राजकुमारीले ।
खेलौनाहरू समाउँदै हेरेर मुसुक्क हाँस्दै पण्डितले भने, “राजकुमारी……. ! यी खेलाउनाहरु त नेपाली भाषाका वर्णमालाहरू पो रहेछन् ।”
राजकुमारी सहित सबै जना छक्क परे ।
“के हो त वर्णमाला भनेको ? अनि मलाई यस्तो उपहार दिनुको मतलब के हो त ?” राजकुमारीले सोधिन् ।

Little Princess

Little Princess

“राजकुमारी…… ! यो तपाईं-हामीले घरमा, समाजमा र देशमा हाम्रा पुर्खाहरूको पालादेखि नै बोल्दै आएको भाषा हो, जसलाई हामी नेपाली भाषा भन्छौँ । त्यही नेपाली भाषाको पहिलो अक्षर ‘क’ हो यो खेलौना । बन्नीले यो तपाईंलाई उपहार दिनुको कारण चाहिँ, अब राजकुमारीले नेपाली भाषा सिक्नु पर्छ । यो हाम्रो मातृभाषा हो, त्यसैले, पढ्नु पर्छ । लेख्न सिक्नु पर्छ । हरेक नेपाली भाषीले नेपाली पढ्नै पर्छ राजकुमारी अनि गौरव गर्नु पर्छ ।”

राजकुमारी छक्क पर्दै पण्डितका कुरा सुनिरहेकी थिइन्, हठात् उनले छुट्टै तर परिचित आवाज सुनिन् ।

“ए ! छोरी त खाँदा खाँदै निदाइछिन् ।” मम्मीले छोरीलाई सुम्सुम्याउँदै भनिन् ।
“मम्मी, कस्तो……. डिस्टर्ब गर्नु भयो । कस्तो…. राम्रो…. सपना देखिरहेको थिएँ म।” आँखा मिच्दै जिउ तन्काउँदै रेजिनाले आमालाई भनिन् ।
“अनि के देख्यौ त छोरी सपनामा त्यस्तो राम्रो ?” आमाले सोधिन् ।

जिउभरि लागेको भातको सिता टक्टक्याउँदै जिज्ञासु नजरले मम्मीलाई हेरिन् ।
“ए साँच्ची, मम्मी….. ! नेपाली भाषा कस्तो हुन्छ अनि कसरी पढ्नु पर्छ अनि किन पढ्नु पर्छ? तपाईंलाई नेपाली पढ्न र लेख्न आउँछ मम्मी ? अनि तपाईंहरूले मलाई किन पढ्न-लेख्न नसिकाएको ?” रेजिनाले एकै सासमा धेरै प्रश्न गरिन् ।

WHY ?

WHY ?

आमा चकित भइन् तर यो असल मौका हो भनी सम्झेर छोरीलाई आफ्नो मातृभाषाको महत्त्व बुझाउँदै नेपाली पढ्न र लेख्न सिक्न प्रेरित गर्छिन् ।
“यो अहिले जुन भाषामा तिमी मसँग बोल्दै छौ नि छोरी, हो, यही नै नेपाली भाषा हो । हाम्रो मातृभाषा । एकछिन है नानी, म कलम र कापी लिएर आउँछु है ।”
दगुरेर भित्र गएर कलम र कापी लिएर आइन् रेजिनाकी आमा ।
“खोइ, यो कलम समाऊ त । अनि यसरी लेख्नु पर्छ ‘क’ । नेपाली अल्फाबेटको पहिलो अक्षर है छोरी ।”
छोरीको हात समाउँदै नेपाली वर्णमालाको पहिलो अक्षर ‘क’ लेखाइन् । रेजिनाले नजाने पनि आनन्द मानिन् र खुसीले गदगद हुँदै अघि देखेको सपना सम्झिन् ।
“हो मम्मी, यस्तै थियो । पण्डित बाले ‘क’ भन्थे ।”
“हैन, के भन्छिन् मेरी छोरी आज ?” रेजिनाकी मम्मी तीन छक्क परिन् ।

कपुरी 'क'

कपुरी ‘क’

Facebook Comments

You may also like

error: Content is protected !!