रत्नपार्क, लकडाउन र गरीबी !

एउटा पुरानो साइकलमा त्यसको तौलको तुलनामा दोब्बरभन्दा बढी भारी लादेर पुराना कपडा लगाएको एक मधेसी मुलको अधबैंसे पुरुष चिया पसलको अगाडि उभिरहेको थियो । नजिकै एक हुल युवाहरु चियाबाट उडिरहेको बाफमा चुरोटको मडाँरिदो धुँवा मिसाएर आकाशमा उडाउन व्यस्त थिए । नसकी-नसकी एक बुढी आमा आगो फुक्दै मकै पोलिरहेकी थिइन् । अलिकती पर बोरा बिछ्याएर कोही हात हेर्दै थिए त कोही औंठीका साथसाथै ‘हिमाली जडिबुटीबाट बनेको तेल जसको प्रयोगले जस्तोसुकै दुखाई छिनभरमै निको हुन्छ’ भन्दै माइकिङ गरिरहेका थिए । मानिसको बाक्लो आवातजावत बीचमा कोहि केरा बेच्ने थिए त कोहि चटपटे, कोहि पानी बेच्ने थिए त कोहि समय (घडी बेच्ने) । कोही मालाझैं लगाएर सानो तिनो पसल बोकेर सामान बेच्दै थिए त कोही हात थाप्दै हिँडिरहेका थिए । कोही ६५०/५५० मा जुत्ता, १०० मा ३ जोडी मोजा अनि १५०/२५० मा भेस्ट भन्दै बेचिरहेका थिए ।

थुप्रै बसहरु हर्न बजाउँदै गन्तव्यतर्फ प्रस्थान गर्ने संकेत दिँदै यात्रीहरुलाई आमन्त्रण गर्दै थिए । खलासी चुरोटको धुवाँ फुक्दै उपत्यकामा रहेका विभिन्न ठाउँहरुको नाम भट्याउँदै थियो । हाँडीमा थालले छोपेर मकै भुटदा आउने आवाज जसरी नै ऊ एकदमै छिटो छिटो कराइरहेको थियो ।  यति हतारमा थियो कि लाग्दथ्यो ऊ कुनै म्याराथनको धावक हो, जसलाई १ मिलिसेकेन्डको पनि महत्त्व हुन्छ । यत्तिको वर्णनपश्चात त सजिलै अनुमान लगाउनुभयो होला यो ठाउँको; यो तमाम मानिसहरूको सपनाको सहर, बुढापाकाका निम्ति नेपाल अनि युवाहरुका निम्ति अवसर सिर्जनाको प्रमुख आधारका साथै मन्दिरै-मन्दिरको सहरका नामले परिचित देशको राजधानी काठमाडौंको ढुकढुकी मानिने रत्नपार्क हो ।

पहिलोपटक कान्तिपुर नगरीमा प्रवेश गरेको निर्मलको मगजमा यो सबै दृश्यको छाप गहिरो पर्‍यो; के जसरी यहाँ मानिसहरू आफ्नो सपना र आफ्नाका निम्ति रुमल्लिरहेका छ्न्, कतै त्यसैगरी गाउँबाट निजामती सेवामा नाम निकाल्छु भन्ने प्रण गरेर आएको ऊ आफैपनि भौतारिनुपर्ने पो हो कि भन्ने आशंकाले उसको मन निमोठियो । सरकारी जागिर खाएर मात्र घर फर्कन्छु भन्ने वाचा बुवालाई गरेर ऋण नै निकालेर अवसरको मुहान फुट्ने, उसको जिन्दगी बनाउने, रहरहरूको सहर हान्निएको थियो ऊ । जाजरकोटजस्तो दुर्गम ठाउँबाट फाट्टफुट्ट मान्छेले मात्र नेपाल (राजधानीलाई गाउँमा यही भनिन्थ्यो) देखेका थिए । आफ्नो परिवारको उ पहिलो व्यक्ति थियो, जो यति ठूलो जिम्मेवारी बोकेर सहर पसेको थियो ।

“छोरा, हाम्रो लागि त संसार भन्नू नै यहि गाउँ र खेतबारी भयो । त्यो गैरीखेत बेचेर, आधा पेट खाएरै पनि तँलाई पढायौँ । टाठो-बाठो, जान्ने-बुझ्ने बनाएर नेपाल पठाउँदै छौँ । खराब संगत नगर्नु, एकचित्त भएर पढ्नु । घरको पीडा बुझेको मान्छेले घरलाई दुःख होस् चाहँदैन”
गहभरी आँसु बनाउदै बुवाले भन्नुभएको कुरा याद गर्‍यो उसले । एक बोरा कपडा र किताबको साथमा परिवारको सपना अटाउने एउटा खाली झोला बोकेर सहरको एउटा कुनामा ऊ मलाई पर्खँदै थियो ।

