रणबहादुरले गिज्याइरहेछ

रण जोड बहादुर, रणबहादुर ! उसको पुरातन नाम भयो जब उसका साथीहरूले उसलाई आधुनिक नाम “आर.बी” दिए।

तिनै युवा अवस्थाका प्रिय साथीहरू जसले धुवाँको मुस्लो छाड्दै आफैँ बादल लगाउन सिकाएका थिए । त्यसपल उसलाई आफैँले लगाएको बादलमा साथीहरुबाट भर्खरै पाएको आर.बी नाम नविन र अतिप्रिय लागेको थियो ।

आज (वर्तमान समय) आर.बी उमेरमा यही दुई बिस पुगेको छ । अहिले ऊ कसैको ज्वाँइ, कसैको श्रीमान र कसैको बुवा भएको छ। सम्बन्धमा कसैको मामा, कसैको साढु र कसैको सोल्टी भएको छ । तर उसलाई लाग्छ सबभन्दा प्यारो त ऊ आर.बी भएको छ ।

आर.बी र रणबहादुर दुई थरीका पात्र हुन् । एक विगत र अर्को वर्तमान । आर. बी रणबहादुरबाट सृजीत हो । अर्थात् रणबहादुर आर.बी कै पुरानो रुप हो । तर जे जे भएपनि दुवै एकै हुन्, र पृथक पनि । एकबाट अनेक हुन् ।

आर.बी ले रणबहादुरलाई चिन्दछ तर रणबहादुर आर.बीलाई चिन्दैन, जान्दैन । र चिन्न पनि खोज्दैन । यसका पछि आफ्नै गन्ती भित्रका कारण छन् ।

आर. बी ले चुरोटलाई चिनेको छ, खैनी जानेको छ, वियर सुम्सुम्याएको छ । यति त आधुनिक सबै आर.बीले जानेकै हो । चिनेकौ हो । इमानदारीपूर्वक बोल्दा, संगत पनि गरेकै हो ।

यति मात्र हैन, आर.बीले खैनी च्याप्ने, चुरोट सेवन गर्ने र वियर पिउने सब खालका मान्छे चिनेको छ । ति मान्छेका चिनेका अरु मान्छे ! अहो ! कति हो कति मान्छे ! मान्छे चिन्नु पनि ठूलो कुरा हो । साथी-संगतले जीवनमा विवीधता भित्र्याएको छ ।

तर साँच्चै भन्ने हो भने, रणबहादुर आफैँले आर.बी लाई चिनेको रहेनछ । जानेकै रहेनछ कि, कुनै दिन रणबहादुर यस्तो आर.बीपनि बनेर निस्कन सक्छ ।

आर.बीको कथा उद्घाटन—
एकदिन, भेटमा साथीसँग मोजले ! काममा कामको बोझले !! घरमा श्रीमतीको कचकचले !!!

“टेन्सन भो”
आर.बी बाहिर निस्कीएर लामो श्वास तान्छ ।
ऊ चुरोट सल्काउँछ । किनकी ऊ रणबहादुर हैन । रणबहादुरले यस्तो क्रियकलाप जानेकै छैन ।
आर.बी आधुनिक समाजको मान्छे हो । रहरमा सिकेको चुरोट अहिले तान्ने बानी बसेको छ । लत बनेको छ । तलतल बनेको छ ।

Cigarettes by Akemi Watanabe

Cigarettes by Akemi Watanabe

पाँच वर्षपछि—
एउटा भेटमा पुरानो मित्रले आर.बीलाई चुरोट छोड्न सल्लाह दिन्छ । उसलाई साथीले दिएको सुझाव ठिकै त लाग्छ तर यस्तै साथीले कुनै दिन चुरोट तान्न सिकाएको थियो । उसले सोच्यो, साथीहरु पनि अनौठा अनौठा हुन्छन् ।

एकछिन के के जाती गमेर आर.बीले प्रतिकार गर्यो ।
“सक्दिनँ यार । म त चुरोट नपिई बिहानको दिसापनि लाग्दैन । दिसा जमे कस्तो हुन्छ थाहै होला ? चुरोट त कदापी छाड्नै सक्दिनँ !”

साथी मस्कीयो । यो मुस्कान व्यङ्ग्यपूर्ण लाग्छ आर.बीलाई । आफूमाथि साथीलाई विश्वास भएन कि भन्ने शंकामा ऊ स्पष्टीकरण दिनपनि हिचकिचाउँदैन ।
“साँच्ची यार !”
“प्रोमिस्” दायाँ हात घाँटीको किलकिलेतिर पुर्याउँदै ऊ गम्भीर बन्यो ।

फेरि उस्तै मुस्कान फ्याँक्दै साथीले आर.बीलाई सल्लाह दियो-
“चुरोट छाड्न नसके केही छैन । सुरुमा खैनी लिनु, यसको साथले बिस्तारै चुरोट बिर्सँदै जाने छौ ।”
यसपटक साथीको मुस्कान उसलाई स्वभाविक लाग्यो । उसका कुरा ‘हो कि-हो कि ?’ जस्तो पनि लाग्यो ।

