राशीफल

राशीफल

हरेक बिहान घाम आकाशमा झुण्डिन नपाउँदै
भालेले उज्यालो भएको सङ्केत गर्न नपाउँदै

सडकमा चप्पलको प्याट प्याट आवाज आउँछ
मन्दिरमा खचाखच मान्छेहरूको घुइँचो लाग्छ
र साईकलको पाइडल मार्दै आइपुग्छ अखबार
आँगनमा
जहाँ लेखिएका हुन्छन्
– बाद्वारा छोरीको बलात्कार
– श्रीमतीद्वारा श्रीमानको हत्या
– सांसदले भ्रष्टाचार गरेको आरोप
– प्याजको बजार भाउ बढ्यो
– जुम्लाको स्याउले बजार पाएन
आदि आदि ।
म भने सबै-सबै छोडेर यतिखेर राशीफल हेर्छु ।

राशीफलमा आँखा डुलाउँछु र सोच्छु
बलात्कार पछि हत्या गर्ने बा को राशीफल
बाँच्ने रहर हुँदाहुँदै मृत छोरीको राशीफल
आजको संसदको राशीफल
र अन्त्यमा मेरो राशीफल
अहँ, केहि केहि मिलेन ।

यतिबेला सम्पादकलाई राशीफल नछाप्न
अनुरोध सहितको निवेदन लेखेर पठाएको छु ।
र खोज्दै छु ज्योतिषीलाई
भेटेँ भने सोध्नु छ
आज आर्यघाटमा जल्दै गरेका मुर्दाको
राशीफल के थियो भनेर ।

ईश्वर खोज्दै जाँदा

सायद
हुनसक्छ बलात्कृत हुँदै गर्दा –
चिच्याउँदै गरेको आवाज ईश्वरको ।

डष्टविनमा फ्याँकिएको प्रेमको नासोमा
मिल्न सक्छ ईश्वरको चेहरा ।

या त हुनसक्छ,
मन्दिर छेउमा भिक्षा माग्ने भिक्षुमा ईश्वरको रूप ।

सायद ईश्वर मन्दिरमा भएको भए
ईश्वर गरीब हुनुपर्छ
सायद ईश्वर मस्जिदमा भएको भए
ईश्वरले मुख छोपेको हुनुपर्छ
सायद ईश्वर गुम्बामा भएको भए
ईश्वर सूर्यमुखीझैँ फुलेको हुनुपर्छ
सायद ईश्वर चर्चमा भएको भए
प्रभु जप्ने सँग पछुताउँदै हुनुपर्छ

सायद ईश्वर यतिवेला
मन्दिर, मस्जिद, चर्च र गुम्बा सबै छोडेर
कुनै रेष्टुराँ डान्सबारमा
कक्टेल पीएर
‘मुन्नी बदनामा हुई डार्लिग् तेरे लिएँ ‘
भन्दै उफ्रिरहेको हुनुपर्छ ।

या हुनसक्छ ईश्वर
चिल्लो गाडीभित्र बसेर
सिंहदरबार छिर्दै गरेको ।

यहाँ कसैले ईश्वरलाई देखेको छैन ।
यहाँ कसैले ईश्वरको स्वर सुनेको छैन ।

ईश्वरलाई खोज्न हिँडेकाहरू
किन मन्दिर नपुग्दै दुर्घटनामा पर्छन्
किन मस्जिद नपुग्दै चेलीहरू बलात्कृत हुन्छन्
किन चर्च नपुग्दै अपहरणमा पर्छन् पादरीहरु
सायद
ईश्वरको राज्यमा प्रवेश निषेध हुनुपर्छ !

कालो बिरालो

बिरामी बोकेका एम्बुलेन्स् रोकिन्छन्
विद्यालय जाँदै गरेका नानीहरू रोकिन्छन्
दश बजे पुग्नु पर्ने सरकारी कर्मचारी
दश मिनेट ढिला त जो निस्केकै छन्
बाटोमै रोकिन्छन् ।
यतिबेला कालो बिरालोले बाटो काट्दै छ ।

को रोकिँदैनन् ?
कालो बिरालोले बाटो काट्दा
मन्दिरमा पुजा गर्ने पुजारी रोकिन्छन्
“मुक्तिको बाटो प्रभु” भन्ने पादरी रोकिन्छन्
“बुद्धं शरणं गच्छामि, धर्मं शरणं गच्छामि” भन्दै
बुद्धत्व प्राप्त गरेका गुरू रोकिन्छन्
नमाज पढदै गरेका मौलवी रोकिन्छन् ।

सबै-सबै टक्क रोकिन्छन्
आ-आफ्नै ठाउँमा
जसरी
ब्याट्रि सकेको घडिको सुइ रोकिन्छ
जसरी
मुर्दाको नाडिको चालसँगै-
छातीको ढुकढुकी रोकिन्छ
युद्धमा बेपत्ता भएको छोरा सम्झेर
जसरी
रूँदा रूँदा आमाको आँसु रोकिन्छ
यहाँ को रोकिँदैन ?
यहाँ के रोकिँदैन ?
कालो बिरालोले बाटो काट्दा !

कोहि पनि चुइक्क बोल्दैनन्
केवल हेरिमात्र रहन्छन्
तिखा आँखाले सडक पेटिबाट
कालो बिरालोले बाटो काट्दै गरेको !

कालो बिरालो
बडो! सुरक्षित साथ
सुसज्जीत हुँदै दौडिन्छ सडकमा ।
गरिबको छाती कुल्चिँदै ।

आज अनौँठो देखेँ मैले
कालो बिरालो आफ्ना आसेपासे सँगै
सिंहदरबारको मुलगेट हुँदै लुसुक्क भित्र पस्यो
ठोके सलामी त्यहाँ तैनाथ जवानले
सोचेँ मैँले
कालो बिरालो सरकार रहेछ !

Facebook Comments

You may also like

error: Content is protected !!