“ढिलो त भएन नि, म आउँन ? यात्रा कस्तो रह्यो त ? तँ आउँदा पनि गाउँभरिका मान्छेले चामल र अगरबत्ती त पठाए होला, पशुपतिनाथलाई चढाउन ? कस्तो छ गाउँको हालखबर ?, उसलाई भेट्ने बित्तिकै मैले एकै श्वासमा भने !

“छैन,  ढिलो भएको ! तैँले भने बमोजिम गाडी चढेर यहाँ भर्खरै मात्र आइपुगेको हुँ । यहीँको परिदृश्य आँखामा अटाउन नपाउँदै आइपुगिहालिस् नि । सबैले दिएका छ्न्, चामल र फूलपाती, भोलि चढाउन जानुपर्ला । गाउँको खबर उस्तै छ तर अहिले चाहिँ डाक्टर आएका छ्न् अस्पतालमा ।”, यतिमै ऊ रोकियो ।

“ल ल, कोठातिरै लागौँ । बाँकी कुरा आरामले बिस्तारै गर्दै गरौँला“,
भन्दै किर्तिपुर, पाङ्गा दोबाटो, भत्केपाटी लेखेको गाडीमा चढ्यौँ हामी । म बस्ने अन्धकार कोठामा उसले चार थान कपडा र लगभग आठ थान किताबको भारी बिसायो । ऊ र म सानैदेखि एउटै विद्यालयको एउटै बेन्चमा बसेर पढ्ने गरेका थियौँ । म भन्दा ऊ हरेक कुरामा अब्बल थियो, एस.एल.सी. को परिक्षामा उसले स्रोतकेन्द्रभरिमै सबैभन्दा बढी नम्बर ल्याएको थियो । गाँउकै कलेजमा निशुल्क +२ र स्नातक सक्यो उसले । म भने काठमाडौं लागेँ । कहिले जुठा भाँडा माझेर त कहिले गाडी धोएर जेनतेन पढाइ सकेँ । ऊ यहाँ आएदेखि नै दिनरात किताबका पानाहरूमा नै हराइरहन्थ्यो । म उसलाई कहिले कता, कहिले कता घुम्न जाऊँ भनिरहन्थे तर ऊ बुबाको सपना पूरा गर्नु छ (आफ्नो सपना चाहिँ साहित्यकार बन्नु हो भन्थ्यो) भन्दै कतै जाँदैन्थ्यो । उसको निम्ति संसार त्यही अन्धकार कोठा र किताब थियो ।

थाहा छैन, उसलाई रत्नपार्कप्रति यति लगाव कसरी भयो ? धेरैपटक रत्नपार्कको बारेमा सोधिरहन्थ्यो । फेरि पनि सोध्यो ।
“रानी रत्नराज्यलक्ष्मी शाहको नाममा २०१८ सालमा राजा महेन्द्रले पार्क निर्माण गर्न लगाएका थिए । काठमाडौंको मध्य भागमा रानी पोखरी र टुँडिखेलको बीचमा रहेको रत्नपार्कको निर्माण २०२१ सालमा सकिएको थियो ।”
गुगलको सहारा लिएर मैले उसलाई रत्नपार्कको इतिहास बताएँ । आफूले देखेका दृश्यहरुले उसलाई पारेको प्रभाव सुनायो उसले । उक्त दृश्यले निकै भावुक भएको रहेछ ऊ ।

“ह्या, निर्मल तँपनि ! संसारको जुनसुकै ठाउँमा संघर्ष छ, एकातिर कोही रमाइरहेका हुन्छ्न् त कोही जिन्दगी जेनतेन चलाउन पसिनाको खोलो बगाइरहेका हुन्छ्न् । अस्ति विचार गरिस् कि नाइँ पशुपतिमा, माथि आरतीमा मान्छे झुमिरहेका थिए अनि तल मान्छे आफ्नाको वियोगमा आँसु झारिरहेका । यस्तै छ संसारको रित नै ।”
म अझै थप्दै गएँ,
“रत्नपार्कमा तैँले जे-जति देखिस्, त्यो मात्र छैन त्यहाँ । दिनभरिको कामबाट थकित, धुलो-धुवाँले आजित, भविष्यबाट चिन्तित अनि कैयन् बेरोजगार युवाहरुका लागि छहारी हो, रत्नपार्क । दिनभरिको दिग्दारी हटाउन होस् या शान्त वातावरणमा पढ्न रुचाउनेहरू रत्नपार्क धाउँछ्न् । प्रेमी-प्रेमिकाको लागि डेटिङ जाने थलो पनि बनेको छ रत्नपार्क, अस्ति भर्खर म पनि स्नेहालाई लिएर त्यहीँ गएको थिएँ ।”