घर फर्केर उसले साथीको सुझाव केलायो । कोसिस गरेर हेरौँ न त भन्ने मानेर उसले साथीको सुझाबलाई प्रयोग पनि गरी हेर्यो । तर लत बसिसकेको चुरोट उसले यस्सै छोड्न सकेन बरु उल्टै खैनीको पनि उसको जिब्रामा रस बस्न लाग्यो र दैनिक खैनी च्याप्न थाल्यो । खैनी चुरोट जस्तो मज्जाको त कहाँ हुँदो रहेछ र..? थुकेको थुक्यै गर्नु पर्ने ! पुरानो फाली फेरि नयाँ राख्नु पर्ने ! सुरुमा घाँटी कोक्यायो, थुकथुकी लाग्यो तर बिस्तारै खैनीको रसमा ऊ मज्जैले भिज्न लाग्यो । ऊ अब चुरोटको कहिलेकाहीँ मात्र तान्थ्यो ।

एक अपराह्नमा, आर.बीले फेरि सम्झियो खैनीभन्दा त चुरोट नै जाती । तान्नु परे त्यही तान्छु .. ऊ फेरि पुरानो नै ठाउँ फर्कियो । आखिर पुरानोजस्तो त नयाँ, कहिल्यै हुन नै सक्दैन । दिनहरु पुरानै राम्रा थिए । ‘रणबहादुर !’ भन्दै खोजीखोजी आउने पुरानै साथीहरु प्रिय थिए ।

Tobacco by  Ilgvars Zalans

Tobacco by Ilgvars Zalans

यतिबेला आर.बीलाई बरु चुरोटले नै मज्जा दिएजस्तो र खैनी फिक्का भएजस्तो महसुस हुन थाल्यो । यसरी उसले केही दिन त बितायो । तर चुरोट तानिसकेको केही घण्टामा खैनीको यादपनि साथसाथै आउन थाल्यो । अनि खैनी र चुरोट दुवै एकसाथ सेवन गर्न थाल्यो ।

बिस्तारै जाडो पस्न थाल्यो । चुरोट र खैनी दुवैले जाडो भगाउन सकेन । यो गरिबलाई पहिलै छ दु:ख । फेरि दु:ख ! दु:खले कहिल्यै नछाड्ने भयो ।

आर.बी सोचमग्न भयो । एकदिन कामतिर जाँदा छिमेकी साँल्दाइले सोधे-
“जाने हो?”
यो ईशाराको बात थियो । प्रौढहरु यसरी नै कुरा गर्छन् । त्यसपल आर.बीलाई आफू पनि प्रौढ भएको अनुभूत हुन्छ ।
“जाउँ त भनेको तर पैसा छैन । कसो गरौँ !”
आर.बी टाउकोमाथिको कालो कपाल कन्याउँछ र मूलबाटो वरपर हेर्छ ।
“आज म लगाइदिन्छु । केही छैन रमाइलो गरौँ !”
भट्टीमा बसेर दुवैले वियर पिए । उसलाई चुरोट र खैनीभन्दा यो भित्री कोर्ट अझ गजबको लाग्यो । जाडो पनि उडाउने, मज्जा पनि हुने । पहिलोपटक ऋृणमा पिएको आ.बीले दोश्रोपटक ऋृण फच्चे पार्न पनि पियो ।

Drunkard from Ocean's Bridge Oil Paintings

Drunkard from Ocean’s Bridge Oil Paintings

यसैरी तेश्रो र चौथो हप्ता पुरानै आर.बी बनाउने साथीहरुले पिलाए । ‘मान्छेले पिउनकै लागि त बनाएको कुरा हो’ भन्दै आर.बी रमाइलो मानीकन पिउँदै गयो । पिलाइपनि अब एउटा बानी बन्यो । उसलाई एकोहोरो तान्ने नशा बन्यो । हाल आर.बी कुलतमा बेस्सरी फसेको छ । स्वास्नी चाहिँले जहिल्यै सम्झाउँछिन्, तर एकै शब्द सुन्ने हैन !

आर.बीलाई सुरुमा रिह्याब पुर्याइयो । ऊ त्यहाँबाट भागेछ । तर रणबहादुर जिन्दगीदेखि भाग्ने मान्छे कदापी थिएनन् ।

बाटोमै ढलेछ आर.बी । बिरामी अवस्थामा आर.बीलाई अस्पताल पुर्याइयो । क्यान्सर भएको खबर दिएछन् डाक्टरले । रणबहारदुर पुरानो एउटा इतिहास थियो । आर.बी आधुनिक नाम मात्र । अपसोच ! यही आधुनिकताले खायो रणबहादुरलाई । अहिले आर.बी ओछ्यानमा पल्टिएको छ । होस आएको बेला बर्बराउँछ आर.बी-
“रणबहादुरले मलाई गिज्याइरहेछ !”
“रणबहादुरले मलाई गिज्याइरहेछ !”
“रणबहादुरले मलाई………….”

Facebook Comments

You may also like

error: Content is protected !!