निर्मलको मुहारमा धेरैपछि मुस्कान देखेँ मैले, जुन उसले यहाँ आएदेखि गुमाएको थियो । म भन्दै गएँ,
“लगभग काठमाडौंको जुनसुकै ठाउँबाट रत्नपार्क पुग्ने गाडी पाउँछ । कहिल्यै कतै अलमलमा पर्ने बित्तिकै रत्नपार्क झर्नु, त्यहाँबाट किर्तिपुर आउने गाडी जत्ति पाइन्छ्न् । खल्तीमा पैसा कम तर जुटाउनु पर्ने सामान धेरै भएका युवाहरु भेटिन्छ्न् रत्नपार्कमा । जिविकोपार्जनका निम्ति एकदुई पैसा जम्मा हुन्छ कि भनेर गीत गाउनेदेखि स्वास्थ्य उपचारका निम्ति पैसा जुटाउने असक्तहरुका साथै देहव्यापारमा संलग्न थुप्रै युवतीहरु पनि भेटिन्छ्न् रत्नपार्कमा । यौनको उन्माद मेटाउन ठूला-ठूला प्रतिष्ठावान व्यक्तिदेखि सानातिना ज्यालादारी मजदूरहरु पनि धाउँछ्न् रत्नपार्क । के छैन र रत्नपार्कमा ? मेरो निम्ति त रत्नपार्क एउटा सिङ्गो धर्तीको प्रतिनिधित्व गर्ने तिर्थस्थल हो, जहाँ संघर्षका कथा-व्यथा बोकेका यात्रीहरु भेटिन्छ्न् । सबैको पीडा बोकेको रत्नपार्क जहाँको त्यहीँ अनि जस्ताको त्यस्तै छ ।”

मेरा कुराहरुले ऊ सन्तुष्ट भयो । घरबाट घाँस-दाउरा र मेलापात गरेर पठाएको पैसा जोगाउन आधी पेटमै अघाउने अनि कपाल र दाह्री कहिल्यै लामो नदेख्ने तमाम निम्न वर्गका विद्यार्थी जस्तै थियौँ हामी पनि । घाम जसरी हतारमा हुन्थ्यो साँझलाई भेट्न, त्यसैगरी निर्मल आतुर थियो परीक्षा दिन । हाम्रो परीक्षाभन्दा अगाडि कोरोना भाइरसले संसारलाई नै घुँडा टेक्न बाध्य बनाएको थियो । देशैभरि लकडाउन हुने खबरले हामीले नचाहेर पनि परीक्षा अगावै घर जानुपर्ने भयो ।

“बुवाको सपना साकार गर्न दिनरात कम्मर कसेर पढेको थिएँ, परिश्रमको फल किराले खाएझैं भयो । कुन मुखले बुवासँग आँखा मिलाउनु ।”
चिन्तित हुँदै उसले गाडिमा भनेको थियो ।
“हिम्मत नहार न अहिल्यै, ढिलो चाँडो परीक्षा भइहाल्छ नि । बुवाको सपना तैँले पूरा गर्छस् चाँडै, त्यसपछि आफ्नो सपना पूरा गर्नु ।”
मैले हौसला दिदैँ उसलाई सम्झाएको हिजो जस्तै लाग्छ ।

आज लकडाउन भएको ६ महिनाभन्दा बढी भइसकेको छ । निर्मलसँगका सबै क्षणहरू आँखै अगाडि आइरहेछन ती बाल्यकालका अनि काठमाडौं बस्दाका घटनाक्रम । गाउँ फर्किएपश्चात सबैको जिन्दगी दुखै:दुखमा बित्ने निश्चित नै थियो । पहिले नै ऋणमा डुबेका वीरबहादुर काका (निर्मलका बुवा) जेनतेन खानाको जोहो गरिरहेका थिए । मल नपाएको कारणले अधिँयामा लगाएको खेतबाट उत्पादन खासै हुँदैन भन्ने कुरामा काका निश्चिन्त थिए । गाउँमा भोकमरीको खतरा मडारिरहेको थियो । लोकसेवा आयोगको परिक्षा २ वर्षसम्म नहुने कुराले निर्मललाई निकै प्रभाव पारेको थियो । ऊ एक्लै कोठामा मात्र बस्ने, टोलाउने गर्न थालेको थियो; सायद ऊ अवसादमा पर्‍यो होला भन्ने अनुमान धेरैले गरेका थिए । लकडाउन सुरु हुनु अगावै एउटा भएका डाक्टर पनि मधेश (घर उतै भएकाले) तिर लागे । एउटा निर्जन अस्पताल मात्र थियो गाउँले सामु ।

“यो लकडाउन पनि त गरीबहरुकै थाप्लोलाई अचानो बनाएर खुकुरी हानेजस्तै त रहेछ । हाम्रै केटाकेटीसँग पढेको सागरले व्यापार गरेर अपार आम्दानी गरिरहेको छ । गर्नेले गरिरहेकै छन् तर ज्याला मजदूरी गर्ने हामी गरीबहरुको मुखमा लात हान्ने काम मात्र त भइरहेको छ नि । तँपाईले चाल पाउनु भयो कि भएन अस्ति भर्खर गरीबको कोटामा महेशलाई जागिर लगाएछ्न् हामीले जिताएर पठाएका प्रतिनिधिले । कतिसम्म मनपरी गरेका हुन हौ, त्यत्रो सम्पन्न टंकप्रसाद कहिलेदेखि गरीब भएछ्न् हौ ? हुन त जतिबेलै नपरपालिका प्रमुखसँग उठबस थियो । हामी गरीबलाई न त राहत बाँड्यो न त भनेजस्तो काम नै दियो ! हामी त भोक-भोकै मर्ने भयौँ । सरकार खरबौंको कुरा गर्छ । हामीलाई ५० पैसा आम्दानी गर्ने कुनै ठाउँ छैन । भएको एउटा छोरो पनि त्यस्तो भएर बसेको छ ।”

वीरबहादुर काकाले मेरा बुवासामु आफ्ना गुनासोका पोका पुन्तुरा अस्ति भर्खर पोखेका थिए । हिजो राती निर्मलले खाली झोला बोकेरै गल्बन्दीको पासो लगाएछ । कुनै पनि बुवालाई जवान भइसकेको छोराको लास बोक्नुपर्दा कति दुख्छ होला । बुढेसकालको सहारा, दुखको घरमा खुसीको उज्यालो छर्ने हाम्रो सम्पत्ति यही छोरा हो भन्दै हिँड्ने बाबुले, छोराको चितामा आगो लगाउनु पर्दा वीरबहादुर काकाको अवस्था कस्तो भएको होला ? म कल्पना समेत गर्न सक्दिनँ ।

ऊ बारम्बार भनिरहन्थ्यो,
“तैँले विचार गरेको छ्स् होला, रत्नपार्क हुँदै आवातजावत गर्ने हरेकले झोला बोकेका हुन्छ्न ! ती सबै झोलाहरुमा सपना भरिएका छ्न्, एउटा झोलाको माथि अर्को झोला थप्दै जाने हो भने झोलाहरुको उचाई सगरमाथा बराबर हुन्छ । यति धेरै मानिसहरूको सपना र आशाको केन्द्रबिन्दु हो यो सहर । एकदिन बुवाको सपनाको प्रतिफल यो खाली झोलामा हालेर लैजान्छु ।”

सायद आज ऊ सपनै सपनाको सगरमाथाले पुरिएर विलीन भयो तर उसको आँखामा कैद भएको रत्नपार्क आज पनि सपना देखाइरहेको छ । आफ्नाहरुको सपना साकार गर्न दौडँदादौडँदै उसले आफ्नो सपना थाती राखेको थियो । जुन सधैँ थाती नै रहने भयो । आज उसको लास जलिरहँदा, पशुपतिमा जलिरहेको लास हेरेर उसले भनेको कुरा याद आइरहेको छ,”

भविष्यका लागि साँच्दा साँच्दै
खै कति चाँडो उमेर बित्यो,
जिन्दगी त जसोतसो चल्दै थियो
संसार छाडी उसले संसार जित्यो ।।”

Facebook Comments

You may also like

error: Content is protected !!